१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

नेपाली भाषाको सार्थक बहस

संसारका सबै भाषामा सम्बन्धित भाषाभाषीको धर्मसंस्कृति, रहनसहन र समाजको प्रतिबिम्ब हुन्छ। संसारमा सर्वाधिक प्रियजन आमा हुन्, उनले सिकाएको भाषामा उनको अनुहार प्रतीक भएर बसेको हुन्छ। यसकारण नेपालका सबै भाषा नेपाली राष्ट्रियताका आधारशिला हुन्। 'नेपालको संविधान, २०७२' ले नेपालमा बोलिने सबै भाषालाई समानरूपमा राष्ट्रभाषा मानेको छ। यसलाई अत्यन्त सकारात्मक उपलब्धि मान्नुपर्छ।नेपालका विभिन्न राष्ट्रभाषामा प्रयोग गरिने नामिक शब्दहरूलाई अद्यापि 'नेपाली बृहत् शब्दकोश'ले ठाउ" दिन सकेको छैन। बालचन्द्र शर्माद्वारा सम्पादित 'नेपाली शब्दकोश (२०१९)' तात्कालिक 'रोयल नेपाल एकेडेमी'बाट प्रकाशित भयो। उक्त शब्दकोशमा मैथिली मातृभाषी र नेवारी मातृभाषी एक–एक जनालाई सम्पादकीय भूमिकामा राखिएको थियो। उनीहरूकै कारण नेवारी र मैथिली भाषाका केही शब्द विधिवत् भित्रिए। 'बृहत्' विशेषण लगाएपछि नेपालका सबै भाषामा प्रयोग गरिने जाति र द्रव्यवाचक नामशब्दलाई शब्दकोशमा स्थान दिनुपर्छ।

नेपालका सबै राष्ट्रभाषाको संरक्षण हुनुपर्छ। अब प्रश्न उठ्न सक्छ, उसो भए नेपालका अन्य सबै राष्ट्रभाषा र नेपाली भाषा समान छन् त? नेपाली भाषा अन्य राष्ट्रभाषाभन्दा विशिष्ट राष्ट्रभाषा हो। यस कुराको पुष्टि पूर्वाग्रहबाट हुन सक्तैन। निश्चित तर्क र प्रमाणहरूबाट मात्र हुन सक्छ। जुन प्रमाण यस्ता छन्— १. नेपाली भाषामा नेपालका सबै राष्ट्रभाषाका शब्दहरूलाई आत्मसात् गर्न सक्ने क्षमता छ। २. नेपाली भाषा नेपालका पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका नेपालीको एकमात्र साझा सम्पर्क भाषा हो। एकथरी मातृभाषा भएका नेपाली र अर्कोथरी मातृभाषा भएका नेपालीको भेट हुनेबित्तिकै ती दुईथरी स्वभावैले नेपाली भाषामा कुरा गर्न थाल्छन्। सम्पूर्ण नेपालीको साझा सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषाले नेपाली–नेपालीबीच प्राकृतिक र भावनात्मक सम्बन्ध स्थापित गरेको छ। देशैभरि प्रभाव पारेर राष्ट्रिय एकता स्थापित गर्न सफल यस भाषाको अद्वितीय क्षमताप्रति नतमस्तक हु"दै भारतीय विद्वान् राहुल सांकृत्यायनले समेत मुक्तकण्ठले प्रशंसा गरेका थिए। ३. नेपाली भाषा निश्चित जातजातिविशेषको भाषा होइन। अनेक जातजातिलाई एकताको सूत्रमा उन्ने साझा जातीय भाषा हो। यस भाषाले नेपालबाहिर पनि नेपालको विस्तार गरेको छ। भारत, भुटान, बर्मालगायत देशमा नेपाली भाषीहरू उल्लेख्य संख्यामा छन्। भारतको दार्जीलिङ, सिक्किमजस्ता स्थानमा बसोबास गर्न पुगेका प्रवासी नेपाली अनेकौ" जात वा थरका भेटिन्छन्, तर उनीहरूको एउटै मातृभाषा गोर्खाली अर्थात् नेपाली नै छ।

अमृतानन्द बा"डा, सुन्दराननन्द बा"डा, सिद्धिचरण श्रेष्ठ, विष्णुकुमारी वाइवा (पारिजात), भूपी शेरचन, भवानी भिक्षु, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, लैनसिंह बाङ्देल, इन्द्रबहादुर राई, पारसमणि प्रधान, सत्यमोहन जोशी, वैरागी काइ"ला, रामदयाल राकेश, तोया गुरुङ, भद्रकुमारी घलेजस्ता चर्चित साहित्यकार नै पर्याप्त प्रमाण हुन्। ४. यस भाषालाई नेपाली मातृभाषीहरूले भन्दा इतरमातृभाषीले बढी माया गरेका छन्। नेपाली भाषाको व्याकरण लेख्ने प्रथम नेपाली नागरिक अमृतानन्द बा"डा हुन्। नेपाली भाषा शुद्धस"ग लेखाउनका लागि हृदयचन्दसिंह प्रधानले 'शब्द–शुद्धि–विचार' र 'शब्द–शुद्धि–विज्ञान'जस्ता सरल तर गहनतम पुस्तक प्रकाशित गरे। नेपाली भाषाको शुद्धताका लागि नेपालभित्र हृदयचन्दसिंह प्रधान र भारतमा पारसमणि प्रधानको योगदान अतुलनीय छ। नेपाली भाषाको शुद्धता संरक्षण गर्ने कार्यमा 'व्याकरण संशोधन, अभियान'का अभियन्ता धनवज्र वज्राचार्यको भूमिका उल्लेखनीय छ। उनले पण्डितराज सोमनाथ सिग्द्यालले समेत अशुद्ध शब्द प्रयोग गरेको प्रमाण सार्वजनिक गरिदिएका थिए।

नेपाली भाषाको स्थापित लेखन–परम्परालाई क्षतविक्षत बनाउने भूमिकाचाहि" त्रिभुवन विश्वविद्यालयस"ग सम्बद्ध र शासकीय आशीर्वाद पाएका नेपाली मातृभाषी विद्वान्हरूमध्ये केहीले मात्रै गरेका छन्। तीमध्येका कसैले उग्र राष्ट्रवादको धङधङीले छोडेपछि सार्वजनिकरूपमै प्रायश्चित्त गरेको घोषणा गरिसकेका छन्। ५. नेपाली भाषाका शब्दहरू एकपल्ट सुन्नेबित्तिकै सम्झन सकिन्छ। बाह्र वर्षको उमेरमा पुगेपछि नेपाली बोल्न थालेका कर्ण शाक्य समसामयिक नेपाली साहित्यकारमा पर्छन्। बर्क एस.जे. विल्यम नाम गरेका बेलायती नागरिकले प्रौढ अवस्थामा दार्जीलिङको बसाइँमा नेपाली भाषा बोल्न र लेख्न थालेका थिए। उनले नेपाली भाषाको मानक शब्दकोश बनाएर प्रकाशित गराए। अंग्रेजी मातृभाषी विद्वान् जे.ए. एटन नेपाली भाषाका प्रथम व्याकरणकार हुनुले अनि टर्नर प्रथम शब्दकोशकार हुनुले नै यस भाषाको सरलता र हृदयस्पर्शिताको पुष्टि गरेका छन्। ६. संस्कृत भाषा नेपालको ऐतिहासिक राजकीय भाषा हो। लिच्छविकालदेखि मल्लकालसम्मका ऐतिहासिक अभिलेखहरू पढ्ने जो कसैलाई पनि यो कुरा थाहा छ। शाहकालमा पनि न्यायिक पत्र तमसुकको लेखन 'लिखितम्'बाट आरम्भ भएर 'शुभम्'मा टुंगिन्छ। वर्णमाला, वर्णोच्चारण आदिको सामीप्यबाट नेपाली भाषा संस्कृत भाषाको उत्तराधिकारी आधुनिक भाषा हो भन्नेमा हामी स्पष्ट हुन सक्छौ"।

दुःखको कुरो अहिले नेपाली भाषा इतिहासमै सबैभन्दा निरीह भएको छ। संस्कृत विद्यालयबाहेक अन्य विद्यालयमा संस्कृतका तत्सम शब्द चिनाउन सक्ने संस्कृत भाषाको अध्ययन–अध्यापन बन्द गराइएको छ। वर्णमालादेखि नै प्रहार गरिएको छ। विद्यालय, बुद्धजस्ता सांस्कृतिक शब्दलाई समेत करकापमा 'विद्यालय, बुद्ध' जस्ता कुरूपीकरण गर्न बाध्य पारिएको छ। ऐतिहासिक अभिलेख, पूर्वज साहित्यकारहरूका कृति र प्रशासन तथा न्यायक्षेत्रमा सधै" चाहिरहन सक्ने लिखतहरू र दैनिक पत्रपत्रिकासमेत पढ्न नसक्ने निरक्षर जनशक्ति उत्पादन गरेर साक्षरताको ढोल पिटि"दै छ! संयुक्त वर्ण वा अक्षर नचिनीकन नेपाली भाषामा कोही पनि साक्षर हुन सक्तैन। देवनागरी लिपि नेपालको मौलिक र पुराताŒिवक लिपि हो। यसको संरक्षण गर्नुपर्ने दायित्वबाट पन्छिएर यसै लिपिको उन्मूलनका लागि प्रोत्साहित गर्ने शिक्षा मन्त्रालयको निर्णय (२०६९) अराष्ट्रिय, अभाषिक र असांस्कृतिक छ। कथित तद्भवीकरण तथा सरलताको नाममा संस्कृत र आगन्तुक शब्दका तत्सम शब्दहरूलाई मानक शब्दकोशबाट विस्थापित गरेर नेपाली भाषाका उपाधिधारी साहित्यकारहरू नै शुद्ध लेख्न जान्दैनथे भन्ने प्रचार गरि"दै छ। नेपाली भाषाको मौलिक व्याकरणमाथि चासो राखिएको छैन। मातृभाषामै शिक्षा दिनुपर्ने अवस्थामा सरकारी अनुदानबाट सञ्चालित सार्वजनिक वा सामुदायिक विद्यालयमा समेत अंग्रेजी भाषाका माध्यमबाट पठन–पाठन गराइने निर्णय गरिसकिएको छ।

कुनै पनि राष्ट्रलाई समाप्त पार्नुछ भने सबैभन्दा पहिले त्यहाँका भाषा–संस्कृतिमाथि प्रहार गरिन्छ। नेपालभरि व्याप्त भएर क्रमशः फैलिँदै विश्वव्यापी हुन थालेको नेपाली भाषामाथि नै प्रहार गर्ने शक्तिले नेपालका अन्य भाषालाई सुरक्षित पार्न सघाउलान् भनेर आशा गर्नेहरूले थाहा पाउनुपर्छ सा"ढेलाई चपाउन सक्नेहरूले बाछालाई सजिलै निल्न सक्छन्। चीन, जापान, दक्षिण कोरिया जस्ता एसियाली मुलुक र युरोपका देशहरूसमेत मौलिक भाषा बचाएरै उन्नतिको शिखरमा पुगेका छन्। नेपाली भाषा नेपालभित्र र नेपालबाहिरका सबैलाई सजिलो र रसिलो लागेको छ तर मातृभाषी, ब्राह्मण थरका अनि नेपाली विषयका प्राध्यापकमध्ये दुई–चार जना जानाजान अपवादको सूचीमा उभिएका छन्। संसारभरिकै भाषाविज्ञानले व्याकरण र लेख्य भाषाको वर्णविन्यासलाई अपरिवर्तनीय र अनुशासनबद्ध मानेका छन्। भाषालाई स्थायित्व, अमरता र एकरूपता प्रदान गर्ने लेख्य परम्परालाई विस्थापित गरी व्यक्तिगत लहड, तरंग, हठ र स्वार्थको पोषणका लागि भत्काउने प्रयत्नलाई प्रोत्साहन दिइएको छ। पदीय अधिकारको दुरुपयोग गरी अराजकताको खेती गर्ने दुष्परम्परा स्थापित गर्ने दुस्साहसका रूपमा गत फागुन, २८, २९ र ३० गते काँकरभिट्टामा सम्पन्न गरिएको भनिएको 'अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठी, २०७२'का निर्णयहरू सार्वजनिक गरिएका छन्। उपस्थिति र घोषणापत्रको बेहोरामा उल्लिखित भाषा हेर्दा नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पूर्ण पत्रकार, लेखक, साहित्यकार, शिक्षक, प्राध्यापक, न्यायकर्मी, प्रशासनकर्मीलगायतका सचेत प्रयोक्ताहरूलाई समेट्ने प्रयत्न गर्नुको विपरीत झन्झन् बिच्क्याइँदै छ भन्ने कुरा स्पष्ट भएको छ। 'नेपाली भाषाको लेख्य मानकलाई कथ्य मानकसँग निकट बनाउन प्रयत्नशील रहने' भन्ने निर्णयले अराजकतावादीहरूको अतृप्ति स्पष्टतः चित्रण गरेको छ।

'देवनागरी लिपि तथा परम्परित वर्णविन्यास (१९९८) पछि हाम्रा पुरातत्व हुन्। शब्दकोशमा प्रविष्टि पाई साहित्यकारहरूबाट प्रयोग गरिएको वर्णविन्यास अशुद्ध ठहराउने गरी नियमन गर्ने अधिकार कसैलाई पनि छैन भनी 'नेपाली भाषा बचाऔँ, २०७२' को मागप्रति धेरैको समर्थन छ। यस्तो बेहोरामा हस्ताक्षर गर्ने २०२ जनामध्ये राष्ट्रकवि माधव घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र भाषाविभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमांगराज अधिकारी, तात्कालिक शिक्षामन्त्री एवं साझा प्रकाशनका प्रतिनिधिका रूपमा दीनानाथ शर्मा तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख देवीप्रसाद गौतमसमेत छन्। आफ्नो लिखित प्रतिबद्धताभन्दा बाहिर गएर नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले फेरि पनि नियम बनाउने धृष्टता गरिरहनुलाई आत्मघातको प्रयासका अर्थमा मात्रै बुझ्न सकिन्छ। उपर्युक्त सबै संस्था वा निकायले आफ्नो संस्थागत अस्तित्व सुरक्षित राख्नका लागि लेख्य नेपाली भाषाका प्रयोक्ताहरू सम्पूर्णले सुन्न पाउने गरी सार्थक शास्त्रार्थ गराएर भाषाशास्त्रसंगत बाटो अवलम्बन गर्नु अनिवार्य छ। शास्त्रार्थका लागि उपस्थित उभय पक्षका विज्ञहरूका तर्कवितर्क नटुंगिउन्जेलसम्म छलफललाई निरन्तरता दिनुपर्छ। पर्यवेक्षक प्रयोक्ताहरूको जिज्ञासा मेटाउने प्राज्ञिक क्षमताचाहिँ विज्ञहरूमा हुनैपर्छ। त्यस प्रकारको सार्थक प्राज्ञिक कार्यक्रमको आयोजना गर्न नसक्ने हो भने उपर्युक्त संस्था वा निकायसँग लिखित प्रतिबद्धतालाई अविलम्ब कार्यान्वयनमा लैजानुबाहेक अर्को विकल्प नै छैन।

प्रकाशित: २७ चैत्र २०७२ २०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %