coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नाटकीय मानसिक समस्या

मानसिक समस्या २१औँ शताब्दीको एक गम्भीर र चुनौतीपूर्ण स्वास्थ्य समस्या हो। एक तथ्यांक अनुसार अहिले १ अर्ब मानिस मानसिक समस्या पीडित छन्। पुरुषको तुलनामा महिलामा मानसिक समस्या बढी छ। विश्व जनसंख्याको करिब ११.९ प्रतिशत महिला तथा ९.३ प्रतिशत पुरुष मानसिक समस्याको चपेटामा छन्। मानसिक समस्यामा परेका सिर्फ ५० प्रतिशत मानिस मात्र मानसिक स्वास्थ्यको पहुँचमा छन्। तर नेपाल जस्ता अविकसित देशहरूमा मानसिक स्वास्थ्य सेवाको पहुँच निकै कम छ।

स्वास्थ्य क्षेत्रले जति प्रगति गरे पनि मानसिक स्वास्थ्यमा विश्वभरि अहिले पनि गलत धारणा कायमै छन्। प्रायः व्यक्तिले आफू मानसिक समस्यामा परेको स्वीकार्दैनन्। मानसिक समस्याको औषधि खाइरहेको अवस्थामा पनि यसबारे उल्लेख गर्न हिच्किचाउँछन्। कसैले मैले डिप्रेसनको औषधि खाँदैछु भनेको वा सिजोफ्रेनिया भएर अस्पतालमा भर्ना भएको भनेर सामाजिक सञ्जालमा फोटो हालेको देख्नुभएको छ?

मानसिक समस्याको सन्दर्भमा नेपाली समाज झनै अन्धविश्वासमा छ। अहिले पनि अधिकांश मानसिक समस्या भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहको कारणले पैदा भएको मान्छन्। त्यसैले मानसिक समस्या लुकाउने प्रवृत्ति विद्यमान छ। अशिक्षित मानिसको कुरा परै छाडौँ। शिक्षितले पनि यस्ता समस्या भरसक लुकाउने र रोगले निकै च्याप्यो भने उपचारका लागि धामीझाँक्रीको शरण पुग्ने प्रचलन छ।

समाजमा कतिपय व्यक्तिले भने मानसिक स्वास्थ्य समस्या रहेको ढोंग गर्छन् र मानसिक समस्या परेका व्यक्तिले झैँ व्यवहार गर्न थाल्छन्। यस्ता व्यक्तिले जानाजान समस्यालाई बढाइचढाइ गर्ने गर्छन्। झुटो वा नक्कली लक्षणहरू प्रदर्शन गर्छन्। लक्षणहरू देखाउन आफैँलाई चोट पुर्‍याउन सक्छन्। आफूलाई बिरामी भएको देखाउन परीक्षण जस्तै पिसाबको नमूना दूषित गर्न सक्छन्।

प्रायः व्यक्तिले सहानुभूति र माया पाउन तथा आफन्तको ध्यान खिच्न यस किसिमको ढोंग गर्ने गर्छन्। पुरस्कार प्राप्त गर्न वा सजाय र जिम्मेवारीबाट भाग्न पनि यस किसिमको नाटक गर्ने गर्छन्। फौजदारी सजाय वा सैन्य कर्तव्यबाट बच्न, आर्थिक लाभ प्राप्त गर्न, विपन्न तथा कामचोर व्यक्तिले पेट पाल्न तथा विशेष गरी कैदीहरूको सम्बन्धमा स्थानान्तरण, औषधि, क्षतिपूर्ति, ध्यान वा मनोरञ्जन आदि कारणहरूले मानसिक समस्याको नक्कल गर्न सक्छन्।

स्कुल तथा कलेज जान नचाहने वा गृहकार्य नगर्ने कतिपय विद्यार्थीले पनि यस किसिमको नक्कली मानसिक समस्याको ढोंग गर्न सक्छन्। तर यस किसिमको लक्षण स्कुल फोबियामा पनि देखिन सक्छ। स्कुल फोबिया वास्तविक मनोव्यावहारिक समस्या हो। यस मनोवैज्ञानिक समस्याबाट विश्वका ३ देखि ५ प्रतिशत विद्यार्थी पीडित छन्।

नक्कली मानसिक समस्याको इतिहास हेर्ने हो भने पहिलोपटक सन् १९०० तिर सैन्य सेवाबाट बच्न कतिपय सैनिकले यस किसिमका लक्षण देखाएपछि यो नक्कली मानसिक समस्या प्रकाशमा आएको हो। व्यक्तित्व विकार तथा फैक्टिसस डिसअर्डरमा पनि यस किसिमका लक्षण देखिने गर्छन्। व्यक्तित्व विकार तथा फैक्टिसस डिसअर्डर गम्भीर भावनात्मक कठिनाइहरूसँग सम्बन्धित छन् भने मलिंगेरिङ (रोगको बहाना) भावनात्मक कठिनाइहरूसँग सम्बन्धित हुँदैन।

वस्तुतः यो चेतन मनको खेल हो। तर यस किसिमको नक्कली मानसिक समस्या (मलिंगेरिङ) ले घरपरिवार, समाज तथा चिकित्सकलाई समेत हैरान बनाउन सक्छ। त्यो किनभने सुतेको व्यक्तिलाई त उठाउन सकिन्छ तर सुतेको स्वाङ पार्ने व्यक्तिलाई उठाउन गाह्रो हुन्छ। यद्यपि केही कुरामा ध्यान दिने हो भने मानसिक समस्याको बहाना गर्ने बिरामी र वास्तविक मानसिक समस्या भएका बिरामीलाई छुट्टाउन सकिन्छ। नक्कली मानसिक समस्याका सम्बन्धमा सामान्य मान्यताहरू, जस्तै-आँखामा नहेर्ने, कम मुस्कुराउने र बोली लड्बडाउने आदि जस्ता मापदण्डलाई बिरामी झूट बोलेको छ कि छैन भनेर निर्धारण गर्न प्रयोग गर्नु हुँदैन।

यी मापदण्डले मात्र नक्कली मानसिक समस्या छुट्टाउन सकिँदैन। यसैगरी सिजोफ्रेनिया भएका वास्तविक, शंकास्पद बिरामी र नक्कली मानसिक समस्याका व्यक्तिमा देखिने हेलुसिनेसन (भ्रम) छुट्याउन गाह्रो हुन सक्छ किनकि सिजोफ्रेनियाका लगभग ६५ प्रतिशत बिरामीहरूमा श्रवण भ्रम र ३५ प्रतिशत बिरामीमा दृश्य भ्रम हुने गर्छ।

साइकोटिक भ्रम भएका बिरामीले क्रोधित छिमेकीहरूको आवाज वा धेरै नकारात्मक सन्दर्भका सन्देशहरू सुन्न सक्छन्, जस्तै-तपाई राम्रो हुनु हुन्न। तर नक्कली मानसिक समस्या देखाएका व्यक्तिमा यस्तो देखिँदैन।

साधारणतया नक्कली मानसिक समस्याको शंका लागेमा अनेक मेडिकल टेस्टहरू, जस्तै-सिबिसी, लिभर फंक्सन टेस्ट, रेनल फंक्सन टेस्ट, ब्लड अल्कोहल लेभल टेस्टदेखि लिएर एमआरआई तथा मनोवैज्ञानिक टेस्टहरू, जस्तै-एमएमपिआइ, द एफ स्कल, मलिंगरिङ टेस्ट तथा सिडिआइ आदि गर्न आवश्यक हुन्छ।

यी टेस्टहरूबाट व्यक्तिले देखाएका लक्षणहरू कुनै शारीरिक रोगहरूका लक्षणहरू हो कि होइन, मानसिक समस्याहरू, जस्तै-कन्भर्जन डिसअर्डर, फैक्टिसस डिसअर्डर, हाइपोकोन्ड्रियासिस, सोमाटिक डिसअर्डर, सिजोफ्रेनिया, मुड डिसअर्डर तथा डिसोसिएटिभ डिसअर्डर हो कि होइन भन्ने जानकारी प्राप्त गर्न सकिन्छ।

मनोचिकित्सकले नक्कली मानसिक समस्याको अन्तिम निदान पूर्व अनेक कुरामा विचार पुराउनुपर्छ। जस्तो कि आफूलाई मानसिक समस्यामा परेको हुँ भन्ने व्यक्तिहरूको कथा ज्ञात लक्षणहरू वा अन्य बिरामीहरूको प्रस्तुतीकरणहरूसँग असंगत छ कि छैन? मूल्याङ्कनका क्रममा तिनीहरू कति सहयोगी र जिम्मेवार छन्? यस्ता व्यक्तिहरूसँग कुनै कानुनी समस्या छन् कि छैनन्? मानसिक समस्याको निदानबाट उनीहरूलाई कुनै आर्थिक, राजनीतिक, पारिवारिक तथा सामाजिक लाभको सम्भावना छ कि छैन?

नक्कली मानसिक समस्याको कुनै विशेष उपचार छैन। यो समस्या कुनै औषधि खाएर पनि ठीक हुँदैन। नक्कली मानसिक समस्याको ढोंग गर्ने व्यक्तिले उपचारको क्रममा उपचारप्रति खासै चासो पनि राख्दैनन् र आफूले चाहेको लाभ प्राप्त गरेपछि मात्र आफ्नो मानसिक समस्याबारे गुनासो गर्न छाड्छन्। तर उनीहरूले चाहेको लाभ प्राप्त गर्न धेरै समय लाग्न सक्छ वा त्यो सम्भव पनि नहुन सक्दछ। यस्तो अवस्थामा कतिपय यस्ता व्यक्ति रोगको नाटक बन्द गरेर सामान्य अवस्थामा आउँछन् भने कतिपयले परिवार तथा समाजलाई नै सताइराख्छन्। यस्तो अवस्थामा मनोचिकित्सकले व्यवहार थेरापी, मनोचिकित्सा तथा परामर्शद्वारा नक्कली मानसिक समस्याका व्यक्तिको उपचार गर्नुपर्छ।

 उपचारको दौरानमा मनोचिकित्सक तथा परिवारका सदस्यहरूले नक्कली मानसिक बिरामीलाई सिधै झुटो नाटक गरेको आरोप लगाउनु हुँदैन। यस्तो आरोपले आपसी शत्रुता, मनोचिकित्सक तथा बिरामी सम्बन्ध बिच्छेद, चिकित्सकविरुद्ध मुद्दा, परिवार तथा समाजमा कलह, कतिपय अवस्थामा कुरा हिंसासम्म पनि पुग्न सक्छ।

मनोचिकित्सक तथा परिवारका सदस्यले उपचारमार्फत नक्कली मानसिक समस्याका व्यक्तिलाई उसको इज्जत बचाउने (सेफ ल्यान्डिङ) मौका दिनुपर्छ। नक्कली मानसिक समस्याको ढोंग गर्ने व्यक्तिको खुलेयाम पोल खोलियो भने व्यक्तिमा साँच्चै डिप्रेसनलगायतका मानसिक समस्या देखिन सक्छ, परिवार तथा समाजमा कलह र हिंसाको घटना पनि हुन सक्छ।

अन्तमा, परिवारका कुनै सदस्यले वा आफ्ना सहकर्मीले मानसिक समस्याको लक्षण तथा व्यवहार देखाएका छन् र त्यो ढोंग जस्तो लागेको खण्डमा यसलाई केही भएको छैन, बेकारमा नाटक गरेको छ वा गरेकी छे भनेर थप मलजल हाल्ने काम नगरौँ। नाटक केका लागि गरिएको हो? किन गरिएको हो? मानसिक समस्याको लक्षण देखाउने व्यक्तिको सहयोगी र आफ्नै भएर बुझ्ने कोसिस गरौँ। आवश्यक परे मनोचिकित्सकको सहयोग लिउँ। यहाँ उल्लेखनीय कुरा के छ भने कतिपय नाटक जस्तो लाग्ने मानसिक समस्या नाटक नभएर वास्तविक हुन सक्छ।

(लेखक साइकोथेरापिस्ट हुन्।)

प्रकाशित: २४ आश्विन २०७९ ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App