१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

ल्होछार र प्रचीन ल्होखोर

आजको दिन ल्होछार मान्ने समुदायहरु तामाङ, शेर्पा, तिब्बती, ह्योल्मो, आदिका लागि आफ्नो दैनिकीको एउटा अर्को सामान्य दिन मात्र नभई उनीहरुले परापूर्व कालदेखि मानिआएको ल्होखोर (वर्ष चक्र) परम्परामा आधारित पात्रोअनुसारको नयाँ वर्ष (ल्होछार) हो।नयाँ वर्षको उत्सव सबैका लागि उल्लासको दिन हुने भएकाले ती समुदायका सदस्य आज दिनभर सपरिवार विभिन्न उत्सवमा सरिक हुँदैछन्। देशमा लोकतान्त्रिक गणतन्त्रकेा अभ्युदयसँगै आदिवासी जनजातिको ठूलो जमातले मान्ने ल्होछारलाई राष्ट्रिय पर्वका रूपमा स्वीकार गरी सार्वजनिक बिदाको व्यवस्था गरिएको हुँदा यो दिन सबै नेपालीका लागि पनि एक महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ।

ल्हो खोर (वर्ष चक्र) परम्परा अनुसार विभिन्न बाह्र वटा जनावरको नामबाट ल्हो (वर्ष) को नामकरण गरिएको हुन्छ। तेह्रो वर्षमा उही पहिलेकै ल्हो (वर्ष) दोहोरिने अर्थात बाह्र वर्षमा चक्र पूरा हुने भएको हँुदा नै यसलाई वर्ष चक्र (ल्हो खोर) भनिएको हो। यो परम्पराअनुसार वर्ष, साल, संवत् गणना गरिने र पात्रो तय गर्ने प्रचलन इतिहासकार एवं संस्कृतिविद्हरुले औल्याएअनुसार चीनबाट सुरु भएको हो। प्राचीनकालदेखि चीनमा प्रचलित यो परम्परा पछि तिब्बत र तिब्बतमा प्रचलित लामा महायान बुद्ध धर्म मान्ने नेपाली जनजाति तामाङ, शेर्पा, ह्योल्मो आदिमा पनि मान्ने चलन आएको देखिन्छ। आठौं शताब्दीमा तिब्बतमा बुद्ध धर्मको प्रादुर्भाव हँुदा त्यहाँभन्दा सदियौंअघि नै महायान धर्म प्रचलित चीन र अझ त्यो भन्दा पहिला इ. पू. पाचौ शताब्दीमै बुद्ध धर्मको सुरुवात र विकास भएको बुद्ध जन्मभूमि नेपाल तथा भारतमा प्रचलित बुद्ध धर्मको वज्रयानसमेतको समिश्रण भई विकास भएको थियो। नेपाल—तिब्बत—चीनबीच धार्मिक तथा सांस्कृतिक सहकार्यको एक उदहारणीय तथ्य तिब्बतका राजा श्रङ्चन गोम्पो (७ औं शताब्दी )ले नेपाली राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी स्वेन चेङसँग विवाह गरी ती दुई राजकुमारीकै सहयोग र पे्ररणामा बुद्ध धर्मबारे जानकारी लिई तिब्बतको ल्हासामा रानी भृकुटी र स्वेन चेङका लागि एक—एक र मुलुकभर विभिन्न १०८ स्थानमा बौद्ध मन्दिर बनाएको उल्लेख छ (रानी भृकुटीले साथमा लगेको बुद्ध मूर्तिसहित उनका लागि निर्मित जोवोखाङ मन्दिर ल्हासामा अद्यावधि छँदैछ)।

नेपाल एवं भारत र चीनको प्रभाव वा प्रेरणामा यसरी बुद्ध धर्मको प्रादुर्भाव हुदाँ धर्मको साथसाथै पात्रोलाई पनि संस्थागत गर्ने क्रममा बुद्ध धर्मभन्दा पनि पुरानो लो खोर परम्परालाई नै पात्रोका रूपमा विकास गरियो र धर्ममा जस्तै पात्रोमा पनि चिनियाँ पात्रो एवं भारतीय पञ्चाङ्ग (जसअनुसार प्रचलित विक्रम संवत्, शक संवत् आदिको तिथिमिति तय हुन्छ) को पनि समायोजन गरिएको थियो। त्यही समायोजित रूपको पात्रोका आधारमा नै तिब्बतमा ल्होछार मनाइन्छ। यसरी ल्हो खोरको मूल एकै भए तापनि चन्द्रमास पात्रो (लुनार क्यालेन्डर) अनुसारको पात्रोमा आउने मलमास (लिप इयर) को कारण र विभिन्न समुदायको आ—आफ्नो प्रचलन, पहिचान आदिका कारण सोनाम ल्होछार, तमु ल्होछार, ग्याल्पो ल्होछार आदि विविधता विकसित हुन गएको हो। यस वर्ष भने चन्द्र पात्रोको मलामास (लिप इयर) को मिलानका कारण सोनाम र ग्याल्पो ल्होछार एकै तिथिमा (आज) पर्न गएको छ।

विभिन्न बाह्र जनावरको नामबाट ल्हो (वर्ष /साल) नामकरण हुने चलनअनुसार यस वर्ष बाँदर वर्ष पर्न गएको छ। बाँदरपछि क्रमशः चरा, कुकुर, बँदेल, मुसा, गोरु, बाघ, खरायो (वा बिरालो), गरुड (ड्रागन), नाग, घोडा र भेडा वर्ष आउँछन्। ल्हो खोरअनुसार कसैको उमेर कति भयो भनि परम्परागतरूपमा गणना गर्दा कुन ल्होमा जन्मिएको हो, त्यहीअनुसार गणना गरिन्छ। जस्तो– यस वर्ष (बाँदर वर्ष) मा जन्मिएको व्यक्ति आगामी चरा वर्षमा एक वर्ष र आगामी बाँदर वर्षमा १२ पुगी तेह्र वर्षमा प्रवेश गर्छ। बाह्र वर्षीय ल्हो खोरअनुसारको यो सामान्य चक्रलाई उहिलेदेखि नै थप व्यवस्थित गर्न पञ्च तत्वहरु (बायु, अग्नि, पृथ्वी, धातु र जल) र ती प्रत्येक तत्वलाई पनि यिन/याङ (पुरुष शक्ति र स्त्री शक्ति) मा विभक्त गएिको हुन्छ। एक तत्व जस्तै अग्नि पुरुष तत्वले १२ वर्ष प्रतिनिधित्व गर्छ भन्ने मान्यता छ। यही आधारमा यस वर्षलाई अग्नि पुरुष बाँदर वर्ष भनिन्छ। त्यसैगरी ५ तत्वले ६० वर्ष प्रतिनिधित्व गर्छ र त्यस्तो ६० वर्षीय चक्र (सेक्साजनरी) लाई तिब्बती, तामाङ, शेर्पा आदि भाषामा रब्ज्युङ भनिन्छ। यसरी १२ ल्हो, पाँच तत्व र त्यस सम्बन्धित स्त्री एवम् पुरुष पक्ष र ६० वर्षीय चक्रको आधारमा नै ल्हो खोर पद्धतिअनुसार छोटोदेखि शताब्दि वा लामो समयाधिको गणना गर्नेे शुभ, अशुभ साइत हेर्ने र विवाह, पूजा आदि शुभ कार्य तय गर्ने र ल्होछारको दिन नयाँ वर्ष मनाउने गर्छन्।

ल्हो खोर साल गणनामा किन बाह्रवटा मात्र पशुपन्छी राखिए भन्ने सम्बन्धमा चिनिया समाजमा एक कथा लोकप्रिय छ। कथाअनुसार परापूर्वकालमा चीनका शासक जेड सम्राटले देउताहरुको रक्षक वा सेवकका रूपमा १२ पशुपन्छीलाई एक प्रतियोगिता गरी चुन्ने निधो गरेको र सो प्रतियोगितामा मुसा प्रथम भएको, मुसापछि गोरु, बाघ गर्दै सुँगुरसम्मका माथि उल्लिखित जीव क्रमशः चुनिएका थिए। प्रतियोगितापछि ती जीव देवताका रक्षक मात्र नभई वर्ष गणनामा पनि प्रयोग भए र विश्वकै पुरानो पात्रोमध्येको चिनियाँ पात्रो विकास भयो। उपरोक्तअनुसार संवत् वा वर्ष गणना भएको चिनियाँ पात्रोअनुसार यो वर्ष ४७१३ औं वर्ष भएको मानिन्छ।

विश्वभर चिनियाँ क्यालेन्डरका रूपमा प्रख्यात प्राचीन ल्हो खोर परम्परा आधुनिक समयमा नेपालमा भने तामाङ, शेर्पा, ह्योल्मो, गुरुरू आदि समुदायमा बूढापाकामाझ मौखिकरूपमा मात्र तिथि मिति गणना र शुभ—अशुभ खुट्ट्याउनमा सीमित थियो। वि. सं. २०४६ को राजनीतिक परिवर्तनपश्चात ल्हो खोर पद्धति मान्ने समुदायले झण्डै लुप्त हुन लागेको ल्होछारलाई सांस्कृतिक पहिचानको अभिन्न अंगका रूपमा सार्वजनिक स्थानमा भेला भई बृहत्रूपमा मान्न थाले र सर्वप्रथम २०५२ सालमा सोनाम ल्होछार मान्ने समुदाय (तामाङ, ह्योल्मो, आदि) लाई सरकारी बिदाको व्यवस्था भयो। मुलुकमा गणतन्त्र प्रादुर्भाव भएसँगै सबै जातजातिको पर्व, परम्परालाई संरक्षणको आभाष दिन सरकारले सोनाम ल्होछारलगायत, ग्याल्पो र तमु ल्होछारलाई राष्ट्रिय सरकारी बिदाको व्यवस्था गरेको छ।

प्रबन्ध निर्देशक, थ्रि ज्युयल्स ट्रेकिङ एजेन्सी

प्रकाशित: २५ माघ २०७२ २१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %