१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
विचार

तन्त्र, मन्त्र र यन्त्रको रहस्य

म को छु, म कहाँबाट आएको छु, म किन आएको छु, म कहाँ जान्छु ?

तन्त्र भन्छ– यो सबै प्रश्नको उत्तर मसँग छ।  

तन्त्रको शाब्दिक उत्पत्ति यसप्रकार छ ः

‘तानोति त्रायति तन्त्र’ भन्नाले तान्नु, विस्तार र पैmलाव हुन्छ।  

तन्त्र एउटा विशेष प्रकारको प्रक्रिया छ। यसलाई उच्च साधना पद्धति भनिन्छ। यसमा साधक आत्मा र मनलाई सांसारिक बन्धनहरूबाट मुक्तिका लागि तप र साधना गर्छ। तान्त्रिक साधनाले साधकहरू मन–शरीर(आत्माको असली मतलब बुझेर ईश्वर तत्वलाई बुझ्ने प्रयास गर्छ। आत्मशक्ति, आत्मशान्ति, आत्मज्ञान र आत्मकल्याणका लागि पनि साधकहरू तान्त्रिक साधनाको उपयोग गर्नुहुन्छ। यसबाहेक विशिष्ट शक्ति सम्पन्न हुनका लागि पनि मान्छे यसको साधना गर्छ।

विस्तारै(विस्तारै तन्त्रबाट धेरै शाखा निस्केको छ। जसरी सम्मोहन, त्राटक, त्रिकाल, इन्द्रजाल, परा, अपरा, प्राण। तन्त्रमा वशीकरण, मोहन, विदवेषण, उच्चारण र स्तम्भनका लागि पनि साधना हुन्छ।

मन्त्रहरू – मनत्र शब्द मन र त्रको संयोगबाट बनेको छ। यसमा मन भन्नाले विचार र त्र भन्नाले मुक्ति हुन्छ। यसको मतलब अनावश्यक र अशुद्ध विचारबाट मुक्ति। हुन त मन्त्रको कुनै खास अर्थ हुँदैन। मन्त्रहरू विशेष शब्दहरूको जोडबाट बनेको हुन्छ। जसको उच्चारणबाट विशिष्ट ध्वनि, तरंग, कंपन र अदृश्य आकृतिहरू उत्पन्न हुन्छ। यस्ता मन्त्रहरूको जप गरेर निराकार शक्तिहरूलाई साकार गरिन्छ। कुनै खास मुहूर्तमा विशेष तरिकाले मनलाई एकाग्र गरेर पटक(पटक मन्त्र जाप गरी मनलाई नियन्त्रित गर्ने। प्रत्येक मन्त्रको छुट्टाछुट्टै ध्वनि, उच्चारण, विधि र प्रभाव हुन्छ। मन्त्र योगलाई विज्ञान पनि भनिन्छ। ‘मननातत्रायते इति मन्त्र’ भन्नाले जसको पटक–पटक उच्चारण र स्मरण मात्रले मान्छे जन्म–मरणको बन्धनबाट मुक्त हुन सक्छ। विशिष्ट मन्त्रको लगातार जप गर्नाले उत्पन्न संवेग (वाइब्रेसन) वायुमण्डलमा व्याप्त शक्तिहरूलाई नियन्त्रित गर्छ र त्यसमाथि साधकको प्रभाव र अधिकार भइहाल्छ। मन्त्रहरूको उत्पत्ति वेद र पुराणबाट भएको छ। अथर्ववेदमा मन्त्र विशेषरूपमा उल्लेख गरिएको छ। तन्त्रमा एकाक्षरी मन्त्रको महत्व धेरै हुन्छ। जसरी ह्ीं, क्लीं, श्रीं, शुं,क्रूं।  

वेदका अनुसार मन्त्र दुई प्रकारको हुन्छ। ध्वन्यात्मक र कार्यात्मक। ध्वन्यात्मक मन्त्रहरूको अर्थ नभए तापनि यसको ध्वनि धेरै प्रभावकारी हुन्छ। यस्ता मन्त्रलाई बीज मन्त्रहरू पनि भनिन्छ। जसरी( ओं, ऐं, ह्लीं, क्लीं, श्रीं, अं, कं, चं आदि। कार्यात्मक मन्त्रहरूको उपयोग कर्मकाण्ड र दैनिक पूजा÷पाठहरूमा गरिन्छ। जसरी ओम नमो भगवते वासुदेवाय वा ओम गण गणपतये नमः।

यन्त्रका ग्रन्थहरू  

हुन त तन्त्र ग्रन्थहरूको संख्या हजारौँमा छ। तर मुख्यरूपमा सनातन हिन्दु धर्ममा तन्त्रसम्बन्धी ९२ ग्रन्थ छन्। यसमा ६४ वटा अद्वैत वादी विचारधाराका छन्। यसलाई कुनै कुनै देशवा भाषामा भैरव तन्त्र वा कश्मीर शैव तन्त्रका रूपमा चिह्नित छ। अठारवटा जुन ग्रन्थ छन् त्यो द्वैतवादी विचारधाराका छन्, यसलाई रुद्र तन्त्रको नामबाट पनि चिह्नित छन्। यसका प्रमाण हिन्दु, बौद्ध, जैन र तिब्बती ग्रन्थहरूमा पाइन्छ।

आदि शंकराचार्यको ‘सौन्दर्य लहरी’ साधकहरूका लागि धेरै उपयोगी पुस्तक छ। यसबाहेक अजित मुखर्जीका तन्त्र आर्ट र फिलिप रासनको ‘दी तन्त्र’ पनि धेरै राम्रो पुस्तक छ। मार्कण्डेय पुराणको दुर्गा सप्तशती र अथर्ववेद तन्त्रशास्त्रको सर्वोत्तम ग्रन्थ छ। मार्कण्डेय पुराणमा ७०० श्लोकहरूको वर्णन गरिएको छ। यसमध्ये सबैभन्दा महत्वपूर्ण मन्त्र यो छ।

ऊँ ऐं ह्लीं क्लीं चामुंडायै बिच्चै नमः।

तन्त्रको गहिराइ बुझ्नका लागि ओशोको तन्त्र सूत्र पनि धेरै उपयोगी पुस्तक छ। यो पुस्तक ६ खण्डमा छ र धेरै सरल भाषामा छ। कुनै पनि मान्छे यसलाई पढेर विशेष ज्ञान प्राप्त गर्न सक्छ।  

तन्त्रको उपयोग  

तान्त्रिक साधना सृष्टिको सबैभन्दा गुढ, रहस्यमयी र अतिप्रभावकारी साधना पद्धति हो। मानवीय मन र शरीर असीमित अदृश्य शक्तिको भण्डार छ। तन्त्र साधनाको उपयोग आत्मकल्याणका लागि हुन्छ। यसले आन्तरिक ऊर्जा शक्ति (भाइटल फोर्सेज) लाई नियन्त्रण गरी इच्छानुसार शरीरमा स्थित चक्रहरूमा प्रवाहित गर्छ। वर्तमान समयमा लोभी, स्वार्थी र अज्ञानी व्यक्तिहरू गलत कार्यका लागि साधना गर्छ। कम समयमा नै यसको प्रभाव हेर्न खोज्छ। जसले गर्दा यसको प्रभाव हुँदैन। यसैले गर्दा जनमानसमा तन्त्रबारे नकारात्मक विचार छ।

तान्त्रिक साधनाको प्रकार  

तान्त्रिक साधना मुख्यरूपमा दुईथरीको हुन्छ– १. वाममार्गी, २. दक्षिणमार्गी। कोही(कोही यसलाई शाकाहारी र मांसाहारी पनि भनिन्छ। यसको साथ समय कालको विकास हुँदाहुँदै धेरैवटा शाखा विकसित भयो। जसरी बौद्ध धर्ममा सहजयान र कालचक्रयान, जैनधर्ममा लौकिक र लोकोत्तर। लौकिकको सम्बन्ध जादू टोना, नजर उतार्नु, वशीकरण र बाधा मुक्तिसित हुन्छ। लोकोत्तरको सम्बन्ध आत्मोन्नतिसित छ।

तान्त्रिक साधना कसरी गर्ने ?

तन्त्र, मन्त्र र यन्त्रको साधनामा पाँच प्रकारका शुद्धि चाहिन्छ।

भावशुद्धि (कुनै पनि कार्यमा भावशुद्धिको महत्व छ। तन्त्र साधनामा विशेषरूपमा भावशुद्धिको ख्याल राख्नुपर्छ।

मन्त्रशुद्धि– किताब पढेर वा कम जानकार व्यक्तिसित मन्त्रको ज्ञान लिन हुँदैन। मन्त्रशुद्धि नभएसम्म कार्यमा सफलता हुँदैन। यस कारण राम्रो साधक वा गुरुको सहयोग लिनुपर्छ।  

द्रव्यशुद्धि– तन्त्र साधनामा उपयोग हुने वस्तुहरूको वैदिक तरिकाबाट शुद्धि गर्नुपर्छ।

देहशुद्धि (आयुर्वेदमा शुद्धतालाई औषधि मानिएको छ। तान्त्रिक साधनामा देहशुद्धिको पनि ख्याल राख्नुपर्छ।

स्थानशुद्धि (तन्त्र साधनामा स्थानशुद्धिको पनि धेरै महत्व छ। यस कारण यसको पनि ख्याल राख्नुपर्छ।  

तान्त्रिक साधनामा विशेषरूपमा कुनै असली गुरुको आवश्यकता हुन्छ। यसका लागि कुनै विशेष मुहूर्त र कालमा मन र शरीरलाई शुद्ध गरेर सुगन्धित पदार्थ र दीप बालेर आफ्नो इच्छानुसार यन्त्रमा टकटकी लगाइ मन्त्रको जप गर्नुपर्छ। धेरै साधक छिटै लाभका लागि बीचमा नै साधना छाडिदिन्छन्। यस्तो गर्न हुँदैन। धेरै चञ्चल मन भएको मान्छे, संयम र श्रद्धाविहीन मान्छे, दयाहीन, स्वार्थी वा लोभीहरू तन्त्र साधना गर्न सक्दैनन्। तान्त्रिक साधनामा पञ्चमकारको पनि धैरै महत्व हुन्छ। जसरी मद, मांस, मतस्य, मुद्रा र मैथुन।

तन्त्रको देवता

भगवान शिव तन्त्रको जन्मदाता हुनुहुन्छ। यस कारण शिव नै तन्त्रका प्रमुख देवता हुन्हुन्छ। तर तन्त्र साधनामा पूर्णता प्राप्तिका लागि देवी र भैरव (शिव) दुवैको समान महत्व हुन्छ।  

तन्त्र (मन्त्र) यन्त्रमा अन्तर

सामान्यरूपमा यसरी बुझ्न सकिन्छ

तन्त्रको सम्बन्ध तन (शरीर) सित, मन्त्रको सम्बन्ध मनसित र यन्त्रको सम्बन्ध कुनै विशेष मसिनसित हुन्छ तर यस विषयमा यन्त्रको सिधा सम्बन्ध विभिन्न प्रकारको विशिष्ट चित्रहरूसित हुन्छ।

यन्त्रको निर्माण विधि

त्रिकोण, वृत, चतुष्कोण, षट्कोण, विन्दु, मन्त्र अक्षरहरूलाई स्वर्ण, ताम्र वा केराको पातमाथि विशेषकाल र मुहूर्तमा उत्कीर्ण गरेर बनाउँछ।

त्रिकोण (तन्त्रमा शक्तिको प्रकृति त्रिगुणात्मक हुन्छ र यसलाई अधोमुखी त्रिभुजका रूपमा अभिव्यक्त गर्दछ। जसरी महासरस्वती, महालक्ष्मी र महाकाली। त्रिकोण यसको प्रतिनिधित्व गर्छ। तल मुख भएको त्रिकोणलाई ‘शक्ति त्रिकोण’ भनिन्छ र माथि मुख भयेको त्रिकोणलाई ‘शिव त्रिकोण’ भनिन्छ। यसप्रकार यस त्रिकोणको प्रजननशील त्रिकोण पनि भनिन्छ।

षट्कोण (यसमा छवटा कोण हुन्छन्। यो छवटा शक्तिको प्रतीक हो। जसरी ज्ञान शक्ति, इच्छा शक्ति, क्रिया शक्ति, कुण्डलिनी शक्ति, पराशक्ति र मन्त्र शक्ति।

विन्दु (यन्त्रको बीचमा विन्दु हुन्छ। यो पराशक्तिको प्रतीक हो। प्राकृतिक विज्ञानका अनुसार विन्दु विश्वको बिउ हो। यो गोलो हुन्छ जसले गर्दा यो ब्रह्माण्डको प्रतीक पनि हो। यसैबाट सृष्टिको उत्पत्ति हुन्छ र अन्तमा यसैमा समाहित पनि भइहाल्छ।

चतुष्कोण (यो आकृतिले प्रमुख चार दिशाहरूको प्रतिनिधित्व गर्छ। यसलाई आकाशको समग्रताको प्रतीक पनि मानिन्छ।

वृत्त– वृत्त असिम शक्तिको प्रतीक हो। नेपाल, बंगाल, आसाम, बिहार र राजस्थानलाई तन्त्रको भूमि मानिन्छ।

यन्त्रहरू थुप्रै प्रकारका हुन्छन्।

विशेष यन्त्रहरूको नाम  

श्री यन्त्र

श्री घूमावती यन्त्र

श्री भुनेश्वरी यन्त्र

श्री प्रेमवृद्धि यन्त्र

श्री आकर्षण यन्त्र

श्री नवग्रह शान्ति यन्त्र

श्री लक्ष्मी यन्त्र

श्री हनुमतपूजन यन्त्र

श्री सूर्य यन्त्र

श्री सुख समृद्धि यन्त्र

श्री वास्तु यन्त्र

श्री नवदुर्गा यन्त्र

श्री बगलामुखी यन्त्र

श्री कालमाया मोहिनी यन्त्र

श्री गनेश यन्त्र

प्रकाशित: २३ आश्विन २०७९ ००:५५ आइतबार

तन्त्र