पाण्डव र कौरवबीच युद्ध हुने भएपछि शल्य पाण्डवका पक्षबाट लड्न आफ्ना सेनासहित कुरुक्षेत्र आइरहेका थिए। उनी आउँदै गरेको खबर पाउनेबित्तिकै दुर्योधनले ठाउँठाउँमा सेनाका लागि भोजन, विश्रामस्थल, निवास र घोडाका लागि रसद पानी अनि तबेलाको व्यवस्था गरिदिए। स्वागतका लागि हरेक ठाउँमा निपुण सेवक खटिएका थिए। दुर्योधन स्वयं उनलाई स्वागत गर्न उपस्थित भए। शल्यलाई यी सबै सुविधा युधिष्ठिरले उपलब्ध गराएका होलान् भन्ने लागेको थियो। तर, पाण्डव पक्ष आफ्नै मामाको सत्कारमा पूरै उदासीन थियो। शल्यले खुसी भएर दुर्योधनलाई भने, 'तिमीले मलाई यति ठूलो सत्कार गर्यौभ। लौ, वरदान माग।' दुर्योधनले युद्धमा सेनासहित आफूलाई सघाउन आग्रह गरे। नैतिक संकटमा परेर शल्यले यो प्रस्ताव स्वीकार गर्नुपर्योसे। तर, युधिष्ठिरसँग भेटेर उनले नकुल र सहदेवलाई घात नगर्ने तथा कर्णलाई हतोत्साहित गरिरहने वचन दिए। नभन्दै युद्धमा कर्णको सारथि भए पनि उनले कर्णमाथि गर्नु विश्वासघात गरे। उनको आत्मसम्मानमाथि प्रहार गरिरहे। 'तिमीजस्ता तुच्छ सूत्रपुत्रलाई अर्जुनले नमारिछाड्दैनन्' भनेर ख्याँसिरहे। कर्णको आदेशअनुसार उनले रथ हाँक्न अस्वीकार गरे। उनैले हाँकेको रथ हिलोमा भासिँदा पनि रथ उचाल्न कर्णलाई सहयोग गरेनन्। त्यही मौकामा कृष्णको आदेशमा धर्मयुद्धको नियमविपरीत निहत्था कर्णमाथि अर्जुनले ब्रह्मास्त्र प्रहार गरे। यसरी कर्णको हत्यामा अप्रत्यक्षरूपले उनकै सारथि शल्यले सघाए। एउटा पक्षबाट युद्ध लडेर अर्को पक्षलाई सघाउने यही प्रवृत्ति पुराणमा शल्य प्रवृत्तिका रूपमा परिचित छ। कर्णमाथि घात गरेर पाण्डव पक्षको जित सुनिश्चित गरिदिए पनि शल्यले त्यसको पुरस्कार पाएनन्। कर्णपछि कौरवका सेनापति बनेका उनी आफ्नै सोतेला भान्जा युधिष्ठिरबाट मारिए।
'भट्टराईमाथि घात'
कांग्रेसको एउटा खेमामा बहुचर्चित यस भनाइलाई उद्धरण चिह्नभित्रै राख्नु ठीक हुन्छ। किनभने यो कतै प्रमाणित कुरा होइन, न त भट्टराईमाथि घात गरेको भनी आरोपित शल्यहरूले नै यसप्रति आत्मस्वीकृति दिएका छन्। घात–प्रतिघातको खेल कांग्रेसको ग्रन्थीमै छ भनिन्छ। विगतमा तुल्सी गिरी, विश्वबन्धु थापाहरूले बीपीमाथि घात गरेकै हुन्। दाजु मातृका कोइरालासमेत उनका लागि घाती ठहरिए। कृष्णप्रसाद भट्टराईलाई ०४८ र ०५१ को चुनावमा हराउन गिरिजाप्रसाद कोइरालाले नै शल्यको भूमिका खेलेका थिए भन्ने चिरन्तन आरोप देउवा पक्षले लगाउने गरेका छन्। आरोप कति सत्य हो, त्यो कांग्रेसका भित्रियाहरूलाई थाहा होला। पहिले देउवा गिरिजाप्रसादका विश्वासपात्र थिए। कतिसम्म भनिन्छ भने भट्टराईमाथि घात गर्न नमानेकैले गिरिजाप्रसादले देउवालाई दायाँ राख्न छाडेका हुन्। नत्र ४८ को चुनावपछि गिरिजाप्रसादले आफ्नो क्याबिनेटमा रोज्जा मन्त्रालय लिन देउवालाई फुक्काफाल छाडिदिएका थिए। पार्टीभित्र गिरिजाप्रसादको फासीवादसँग लड्न नसकेर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको अन्तिम अध्यायतिर आफ्नो प्राणसरहको पार्टीबाट रुँदै अलग भए। तिनका आँसुको बात कांग्रेसलाई लागेको कसैले हेक्का राखेन। त्यसको प्रतिरोधको प्रतीकचाहिँ देउवा भए। उनले बारम्बार गिरिजाप्रसादलाई चुनौती दिए। प्रतिरोधकै एउटा चरणमा उनले पार्टी नै चोइटाइदिए।
खोज्दै गए कांग्रेसमा मात्र होइन, अन्य पार्टी र नेपाली राजनीतिमै शल्य प्रवृत्तिका उदाहरण बग्रेल्ती भेटिन्छन्। शेरबहादुर देउवा हालै पार्टी सभापति र बुधबारको चुनावबाट संसदीय दलका नेता भएका छन्। दुवै चुनावमा उनले भारी मतान्तरले प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई हराए। यसको अर्थ पार्टीका तर्फबाट अब उनी प्रधान मन्त्रीका उमेदवार पनि हुन्। देउवाबारे मैले बारम्बार भन्दै आएको के हो भने उनीसँग नेतामा नभई नहुने गुणहरू गयल छन्। राजनीतिक दूरदृष्टि, लोकतान्त्रिक जीवनशैली र प्रतिबद्धता अनि वाककलासँग सम्बन्ध नजोडिँदै उनको पारपाचुके छ। यस्तो व्यक्ति आफ्नै विवेकले भन्दा अरूको बदनियतले चल्ने खतरा बढी हुन्छ। उनका आगामी कदममा संघीयता विरोधी, हिन्दु राज्यका अभियन्ता, भ्रष्टाचारमा मुछिएका खुमबहादुर खड्का अनि राणा खानदानकी पत्नी आरजूको दबाब रहने खतरा छ। यो, कांग्रेसमा शल्य प्रवृत्ति बेलगाम हुने खतराको संकेत हो।
कांग्रेसमा प्राणघात
व्यक्तिमाथिको घात त्यति ठूलो हुँदैन। पार्टीको प्राणमाथि गरिएको घातचाहिँ अक्षम्य हुन्छ। कांग्रेसको प्राण प्रजातान्त्रिक समाजवाद हो। तर, उसकै नेतृत्वमा देशमा नवउदारवाद बेलगाम हुनु कांग्रेसमाथिकै प्राणघात हो।
नेपालमा लोकतन्त्रका नाममा नवउदारवादको पृष्ठपोषण भइरहेको छ। यो भनेको भूमण्डलीकृत कर्पोरेट दुनियाँको सुषुप्त राज हो। यसरी नै हुने हो लोकतन्त्रको भ्रष्टीकरण। बीपीको प्रजातान्त्रिक समाजवाद पुँजीवादलाई मानवीय अनुहार दिने प्रयास थियो। आज हाम्रो लोकतन्त्र पूरै बजारको अधीनमा छ। पैसा छ, स्वर्गीय सुखभोग यहीँ छ, तपाईँ महाराज इन्द्रको सुखभोग गर्न पाउनुहुन्छ, अप्सरा, ऊर्वर्शी, रम्भा, तिलोत्तमा यहीँ हाजिर छन्। पैसा छैन त बाँच र बचाऊ भन्ने मानवीय मन्त्र पनि अरण्य रोदन बन्छ। पैसाको अभावमा कति होनाहारले मिर्गौला वा मुटु रोगबाट अकालमै ज्यान गुमाएका छन्। अस्पतालहरू मानवताविहीन विश्वबजारका नाफाखोर साहूजी भएका छन्। सेवाको नाममा पेटबोलीमा ती भनिरहेका हुन्छन्, पैसा तिर, उपचार गराऊ र प्राण बचाऊ, पैसा छैन त स्वर्गको भिसा र टिकट लिएर जाऊ। नाफाखोर साहूजीहरू अस्पतालमा मात्र छैनन्। हाम्रो जीवनका हरेक मोडमा छन्। भूपि शेरचनको भाषामा भन्ने हो भने निला साँप भएर तिनले हाम्रो मौलिकता, संस्कृति, मानवता, ममता, प्रेम र समग्रमा जीवनलाई नै डसिरहेका छन्। पैसाको अभावमा अत्यन्त प्रतिभाशाली विद्यार्थीले पनि आफूले चाहेको पढ्न पाएका छैनन्। डाक्टर, इन्जिनियर, पाइलट जति धनी वर्गबाट मात्र किन आएका छन्? किन संसारमै नक्कली डाक्टर, इन्जिनियरको बिगबिगी छ? यथार्थमा हाम्रो राजनीतिक भ्रष्टीकरणको जड नै यही नवउदारवाद हो।
आर्थिक उदारीकरणभन्दा अघि लाइसेन्स कोटा राजमा भ्रष्टाचारबाट मन्त्री र प्रशासनिक अधिकारीहरुले फाइदा लिन्थे। कर्पोरेट जगतको गुनासो हुन्थ्यो, घुसबिना लाइसेन्स दिइँदैन। नवउदारीकरण प्रक्रियापछि घडीको सुई उल्टो घुमेर भ्रष्टाचारको प्रक्रिया बदलिन थाल्यो। प्रजातन्त्र पुनर्स्थापनापछि नेपालमा धेरै ठूला घोटालाहरु भएका छन्। कर्पोरेट जगतले अरबौँ रुपियाँ राजस्व नोक्सान गरिदिएको छ। यसप्रति सबै पक्ष तैँ चुप मै चुप छन्। नेता, सरकारी निकाय, नागरिक समाज, दबाब समूहहरु र स्वयं मिडिया पनि। केही वर्षअघिमात्र एक जना प्रतिष्ठित व्यापारीको सवालमा हाम्रा देशका यी रखवाला र वाचडगहरू किन मौन भइदिए, सम्झनुहुन्छ?
लोकतन्त्रको आवरणमा फस्टाएको नवउदारीकरणको क्रममा ठूला कर्पोरेट घरानियाको हितमा नीतिहरु बन्छन्। यसले जनजीविकाका आधारभूत आवश्यकतामाथि कर्पोरेट जगतको सत्ता स्थापित गरिदिन्छ। जनसाधारणलाई जीवन बाँचिनसक्नु हुन्छ। झट्ट देख्दा कर्पोरेट जगतलाई मर्यादामा राख्न कानुन र कानुनपालक निकाय हुन्छन्। यथार्थमा कर्पोरेट जगतले यी सबैलाई नियन्त्रण गरिरहेको हुन्छ। नेता र सरकारी अधिकारीहरु तिनकै हितको रक्षा र जनसाधारणलाई उपेक्षा गरिरहेका हुन्छन्। संसारका नाफाखोर साहूजीहरूबाट नियन्त्रित देशको कुनै मानवीय भविष्य हुँदैन किनभने उसलाई आफ्नो नाफाबाहेक मानवताका सबै कुरा बेकार लाग्छन्।
प्रजातन्त्र पुनर्स्थापनापछि देश मूलतः नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको कब्जामा रह्यो। तर, देशका 'डिफ्याक्टो प्रधान मन्त्री' (पर्दापछाडिका असली प्रधान मन्त्री) चाहिँ कांग्रेसका सदाबहार अर्थमन्त्री डा. रामशरण महत भइरहे। खासमा हाम्रो देशमा नवउदारवादका आर्किटेक्ट उनै हुन्। के यो प्रजातान्त्रिक समाजवादको सपना देख्ने कांग्रेसको आत्मामाथि शल्यहरूको घात होइन?
प्रकाशित: २५ चैत्र २०७२ २०:३९ बिहीबार

