ओबिओआर त्यस्तो परियोजना हो जसमा ६० भन्दा बढी देश त प्रत्यक्षरूपमा जोडिन्छन्। त्यो भनेको विश्वको एक तिहाई अर्थतन्त्र र आधाभन्दा बढी जनसङ्ख्या जोडिनु हो। आफ्नो 'मेगा इन्ट्रेस्ट' सँग जोडिने ती देशसँग हाल चीनको सम्बन्ध कस्तो छ? जस्तोसुकै भए तापनि सुमधुर बनाउनुको विकल्प चीनसँग छैन। त्यसकै लागि चीनको कूटनीतिक वृत्त ती देशका सम्बन्धलाई १ देखि ५ तहमा वर्गीकरण गरेर सुधारको आन्तरिक तयारीमा लागेको छ। ठूला व्यापारका लागि समुद्री पारवहन सबैभन्दा व्यावहारिक मानिराखिएको पछिल्लो समयमा सडकमार्गलाई उत्तिकै महत्व दिई चीनले काजकिस्तान पुगेर घोषणा गर्नुले नेपालजस्ता देशमा आशा र मनोबल तरंगित पार्नु स्वाभाविक हो। जसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा सुरु भएको एउटा नयाँ आयामका रूपमा समेत बुझ्न सकिन्छ।
पछिल्लो अवतारको चीन बुझ्न 'चिनियाँ क्रान्तिका नायक' माओ र विश्वका लागि चीनको ढोका खोल्ने देङ जियोपिङ शैलीको नेतृत्व बुझ्न आवश्यक छ। चीनका असली नायक यी दुईमध्ये को हुन् भन्ने बहसमा व्यक्ति–व्यक्ति वा पुस्ता–पुस्तामा अझै ठूलो बहस छ। तर मध्यमार्गी चिनियाँहरु भने माओले तयार पारेको आधारशीलामै देङ जियोपिङले आर्थिक उदारीकरण गर्न सकेको ठान्छन्। यो बहस सायद वर्षौंसम्म यसैगरी चल्नेछ। तर हामीले के बुझ्न बिर्सनुहुँदैन भने खरिद क्षमतामा विश्वको शीर्ष र समग्रतामा दोस्रो अर्थतन्त्र बनिसक्दा पनि चीनले अहिलेसम्म जे गर्योन, देशभित्रै गर्यो्। महाशक्तिको सपना देख्नका लागि त्यतिले मात्र हुँदैन भन्ने चिनियाँ नेतृत्वले राम्रोसँग आत्मसात गरेको छ। ओबिओआरको रणनीतिक स्वार्थलाई ठन्डा दिमागले विश्लेषण गर्ने हो भने त्यो चीनको 'बाहिर जाने मार्ग' हो भनेर बुझ्न अप्ठ्यारो छैन। र, यसको सफलतामै सी जिनपिङलाई माओ, देङ जियोपिङको पंक्तिमा राखेर हेर्ने वा नहेर्ने भन्ने कुरासमेत निर्धारण गर्नेछ।
तत्कालीन चिनिया प्रधान मन्त्री वेन जिया बाओले सन् २००७ मा नेसनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै चिनियाँ अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती 'अस्थिर, असन्तुलित, असमन्वय र क्षणिक' हुनु रहेको बताएका थिए। हुन पनि लामो समय दोहोरो अंकको आर्थिक वृद्धिदर कायम राखेको चीन त्यसैगरी अगाडि बढिरहने हो भने महत्वकांक्षी पूर्वाधार र त्यसकै भरमा इकोसिस्टम खडा गर्नुपर्नेछ।
यद्यपि नेपाल प्रत्यक्षरूपमा समुद्री र उत्तरी सडक मार्ग दुवैमा पर्दैन। यद्यपि ओबिओआरको दायरा ती दुईभन्दा व्यापक देखिन्छ। जस्तो, धेरै चर्चामा नआएको दक्षिण पश्चिम रेशमी मार्ग ब्युँताउन सकेमा नेपाल, भारत र चीनको पुलका रूपमा सिधै जोडिनेछ। दक्षिण–पश्चिम रेशमी मार्ग पुनर्उदय चीनको छेन्दुमा सुरु भएर कुनमिङ, म्यानमार, कोलकाता हुँदै नेपालमार्फत् तिब्बततर्फ जोडिने गोलाकार मार्ग परिकल्पना गरिएको छ। त्यसो भएमा छेन्दु, तिब्बत, स्याङजस्ता चीनका भित्री सहरसँग भारतको व्यापार गर्न समुद्रीमार्ग भन्दा नेपालतर्फको दूरी झण्डै तीन गुणा कम पर्नेछ। तिब्बतको सिगात्सेसम्म आइसकेको रेल त्यसकै एउटा उद्देश्यसँग जोडिन्छ पनि। तर हामीले के बुझ्न गल्ती गर्नुहुँदैन भने ओबिओआर चीनको परियोजना भए तापनि त्यसको फाइदा हामी आफ्नै अग्रसरता र आंशिकै भए तापनि आफ्नै लगानीसमेत गरेर लिनुपर्छ।
चीनको सिचुवान विश्वविद्यालयमा अनुसन्धानरत्
प्रकाशित: २६ वैशाख २०७३ २३:०३ आइतबार

