१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

युवामा बालेन मोह

गत साता एक मनोरञ्जनात्मक कार्यक्रममा बालेन्द्र (बालेन) शाहको निकै चर्चा भयो।  बालेन शाहको कामको प्रशंसा गर्ने युवाहरू बालेनको तारिफ गरेर थाकेनन्।  यत्ति मात्र होइन, बालेनको उत्साह, जोस अनि उनले राजनीतिक क्षेत्रमा देखाएको नयाँ ऊर्जाशील कार्यले यतिखेर कार्यालय, घर, विद्यालय, चिया खाने होटेल, सार्वजनिक स्थल, बस सबै ठाउँमा बालेन शाहको कामको निकै चर्चा हुने गरेको छ।  सबैबाट प्रशंसा बटुली रहेका बालेन्द्र शाह विशेष गरी नयाँ पुस्तामाँझ निकै लोकप्रिय बन्दै गइरहेका छन्।  धमिलिइरहेको राजनीतिमा पछिलो समयमा उनको प्रवेशले नयाँ पुस्तामा एउटा सकारात्मक सन्देश फैलाएको छ।  राजनीतिमा लाग्ने नयाँ पुस्ताका लागि पे्ररणा पनि बनेका छन उनी।  गरे जे पनि हुन्छ भन्ने सन्देश फैलाइरहेका मेयर बालेनले देखाएको कामप्रति प्रशंसा गर्नेहरू कम छैनन्।  

उनको काम गर्ने शैली, निर्णय लिन सक्ने क्षमता, धैरै सुन्ने अनि कम बोल्ने बानी सबैका लागि पे्ररणा बन्यो।  धेरैले अनुमान गरे बालेनजस्ता नेता देशले पाउने हो भने परिवर्तन सम्भव छ।  बिनाअनुभवी यस्ताले के काम गर्छन् र भनेर धारे हात लगाउने अग्रजहरूलाई बालेनले मिठो शैलीमा जवाफ दिँदै आएका छन्।  

विशेष युवामाँझ निकै लोकप्रिय बन्दै गएका बालेन शाहको जस्तो छवि बनाउने होडमा यतिबेला निकै युवाहरू छन्।  राजनीतिप्रति घृणा गर्ने युवाहरू पनि अब बालेन बन्ने दौडमा छन्।  भित्रभित्रै धमिरा लाग्दै गएको राजनीतिक क्षेत्रमा अबको नयाँ पुस्ताले काँचुली फेर्ने छन् कि भन्ने आम जनताले आशा गर्दै छन्।  मंसिर ४ गते हुन लागेको चुनावमा स्वतन्त्र युवा उम्मेदवारहरू जुन जोसमा लागेका छन्, देशमा सकारात्मक कायापलट हुन्छ भन्नेमा कुनै शंका नै छैन।  

देश विकासमा युवा वर्गको भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ।  इतिहासको पाना पल्टाउँदै जाँदा हरेक देशमा युवा वर्ग बलियो खम्बा बनेको भेटिन्छ।  युवा जोस र उत्साह देशमा क्रान्ति ल्याउन ठुलो आड पनि बनेको छ।  यसका उदाहरणहरू इतिहासमा धेरै भेटिन्छन्।  

आज देशमा भ्रष्टाचार, लाचारी, गरिबी बढिरहेको छ।  कतै न कतै राजनीतिज्ञहरूको लापरवाहीले देशमा अन्योल बढिरहेको छ।  धनी दिन प्रतिदिन धनी बन्दै गइरहेका छन्।  गरिब दिनदिनै भोकमरीले मर्दै छन्।  खालि कुर्चीप्रतिको मोह, आफू मात्र बाँचौं, आफू मात्र खाऊँ अनि आफू मात्र सुखसयलले हिँडौं, आफू मात्र स्वस्थ होऊँ भन्ने नेताहरूको विपरीत सोचले देशले ठुलो हानी निम्त्याइसकेको छ।  

खालि भाषणको आडमा समय बर्बाद गर्ने नेताहरूले जनताको अवस्था कस्तो छ के छ भन्ने जान्ने उत्सुकता कुनै नेताले पनि देखाउन सकेनन्।  वर्षौंसम्म आपूmमात्र दशहाते सलामी लिँदै अनि जनतालाई दुःख दिँदै नेताले जनतालाई नचाई मात्र राखे।  वर्षौंदेखि समृद्ध नेपालको परिकल्पना हरेक जनताले चाहे तर समृद्धिभन्दा पनि चारैतिर बेथिति र अराजकताको चक्रव्यूहमा फसेको फसै भए देश र जनता।  

युवाको हातमा डिग्री हुँदा पनि विदेशमा भाँडा माँझेर बस्नुपरेको छ।  दैनिक बढिरहेको महँगीले जनताको घरमा आगो बल्न छोडिसकेको छ।  हरेक क्षेत्रमा मूल्य बढेको बढ्यै छ।  न त मूल्य नियन्त्रण गर्न सरकारले सकेको छ, न त बलात्कारीलाई सजाय दिन।  

नेपालको बिग्रँदो सम्वेदनशील विषयतर्फ जनताको हितमा निचोड निकाल्न नसक्नु, प्रणालीमा काम नहुनु, नातावाद कृपावादको सोच राख्नु नेपाल र नेपालीका लागि ठुलो दुभाग्र्य हो।  यसैको परिणाम स्वरूप आज आम नागरिकले दुःख भोगिरहेका छन्।  हामीले नयाँ परिवर्तनसँगै प्रजातन्त्र, लोकतन्त्र हँुदै गणतन्त्रमा आइपुग्दा पनि राज्यले जनतालाई कुनै सुनौलो भविष्य दिन नसकेकाले आम नागरिक राज्यप्रति निराश हुनुबाहेक अरू विकल्प केही थिएन तर आज युवाहरूले देशप्रति देखाएको चासो, युवा नेताहरूको अठोट र ऊर्जाशील कामले देशले नयाँ काँचुली फर्ने दिन आएको मान्न सकिन्छ।  

आज राजनीतिमा नयाँ पुस्ताहरूको आगमन र उनीहरूले देखाएको जनताप्रतिको सकारात्मक सोच उदाहरणीय छ।  देश बचाउन उठेको युवा आवाजले परिवर्तन ल्याउन चालेको यो अभियानलाई मान्नैपर्छ।  युवा वर्गलाई राजनीतिमा जोड्न कठिन भइरहेका बेला आज बालेन शाह, सुनिता डंगोलजस्ता थुप्रै योग्य नेताहरू पाउँदा देशमा नयाँ गतिको अपेक्षा राखिएको छ।  मुलुकको नेतृत्व गर्ने नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर युवाहरू लागिपरेका छन्।  

सर्वहिताय र सर्वमान्य खालको राजनीतिक पद्धति अनि स्थिरता हामी नेपालीले देख्न पाएका छैनौं।  दुरदर्शी र क्षमतावान् नेतृत्व नेपाली जनताको तिर्सनामा नै सीमित थियो।  हाम्रा विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँ बस्ती, स्वच्छ, सफा सहर, स्वस्थ एवम् स्तरीय शिक्षा गरिव जनताको सपना मात्र हुन।  यसबाट दुःखित भएका जनताले अब देशमा परिवर्तनको अपेक्षा राख्नु कुनै नौलो कुरा होइन।  

देशको विकास र समृद्धिका लागि युवा वर्ग नै अघि आउनु अहिलेको आवश्यकता हो।  युवा रोजगार, युवा जनशक्ति, युवाका लागि नयाँ नीति नियम र भ्रष्टाचारका विरुद्ध एकजुट भएर उठ्ने बेला आएको छ।  यसका लागि युवा जुटिसकेका छन्।  

पुराना नेताहरूले नयाँ युवाहरूलाई अनुभव नभएको भन्दै गाली गर्नुभन्दा उनीहरूलाई विचलित हुन नदिई तिनीहरूबाट समायोचित लाभ देशको विकास तथा उन्नतिमा लगाउन आज जरुरी भएको छ।  युवा वर्गमा विकृति–विसंगति, निराशा, कुण्ठा जागृत हुन नदिई दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा उनीहरूलाई प्रयोग गर्दा राष्ट्रको कायापलट नै हुनेमा सन्देह राख्नै पदैन।  क्षमता भएको व्यक्तिलाई काम गर्न दिनुपर्छ।  गर्न नसक्नेलाई अब ओहोदा दिएर कुनै औचित्य हुँदैन।  उही पुरानो रणनीति अपनाउनु भनेको देश डुबाउनु मात्र हो।  अब नयाँ पिँढीलाई अवसर दिनुपर्छ।  बुढो काँधले विश्राम लिने बेला आएको छ।  कसैको कमजोरीका कारण आम नागरिकले दुःख पाउनु हुँदैन।  देश विकासको महायज्ञमा सबैले सकारात्मक चारु हाल्ने बेला आएको छ। 

प्रकाशित: १९ कार्तिक २०७९ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App