१२ आश्विन २०७९ बुधबार
विचार

‘शेरबहादुर दाइ टिकट माग्न म काठमाडौँ आउँदिन’

देशभर चुनावको माहोल बढ्दो छ। पार्टीभित्र मात्र नभइ बाहिरी गतिविधि पनि निर्वाचन केन्द्रित बनिरहेका छन्। सबै दलमा आकांक्षीको नाम संकलन गरेर सिफारिस भइरहेको छ।  

पार्टीको तर्फबाट उम्मेदवार बन्नका लागि पार्टीले टिकट दिनुपर्ने हुन्छ। त्यसले आफूलाई उम्मेदवारका रुपमा टिकटसहित उभ्याउ जोडबलका साथ दौडधुप चलेको छ। टिकट हात पार्नका लागि नेताहरुसँग भेटघाटले मात्र पुग्दैन, दह्रोगरी भनसुन गर्नुपर्छ भन्ने मान्यताले बलियो गरी जरो गाडेको छ।

भेटघाट र भनसुनका लागि राजधानी जार्नपर्छ र ठूला नेता भेट्नैपर्छ भन्ने मनोविज्ञानको गहिरो छाप र प्रभाव छ जिल्लाका नेता तथा कार्यकर्तामा। टिकट मिलाउनका लागि देशभरबाट आकांक्षीहरु आफ्ना समर्थकसहित ठूलै शक्ति प्रदर्शनका साथ राजधानी काठमाडौँ छिर्ने तयारीमा छन्। टिकटका लागि राजधानी छिर्नुपर्ने, नेता भेट्नुपर्ने र भनसुन गर्नुपर्ने कस्तो संस्कृति मौलाएको हो भन्नेमा म भने अचम्म र रन्नभुल्नमा पर्दैछु।  

जिल्लामा को कस्तो छ, पार्टीमा कसको योगदान के छ, व्यक्तिको लोकप्रियता कस्तो छ, त्यो जिल्लामा प्रष्ट छ। तर केन्द्रका नेताले नै उसका बारे बोल्दिनुपर्ने, योगदान निर्धारण गरिदिनुपर्ने, लोकप्रियता तोकिदिनुपर्ने र टिकट दिएर उम्मदे्वार बनाइदिनुपर्ने तर भोट भने जिल्लाका जनता र पार्टीका साधारण कार्यकर्ताले हालेर जिताइदिनुपर्ने अवस्था देख्दा दिक्क लाग्दो रहेछ।

आदरणीय नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू, यसपटक भने म (लेखक) पनि तपाईको पार्टीको तर्फबाट उम्मेदवारको आकांक्षी हुँ। पोखरा महानगरपालिका–१३ बस्ने म नवीन सिग्देल कास्की–१(ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यको उम्मेदवार बन्न चाहेको छु।

म एकपटक तपाईं (देउवा) लाई पुरानो कुराको स्मरण गराउँछु। कुनैबेला तपाईं पार्टीको साधारण सदस्यबाट निष्काशित हुँदा म युवावस्थामा थिए। तपाईंलाई टेलिभिजनको पर्दामा देखेर चिनेको थिए तर तपाईंले म जस्तो सामान्य कार्यकर्तालाई चिन्ने कुरै भएन।  

नेपाल विद्यार्थी संघको राजनीतिमा क्रमशः वामे सर्दै थिए। तर तपाईंमाथि भएको कारबाही मलाई पटक्कै मन परेन। पार्टीको नेता हुनुहुन्थ्यो र पार्टीको तर्फबाट प्रधानमन्त्री नै रहनु भएको अवस्थामा तपाईंमाथिको कारबाहीले तपाईंलाई ठूलो अन्याय भएको ठाने र तपाईंले चालेका कदमलाई पछ्याउँदै गए।  

तपाईंमाथिको कारबाही पछि अन्ततः मेरो काँग्रेस विभाजित हुन पुग्यो, विभाजनले काँग्रेसजनमा ठूलो चोट पुग्यो। चोट त थिदै थियो, चोटबाट सम्हालिंदै अन्यायविरुद्ध उभिने निर्णय गरे। तपाईंमाथि अन्याय भएको ठानेर म पनि तपाईंले नै खोलेको नेपाली काँग्रेस (प्रजातान्त्रिक) मा उभिएर तपाईंका लागि न्यायको दियो बालिरहे।

तपाईंले नेतृत्व गरेको नेपाली काँग्रेस (प्रजातान्त्रिक) को नेपाल विद्यार्थी संघको तर्फबाट मुलुककै ठूलो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सभापतिको उम्मेदवार बने। त्यस लगत्तै जिल्लामा नेपाल विद्यार्थी संघको अधिवेशनबाट सभापति बने। यी सबै कुरा तपाईंलाई सायद थाहा पनि छैन होला।  

त्यति बेला नेपाल काँग्रेस (प्रजातान्त्रिक) बचाएर तपाईंलाई न्याय खोज्नका लागि कास्कीमा अघि सर्नु भएका अग्रज नेताहरु खेमराज पौडेल, विश्व सिग्देल, सोभियत बहादुर अधिकारी, युवा नेता गुरु बराल लगायतलाई त्यो विषय राम्रैसँगै जानकारी छ।  

प्रजातान्त्रिक काँग्रेस अघि कास्कीका नेता शुक्रराज शर्मा, यज्ञबहादुर थापाहरुले दिनु भएको अभिभावकत्व म भुल्न सक्दिन। पार्टी एकीकरण पछि भने चारतारे झण्डा काँधमा बोक्ने र रुखको छहारीमा सुरक्षित महसुस गर्दै कसैको पक्ष र विपक्षमा नलागिकन पार्टीलाई शीरमा राखेर खटिरहे।  

दाइ (शेरबहादुर) अझै पनि म राजनीतिमै छु। नेपाल विद्यार्थी संघको सभापतिपछि १२औँ महाधिवेशनमा नेपाली काँग्रेस–२ को क्षेत्रीय सदस्य बने, १३औँ महाधिवेशनमा जिल्ला सदस्य बने, त्यही कार्याकालमा पार्टीको प्रवक्ताको भूमिका निर्वाह गर्ने अवसर मिल्यो, प्रवक्ताको भूमिका निर्वाह गर्ने अवसर दिनुहुने निवर्तमान सभापति कृष्ण केसीप्रति आभार व्यक्त गर्छु। १४औँ महाधिवेशनपछि नेपाली कांग्रेस कास्कीको सहसचिव बने।  

२०५५ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै आजसम्म आइपुग्दा पार्टीभित्र न्याय स्थापित हुन नसकेको र योगदानको कदर हुन छाडेको महसुस अघिकांश कार्यकर्ताले गरेका छन्। तपाईलाई अन्याय पर्दा उभिने म पनि कार्यकर्ताको चाहना अनुसार न्याय खोज्नुपर्ने अवस्थामा पुगेको छु।  

पार्टीभित्र विकृति बढेको गुनासो अधिकांश कार्यकर्ताको छ।  तर गुनासो व्यक्त गर्न पाइरहेका छैनन्। पार्टीका ठूला नेता जिल्ला पुग्दा पनि कार्यकर्ताले भेट्न पाउँदैन। किनकी एयरपोर्टदेखि होटल बसाइसम्म र होटल बसाइपछिको एयरपोर्टसम्म ती कार्यकर्ताको पहुँच नै छैन। तर पार्टीका उपसभापति पूर्णबहादुर खड्काको अभियानबाट भने कार्यकर्ता खुशी छन्। दलित, आदिवासीको बस्ती र गरिब जनताको घरमा बास बस्ने मेरा नेता खड्काको अभियानप्रति पूर्ण सम्मान छ।  

दाइ, म जस्तै आकांक्षीहरु दलबलसहित तपाई र पार्टीका ठूला नेताहरुलाई भेटेर उम्मेदवार बन्नका लागि टिकट दिलाइदिनुस् भन्नका लागि राजधानी आउँदै हुनुहुन्छ। उहाँहरुलाई शुभयात्रा र शुभकामना टक्रयाँउछु। तर, शेरबहादुर दाइ म भने तपाईं र ठूला नेतालाई चुनाव अघि भेट्न आउँदिन।  किनकी भेटेर टिकट मिलाई दिनुस् भन्न म आउँदिन। यसको मतलव म उम्मेदवार बन्ने दौडबाट पछाडी हटे र फिर्ता लिएको भन्ने पटक्कै होइन।

म काँग्रेस पार्टीभित्रका ९० प्रतिशत वर्गको प्रतिनिधित्व गर्ने पात्र हुँ। मेरो पार्टी गाउँमा पट्पट् हातखुट्टा फुट्ने गरी जीवन धानिरहेका किसानले जोगाएको पार्टी हो। कम मूल्यको लुगा लगाउने तर पार्टीका लागि अमूल्य जीवन दिन सक्नेहरुले बचाएको पार्टी हो। सार्वजनिक भाडाका सवारी साधनमा भाडा तिरेर पार्टीको काममा खट्ने निष्ठावान नेता तथा कार्यकर्ताको पार्टी हो।

आफू भोको रहेर पनि पार्टीका लागि लड्ने कार्यकर्ताको मायाले भरिएको पार्टी हो। सामान्य जीवन जिउँने तर पार्टीलाई पर्दा सम्पूर्ण समय र जीवन दिनेहरुले जोगाएको पार्टी हो। यस्तै-यस्तै परिस्थितिका कार्यकर्ताको प्रतिनिधि पात्र म पनि हुँ। यस्तो परिस्थितिका कार्यकर्ताहरु टिकट मिलाइदिनुस् भन्न तपाईं र ठूला नेतालाई भेट्न राजधानी आउँदैनन्। त्यसैले म पनि आउँदिन।  

दाइ दलबलसहित शक्ति प्रदर्शनको शैलीमा टिकट माग्न पुग्ने र त्यसबाट नेताहरु प्रभावित हुने आशंका कार्यकर्तामा रहेकाले म पनि आउँदिन। पार्टीमा जीवन र जवानी दिएका तर अवसरबाट पूर्ण रुपमा वञ्चित कार्यकर्ता पछिल्ला गतिविधिबाट खुशी छैनन्। मेरो जीवन अझै बाँकी छ तर जीवन र जवानी दिएर पार्टी बचाएका धेरै कार्यकर्ता तपाईंसम्म आइपुग्ने सामथ्र्य राख्दैनन्। त्यसैले म पनि आउँदिन।

दाइ टिकटको लागि दलबल सहितको काठमाडौँ यात्रा र त्यहाँको बसाइको खर्च निकै महँगो छ। राजनीतिलाई समाजसेवा ठान्ने, पार्टीलाई नै सर्वाेश्व ठान्ने र योगदान गर्नेहरुले आफूसँग भएको पनि गुमाइसकेका छन्। उहाँहरु त्यसरी राजधानी जाने हैसियत राख्नुहुन्न र राजधानी जानुहुन्छ। म पनि त्यहि वर्गभित्र त्यसैले म पनि आउँदिन दाइ।

टिकट दिँदा पक्कै पनि न्याय र योगदानमा आधारित हुनुपर्छ भन्ने चाहना अधिकांश कार्यकर्ताको छ। कार्यकर्ताको त्यस्तो चाहाना अनुसार नै टिकट वितरण हुने विश्वास दिलाउनु भयो भने एकदिन न्याय हुने र योगदानको मूल्यांकन हुने आशामा अरु पनि राजधानी आउँदैनन् होला दाइ। टिकटका लागि राजधानी पुग्ने पर्ने अवस्था अन्त्य गर्न आवश्यक भएकाले पनि म राजधानी आउँदिन।      

दाइ पार्टीभित्र न्याय र योगदानको मूल्यांकन नगरी टिकट वितरण गरिएको भन्ने गुनासो अधिकांश कार्यकर्ताको छ। १०९ औं वीपी जयन्तीको दिन पोखरा–२५ हेमजास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा न्याय र योगदानको पक्षमा वकालत गर्दै ‘न्याय स्थापित गरौं, योगदानको कदर गरौं’ भनेको छु, अबका दिनहरु त्यसका लागि नै खर्चने छु।

न्याय र योगदानको आधारमा सबैको मूल्यांकन हुनुपर्छ भन्ने व्यक्ति भएका कारण न्याय र योगदानमा आधारित भएर नै टिकट बाँडिन्छ भन्ने विश्वास लिएको छु, त्यसैले पनि म राजधानी आउँदिन। किनकी मैले नपाएर मेरै कोही साथीले योगदानको आधारमा न्याय पाउँछ र टिकट पाउँछ भने त्यो टिकट पनि त मेरो नै हो नी। न्याय र योगदानका आधारमा की मेरो साथीले पाउँछ की मैले नै पाउँछु। त्यसैले पनि म राजधानी आउँदिन।  

जात, धर्म, उमेर र भूगोलका आधारमा राजनीति गर्दीन भनेको छु। १८ वर्षको उमेरमा नेविसंघमा लाग्दै गर्दा कुनै पद पाइएला, सांसद वा मन्त्री बनिएला भन्ने कुनै योजना र सपना थिएन। तर म लागेको पार्टीमा मैले उम्मेदवारी प्रस्तुत नगर्दा काँग्रेसका लागि योगदान गरेका, त्याग गरेका, निष्ठावान भएर पार्टीमा सेवा गरेका र राजनीतिमा भविष्य खोजेका युवाहरुमा नैराश्यता छाउने भएका कारण कार्यकर्ताको मनोवल उकास्न र युवाहरुलाई उत्साहित बनाउनुपर्ने विषयमा गम्भीर बन्दै उम्मेदवारी प्रस्तुत गरे। म भन्दा बढी योगदान गरेकाहरु, योग्य, सक्षम, लोकप्रिय, जनप्रिय साथी भए मेरा कारणले गर्दा अन्यायमा पर्न हुँदैन। अरु साथीमाथि पनि अन्याय नहुने गरी तपाईंबाट नै मूल्यांकन हुन विश्वास छ।  

अन्यायको पीडा कत्ति हुन्छ तपाईं आफैंले अनुभव गर्नुभएको छ। तपाईंलाई अन्याय पर्दा उभिएको म, तपाईंबाट कसैमाथि पनि अन्याय हुँदैन भन्ने आशा, विश्वास र भरोसामा छु। निष्ठा हराउने, न्याय हराउने, योगदानको मूल्यांकन नहुने अवस्था अन्त्य हुनुपर्ने माग तपाईंका अधिकांश कार्यकर्ताको छ। न्याय र योगदानमा आधारित रहँदा सबैले एक दिन सम्मान पाउँछन्।

पार्टीभित्र सम्मानित कार्यकर्ता उत्साहित हुन्छन्, उत्साहित कार्यकर्ताले पार्टीलाई मजबुद बनाउँछन्। सम्मानित र उत्साहित कार्यकर्ता बनाउँनुछ त्यसैले जहिले न्याय र योगदानमा आधारित भएर जुन दिन टिकट पाउँला पाउँला, त्यही दिन कुरौला, त्यसले यो पटक टिकट माग्न काठमाडाैँ आउँदिन दाइ।  

टिकट नपाएपनि जीवनभर पार्टीकै काम र पार्टीकै भूमिकामा रहेर जनताको सेवामा दौडिरहुला, कुँदिरहुला। ‘न्याय स्थापित गरौं, योगदानको कदर गरौं’, त्यसैले टिकट माग्न काठमाडौँ आउँदिन दाइ।

प्रकाशित: २९ भाद्र २०७९ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App