हरेक नेपालीको हृदयमा दसैं एउटा यस्तो पर्व हो, जसले वर्षभरि सजाएर राखेका सपनालाई रंगीन बिपनामा बदलिने आशा गरेर बसेको हुन्छ। बडादसैं, विजयादशमी वा शारदीय नवरात्र -यी नामले यसको बहुआयामिक रूप झल्काउँछ। वर्षभरि कुरेर बसेका हामी सबै यो पर्वको आगमनमा खुसी र आनन्दले भरिन्छौं। विदेशका भिन्न भिन्न सहरहरूमा लाहुरिएका नेपालीहरू त झन् आकाशतिर हेरेर सोच्छन् - ‘कहिले आउला दसैं? कहिले फर्किन्छु मआफ्नो माटोमा?’ यो पर्वले परिवारलाई जोड्छ, सम्बन्धहरूलाई नयाँ जीवन दिन्छ। उमेरले जेठा, अग्रज मान्यजनहरूको हातबाट टीका थाप्दा लाग्छ - यो त जीवनको सच्चा अमृत हो! हुन पनि यस्तो पर्व विश्वमा अरूतिर कहाँ पाउनु?
कल्पना गर्नुहोस्, साउन–भदौको झरी थामिएपछि आकाश निलो बनेको, धुलोमैलो उडेर गएको, बिहान हल्का कुइरोले ढाकेको। हो/होइन जस्तो चिसोको सुरुवात हुनथालेको, दिउँसोको मन्द घाम न्यानो आलिङ्गनजस्तोलाग्ने अनुभव दसैं आगमनअघि सबैले गरेको हुनुपर्छ। यही त दसैंको सुगन्ध हो - सयपत्रीका पहेँलपुर फूलहरूले घरआँगन सजिएको, पारिजातको मगमग बासना, गोदावरी फूलका थरी थरीका हरिया पात तथा दीपावलीमा फूल्न तयार भएका तिनका कोपिला एवं मखमली फूलले मनै आनन्दित बनाउने अवस्थाले सायद धेरैलाई दसैंको सम्झना गराउँछ। पितृपक्ष सकिएपछि आश्विनशुक्ल प्रतिपदाको परेवा तिथिबाट सुरु भएर आश्विनशुक्ल पूर्णिमासम्म रहन्छ यो जादु।
वरपरका डाँडाकाँडामा बाह्रमासे फूलहरू ढकमक्क भई फुलेर झलमल्ल हाँसेको देखिने पनि यही बखत हो। मानौं, प्रकृति नै दसैंको स्वागतमा नाचिरहेकीछिन्। बारीबगैंचामा अम्बा, हलुवाबेद, नासपाती, अनार, नौनीफल (एभोकार्डो), लटरम्म फलेको सम्झना, नवरात्रमा मठमन्दिरको सफाइ, पाटीपौवा, सत्तलहरूमा रङरोगन, देवीदेवताका मन्दिरहरूमा रातो–पहेँलो झल्लरहरूले कुनै महत्त्वपूर्णपर्वको आगमनको शुभसूचना दिइरहेको माहोलले कसको मन आनन्दित नहोला?
अझ काठमाडौं खाल्डोका पुराना बस्तीहरूतिर बिहान चारपाँच बजेदेखि नै मालसिरी धुनमा विभिन्न परम्परागत बाजागाजासाथ विभिन्न मन्दिरको परिभ्रमण गर्दै, देवीदेवतालाई दर्शन गर्दै हिँड्ने प्रचलनमा भाग लिने युवायुवती एवं श्रद्धालु जनका लागि जीवनको नयाँ अध्यायको सुरुवातै पो भएको हो कि जस्तो स्मरणीय आनन्दको क्षण बन्न पुग्छ।
यो त लघु तीर्थयात्रा जस्तो! पहाडी गाउँहरूमा पनि बाजागाजासँग मठमन्दिरको फेराआआफ्नो ढङ्गले गर्छन्। बिहानको चिसो कुहिरो, गलबन्दी–टोपी लगाएर हिँड्दाको रमाइलो, सम्झनामा पनि एक किसिमले मन प्रफुल्ल हुन्छ। आजका केटाकेटीहरूले यस्तो अनुपम अनुभव गुमाइरहेका छन्, तर जसले यो अवसर पाएकाछन्, तिनीहरू संसारको जहाँसुकैको कुनाकाप्चामा भए पनि दसैं आउँदा भावविभोर हुन्छन्। यो त सांस्कृतिक पहिचान हो, जसले हामीलाई हाम्रो माटो, आफ्नो मातृभूमि, आफ्नो पितृभूमिसँग जोडिरहन्छ! यसैगरी युग युगसम्म जोडिरहने छ।
दसैंको आगमन हुँदैगर्दा घर घरमा अनेकथरी कामको चटारोचल्छ। दसैंमा आउने पाहुनाहरूका लागि आमा, दिदीबहिनीहरू सेलरोटी, अनरसा, फिनी बनाउन व्यस्तहुन्छन्। तराई, मधेस, पहाड, उपत्यकातिर आआफ्नो परम्परा अनुसारको परिकारको तयारीमा घरमा सबै व्यस्त, घरका लोग्नेमानिसहरू तिनको जोडजामलमा तथा घरको सरसफाइमा दिनरात लागिरहेका देखिन्छन्।
पाहुनाहरूको स्वागत कसरी गर्ने? के खुवाउने? यही चिन्ताले घरमुलीहरूलाई सताएको हुन्छ। केटाकेटीहरूको उत्साह र उमङ्गको त कुरै छाडौं! उनीहरू आमाबुबाले यस पटकको दसैंमा कस्तो लुगा, जुत्ता किनिदिने हुन्, आफ्नो रोजाइको हुन्छ कि हुन्न त्यसकै ध्याउन्नमा हुन्छन्। नयाँ लुगा, नयाँ जुत्ता लगाएर मान्यजन, आफन्तजनकहाँ जाँदा कस्तो देखिने हो भन्ने चिन्ता उनीहरूमा हुन्छ। गाउँबस्ती, बजारमा सामुदायिक भवन, विद्यालय, पनेरो–कुवा, इनार, सार्वजनिक धाराको सरसफाइमा जुट्ने यही अवसर ठानेर युवायुवती, प्रौढहरू रातदिन खटिरहेका हुन्छन्।
दसैंमा हुने यस्तै व्यस्तताले सबैजसो कुनै न कुनै चटारोमा हुन्छन्। कोही पिङको बन्दोबस्तमा बाँस र डोरीको व्यवस्थापनमा लागेका हुन्छन् भने कोही पिङ राख्ने उपयुक्त स्थलको खोजीमा जुटिरहेका हुन्छन्। दसैं–तिहारको पिङमा मच्चिएर भुइँ छोड्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने वृद्ध–वृद्धाहरू यस उमेरमा पनि रमाइलो गर्न चुक्दैनन्। केटाकेटी, युवायुवती, प्रौढ एवं वृद्धवृद्धाहरूको खुसी, आनन्दले नै त दसैं मुस्कुराएको अनुभूति हुन्छ।
नवरात्रभरि जगज्जननी दुर्गा भवानीको विभिन्न रूप शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मको आराधना यसैको अभिन्न अङ्ग बन्न पुग्छ। सप्तमीदेखि दशमीसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीको विशेष पूजा। आश्विनशुक्ल प्रतिपदादेखि हरेक दिन पूर्णकलश, दीप, गणेशको पूजाअर्चना गरी विशेष प्रकारले तयार गरिएको भिगुटमा वैदिक अन्न जौलाई छरेर दशमीको दिनसम्म नित्य पूजाअर्चना गरी तयार पारिने जमरा, यो त देवीको वरद प्रसाद बन्न पुग्छ दसैंमा!
दशमीको पहिलो दिन घरका मान्यजनबाट टीका ग्रहण, त्यसपछि इष्टमित्र, नातेदारहरूकहाँ समय र पालो मिलाएर टीका लगाउन जाने परम्परा। केटाकेटीहरूलाई दक्षिणा कति पाइएला भन्ने चिन्ता, ठुलालाई दक्षिणाको जोहो कसरी गर्ने होला भन्ने चिन्ता! यद्यपि दक्षिणा गौण कुरा हो। मान्यजनको आशीर्वाद, भेटघाट, हाँसीखुसीसँग एकछिन मात्र भए पनि बस्न पाउनु पनि सबैका लागि अहोभाग्यको क्षण बन्न पुग्छ।
दसैंको टीका कति दिन लगाउने, पूर्णिमासम्म पुग्ने कि नपुग्ने भन्ने कुरा ठाउँविशेषमा भरपरेको हुन्छ। पाल्पा, गुल्मी, अर्घाखाँचीमा त दशमीको दिन एक किसिमले रातभरि टीका! भोलिपल्टदेखि टीका लगाउन जाने चलन छैन। घरधन्दाको च्यापाच्यापले यस्तो हुन पुगेको सहजै अनुमान गर्न सकिन्छ। दसैंको अवसरमा त्यहाँ खैंजडी बजाउँदै बुढापाकाहरू तरबार, खुकुरी बोकेर ‘सराय’ खेल्छन्। यसले दसैंभित्रको पुरानो संस्कार साहस, विजय र सौर्यलाई केही न केही अहिलेसम्म प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ।
विजयादशमीको मूल मार्कण्डेय पुराणमा वर्णित छ -असत्यमाथि सत्यको जित। भगवान् रामले रावणलाई जित्नुअघि नवरात्रभरि माता दुर्गाको आराधना गरे। दशमीको विजय मुहूर्तमा आक्रमण! रामको विजयले यसलाई सदा स्मरणीय बनाइदियो। पुरानो समयमा राजाहरूले यस दिन नयाँनयाँ राज्यलाई आफ्नो राज्यमा मिलाउने गरी ‘सीमोल्लङ्घन’को अभियान सुरु गर्थे।
अब त्यो परिपाटी इतिहासको कुरा भइसक्यो। विजयादशमीको अवसरमा छिमेकी मुलुक भारतमा रावण दहन हुन्छ, यसलाईदशहराभन्छन्।नेपालकोतराईमा ‘दशहरा’को प्रभाव ठाउँ–ठाउँमा पाइन्छ। ज्योतिष शास्त्र भन्छ - आश्विनशुक्ल दशमीको तारोदय–विजय मुहूर्त, सबै कार्य सिद्ध हुने !’ यो त जीवनको नयाँ यात्राका लागि आदर्श समय हो। यसैले कतिपयका लागि जीवनको नवीन यात्राको सुरुवातको दिन बन्न पुगेको हुन्छ विजया दशमी!
हिजोआज दसैंको लौकिक या बाहिरी पक्षलाई मात्र हेर्ने गरिएको पनि देखिन्छ। यो ‘खाउ, पिउ, मोज गर’को पर्वमात्र ठान्यौं भने ठुलो गल्ती हुन्छ। योसाधनाको पर्व पनिहो। नौ दिनसम्म गरिने दुर्गाको पुजाले आफूमा भएका काम, क्रोध, लोभ, मोह, अहंकार, घमण्डजस्ता अवगुणलाई जितेर नयाँ आशाको शक्ति प्राप्त हुने चाहना राखिन्छ। किनभने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यहरू भनेको हरेक मनुष्यको लागि अवगुण हुन्। अर्को शब्दमा भन्नुपर्दा ती ‘पशुता’का प्रतीक हुन्। ती मानिसमा रहेसम्म जीवनमा रूपान्तरण असम्भव छ।
जीवनमा हुने ‘कालरात्रि’ जस्तो अन्धकारबाट मुक्ति पाएर आफूले आफैंमाथि विजय प्राप्ति गर्ने यो महान् अवसर! साँच्चै भन्ने हो भने आत्मजागरणको दिव्य पर्व हो तर अफसोस, केही विकृतिहरूले यसको उज्यालोलाईमलिन बनाइरहेका छन्।
पशुबलिको नाममा निरीह प्राणीहरूको हत्या! शास्त्रले यस्तो छुट दिएको छैन! देवी माताले आफ्ना सन्तानको रगत माग्दिनन्। यो त अज्ञानताको छाया हो। आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ– मासुबाटै महामारीहरूजस्तै कोभिड–१९, सार्स, स्वाइन फ्लु, बर्डफ्लु, एभियन इन्फ्लुन्जा, म्याडकाउ डिजिज, एड्सजस्ता डरलाग्दा रोगहरूले मानिसलाई मृत्युको बाटोतिर लग्यो र लग्ने गरेको छ।
‘पशुबलि’ होइन, हामीमा भएका यावत् दुर्गुणहरूको ‘बलि’ अर्थात् उपहार देवीदेवतामा चढाउनु आवश्यक छ। ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ भनेर पूजिने जगज्जननी देवीदुर्गा सबै प्राणीमा आत्मरूपले बसेकी छिन्। त्यस्ती वात्सल्यकी प्रतिरूप सबैकी आमा आफ्ना सन्तानस्वरूपका पशुपक्षीको रगतको भोको होलिन्? कल्पनासम्म पनि गर्न सकिन्न।
पशुपक्षीको बलि दिई गरिने पूजा राजसी–तामसी हो, कसैको पनि राजस र तामस स्वभाव, विधि–व्यवहार, क्रियाकर्मले हित–कल्याण गर्दैन भन्ने हाम्रा शास्त्रहरूको उद्घोष छ। सात्त्विक जीवनव्यवहार, आचरण र पूजा–अर्चना नै सबैका लागि हितकारी हुन्छ। मानिस पशुमध्ये सर्वोत्कृष्ट प्राणी हो। उसको कर्तव्य अबोध, निरीह, अनाथ पशुपक्षीहरूको जीवनरक्षा गरेर यो विश्वब्रह्माण्डको संरक्षण, संवर्धन र प्रवर्धन गर्नु हो।
हिजोआजदसैंको अवसरमा धेरै घरपरिवारले पशुबलिको वैकल्पिक विधि अपनाइरहेका छन् - कुभिन्डो, नरिवल वा फलफूलको ‘बलि’लाई प्रश्रय दिएर प्रतीकात्मक र पर्यावरण–अनुकूलनको मार्गप्रशस्त गरिरहेका छन्।
यो अत्यन्त खुसीको कुरा हो। वनस्पतिमा आधारित परिकारहरूले, स्थानीय अन्नबाट बनेका मिठाइले, फलफूलहरूले उत्सवलाई स्वस्थ र दिगो बनाउँछन्। दसैंलाई अहिंसारहित ‘हरित दसैं’ बनाऔं, जसले गर्दा प्रकृति पनि आह्लादित बनोस्!
दसैंको अभिन्न अङ्ग बनेको जमराको महत्त्व असीम छ। घटस्थापनाको दिन जौ छरेर नौ दिन पूजा गर्दा उम्रिने पहेँलो अंकुर समृद्धि र ऊर्जाको प्रतीक हो। जति पहेँलो त्यति निष्ठा! वैदिक ग्रन्थमा जौलाई ‘अन्नको राजा’ भनिएको छ। श्रीद्भगवद्गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ - ‘औषधीमा म जौ हुँ!’ यो स्वास्थ्यको खजाना हो, रोग निवारक, ऊर्जा दिने। यदि हामीले यसलाई बढी उत्पादन गरेर निर्यात गर्न सक्यौं भने नेपालको अर्थतन्त्र उकासिन सक्छ। जमरा रोप्दा घर सरसफाइ, रङरोगन, यी त जीवनको नयाँ सुरुवातका सन्देश हुन्!
टीका ग्रहण गर्दा महाभारत, रामायणका वीरहरूको आदर्शलाई सम्झिएर अझै त्यसलाई सम्झने गरिएको छ। ‘आयुद्र्रोणसुते...’ श्लोकले लामो आयु, श्रेय, शत्रुनाश, ऐश्वर्य, गति, सम्मान, दानशीलता, बल, सत्य, ज्ञान र कीर्तिको कामना गरेको छ। नारीहरूलाई ‘जयन्ती मङ्गलाकाली...’ मन्त्रसहित आशीर्वाददिने प्रचलन अद्यापि छँदैछ। समयअनुसार यसमा परिवर्तन आएर अरूलाई टीका लगाइँदा छोटकरीमा ‘स्वास्थ्य, समृद्धि र खुसी मिलोस!’
समग्रमा हेर्दा राष्ट्रिय पर्वका रूपमा दसैंले एकताको पाठ सिकाइरहेको झैं लाग्छ। गोरखाबाट ल्याइएको जमरा काठमाडौंमा राजकीय सम्मानका साथ भित्र्याइन्छ। प्रवासमा बस्ने नेपालीबिच अनलाइन टीका, भर्चुअल भेटघाटले यो पर्वलाई आधुनिकताको मोडमा पुर्याएर अरू विश्वव्यापी रूपले विस्तारित गर्दै लगेको छ।
सारांशमा, दसैंले धार्मिकता, सामाजिकता र सांस्कृतिक विविधतालाई एकसूत्रमा बाँधेर राख्ने गरेको छ। यो त मिलन, भेटघाट, सम्बन्ध नवीकरण र आशीर्वादको स्रोतको पर्व हो। यसमा रहेका र भित्रिन खोज्ने विकृति, विसङ्गतिहरूजस्तै अनावश्यक भड्किलोपना, विलास र हिंसालाई जोड दिने पशुबलिलाई हटाउँदै, घटाउँदै हिंसारहित तुल्याउन सक्यौं भने यसभित्र अन्तर्निहित आत्मचेतनको सुगन्ध महकिन थाल्छ, जसले ‘सत्यं शिवं सुन्दरम्’को दिव्य आत्मचेतनालाई जागृत तुल्याएर शुद्ध आहारले शुद्ध विचार, शुद्ध कर्म जन्माउँछ।
यसरी दसैंलाई सुसंस्कृत बनाऔं, मानवोपयोगी, पर्यावरण - अनुकूल र सबैको प्रेरणादायी बनाउने सद्सङ्कल्प सबैमा जागोस्! यो पर्वले हामीलाई सदैव सिकाइरहेको छ - सत्यको जित सधैं सम्भव छ। सबैमा दसैंको हार्दिक मङ्गलमय शुभकामना!
प्रकाशित: १३ आश्विन २०८२ १०:५७ सोमबार

