२० वैशाख २०८३ आइतबार
image/svg+xml
विचार

राजनीति : किन?

अहिले नेपालमा सबैभन्दा धेरै गफ गरिने तर नरुचाइने र गाली गरिने एउटामात्र विषय भनेको राजनीति र यसमा लागेका व्यक्ति भएका छन्। दैनिक १५ घन्टासम्म लोडसेडिङ, मधेस आन्दोलन, प्रमुख आर्थिक साझेदारसँगको चिसो सम्बन्ध र त्यसको परिणामस्वरूप १०० दिन मनाउन सफल नाकाबन्दीले निम्त्याएका समस्या इन्धन संकट, कालोबजारी, दैनिक उपभोग्य वस्तुहरुको अभाव, यातायातमा कठिनाइ, महाभूकम्प अनि राहत कुर्दाकुर्दै चिसोले ज्यान गुमाएका भूकम्पपीडित, देशका विभिन्न भागमा अधिकार प्रतिनिधित्व आदिलाई लिएर भइरहेका आन्दोलन, पछिल्लो समयमा आएर मौलाएको वैचारिक, जातीय र क्षेत्रीय ध्रुवीकरण र त्यसले खल्बलाएको सामाजिक सद्भाव यी सबको प्रमुख कारण देशको राजनीतिक नेतृत्व हो भन्नेमा दुई मत छैन।त्यसैले पनि अहिले अधिकांश नेपाली नागरिकलाई राजनीति भन्ने शब्द सुन्नेबित्तिकै जरो आउँछ। राजनीतिज्ञहरुको मान र प्रतिष्ठा घट्दो क्रममा छ। विगतका वर्षमा राजनीति भनेको आफू र आफ्ना वरपरका व्यक्तिहरुको फाइदाका लागि अनुचित ढंगले राज्य शक्ति र पदको दोहन र दुरुपयोग गर्ने पेशा हो भन्ने नजिर स्थापित नै भइसक्यो। देशप्रति सबैभन्दा उत्तरदायी हुनुपर्ने व्यक्तिहरु नै राष्ट्रप्रति अनुत्तरदायी छन्। वर्तमान अवस्थामा राजनीतिप्रति युवाहरुको सकारात्मक धारणा बन्न नसकेकै कारण नेपालको राजनीति 'मास पोलिटिक्स' बन्न पनि सकिरहेको छैन।

विगतमा एकथरी मानिसमा राजनीति भनेको सर्वसाधारणले नभएर संभ्रान्त वर्गले गर्ने क्रियाकलाप हो भन्ने मानसिकता थियो। पछिल्लो समयमा यो मानसिकतामा केही हदसम्म परिवर्तन आई पिछडिएको र उपेक्षित वर्गलाई राजनीतिमा सहभागी गराइएको भए तापनि राजनीतिमा प्रवेश गर्नुअगाडि निम्न वर्गको प्रतिनिधित्व गर्ने राजनीतिकर्मी नै राजनीतिक उच्च ओहदामा पुगेपछि रातारात उच्चवर्गमा परिणत हुने तर आफूले जुन वर्गबाट प्रतिनिधित्व गरेको हो सो वर्गको उठानका लागि भने केही पनि काम नगरेको भन्ने गुनासा सुनिने र समाचार प्रकाशित हुने गरेका छन्। राजनीतिमा युवाहरु उदासिन हुनाको एउटा कारण यो पनि हो।

राजनीति समाज परिवर्तनका लागि हो, राजनीति समाजसेवा हो। राज्यलाई आर्थिक सामाजिक हरेकतवरले समृद्ध बनाउन सबैभन्दा ठूलो भूमिका राजनीतिकै हुन्छ, राज्यको नीति बनाउने यस्तो महत्वपूर्ण कार्य अहिले पद, शक्ति र पैसा कमाउने पेशा बनेको छ। राजनीति कर्ममा लाग्ने र लाग्न चाहने जो कोहीले पनि आफू राजनीति किन गर्दैछु भन्ने कुरामा पहिले नै दृढ हुनु जरुरी छ जसले गर्दा राजनीतिको मर्ममा आँच आउन सक्दैन। अहिले राजनीति गरिरहेकाहरु काम गराईले नै राजनीति जस्तो पवित्र कर्म नेपाली समाजमा घृणित बनेको छ।

नेपाली राजनीतिमा युवाको सक्रियता नहुँदा आज देशले जे भोग्नुपरेको छ, त्यो यो पुस्ताले नै भोगेको छ। युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रान्तिहरुमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहास दर्शाउँछ। नेपालको राजनीतिक इतिहास केलाएर हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय छ। जनसंख्याको यति ठूलो हिस्सा युवा भएको देश, युवा निर्यात गरेर रेमिट्यान्स भित्र्याउनेबाहेक अरु केही गर्न सकिरहेको छैन। यस्तो अवस्थामा दोष नेपालको राजनीतिक नेतृत्वलाई जाने गरेको छ। हो, हाम्रो राजनीतिक नेतृत्वले विगतमा देशलाई आत्मनिर्भर र समृद्ध बनाउन गर्नुपर्ने काम नगरेका कारण नै देशले यतिखेर संकट झेल्नुपरिरहेको छ। र, वर्तमान नेतृत्व पंक्ति देख्दा देश यो अवस्थाभन्दा अझै अरु संकटतर्फ जाने देखिन्छ। अहिलेको अवस्थामा युवाको भूमिका के? युवा राजनीति कस्तो हुने भन्ने कुरा बहस हुन जरुरी छ। पाका भनिएका नेतृत्व पंक्तिले युवालाई राजनीतिमा उचित स्थान दिन सकिरहेका छैनन्।

प्रकाशित: ११ चैत्र २०७२ २१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %