२० आश्विन २०७९ बिहीबार
विचार

राजनीतिमा आकर्षणको राज

राजनीतिमा आकर्षण–विकर्षणको भाष्य आफैँमा विरोधाभाषपूर्ण छ। शास्त्रीय पाठशालाअन्तर्गतका आदर्श दार्शनिक मठाधीशहरू सुकरात, प्लेटो र अरस्तु करिब एउटै प्रतिध्वनिसहित उद्घोष गर्छन्, “तपाईँ आफैँ शासन गर्न चाहन्नुहुन्न भने मूर्खहरूबाट शाषित हुने मूल्य चुकाउनुपर्छ”। यो वाक्य राजनीतिका पण्डितले इसापूर्व ३५० वर्षअगाडि नै आजको अवस्थाको मानसिक दर्शन गरेका रहेछन्। नेपाली राजनीतिक राडार स्क्रिनमा यो मत बडो जबर्जस्तरूपले स्थापित हँुदै गएको छ। प्रस्तुत आलेखमा नेपालको दलीय राजनीतिमा आबद्धताको अनौठो विशेषता विश्लेषण केन्द्रित गरेर हेर्न खोजिएको छ।

अध्ययन, मनन र चिन्तनको स्तर उच्च भएपछि स्वभावैले व्यक्ति स्वकेन्द्रित भैरहन सक्दैन। बिपी कोइराला, सुवर्णशमशेर, प्रदीप गिरी, मदन भण्डारी, मनमोहनजी आदिको चिन्तन स्तरले उनीहरूलाई स्वकेन्द्रित भैरहन दिएन। इनारभित्रबाट देखिने बाहिरको आकार इनारको मण्डल जत्रो मात्र हुन्छ। तर चिन्तनको स्तर उच्च भएकाहरूकोे अन्तरिक्ष यात्रा निहारिका भन्दा पनि पर सिंगो बहुआकाश गङ्गा नै हुने गर्छ। यस्ता व्यक्ति र व्यक्तित्व तत्कालीन समाजको मूल्य र मान्यतालाई चुनौती दिने हिम्मत राख्छन्।

पाँच हजार वर्षदेखिको वैदिक परम्परालाई बुद्धले अनित्य र अनात्मा जस्ता गैरवैदिक चिन्तनदिने हिम्मत राखे। आदिशङ्काराचार्यले अद्वैत वेदान्तको विशिष्ट तŒवको व्याख्यामार्फत चैतन्यब्रह्म अर्थात आत्मा–परमात्माको द्वैतवादी प्रथालाई चुुनौती दिए। सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ भन्ने टोलेमिक एवम् विव्लिकल मान्यतालाई चुनौती दिएबापत सजाय पाइन्छ भन्ने बोधसहित कोपर्निकसले हेलिओसेन्ट्रिक सिद्धान्त अर्थात् केन्द्र सूर्य हो भन्ने नियम प्रतिपादन गरे।

सामान्य बुझाइमा स्वन्तन्त्रता आन्दोलन भन्नेबित्तिकै राजनीतिक सत्ता परिवर्तन बुझ्ने रुढीबादी परम्परा रहेको छ। दास र सति प्रथा उन्मूलन, भूमि सुधारमार्फत उत्पादनका साधनको न्यायोचित वितरण, जातीय मुक्ति, जातीय विभेद आदि जो जसले सुकै ल्याएको किन नहोस्, त्यो स्वतन्त्रता आन्दोलन नै हो। केवल रक्तरञ्जित सत्ता परिवर्तन मात्र स्वतन्त्रता आन्दोलन हो भनेर बुझ्ने हो भने धेरै सामाजिक र आर्थिक आन्दोलन ओझेलमा पर्छन्। ज्ञान मिमांसा उच्च नभई स्वतन्त्रता आन्दोलन हुन सक्दैन। नेपालको राजनीतिक मुक्ति आन्दोलन वास्तवमा २००७ र २०४६÷४७ सालबाहेक अरू आन्दोलन स्वतन्त्रता आन्दोलन थिएनन्। २०१७ साललगायत २०५२ सालको माओवादी आन्दोलन र २०६२÷६३ पश्चातका मधेस आन्दोलनलगायतका आन्दोलन केवल सत्ता (रेजिम) परिवर्तन र शक्ति पुनर्वितरणका लागि गरिएको प्रतिकारमात्र थियो भन्ने कुरा आन्दोलनकारी पक्षको काँचुली फेराइले प्रष्ट पारेकै छ।

यी माथिका दुई विशेषतालाई प्राज्ञिक ऊर्जाले ओतप्रोत भएको नीतिज्ञ र नैतिकतामा आधारित सर्वोच्च राजनीतिक आदर्श रूप मान्न सकिन्छ। बाँकी विशेषतालाई चलनचल्तीको राजनीति जो आमरूपमा हावी हुने गरेको छ, त्यसरूपमा बुभ्mन सकिन्छ। कल्पना गरौँ, एक यस्तो पात्र जो सामान्य आर्थिक अवस्थाको छ, दश कक्षा जेनतेन उत्तीर्ण पनि गर्‍यो, क्षमताको भरमा रोजगारी पाउने ल्याकत छैन, भनसुनको लागि चिनजान कतै केही छैन, थप अध्ययनको लागि पारिवारिक आर्थिक स्थिति खासै राम्रो छैन र पढ्ने मन पनि छैन। दिनभर गाउँ डुलेको छ, मोबाइल, टेलिभिजन र इन्टरनेटमार्फत वैभवका झलक देखेको एक युवाको अगाडि कुनै भड्काओवादीले सुन्दर सपना बाँड्यो भने त्यो युवा आकर्षित नहोला र !

२०५२ सालमा सुरु भएको माओवादी आन्दोलनमा लागेका बहुसंख्यक युवायुवतीको ज्ञान मीमांसाको चेत उच्च भएर र स्वतन्त्रताको चेतले अभिभूत भएर लागेका थिए भन्ने तथ्य स्थापित गर्न प्रचण्डजी र बाबुरामजीले उदारचित्त साथ संकमणकालीन न्याय, बेपत्ता व्यक्ति र घाइते अपाङ्ग, बेवारिस छाडिएका बाल लडाकु र शान्ति सम्झौतापश्चात भर्ना गरिएका लडाकुमाथि न्याय गर्न सक्नुपर्छ।

शान्ति सम्झौतापश्चात नेपालको राजनीतिक परिदृश्यमा थप क्रान्तिकारीहरू उत्पादन भए। मधेस आन्दोलन (विभिन्न नामधारी), आदिबासी जनजाति आन्दोलन, थारू आन्दोलन, निजामती कर्मचारी आन्दोलन, चुरे भावर आन्दोलन, लिम्वुवान, खम्बुवान आदि आदि। अधिकांश आन्दोलन प्रदर्शन प्रभाव थियो भन्ने शायद तत्कालीन वार्ताकर्ता र हस्ताक्षरकारी पात्रको स्मृतिमा मुस्किलले रहेको पुष्टि गर्छ। माओवादी आन्दोलन शान्ति सम्झौतामा टुंगिएपछि जे जस्तो दण्ड मुक्ति (राज्य पक्षबाट भएको र माओवादीको तर्फबाट भएको ज्यादती) पायो, त्यसले सबै आन्दोलनकारीलाई राम्रो प्रदर्शन प्रभाव पार्‍यो, जुन अहिलेसम्म पनि निरन्तर जारी छ।

माथिउल्लेख गरेको एक प्रतिनिधिमूलक युवा पात्र आजहिजो जस्तो निराश छैन, ऊसँग शान, सौकत, मानमनितो, चालकचालित सवारी, वैभव, शक्ति सबै छ। कसैको भाग्य र भविष्य बनाउने र बिगार्ने ल्याकत राख्छ। दोभाषे राखेर बोलेको कुरा विदेशी कूटनीतिज्ञ र विज्ञले मनमनै वकवास भने पनि नोटबुकमा टिपे जस्तो गर्छन्। न ज्ञान चाहियो न त अनुभव नै। साँच्चै हिजोको प्रतिनिधिपात्रको निर्मोचन भएको छ। यस्ता प्रतिनिधिपात्र यो राज्य व्यवस्थामा निरन्तर उत्पादन भएका छन् र संख्या दिनदिन बढ्दो छ। वैदेशिक रोजगारी सबैको भाग्यमा हँुदैन। थपिँदै गएका यस्ता लाखौँ प्रतिनिधिपात्रले यो सबै रूपान्तरण आफनै घर आँगन, छरछिमेकीमा देखेको छ। अनि उसलाई राजनीतिले किन प्रोलोभन नदिओस् त !

सार्वजनिक दृष्यता अर्को आकर्षण हो। मानिस एक सामाजिक प्राणी हो भन्ने उद्गारलाई पनि प्रायोजित श्रव्य दृश्यले राम्रो प्रस्फुटन दिएका हुन्छन्। विषयको पटक्कै ज्ञान छैन तर पनि जनताले उनलाई सुनिदिनुपर्ने। केही मिडियाले बोलेको कुराको जवाफदेहिता तत्कालै परीक्षण गर्ने गरेका छन्। अति सुन्दर थालनी हो। यसलाई अझ व्यापक गर्दै लैजानुपर्छ।

यतिमा मात्रै हामो प्रतिनिधिपात्रको सफलता कहाँ रोकिन्छ र ! कार्यकर्ताको फोन उठ्दैन, व्यापारी घरानाको फोन पहिलो घण्टीमै उठ्छ। उच्चपदस्थ कर्मचारीले गर्ने हिजो बुजुर्वा लागेको सम्बोधन आज बडो प्रिय लाग्छ। करका दर हेरफेर गर्दा हुने शुभ–लाभ, पदोन्नतिलगायत नियुक्तिका शुभ–लाभ सामान्य कार्यकर्ताका लागि पालो कुराइको विषय बन्न जान्छ। पद लिलाम बढाबढमा जान्छ, खरिदकर्ता र बिक्रेताबीच राम्रै बार्गेनिङ श्रव्य दृश्यमा हेरेकै हो, सुनेकै हो। तथापि जनता नैतिकता र सदाचारको प्रवचन तिनै नेताबाट सुन्न बाध्य छन्।

शान्ति सम्झौता भएको ६ महिनामा टुंग्याउने भनिएको संक्रमणकालीन न्याय र बेपत्ता नागरिकसम्बन्धी विषय आज यो आलेख तयार पार्दा (२०७९ असोज ५ गते) सम्म ठ्याक्कै १५ वर्ष ८ महिना २९ दिन भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्ति र व्यक्तित्व आज राज्यका संवेदनशील र गुरुत्वपूर्ण पदमा पदासीन छन्। यो विषयको अन्तर्यमा धेरै प्रवेश गर्दा दल र तिनको नेतालाई “आ बयल मुझे मार” भनेजस्तो हुने भएकाले यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन चाहन्नन्। प्रस्तुत आलेखको लेखक त्यस समयको शान्ति मन्त्रालयको सचिवको हैसियतमा शान्ति सम्झौताको मस्यौदा तयार गर्दाको साक्षी हो। मस्यौदाबाट न्याय भन्ने शब्द कसरी गायव भयो ? आममाफी सबैको चाहना छ, परिपूरण राज्य कोषबाट जाने भएकाले त्यो पनि ठीकै छ तर न्यायको कठघरामा त आफैँ उभिनुपर्‍यो, त्यो स्वीकार्य छैन। मूल जरो यही हो। शायद आगन्तुक एक मन्त्री महोदय पारस्पारिकताको बाध्यता होला करिव–करिब तत्कालीन पक्षहरूको प्रवक्ता नै बन्नुभएको छ। यो सबै आजको हामो प्रतिनिधिपात्रले देखेको छ, अनि उसलाई राजनीति किन प्रिय नलागोस् त !

राजनीति यस्तो मञ्च भयो जहाँप्रवेश सहज छ, निकास झन सहज छ र निरन्तरता निश्चित छ। बाह्रखरी विषारददेखि महाविद्यावारिधिसम्म सबै भर्ना हुन पाउने, क्षेत्र, गोत्र र पात्र मिलाउन जाने तत्काल पदाधिकारीसम्म बन्न पाउने। न अनुभव चाहिने, न त ज्ञान नै चाहिने। अवसर राम्रो प्राप्त भएमा तुरुन्तै छाडेर अन्त प्रवेश पाइने, अनि निवृत्त र अवकाशका लागि इच्छा सिद्धिको वरदान। यस्तो सुन्दर छोटी गोकर्ण (लभर्स प्याराडाइज) हामो प्रतिनिधि पात्रले बैतरिणी पार गर्ने अभीष्ट राख्नु स्वाभाविक छ।

व्यक्तिगत लाभ र हानिको अंकगणितमा बाह्रखरी विषारदहरूले पनि विद्यावारिधि नै हासिल गरे। सम्पत्ति कमाउने र लुकाउने कलाको विश्वविद्यालय चलाउने प्राध्यापक नै भए।

नेताले मुलुकलाई के दिए र के बिगारेको आधारमा नेता र राजनीतिक दलको मूल्यांकन गर्ने पद्धति कहिल्यै भएन। कतिचोटि प्रधानमन्त्री बनेको र कतिचोटि मन्त्री बनेको आधारमा सफल र असफल नेताको गणना हुने भयो।

राजनीतिका युद्धकालीन पुराना घाउ र खतको सौदावाजी कहिलेसम्म चल्ने हो ? परिवारमा कसैको राजनीतिक मृत्युको मूल्य राज्यले कहिलेसम्म चुकाइराख्ने हो ? जेल र नेलको इतिहास पनि नभएका, दाम र दलाल पनि नभएका, चरी र घैँटेको सुरक्षा घेरा पनि नमिलेका, राजनीतिमा कुनै माइबापको आशीर्वाद र संरक्षण पनि प्राप्त नभएका, उत्तरी र दक्षिणी वायुको चिसो र तातोको मौसमी प्रभाव पनि नपरेका, समावेशी मैत्री हुने शारीरिक बनावट नभएका तर राष्ट्रिय चरित्र सिर्फ नेपाल र नेपालीमात्र भएकाको राजनीतिमा कहाँ स्थान रहने होला ?

संसदीय व्यवस्थालाई अझै बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने पसल ठान्नेहरू त्यही वधशालामा बसेर सिनोको कालो बजारी गर्दा कसले नियन्त्रण गर्ने होला ? को न यातिवशमलोकेः मुखम विण्डेन पुरित अर्थात् मुखमा पिण्डले पुरेपछि वशमा गर्न नसक्ने यो संसारमा को छ र ! भन्ने चाणक्य नीतिलाई गुरुग्रन्थ मानेकाहरूलाई गणेशमानजी, किसुनजी र मनमोहनजीको आदर्श कसले स्मरण गराइदिने होला ?

राजनीतिक दल र तिनका नेताहरूको विकल्प समृद्ध दल र सक्षम नेता नै हो। लोकतन्त्रको विकल्प अझ समृद्ध लोकतन्त्र मात्र हो। अन्यथा, नेपाल अशान्त झुण्डहरूको क्रिडास्थल बनिरहने छ र अयोग्यका हातमा जानेछ।

प्रकाशित: ७ आश्विन २०७९ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App