९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

अल बिदा प्रदीप दाइ !

नेपाली राजनीतिका प्रखर बौद्धिक व्यक्तित्व प्रदीप गिरीको ७६ वर्षको उमेरमा निधन भएको छ। उनी छोटो समयमा नै क्यान्सरसँग पराजित भए। पछिल्लो समय देखा परेको निमोनिया उनको काल बनेर आयो। लाखौँ नेपालीको प्रार्थना र चिकित्सकहरूको अथक प्रयास काम लागेन। मृत्यु शाश्वत हो। जन्मेपछि मर्नुपर्छ भन्ने ज्ञान हरेकलाई छ तर मानिस मृत्युलाई पराजीत गर्ने अनेक उपायको खोजीमा रहन्छ। यद्यपि अन्ततः जीत मृत्युकै हुन्छ। प्रदीप गिरी पनि लामो समय भारतीय अस्पतालमा उपचार गरेर फर्किएका थिए। उनका आफन्त र शुभेच्छुकलाई लागेको थियो– उनी अब ठीक भएर आएका छन्। क्यान्सरको आक्रमणपछि ढिलो÷चाँडो मृत्युको खबर उनले पाइसकेका थिए। निमोनियालाई परास्त गर्न सकेका भए क्यान्सरले उनलाई केही दिन केही कृति तयार गर्न प्रेरित गर्दो हो। शायद क्यान्सरले पनि पर्खने थियो।  

प्रदीप सिरहाको राजनीतिक परिवारमा बस्तीपुर गाउँमा ६ नोभेम्बर १९४५ मा जन्मे। ७७ वर्ष पूरा हुनै लाग्दा २० अगस्ट २०२२ मा उनको देहान्त भयो। उनले राजनीति र अध्ययनमा नै आफ्नो जीवन बिताए। राजनीति उनको कहिल्यै पेसा भएन तर कहिल्यै राजनीतिभन्दा पृथक रहेनन्। नेपाली कांग्रेसको साधारण सदस्यमा मात्रै उनी सीमित रहेनन्। पटक–पटक केन्द्रीय सदस्य भए तर पार्टीमा त्यो भन्दा माथिल्लो पद उनको आकांक्षाभित्रै परेन। उनलाई कांग्रेसको मतदाता भएर मात्र बस्न पनि चित्त बुझेन। उनी पटक–पटक सांसद भए। तर मन्त्री वा प्रधानमन्त्री हुने आकांक्षा कहिल्यै राखेनन्।

उनी पेसेवररूपमा अध्ययन र लेखनमा जुटिरहे। राजनीतिमा खासगरी कांग्रेस वृत्तमा उनी जति अध्ययनशील शायदै कोही रह्यो। बिपी कोइरालाले आफ्नो लेखन साधना राजनीतिमा भन्दा साहित्यमा लगाए। आज बिपीका विचार भनेर पढिने ग्रन्थहरू बिपीका लेखकीय स्वरूपमा छैनन्। उनले अखवारमा लेखेका र दिएका वक्तव्य र भाषण नै आज संग्रहितरूपमा बिपी विचार बनेका छन्। र, त्यसलाई संग्रहित गर्ने काम प्रदीप गिरीले गरेका हुन्। बिपी कोइरालाका अभिव्यक्तिलाई संकलनका रूपमा प्रकाशित कृति विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि संकलनमा प्रदीपले आफैँ लेखेका छन्– बिपी कोइराला भाषण गर्न र लेख लेख्न दुवैमा दक्ष हुनुहुन्थ्यो। उहाँले आफ्ना आकांक्षालाई समेत सैद्धान्तिक जामा पहिराउने दक्षता हासिल गर्नुभएको थियो।  

त्यसो त प्रदीपमा पनि बिपीकै स्वभाव ज्यादा थियो। उनले पनि कुनै विचार र दर्शनको पुस्तक लेखेनन्। तर समाजवादी साहित्यको चाहिँ प्रशस्त अध्ययन गरे। भारतीय समाजवादी नेताहरूसँगको संगतमा रहेका गिरीलाई नेपालका सन्दर्भमा समाजवादी चिन्तककै रूपमा लिइन्छ तर उनले कांग्रेसको लोकतान्त्रिक समाजवादलाई जति व्याख्या गर्न सक्थे, त्यसरूपमा उनले त्यो प्रयत्न गरेको देखिएन। कम्युनिस्ट मञ्चमा समेत आमन्त्रण गरेर स्वीकार गरिने उनका विचार अब अरू कसैले संग्रहित गरेर प्रकाशन गर्नुपर्ने अवस्था रह्यो।  

उनी संविधानसभाका सदस्य भए तर संविधान जारी हुँदै गर्दा हस्ताक्षर नगरेर संसद् नै बहिष्कार गर्ने कांग्रेसका एक मात्र नेता रहे। मधेस आन्दोलनले उठाएका अधिकारको प्रश्नलाई संविधानले समेट्न नसकेको उनको ठहर थियो। उनी मधेसका थुप्रै केन्द्रीय नेताहरू कांग्रेस विरोधी लहरमा हेलिँदै गर्दा नेपाली कांग्रेसका पक्षमा सतिसालझैँ उभिए। यद्यपि मधेसी दलका मागमा उनको पनि लगभग हुबहु समर्थन थियो। उनले संविधानमा हस्ताक्षर नगर्नुको कारणबारे भनेका थिए– ‘यो सत्य हो कि मैले मधेसी नागरिकको मागलाई बेवास्ता गरेर बनेको संविधानमा हस्ताक्षर गरिनँ। मैले मधेसी नागरिकको अधिकारको कुरा राखेर सभा बहिष्कार गरेँ। मधेसका नागरिकलाई पनि यो कुरा थाहा छ।  

संविधान बनेपछिको निर्वाचनमा मधेसबाट चुनाव जित्ने उनी एक मात्र पहाडी मूलका कांग्रेस नेता हुन्। उनी उपसभामुख रहेका एमालेका गंगाप्रसाद यादव र संघीय समाजवादी फोरमका राजलाल यादवलाई परास्त गरी सिरहा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। त्यसो त उनी २०५१ सालमा कांग्रेसले हार्दै गर्दाका पनि प्रतिनिधिसभाका विजेता हुन् तर कांग्रेसको बहुमत आउँदै गर्दाको २०४८ र २०५६ को संसद्मा उनी थिएनन्। संविधानसभाको चुनाव उनले लडेनन् तर समानुपातिक कोटामा दुवैपटक सदस्य रहे।

उनका प्रति सद्भाव राख्ने नेपालीको ठूलो पंक्ति छ। उनको देहावसानमा सामाजिक सञ्जाल मज्जाले भरिएका छन्। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्ममा उनको पहिचान स्थापित छ। उनीप्रति श्रद्धाञ्जली दिइँदै गर्दा कम्तीमा कांग्रेसका हरेक नेताले पक्कै भन्नेछन्– उनी जस्तो आदर्शवादी र सिद्धान्तनिष्ठ हुनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। तर जीवनको अन्तिम समयमा उनी के चाहन्थे? यसको सम्झना धेरैलाई नहुन सक्छ। अघिल्लो वर्ष अर्थात् २०७८ साउन १२ गते प्रतिनिधिसभामा उनले विशेष समय लिएर बोलेका छन्। १६ मिनेट लामो उनको मन्तव्यमा नेपालको वैदेशिक नीति, संविधानवाद र लोकतन्त्रले नागरिकलाई दिनुपर्ने सेवाका विषयमा उल्लेख गरेका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसनको बहस चलिरहेका सन्दर्भमा उनले भनेका थिए– दलका जिम्मेवार नेताहरू तथ्यहीन आधारमा अनावश्यक विवादमा अल्झेका छन्। मुलुकमा लोकतन्त्र होइन, दलतन्त्र चलेको छ। वैदेशिक मामिलामा साझा नीति बनाउन कोही तयार छैन। हाम्रो देश सानो छैन, दुई ठूला देशका बीचमा रहेका कारण सानो देखिएको हो। हामीकहाँ संसाधनहरूको विकास गर्न नसकिएको हो र हामी गरीब भएका हौँ। कुनै पनि दलका कुनै पनि नेता वा प्रधानमन्त्री देशको चिन्तामा भन्दा देशबाहिरको चासोमा लागेका छन्। एकअर्कालाई तल पारेर मुखको तीतो पोख्दैमा केही हुनेवाला छैन। अनाहकको बहस गरेर समयको बर्बाद नगरौँ भन्ने उनको आशय थियो।

आफ्नै सिटमा उभिएर बोलेका उनले पटक–पटक आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्रीको नाम लिँदै भनेका थिए– दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संविधानका बाहक र परिचालकमध्येका सबै नेता अहिलेको सरकारमा सहभागी छन्। मधेस आन्दोलनका नाममा अन्तरिम संविधानलाई चुनौती दिने नेता पनि सरकारमा छन्। आज गठबन्धनका प्रत्येक सहभागीले छातीमा हात राखेर भन्न पाएको छ वा पाउँछ? के कुनै नागरिकले अब नयाँ नेपाल निर्माणको सुरुवात भयो भन्न पाएको छ? विगत दश वर्ष कसरी बिते भनेर नेताहरू जवाफ दिन तयार छन्?

संघीय अवधारणा तत्कालीन कांग्रेस प्रजातान्त्रिकले अगाडि सारेको र मधेसी दलहरूले पछि उठाएको स्मरण गर्दै उनले भनेका थिए– आज संघीयता कागजमा सीमित छ। संघीय अवधारणाअनुरूप निजामती र प्रहरी कानुन बनेका छैनन्। बनाउने चासो दिइएको छैन। कोभिडसँग जुध्ने बेलामा स्थानीय सरकारले गरेका कामको प्रभावकारितालाई सम्झनूस्। बडो ठूलो प्रयासबाट यो संविधान बनेको छ र यसलाई जोगाइएको छ। संविधानमाथि नै चुनौती दिने र पटक–पटक संसद् भंग गरेर संविधानमाथि खेलवाड गर्न सकिन्छ भन्ने विश्वास तत्कालीन प्रधानमन्त्रीमा कसरी पलायो?

गिरीले लोकतन्त्रमा नागरिकप्रतिको दायित्वलाई जोड्दै भनेका थिए– लोकतन्त्र भनेको आवधिक निर्वाचन र जे पायो त्यही लेख्ने र बोल्ने स्वतन्त्रता मात्र होइन, नागरिकलाई गरिबीमा राखेर शासन गर्ने व्यवस्था होइन। हामीले लोकतन्त्रका नाममा बहुदलीयता चाहने र जनवादका नाममा एकदलीय तानाशाही चाहनेबीचको फ्युजन गरेर लोकतान्त्रिक गणतन्त्र ल्यायौँ भनेर जनतालाई कन्फ्युजनमा मात्र राखेका छौँ। हिजोको जडसूत्रका आधारमा मात्र लोकतन्त्र चल्दैन। पाँच वर्षमा निर्वाचन, बोल्ने लेख्ने स्वतन्त्रता र संसद्मा संख्या गनेर प्रधानमन्त्री हुनु मात्रै लोकतन्त्र होइन। बीसौँ शताब्दीमा फेल भएका शासन पद्धतिबाट पनि एक्काइशौं शताब्दी अघि बढ्न सक्दैन। बेलायतमा जन्मिएको संसदीय व्यवस्था पनि नांगिइसकेको छ।  

‘विभिन्न वाद र शास्त्रका नाममा लोकलयलाई बुझ्न सकेनौँ भने शेरबहादुर देउवा मात्र असफल हुने छैनन्, संविधान पनि असफल हुनेछ। संविधान असफल हुँदै गर्दा यो राजनीतिक व्यवस्था नै असफल हुनेछ। संविधानको रक्षा गर्ने भन्दा अर्को बाटो छैन। संविधान बुझेर पनि बुझ्न नचाहने प्रधानमन्त्री र संविधानको रक्षक भएर पनि रक्षा नगर्ने राष्ट्रपतिबाट संविधानवादको शिक्षा लिन जरुरी छ।’  

आफ्नो मन्तव्यको अन्त्यमा उनले भनेका थिए– यो शासन व्यवस्थाका सरोकारवाला सबैले विगतका भूल बिर्सेर अगाडि बढून्। जनताको दैनिक समस्यामा सरकार गम्भीर होओस् र अदालतको फैसलामा मात्र नरमाएर लोकतन्त्रको मर्ममा पुगेर जनमुखी काम गर्न सकोस्। तपाईँहरू जनताका दैनिक समस्यामा यस्तो काम गर्नूस्, आमजनताले जिन्दावाद भन्ने अवस्था आओस्।

सम्भवतः यसपछि प्रदीप गिरीले कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राखेनन्। यो नै उनको अन्तिम चाहना थियो र हो। आज प्रदीप गिरीलाई श्रद्धाञ्जली दिँदै गर्दा के कुनै नेताले उनका यी चाहना पूरा गर्ने प्रतिबद्धता जनाउन सक्लान्? आशा गरौँ, उनीप्रति सच्चा श्रद्धाञ्जली दिन कोही न कोही पक्कै निस्कनेछ। अल बिदा प्रदीप दाइ !

प्रकाशित: ६ भाद्र २०७९ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App