८ वैशाख २०८१ शनिबार
विचार

मोदीको विश्वास र ओलीको कर्तव्य

प्रसङ्ग जाट आन्दोलनको

यतिखेर भारतको हरियाणामा जाट समुदाय आन्दोलित छ। आरक्षणको माग राखेर गरिएको आन्दोलनमा१३ जनाको मृत्यु भइसकेको छ । सयौँ घाइते भएका छन्। दिल्लीमा पिउने पानी सङ्कट भएपछि हाहाकार मच्चिएको छ। पानी अभावकै कारण सोमबार सबै विद्यालय बन्द गरियो । १ हजारभन्दा बढी सवारी साधन तोडफोड भएका छन् । ५ सयभन्दा बढी पसल जलाइएका छन्।जम्मुका रेल अवरुद्ध हुँदा ३० हजार यात्रु अलपत्र परेका छन् । ४ सयभन्दा बढी रेल अवरुद्ध भएका छन् । आधा दर्जन रेल्वे स्टेसन ध्वस्त भएका छन् भने ब्याङ्कका भौतिक सम्पत्ति नष्ट गरिएका छन् ।

स्थिति यतिसम्म बिग्रिएको छ कि मोटर आउने बाटाहरु अवरुद्ध भएकाले सरकारले आन्दोलन दबाउन सेनासमेत हेलिकोप्टरबाट उतारेको छ । हरियाणाको छिमेकीहरुसँग त सम्बन्ध विच्छेद भएकै छ साथै यही आन्दोलनका कारण जोडिएका प्रदेशसमेत नराम्ररी प्रभावित भएका छन् । दिल्ली त झनै काकाकुल बन्न बाध्य हुँदैछ । समग्रमा यो जाट समुदायको आन्दोलनले भएको नोक्सानीको हिसाबकिताबै गर्न पनि निकै कठिन छ ।

जाटको सोझो अर्थ 'खेती गर्ने समूह' भन्ने हो । भारतमा खेती गर्नेहरुको स्थिति खासै राम्रो छैन । महाराष्ट्रमा मात्र सन् २०१५ को पहिलो तीन महिनामा ६०१ किसानले आत्महत्या गरेका थिए । देशभर एकै वर्षमा ऋणको बोझ खप्न नसकी एक लाखभन्दा बढी किसानले आत्महत्या रोज्नुपर्ने बाध्यता सिर्जना हुने गर्छ । खेती गर्दागर्दै पनि खान नपुग्ने र जिन्दगी नै ऋणमा डुब्ने अवस्थाले त्यहाँका किसान सधैँ चिन्तित रहने गर्छन् । मेहनत गर्दागर्दै पनि छाक टार्नैको समस्या भएपछि यो समुदाय आरक्षणको माग राखेर आन्दोलित भएको छ । तर उनीहरुका समस्या समाधानमा भन्दा पनि दमन गर्नका लागि हेलिकोप्टरबाट सेना उतारिरहेको छ सरकार ।

केही समयअघि मात्र पटेल समुदायले आरक्षणकै माग राखेर गरेका आन्दोलनले निकै ठूलो क्षति पुग्यो । सरकारले सकेसम्म दमन ग¥यो । तर पनि पटेल युवाहरुको नेतृत्वमा रहेको उक्त आन्दोलन भुसको आगोझैँ भित्रभित्रै दन्किरहेको छ । यो अन्दोलन पटेल समुदायमा मात्र सीमित नरही अन्यत्र पनि फैलिरहेको बुझ्न वर्तमान जाट आन्दोलन नै काफी छ ।

मोदीको 'विश्वास'

आफ्नो देश यसरी दन्दनी बलिरहेको छ तर भारतका प्रधान मन्त्री नरेन्द्र मोदी र उनका आसेपासे नेपालका प्रधान मन्त्रीलाई आफ्नो देशको समस्या समाधान गर्न बारम्बार 'सल्लाह' दिइरहेका छन् जुन शब्द कूटनीतिक शब्दकोशमा दबाबको अर्थ लिएर उपस्थित हुन्छ । उनी समानुपातिक÷समावेशी शब्दका आडमा राज्यका हरेक क्षेत्रमा आफ्ना आज्ञाकारी एउटा निश्चित भूगोलमा बसोबास गर्ने समूहको वर्चश्व चाहन्छन् । अनि आफ्नैतिरबाट आएकाहरुलाई नेपालको राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्ममा देख्ने इच्छा राख्छन् । यही महत्वाकाङ्क्षा पूर्ति गर्नका लागि अङ्गीकृत नागरिकतावालाको पक्षमा वकालत गरिरहेका छन् ।

'बाँकी मुद्दाहरु संवाद र सहमतिमा सुल्झने' मोदीको विश्वास आइतबारको मन्तव्यमा पनि कायमै रह्यो । नेपाली जनताका प्रतिनिधिले बनाएका संविधान घोषणालाई उपलब्धिमूलक मान्न पनि उनलाई ५ महिना ५ दिन लाग्यो । यति लामो समय अध्ययन गरेकैले होला, उनले 'तर' जोडेर यसको सफलता सहमति र संवादको सिद्धान्तमा भर पर्ने पनि बताउन भ्याए । अनि थपे– राजनीतिक वार्ताको माध्यमबाट नेपालका सबै वर्गलाई साथ लिएर संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनकरूपमा समाधान गर्दै नेपाललाई प्रगति र स्थिरताको मार्गमा लैजानुहुनेछ ।

ठीक छ, एउटा छिमेकी मुलुकका नेताले अर्को छिमेकीको उत्तरोत्तर प्रगतिको कामना गर्नु सही नै होला तर नेपाललाई सबै वर्ग मिलाएर लैजान सुझाव दिनेले आफ्नो देशमा किन मिलाउन नसकेको ? आज किन पटेल र जाट समुदाय उनको तारो बनेका छन् ? संविधानसँग जोडिएका सबै मुद्दाको सम्बोधन गरेर अघि बढ्ने उनको निर्देशन झनै अपरिपक्वताको पराकाष्ठा बनेको छ । आजसम्म दुनियामा कुन त्यस्तो मुलुक छ जहाँको संविधानसँग सय प्रतिशत सन्तुष्ट छन् ? यस्तो अर्ति दिइरहँदा आफ्नो देशको संविधानप्रति असन्तुष्टि जनाउँदै मुलुकका विभिन्न भागमा राँको झोसिरहेका दृश्य किन भुल्न चाहन्छन् उनी ?

त्यसैले मोदीले यतिखेर संवाद र सहमतिको भन्दा पनि 'अर्काको आङमा जुम्रा केलाउने आफ्नो आङको भैंसी नदेख्ने' सिद्धान्तबाट मुक्त हुनु जरुरी छ । जसको घर दन्दनी बलिरहेको छ र नियन्त्रण गर्न अक्षम छ उसैले छिमेकीलाई यसरी निभाउनुपर्छ भन्ने सल्लाह दिनु जोकको विषयबाहेक केही हुनै सक्दैन । मोदी र उनका गणेशहरुले यो बुझ्नु अत्यावश्यक छ ।

ओलीको अग्नि परीक्षा

यतिबेला नेपालका प्रधान मन्त्री केपी ओली भारत भ्रमणमा छन् । उनले आइतबार आयोजित प्रेस ब्रिफिङमा भनेका छन्– 'मेरो भ्रमण निकै सफल भएको छ, म पूर्ण सन्तुष्ट छु ।' खबरहरुमा आएअनुसार उनले त्यहाँ बोलेका कुरामा आपत्ति जनाउनुपर्ने कुनै कारण छैन तर प्रधान मन्त्री मोदीसँगको 'वन टु वन' वार्ताका क्रममा कुनै प्रतिबद्धता जाहेर गरेका रहेछन् भने त्यो गम्भीर भूल हुनेछ । त्यसैअनुसार गर्न पनि चाहे भने त्यो झनै महाभूल हुनेछ । जसलाई ओलीको अग्नि परीक्षाका रूपमा लिइएको छ ।

ठीक छ, भ्रमण सफल गराउनुपर्छ । किनकि हरेक काम सफल पार्नैका लागि गरिन्छ । केही व्यक्तिका कारण नेपालले भोगिरहेको अनावश्यक पीडा कम गराउन सरकार प्रमुखका हिसावले केपी ओलीले पहलकदमी लिनु स्वाभाविक पनि हो । यस अर्थमा उनको कदम सराहनीय छ पनि । तर ओलीले बुझ्नुपर्ने कुरा के हो भने उनी नेपाल फर्केपछि नेपाली जनताको विश्वास पूरा गर्नेतर्फ लाग्नुपर्छ न कि मोदीको विश्वास । मोदीले आफ्नो चुलिएको महत्वाकाङ्क्षा पूरा गर्न, अझ भनौँ, छिमेकी मुलुकहरुको रिमोट पनि आफैँ चलाइरहने दुःसाहस कायमै राख्न खोज्नु उनका दृष्टिले नराम्रो पक्ष हैन । तर हाम्रा सरकार प्रमुखले उनको त्यो चाहना पूरा गरिदिने ठेक्का लिए भने त्योचाहिँ मुलुकका लागि सबैभन्दा खतरनाक पक्ष सावित हुनेछ । आशा गरौँ, वन टु वनका क्रममा हाम्रा प्रधान मन्त्रीले यो ठेक्का पक्कै लिएका छैनन् ।

ओली कर्तव्य ?

संविधानमा उल्लेख हुन नसकेका केही विषयले पक्कै पनि केही समुदायको चित्त दुखाएको हुन सक्छ । संविधान आफैँमा गतिशील पदार्थ भएकाले यसलाई फेरबदल गर्न सकिन्छ । जसबाट समस्याहरु पुड्क्याउँदै जाने बाटो खुला भएको स्पष्ट हुन्छ । यस अर्थमा केही स्वार्थी समूहले हैन, बहुमत नेपाली जनताले महसुस गरेका दिन संविधान संशोधन त के, च्यात्नै परे पनि च्यातौँला । तर भारतले निर्देशन दिएका भरमा वा उसलाई खुसी पार्ने नाममा यो बाल संविधान पटकपटक चलाइयो भने अशक्त हुन सक्छ । बालपन उसै पनि प्रतिरक्षात्मक क्षमता कमजोर हुने अवस्था हो । यो पक्ष बुझिएन र कसैलाई खुसी पार्न फेरि पनि संविधान चलाइयो भने स्वार्थपरक माग बढ्दै गई पूरै संविधान सङ्क्रमित हुने खतरा बढ्छ ।

त्यसैले प्रधान मन्त्री ओलीको यतिखेरको मुख्य कर्तव्य मोदीको विश्वास पूरा गर्ने हुँदै होइन । चीनसँग गम्भीररूपले वार्ता गर्ने, उतैका सम्भावित सबै नाका खोल्ने, उतैबाट इन्धनलगायतका सामग्री भित्र्याउन जोडतोडले लाग्ने हो । चिनिया पुँजीपतिलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने हो । नेपालमा चिनियाहरुको लगानी धेरै आउन सक्यो भने भोलि त्यही कारण पनि भारतले नाकाबन्दी गर्दा चीनले इन्धनलगायत सामग्री राम्रोसँग परिपूर्ति गर्ने आधार बन्छ । दोस्रो कुरा, ग्यास र पेट्रोलको खानी अनुसन्धानका नाममा पैसा सिध्याउने हैन, यहीँ खेर गइरहेको पानीबाट विद्युत् निकाल्न लागिपर्ने हो । हाम्रो मुलुकको कायापलट विद्युत्ले गर्छ । यसलाई भरपुर उपयोग गर्न सक्यौँ भने हाम्रो तेल खानी यही ठहर्छ । तर विडम्बना, नाइटोमा कस्तूरी बोकेर बास्नाको खोजीमा जङ्गल चाहार्ने मृग भएका छौँ हामी । अबचाहिँ आँखा खुल्नै पर्छ । हैन भने इतिहासको कठघरामा उभिनुको विकल्प हामीसँग रहने छैन ।

प्रकाशित: १२ फाल्गुन २०७२ ००:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App