पौडेलको पराजय
कार्यवाहक सभापति रामचन्द्र पौडेल कोइराला परिवारकै लिगेसी थाम्ने मनसुवाका साथ चुनावमा उत्रेका थिए । खासमा सुशील नेतृत्वको कांग्रेस हदै कर्मकाण्डी थियो । त्यो तीनपल्ट कांग्रेस सभापति र पाँचपल्ट देशको प्रधान मन्त्री भएका स्व. गिरिजाप्रसाद कोइरालाको नश्लवादी विरासत थियो । त्यसमा मौखिकस्तरमै भए पनि प्रजातान्त्रिक समाजवादको जपनासाथ पौडेलले काँध थापेर पालो दिन खोजेका थिए । तर, उनको उम्मेदवारी पनि क्षमताअनुसारको नेतृत्व र आवश्यकताअनुसारको दायित्व भन्ने उदात्त भावनाले प्रेरित थिएन । आफ्नो नेतृत्वमा बीपीको 'रगत' शशांक कोइरालालाई नेतृत्वका लागि तयार पार्नु र उपयुक्त समय आउनासाथ उनैलाई सुम्पनुमात्र थियो । होइन भने महामन्त्रीमा विजयी यी कोइरालाको योग्यता बीपीको नश्ल हुनुभन्दा बढी खासै थिएन । केशव कोइराला पुत्र शेखरको भन्दा त यिनको राजनीतिक सुझबुझ धेरै निम्छरो थियो, कतिसम्म भने राजनीतिमा बारम्बार परिहासको पात्र बनाइएकी सुजाता बराबर पनि यिनको हैसियत थिएन । खासमा यिनको कम्युनिस्टविरोधी, संघीयता र धर्मनिरपेक्षताविरोधी विचार र बोध खुमबहादुर खड्काको असली कार्यकर्ता हुनलायक मात्र थियो । प्रजातान्त्रिक प्रतिबद्धता, सरलता र धेरथोर आदर्शसमेत बचाइराखेका पौडेलले यो नबुझेका पक्कै थिएनन् । तर, उनलाई नेपाली कांग्रेस लोकतान्त्रिक नेतृत्वको नयाँ अध्याय थप्न कोसिस गर्नुभन्दा कोइराला वंशकै लिगेसी थाम्नु र उपयुक्त समयमा त्यो लिगेसी कोइरालाहरूलाई नै हस्तान्तरण गर्नुमै कम जोखिम थियो । होइन भने, उनी शेखर कोइराला वा बेलैमा अर्जुननरसिंह केसीलाई महामन्त्रीका रूपमा लिएर अगाडि बढ्न सक्थे ।
त्यसै पनि राजनीतिमा नैतिकतालाई सर्वोपरि नमान्ने मुलुकमा चिन्तन र आदर्श बोक्ने व्यक्तिको संगठनमाथि पकड हुँदैन । हुँदो हो त कांग्रेसको नेतृत्व ऊ बेलै नरहरि आचार्यको पोल्टामा आइसक्थ्यो । फक्कड स्वभावका प्रदीप गिरी पनि यसको सभापति हुन सक्थे । पौडेल चिन्तन गर्छन् । लोकतन्त्रलाई जीवन पद्धति बनाउन पनि प्रतिबद्ध छन् । तर, जथाभावी बग्ने भेलजस्ता नेता, कार्यकर्तालाई थामिराख्ने, तिनलाई आफूप्रति प्रतिबद्ध बनाइराख्ने, आवश्यक पर्दा तिनलाई गाँस, वास र रोजगार दिएर संरक्षण दिने 'खुबीलिटी' उनीसँग थिएन जुन देउवाका अनुपम 'सम्पत्ति' थिए । महाधिवेशनको पूर्वसन्ध्यामा सुशीलको आकस्मिक निधनको परिणाम के भयो भने संस्थापन पक्षमै निरन्तरता, समर्पण र त्यागलाई भाउ नदिने प्रवृत्ति बढ्यो । महाधिवेशनको सँघारमै सुजाता कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह आफै नेतृत्वका लागि अगाडि बढे । सुजाता र प्रकाशमानलाई मनाए पनि आखिर सिटौला र गगन थापाजस्ता होनहार नेता विद्रोहमै उत्रिए । अर्कातिर महाधिवेशन उद्घाटनका दिन देउवा जति विश्वस्त देखिन्थे, तुलनामा पौडेल अत्यन्त निराश र कमजोर मनोबलसाथ प्रस्तुत भएका थिए । उद्घाटन भाषणमै उनले 'आत्महत्या गरूँ झैँ लाग्ने' चरम निराशाजनक अभिव्यक्ति दिए । यस्ता कुराकोे मनोवैज्ञानिक असर प्रतिनिधिहरूमा पर्नु स्वाभाविक थियो । सामान्यतया तटस्थ मतदाताको मनोविज्ञान जित्नेलाई नै दिने भन्ने हुन्छ । संस्थापनकै नेता केबी गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, अर्जुननरसिंह केसी, फरमुल्ला मन्सुरको निराशालाई पनि उनले सम्बोधन गर्न सकेनन्, जसका कारण ती महाधिवेशनको छेकै देउवातिर लहसिए ।
पौडेलको भारी मतान्तरको पराजयसँगै एकथरी कांग्रेसजन 'अब कांग्रेस सकियो' अर्थात् कांग्रेसमा आदर्शको जरा उखेलियो भन्न थालेका छन् । पराजयलाई शक्तिमा बदल्ने मनबोल जोड्न सके भने पौडेलको राजनीतिक भविष्य अझै बाँकी रहन सक्छ । अन्यथा, देउवाको भीडतन्त्रले १७ पल्ट प्रधान मन्त्री चुनावमा पराजय भोगेका, उपप्रधान मन्त्रीबाट मन्त्रीमा झर्ने लोभ संवरण गर्न नसकेका पौडेललाई सदाका लागि पाखा लगाइदिने खतरा छ ।
देउवाको जित
पौडेल 'म्यान अफ वर्ड' हुन् भने देउवा 'म्यान अफ डिड' । 'कंशले चिताएपछि बितायो' भने झैँ देउवाले गर्छु भनेपछि गर्छन् । उनले चिताएको काम राम्रा हुन्छन् भन्ने छैन, तर गर्छन् । गिरिजाप्रसादले आफूभन्दा वरिष्ठ र दुनियाँले मानेका नेता, प्रजातन्त्र पुनस्र्थापना आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई टाटिटिक्न दिएनन् । जीवनको अन्तिम घडीतिर दुवैले जीवनभरि लगानी गरेका पार्टी रुँदै छाड्नुप¥यो । भट्टराईमाथि गिरिजाबाबुको घातका अनेक किस्सा छन् । ०५६ को आमनिर्वाचनमा उनैलाई प्रधान मन्त्रीका रूपमा प्रचार गरेर कांग्रेसले बहुमत ल्यायो । तर, अर्को वर्षै उनलाई गलहत्याइयो । तय भइसकेको फ्रान्सको भ्रमण सकेर राजीनामा गर्छुभन्दा पनि पाएनन् । अन्ततः धुरुधुरु रुँदै उनले राजीनामा गर्नुप¥यो । गिरिजाप्रसादको फासीवादविरुद्ध प्रतिरोधको आँटचाहिँ देउवाले गरेका हुन् । उनले गिरिजाप्रसादविरुद्ध दुईपल्ट, सुशील कोइरालाविरुद्ध एकपल्ट सभापतिमा पराजय बेहोरे । तर, संसदीय दलको नेताको चुनावमा एकपल्ट सुशील र एकपल्ट पौडेलसँग पराजय भोगे पनि एकपल्ट सुशीललाई हराए ।
बीपी, गणेशमान, किसुनजी, महेन्द्रनारायण निधिको विरासत थाम्ने नेता भनिए पनि उनमा तिनका आदर्शको छायाँ देखिन्न । आँट र दुस्साहसका त उनी पर्याय नै हुन् । भारतसँग महाकाली सन्धि, भ्याट लागु गर्ने, अख्तियारलाई बलियो बनाउने कानुन निर्माण गर्ने, कमैया मुक्तिको घोषणा उनकै प्रधान मन्त्रित्वमा भयो । पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति, मधेसलाई मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा पनि उनले ल्याएकै हुन् । महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग पनि उनकै पालामा गठन भए । तर, संसदीय प्रजातन्त्रलाई जनसामान्यको नजरमा बदनाम गराउने काम उनैले गरे । सत्ता टिकाउन उनले गरेका सांसद किनबेच, प्राडो–पजेरो संस्कृति, सांसदलाई आजीवन भत्ता, सुत्केरी भत्ता र ४८ जनासम्मको मन्त्रिमण्डल गठन गरेर उनले पुनस्र्थापित प्रजातन्त्रको हुर्मत लिए । माओवादीलाई जंगल धपाउन र नेपालको इतिहासमै बदनाम संकटकाल लगाउने काम उनैले गरे । उनकै कार्यकालमा लेखक कृष्ण सेन इच्छुक मारिए । पार्टी निर्णयविरुद्ध संकटकाल थप्दा गिरिजाप्रसादले उनलाई पार्टीनिकाला गरे । त्यसविरुद्ध देउवाले २०५९ मा पार्टी फुटाए । २०६१ जेठमा राजाले पुनस्र्थापना गर्दा आन्दोलनको माग लत्याएर सत्ताका लागि जे पनि गर्छन् भन्ने फेरि एकपल्ट प्रमाणित गरे ।
टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, सुवर्णशमशेर, किसुनजी र सुशील कोइराला एकएक कार्यकाल, मातृका कोइराला दुई कार्यकाल, बीपी र गिरिजाप्रसाद तीन–तीन कार्यकाल सभापति भइसकेको पार्टीमा देउवाको पालो आएको छ । चातुर्य, दुस्साहस, तदारुकता र जुनसुकै तरिकाले कार्यकर्तालाई खुसी राख्ने 'क्षमता' का उनी धनी हुन् । तर, उनीसँग नेतामा नभई नहुने राजनीतिक दूरदृष्टि, लोकतान्त्रिक जीवनशैली र प्रतिबद्धता, वाककलाको चरम अभाव छ । यस्तो व्यक्ति आफ्नै विवेकले भन्दा अरूको बदनियतले चल्ने खतरा ज्यादा हुन्छ । त्यसै पनि देउवालाई थ्री जी (गोल्ड, गुन्डा र गन) को साथ छँदैछ । त्यसमाथि उनका आगामी कदममा संघीयता विरोधी, हिन्दु राज्यका अभियन्ता, भ्रष्टाचारमा मुछिएका खुमबहादुर खड्का अनि राणा खानदानकी पत्नी आरजुको दबाब रहने सम्भावना प्रस्टै देखिन्छ । प्रजातन्त्रको हुर्मत लिएका देउवाले विगतका आफ्ना विवेकहीन कामप्रति कुनै आत्मालोचना गरेका छैनन् । आत्मालोचना नगर्ने मान्छेले गल्ती दोहो¥याउँदैन भनेर विश्वस्त हुन मुस्किल छ ।
गगनको पराजय
दृष्टिकोण र नेतृत्व क्षमता दुवैका हिसाबले कांग्रेसमा नेतृत्वका लागि तयार पार्नुपर्ने सबैभन्दा उपयुक्त पात्र गगन थापा थिए । कांग्रेसमा क्षमताभन्दा भोटो धेरै फटाउनु महŒवपूर्ण छ भन्ने उनको पराजयले प्रस्ट पारेको छ । कांग्रेसमा यसपालि पौडेलमात्र होइन, विगतमा भीमबहादुर तामाङ, नरहरि आचार्यजस्ता बीपीको लिगेसी थाम्ने नेताले पनि अपमानजनक पराजय भोगेकै हुन् । भारतमा उपचाररत अम्बर गुरुङले बेग्लै सन्दर्भमा तयार पारेको गीत कुनै जुगमा प्रजातान्त्रिक समाजवादको सपना देख्ने कांग्रेसको जीवनमा ठ्याक्कै लागू हुन्छ–
लहरले भन्थ्यो, बगेर एक दिन सागर पुग्छु
कुन दिनले हजुर, खोलामै म सुकेँ ।
प्रकाशित: २७ फाल्गुन २०७२ २२:१५ बिहीबार

