प्रधान मन्त्री केपी ओलीसहित सत्ता पक्षले द्वन्द्व बढाउने ढंगको आक्रोशित अभिव्यक्तिहरु रोकेर शान्त हुनु आवश्यक देखिन्छ। मुख्य कुरा बाहय वस्तुगतभन्दा भित्री आत्मागत समस्या नै सहमतिको प्रमुख बाधक हो। हालसम्म जमेको पूर्वाग्रह र घृणाका लेउले ढाकेका मन सफा नगरे, कुभावना नत्यागे, सद्भावका सुविचार नपलाएसम्म र त्यागको इच्छाशक्ति नजागेसम्म मधेसी समस्या समाधानार्थ सहमति बन्न सक्दैन। संविधान निर्माण जस्तो अत्यन्त गम्भीर विषयमा अति उत्तम र उच्च कोटिको विवेक, बौद्धिकता र दूरदर्शिता तथा पूर्ण अनुभव अपरिहार्य रहन्छ।
'सहमति' उत्तिकै प्राकृतिक नियम हो। राज्यको सर्वांगीण तथा व्यवस्थित सिद्धान्तका प्रतिपादक तथा विचारक थोमस हब्सको सूत्र सान्दर्भिक बन्न सक्छ। प्रत्येक व्यक्तिले सकेसम्म शान्ति स्थापित गर्न प्रयत्न गर्नुपर्ने। प्रत्येकले आत्मरक्षाको अधिकार प्राप्त गर्न र शान्ति स्थापना गर्नका लागि प्राकृतिक अधिकार छाड्न तयार रहनुपर्छ तथा अर्काको विरुद्ध त्यत्तिकै स्वतन्त्रतामा सन्तोष गर्नुपर्छ जति अर्काले आफूविरुद्ध दिन तयार रहन्छ। व्यक्तिले उसले गरेको सम्झौतालाई पालना गर्नुपर्छ। हब्सका यी तीनै नियम ठीक यतिबेला कडी बनेको छ। दलका नेताहरुले उनको यो तीन नियम औषधिका रूपमा लिन अपरिहार्य छ।
सहमति गर्ने वा द्वन्द्व चर्काउने भनेको मनकै कुरा हो। हाम्रो राजनीतिमा धामी पनि बोक्सी पनि आफैं बन्ने नेताहरुका डबल स्ट्यान्डर्ड चरित्रकै कारण सहमतिमा समस्या खडा हुने गरेको छ। केवल धामीको मात्रै भूमिका खेले राजनीतिक रोग निको हुन बेरै लाग्दैनथ्यो। त्यसका खातिर अमेरिकी र दक्षिण अफ्रिकी मानवतावादी नेता तथा विश्व उत्प्रेरक मार्टिन लुथर किङ र नेल्सन मन्डेलाको महानतालाई ग्रहण गर्नसके पुग्छ। उनीहरुझै 'मबाट हामी हुँदै राष्ट्र र विश्व' को धारणाले सुसज्जित हुन सक्नुपर्छ। अमेरिकी महात्मा गान्धी मानिने मार्टिन लुथरले काला जाति अधिकारको महान् आन्दोलनको नेतृत्व गरेर मुक्ति दिलाए तर हिंसाको मनोभावना कहिल्यै नलिई गोरा र काला दुवैलाई मेलमिलाप, स्वतन्त्रता, समानता र भातृत्वको सुत्रमा बाँधे। यस्तो महानताको स्मरण र प्रयोग गर्न सके औषधि बन्थ्यो। उनको गोराले गरेको दमन र कालालाई फुटाउने कानुनको विरोधमा गोरा र कालालाई जुटाउने संविधान निर्माणको नजिर हाम्रा दलका नेताहरुले पकडे मधेस समस्या समाधान हुन सक्छ। उनको मानवता त्याग र महानता हाम्रा नेताले किन नदेखाउने? यसका लागि हाम्रा नेतामा पनि ती महान् नेताजस्तै इच्छाशक्ति अत्यावश्यक छ। उनीहरु जस्तै मानवतावादी तथा वास्तविक लोकतन्त्रवादी बन्ने कोटिको त्याग गर्न जरुरी छ। यति भयो भने समस्या ठूलो छैन।
प्रकाशित: २५ वैशाख २०७३ २२:३९ शनिबार

