२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

पितृपक्ष सोह्र श्राद्ध कथन र श्रद्धा

तिथिको हिसाबमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी जमरा राख्नुपूर्वसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।

कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्छन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ। आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्छन्।  

एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औँसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ। पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्।

केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने विश्वास र श्रद्धा ग्रन्थहरूमा उल्लेख छ।

आजकल युवा पिँढीमा यो श्राद्ध जस्तो कर्ममा विश्वास छैन, बाँचुन्जेल जिउँदा पितृको सेवा गर्नुपर्छ, उनीहरूलाई दुःख नदिइ, खुसी बनाएर राख्न सके मृत्युपछि कुनै कर्मकाण्ड जरुरी छैन भन्ने गरेको सुनिन्छ। आफ्ना बा÷आमालाई अथवा आदरणीय आफन्तजनलाई जीवित हुँदा नै श्रद्धा गर्ने हो, मृत्युपछिको पिण्डको डल्लो र दान गरेका चिज कसरी पाउँछन् र भन्ने तर्क गर्छन्।

हुन पनि हो, जीवित छँदा नगरिएको सेवा, श्रद्धा र प्रेम मृत्युपछिको कर्मकाण्डले पूर्ण हुँदैन त्यो त केवल मन शान्ति र प्रायश्चितका लागि मात्र हो। त्यसैले पनि प्रत्येक श्राद्धले आफ्ना अभिभावक, ज्येष्ठ नागरिक र आफन्तजनलाई कसरी सेवा दिने, आफ्नो पुनित कर्मले कसरी उहाँहरूलाई विश्वस्त पार्ने र मेरा शेषपछिका पुर्खाले पनि जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै संस्कार र परम्परा जगेर्ना गर्छन् भन्ने भरोसा दिलाउने एउटा स्मरणीय समय पनि हो। यसका बारेमा आफ्नै मान्यता, कथन र यथार्थता छन्।  

अन्न र जलको महत्व  

हुन त मानव जीवन पञ्च तत्वबाट सिर्जना भयो, पञ्च तत्वकै भरमा जीवित हुन सक्छ र जीवनपछि पनि पञ्च तत्वमै विलिन हुने हो। ती पञ्च तत्वमध्ये जल, पृथ्वी, आकाश, वायु र प्रकाशमध्ये जल र पृथ्वी अर्थात् जल र अन्नको धेरै प्रयोग र महत्व दिइएको पाइन्छ सोह्र श्राद्धमा। हुन त पूजा विधिमा होस् या खानपान र भोजनमा अनि शुद्धताको प्रक्रियामा पञ्च तत्व प्रयोगमा आउँछन् तैपनि दान र तर्पणले जल र पृथ्वीलाई केन्द्रमा राखेको हुनुपर्छ। महाभारत युद्धको करिव अन्तिम समयमा कृष्णले कर्णलाई उनको अन्तिम इच्छाबारे सोध्छन्।

 कर्ण भन्छन्– म कुमारी आमाको सन्तान भएकाले मेरो दाहसंस्कार पनि यस्तो कुमारी भूमिमा गरियोस् जहाँ कुनै अपराध भएको नहोस्। शायद मनुष्य भएको समाजमा कुमारी अर्थात् पवित्र भूमि सजिलै भेट्न कठिन भएकाले पनि यो प्रसंग आएको होला। भनिन्छ मृत्युपश्चात स्वर्गमा कर्णलाई खानामा सुन, हिरा, पैसा, मोती आदि दिइयो। स्वर्गका राजा इन्द्रलाई उनले प्रश्न गरे– मलाई भोक लागेको छ सुन, हिरा, मोती, पैसा मैले कसरी खानु ? मलाई खाना किन दिइएको छैन ? जवाफमा इन्द्रले भने– बाँचुन्जेल तिमीले मानिसलाई सुन, हिरा, पैसा, मोती दान गर्‍यौ, कसैलाई पनि खाना दान गरेनौ।

भोकाएका मानिस र पितृ भएका आफ्ना वंशजलाई भोजन दान गरेनौ, त्यसैले तिमीले जे दियौ अहिले त्यही पायौ। तर अझै एउटा उपाय छ– अब तिमीले पृथ्वीमा गएर १६ दिन बसी वंशज पितृलाई भोजन दान गर्‍यौ भने यो दण्डबाट मुक्त हुन सक्छौ भन्ने सुझावअनुरूप कर्णले १६ दिनसम्म पितृलाई सम्झिएर भोजन अर्पण गरे, तर्पण दिए। पितृलाई अर्पण गरेपछि छाक टार्न गाह्रो भएका सर्वसाधारणलाई खाना खुवाए। त्यही समयदेखि पितृलाई स्मरण गर्दै सोह्र श्राद्धको चलन सुरु भएको भन्ने मानिन्छ।  

श्राद्धको दिन सकेसम्म बढी मानिसले खाना खाइदिए हुन्थ्यो भन्ने चाहना राखिन्छ। तिथि अवधिभर घरमा होस् या नदी किनारा र खोलाको छेउमा गरिने जल तर्पण र अन्न दानले जीवन र मृत्यु दुवै अवस्थामा खाना र पानीको महत्व दर्शाउने सोह्र श्राद्धले मानिस र प्रकृति, आजको कर्म र भोलिको नतिजा, संस्कार र विश्वासलाई जीवन्त राख्न प्रेरित गर्दछ। संस्कार र परम्परा नमान्दैमा र मान्दैमा जीवनमा ठूलो परिवर्तन केही नदेखिएला, मान्नेले पनि जीवन छाडेरै जानुपर्छ अनि नमान्नेको पनि जीवन चलेकै छ भन्ने लाग्न सक्छ त्यो स्वाभाविक पनि होला। तर जीवनमा सबै कुराको पूर्णता मिलोस् भन्ने चाहनेले आफ्ना पितृलाई बिर्सेर र आफ्नो परम्परालाई तोडमोड गरेर के आनन्द आउला र ? पूर्णता त त्यतिबेला मिल्छ जबसम्म सन्तुलनको जीवन बाँच्न सफल भइन्छ।

उहिले र अहिलेको चलन  

पितृपक्ष, श्राद्ध भनेको आफ्ना चेलीबेटी, भान्जाभान्जी, छोरा÷नाति जम्मा हुने र पितृको स्मरणमा रहने अवसर हो। कतिको धेरै समयपछि परिवारजनसँग भेट भएको हुन्छ त्यसैले आपसी भलाकुसारी पनि हुन्छ। करिव २६ वर्षअगाडि विवाह भएको वर्ष, मलाई मेरी जेठानी दिदीले सोध्नुभएको थियो– भोलि एकछाकी हो ससुरा बुबाको, सरसफाइ, पात गाँस्ने, बत्ती बनाउने काम गर्नुपर्छ। आउँछ होला नि तिमीलाई ? बुहारी भएपछि जान्नैपर्‍यो। मैले भनेँ– बत्ती त राम्रो कात्छु तर पात गाँस्न भने कामचलाउ हुन्छ होला। हुन पनि माइतमा हजुरआमाको छेउमा बसेर बत्ती बनाउने, दुना टपरी बनाउने काम गरिन्थ्यो रहरले। यो कामको परीक्षा बुहारी भएर दिनुपर्छ भन्ने हिसाबले होइन।

हाम्रो हजुरआमाले पनि बुहारी भएर घर गरी खान सिकाउनुभएको पनि थिएन किनकि म माइतमा त छोरी नै थिएँ नि। सिप भन्ने कुरा जे पनि जाने बिग्रन्न। यो रचनात्मक काम पनि हो यस्तो भन्ने सुनाउनुहुन्थ्यो। अहिले त सहरमा पूजा सामग्री किन्ने ठाउँमै दुना टपरी पनि पाइन्छ सहजै। लोग्ने मान्छेले पनि टपरी गाँसेर व्यावसायिक बनाएका छन्। खुसी लाग्छ र यो कामलाई प्रोत्साहन दिन पनि मन लाग्छ।  

आमाजूहरू बसेर दुना टपरी बनाउँदै हुनुहुन्थ्यो, श्राद्धको दिनमा प्रसंग निकाल्नुभो– टपरी पुग्दैनन्, एभोकाडोकै पातकै भने पनि बनाम्। हुन पनि राम्रो टपरी दुनाहरू बनाउनुभयो। श्राद्धमा त सालको पात प्रयोग पनि हुन्न के चापको पात, निमारोको पात, रूख कटहरको पात र डुमरीको पातको लगाउने चलन थियो पहिले।

सालको पातको दुना टपरी त विवाह, व्रतबन्धमा र देव कार्यमा मात्र प्रयोग हुने हो। यसो सम्झेँ– विवाह, व्रतबन्धमा गाउँघर छिमेकीको समेत सहयोग लिएर महिना, हप्ता दिनदेखि तयारी हुन्थ्यो र वरपरका ८–१० जना भएर डोको बोकेर सालको पात टिप्न जंगल जान्थे। श्राद्ध एक दिनको कार्य, घरमा बुहारीलाई श्राद्धको सामग्री जोहोदेखि, भान्छा र पाहुनासम्म हेर्नुपर्ने। त्यसैले मौसमअनुसार भदौ–असोजको महिना घरकै बारीमा निमारो, रुख कटहरलगायतका हरिया पात पाइने भएकाले पनि समयको बचत र एक्लैले गर्नुपर्ने कामको व्यवस्थापनका लागि यस्तो चलन बसेको होला।  

अनि अर्को भनाइ पनि छ– श्राद्धमा माइती पक्ष आउनुहुन्न र त्यो दिन छोरीको घरमा खानुहुन्न। हुन त पितृ कार्य आफ्नै वंशजभित्र गरिने भएकाले माइती नआउनु स्वाभाविकै हो भने अर्कोतिर धेरै मान्छे हुँदा खानपान, घरको काम व्यवस्थापनमा कठिन हुने भएकाले पनि यो चलन बसेको होला। अन्यथा श्राद्धको दिन खाने पितृ प्रसादमा भेद गर्नुपर्ने अवस्था थिएन होला।

कतिपय पुराना चलन कठोर लाग्छन् तर व्यावहारिकताको हिसाबले वैज्ञानिक पनि छन्। समयअनुसार परिवर्तन हुँदै जानु स्वाभाविकै छ तर मानिआएको संस्कार र परम्पराका पछाडि केही रहस्य अवश्य हुन्छ शारीरिक, मानसिक, सामाजिक र भावनात्मक हिसाबले पनि। त्यसैले परम्पराको जगेर्ना गर्दै उचित संस्कार कायम राख्नु मानवीय स्वभाव र श्रद्धा हो।  

प्रकाशित: ३१ भाद्र २०७९ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App