१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

के हो माओवाद? को हो माओवादी?

केही दिनयता नेपालका दैनिक अखबारका पृष्ठमा छापिएका चिनियाँ पर्यटनसँग सम्बन्धित ठूला–ठूला रङ्गीन तस्बिरप्रति मेरो पनि ध्यान आकर्षित हुन थालेको छ। यस्तैमा काठमाडौंको एउटा अङ्ग्रेजी दैनिक पत्रिकामा छापिएको चिनियाँ पूर्वनेता माओ त्सेतुङको कुर्सीमा बसेको पूर्ण कदको विशाल प्रतिमालाई चीनको कुनै एक प्रान्तमा स्थापना गर्ने क्रममा एउटा भीमकाय क्रेनले उचाल्दै गरेको फोटोमा मेरो दृष्टि पुग्यो। अनि मैले चिनियाँ राजधानी बेइजिङको तिआनमेन स्क्वायरको एउटा भव्य कक्षमा राखिएको माओको मृत शरीरलाई पङि्क्तबद्ध बनेर आदरपूर्वक हेरेको सन् १९९६ को चीन यात्राको घटना सम्झेँ।अनि सन् २००५ मा तिब्बतको यात्राका क्रममा त्यहाँका स्कुल कलेजदेखि प्रायः सार्वजनिक स्थलका कार्यालय कक्षहरूमा माओका तस्बिरहरू राखेर ती पूर्वनेताप्रति चीनको पछिल्लो पुस्ताले व्यक्त गरेको असीम श्रद्धाको प्रत्यक्ष अनुभव गरेँ। मलाई लाग्यो, आफ्ना पौरखी मार्गदर्शक पूर्वजहरूप्रति अटुट श्रद्धाभाव राख्ने चिनियाँ जनताको चेतनाले नै चीनलाई आज विश्वको सबभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा रूपान्तरित गर्ने मार्ग प्रशस्त गरेको हो र उनीहरूका अग्रपङि्क्तका श्रद्धेय पूर्वनेताहरूमा सनयात्सेन, माओत्सेतुङ, चाउ एनलाई, तेङसियाओपेङ आदि पूर्वज नै आजको चीन निर्माणका पूर्वाधार बनेका छन्।

चीनमा जनवादी क्रान्ति पूरा भएपछिका वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टीगत तहमा चिनियाँ जनक्रान्तिका प्रमुख नेता र प्रणेता अध्यक्ष माओत्सेतुङद्वारा उक्त क्रान्तिलाई जीवन्तता दिन प्रतिपादन गरिएको सिद्धान्तलाई 'माओवाद' नामकरण गर्ने/नगर्ने भन्ने विषय निकै व्यापकरूपमा छलफल र बहसमा आयो। अन्ततः स्वयं माओले नै आफूले चिनियाँ जनक्रान्तिलाई केन्द्रविन्दुमा राखी तयार गरेको सिद्धान्तलाई माओवाद नभनी माओ विचारधारा (माओ थट) भन्न र यस विचारधाराको मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद र त्यसपछि लेनिनवादलाई लिन निर्देशन दिएका थिए। त्यसपछि चीनद्वारा प्रकाशित प्रत्येक अभिलेख र पाँच भोलुममा प्रकाशित 'माओका सङ्कलित रचनाहरू' मा पनि माओ विचारधारा नै उल्लेख गरियो। अहिले चीनको इतिहासमा माओवाद नामको कुनै 'वाद' छैन। विश्वमै माओवादको अस्तित्व कहीँ पनि छैन बरू माओले मार्क्सवादलाई चिनियाँ कृषि क्रान्तिसँग जोडेर तयार गरेको 'नौलो जनवाद' चीनका सन्दर्भमा बढी उपयोगी बन्न पुगेको छ।

माओले चिनियाँ जनक्रान्तिसँग निकटतमरूपमा अनुभवमा आधारित रही आफैँंले तयार गरेको क्रान्तिसम्बन्धी सिद्धान्तलाई किन 'वाद' का रूपमा प्रतिपादन गर्न अस्वीकार गरे? भन्ने प्रश्नको उत्तर जटिल छ। अनुमान मात्र के गर्न सकिन्छ भने कुनै विचारलाई 'वाद' को रूप दिन त्यसलाई दार्शनिक चिन्तनले आधार प्रदान गर्नुपर्छ र मार्क्सवाद र लेनिनवाद जस्ता दार्शनिक वादहरूलाई आफ्नो विचारको आधार मानिसकेपछि उनका निम्ति 'माओवाद' नामको अर्काे वादको औचित्य रहेन। माओ विचारधारा चीनको आफ्नै प्रकारको कृषि क्रान्तिको दिशानिर्देशक सिद्धान्त हुनाले यसको महानता चीनमा निर्विवादरूपमा स्थापित हुन पुग्यो। यसैले अध्यक्ष माओलाई चिनियाँ जनताको प्रत्येक पुस्ताले प्रेरक व्यक्तित्वका रूपमा श्रद्धा गर्दै आएको छ।

चीनमा जनवादी क्रान्ति पूरा भएपछि माओले आफूलाई शासन सत्ताभन्दा माथि राखेर समग्र चीन र चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्षका रूपमा मृत्युपर्यन्त नेतृत्व प्रदान गरिरहे। उनलाई सत्तामोहले छोएन न त सर्वाेच्च नेतृत्व पदको उन्मादले। विश्वका कैयन् मुलुकका राष्ट्र प्रमुख र ठूला नेताहरू चिनियाँ जनक्रान्ति जस्तो ऐतिहासिक अद्भूत क्रान्तिको नेतृत्व सम्पन्न गर्ने महान् नेता माओलाई भेट्न लालायित रहन्थे। तर माओलाई भने विदेश भ्रमणको लालसाले कहिल्यै छोएन। चीनमा जनवाद स्थापना भएका सुरुका वर्षमा उनले जम्मा एक पटक स्टालिनको नेतृत्वमा रहेको सोभियत सङ्घको निमन्त्रणामा रूस भ्रमण गरे। त्यसबाहेक माओले विदेश भ्रमण गरेको घटना चीनको इतिहासमै पाइँदैन।

माओ प्रथमतः विशाल चीन र त्यहाँका जनताका अध्यक्ष थिए। यसैले उनले आफ्ना व्यक्तिगत आकाङ्क्षा मारेर समग्र चीनका निम्ति आफूलाई समर्पित गर्ने व्यक्तित्व निर्माण गरेका थिए। उनको पहिरन हरियो रङको बर्दी, रातो तारा भएको क्याप थियो। सार्वजनिक समारोह र विदेशी पाहुनाहरूसँगको भेटघाटका विशेष अवसरमा मात्र उनी खरानी रङको चिनियाँ शैलीको सुट लगाउने गर्थे। उनको एउटामात्र व्यक्तिगत सोख सिगार पिउनु थियो।

नेपालका सन्दर्भमा माओका विचारधाराको औचित्य कतिसम्म छ र त्यसलाई व्यावहारिकरूपमा कतिसम्म लागु गर्न सकिन्छ, त्यसलाई विश्लेषण अहिलेसम्म गरिएजस्तो लाग्दैन। यद्यपि माओको नामसँग जोडेर त्यसलाई 'वाद' वा 'वादी' घोषित गरी नेपालमा एउटा कम्युनिस्ट पार्टी स्थापित भएको लगभग २६ वर्ष भइसक्यो र यस पार्टीले यसबीचमा तथाकथित जनयुद्ध परिचालन गरी अन्ततः नेपालका अरु संसद्वादी दलहरूसँग मिलेर नेपालबाट राजतन्त्र समाप्त गरेको कार्यलाई उक्त जनयुद्धको सफलताका रूपमा लियो। यस 'सफलता' लाई जनयुद्धको प्राप्ति मान्न सकिन्थ्यो नेपालबाट राजतन्त्रको उन्मूलनसँगै यस देशमा अहिले पनि जरा गाडेको र नयाँ–नयाँ किसिमले रूपान्तरित भइरहेको सामन्तवादी–अर्धसामन्तवादी अर्थतन्त्रलाई समेत अन्त्य गर्न सकेको भए। तर राजतन्त्रको समाप्तिले सामन्तवादी–अर्धसामन्तवादी अर्थतन्त्रको आधार समाप्त गर्न सकेन। बरु यसले नयाँ–नयाँ सामन्त सिर्जना गर्योम र देशको अर्थतन्त्रमा आधुनिक नवधनाढ्यहरूको प्रभुत्व कायम हुन पुग्यो। प्रत्येक सत्ता–परिवर्तनसँगै नव–धनाढ्यहरूको एउटा वर्ग तयार हुने गरेको वर्तमान अवस्थामा देशको अर्थव्यवस्था न कृषिमा आधारित रहन सक्यो न त उद्योगतिर यसले गति लिन सक्यो। यस्तै अन्योलमा अहिले मुलुकको आर्थिक स्थिति विश्वका अरु राष्ट्रको तुलनामा सबभन्दा तल्लो स्तरमा झर्दैछ र यो देश भ्रष्टाचारी, तस्कर र माफियाहरूको हातको खेलौना बन्न पुगेको छ।

चीनमा सनयात्सेनको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि पनि कृषि अर्थतन्त्रमा नयाँ मूलभूत परिवर्तन हुन नसकेको हुँदा माओको नेतृत्वमा नयाँ क्रान्ति भयो र सामन्तहरूको हातबाट देशको अर्थव्यवस्थालाई जनतामा हस्तारन्तरण गर्न अर्काे क्रान्ति गरियो। माओले त्यसलाई नौलो जनवादी क्रान्तिको संज्ञा दिए तर नेपालमा भने माओवादीहरूले राजतन्त्र समाप्तिपछि जन्युद्धहरूको उद्देश्य पूरा भएको घोषणा गरे। अर्थतन्त्रमा भने क्रान्तिको कुरै छोडुँ सुधारसम्ममा पनि यस देशले प्रवेश गर्न पाएको छैन। यो कस्तो क्रान्ति हो? अहिलेसम्म बुझ्न सकिएको छैन।

विश्वमै 'माओवाद' नामको वादको अन्त्य भएपछि नेपालका एकथरी कम्युनिस्टहरूले पार्टीको नाममा 'माओवादी' को फुर्काे गाँस्नुमा के औचित्य देखेका हुन् त्यो अझसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि ५/६ चिरामा टुक्रिएका त्यसै पार्टीका टुक्राले पनि 'माओवादी' शब्दसँगको मोह तोड्न सकेका छैनन्। हुन सक्छ 'माओवादी' शब्दसँगको आकर्षण चीनका ती पूर्वनेता माओका आदर्श आचरण र विचारहरूका कारण बढेपछि नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले भावुकतावंश आफ्नो पार्टीको नामका पछाडि त्यो फुर्को जोडेका हुन्। तर व्यवहारमा माओका वैयक्तिक र वैचारिक आदर्शहरूको अनुशरण पार्टीपङि्क्त र त्यसको नेतृत्व वर्गले सही किसिमले गरेको पाइएको छैन। यसले 'काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर' लाई मात्र चरितार्थ गरेको छ। त्यसो त मार्क्स र लेनिनको नाममा पार्टी खोलेर तिनका आदर्श र व्यवहारको प्रतिकूल आचरण गर्दै आएका आफ्ना अग्रज पार्टीहरूभन्दा रत्तिभर फरक नदेखिने 'माओवादी' पार्टीहरू 'खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने' भनी आफैंद्वारा आरोपित पार्टीभन्दा फरक एक इन्चमात्र पनि माथि उठ्न नसक्नु विडम्बना नै हो यस देशका लागि।

वस्तुतः चीनका सन्दर्भमा त्यसका पूर्वनेता माओत्सेतुङ कम्युनिस्ट सिद्धान्तका वैचारिक प्रतिपादक भन्दा बढी स्वाभिमानी राष्ट्रवाद राष्ट्रियताका प्रखर विचारक हुन्। उनको मृत्युपछिका चीनका नेता तेङ सियाओपिङले अंगालेको उदार अर्थनीति र खुला औद्योगिकीकरण कम्युनिस्ट सिद्धान्तसँग प्रतिकूल रहे पनि चीनले वर्तमान विश्वमा गरेको अभूतपूर्व आर्थिक विकासको यस युगमा आएर पनि उसले माओलाई आदर्श अग्रज नेताको सम्मान दिइरहेको छ। माओलाई आजको चीनको पछिल्लो पुस्ताले समेत दिएको त्यो श्रद्धा र सम्मान उनले चीनलाई सवल राष्ट्रका रूपमा स्थापित गर्न दिएको योगदानका निम्ति हो भन्ने बुझ्नुपर्छ र कुनै वाद वा विचार साधनका रूपमा रही राष्ट्र र राष्ट्रियता नै साध्य रहेको सन्दर्भमा माओको योगदानलाई बुझ्नुपर्छ र नेपालका माओवादीहरूले राष्ट्र र राष्ट्रियताको संवर्द्धनका दृष्टिले आफ्नो पार्टीको सार्थकता सावित गर्नुपर्छ।

माओ चीनका छिमेकी मुलुकहरूको विकासमा पनि गहिरो रुचि राख्थे भन्ने कुरा त्यस बेला चीन भ्रमणमा गएका नेपालका प्रतिष्ठित व्यक्तिहरूसँगका भेटमा उनले व्यक्त गरेका विचारबाट बुझ्न सकिन्थ्यो। ७० को दशकको सुरुतिर चीन भ्रमणबाट फर्केपछि नेपाल–चीन मैत्री सङ्घका तत्कालीन अध्यक्ष पूर्णबहादुर एमएले चीन भ्रमणका बेला माओसँगको भेटमा माओले 'नेपालले चीनसँग भन्दा भारतसँगको मित्रतालाई बढी महत्व दिनुपर्छ' भनी व्यक्त गरेको भनाइ सुनाएका थिए र नेपालको हितचिन्तकका दृष्टिले माओको महानताको उल्लेख गरेका थिए। वस्तुतः चीनको छिमेकी मुलुकहरूलाई हेर्ने माओ दृष्टिकोणले अद्यापि निरन्तरता पाइरहेकै छ। नेपालका माओवादीले नेपालको हितका लागि भारतसँग आत्मसपर्मण वा शत्रुताको नीतिभन्दा फरक रहेर निकटतम भाइचाराको सम्बन्ध विकसित गर्नुमा 'माओवादी' को बुद्धिमत्ता ठहरिएला, उत्तरलाई खुसी बनाउन दक्षिणको वा दक्षिणलाई खुसी बनाउन उत्तरको आड लिन खोज्ने नीति अब धेरै पुरानो खेल भइसकेको बुझ्नु उपयुक्त होला।

नेपालमा माओवादी जनयुद्ध समाप्त भई त्यस पार्टीले संसद्वादी धारमा प्रवेश गरेको एक दशक पूरा भएको छ। यसबीचमा देशको आर्थिक स्थिति दिनानुदिन अधोमुखी बनेको अनुभव सबै देशबासीले गर्दै आएका छन् र माओको आदर्शमा हिँड्न प्रतिबद्ध भनिएको 'माओवादी' पार्टी ५/६ टुक्रामा चोइटिएर लथालिङ्ग बनेको छ। अहिले ती टुक्रा जोड्ने प्रयासको चर्चा वार्ता पनि चलेको सुनिँदै–पढिँदै छ र तर नेपालका माओवादी नेतृत्व वर्गले बुझ्नुपर्ने कुरा के हो भने माओको नाम लिएर नेपालमा कुनै क्रान्ति वा परिवर्तन देख्न चाहनु भ्रममात्र हो। माओ स्वयम्ले रूस वा अन्य मुलुकको देखासिकी गरेर चीनमा क्रान्ति सफल तुल्याएका होइनन्। उनले चीनकै यथार्थ वस्तुतथ्यमा आधारित रही क्रान्ति सफल बनाएका हुन्। प्रत्येक राष्ट्रको जनमुखी क्रान्ति त्यसै देशको ऐतिहासिक, भौगोलिक, सामाजिक र आर्थिक संरचनाअनुकूल भएमात्र सफल हुन्छ। तर त्यसको मियो राष्ट्रियता र राष्ट्रवाद हुनुपर्छ।

देश अहिले अत्यन्त जटिल अवस्थामा छ। यसका लागि भूकम्प र भारतको अघोषित नाकाबन्दीलाई कारण भनिए पनि मूलतः देशको आन्तरिक अव्यवस्थित अर्थतन्त्र, राजनीतिक दलहरूको सत्ताकेन्द्रित प्रवृत्ति र तिनीहरूबीचको आन्तरिक कलह र त्यसबाट लाभ लिन प्रवृत्त भ्रष्टाचार, तस्करी र माफियातन्त्रको बढ्दो चलखेलबाट देश र जनता आक्रान्त बनेका हुन्। यसबाट त्राण दिने शक्ति बाहिरबाट नभएर भित्रैबाट तयार हुनुपर्ने देखिन्छ। यसका लागि नेपालका माओवादी पार्टीहरूले २०६३ सालको संसद् प्रवेशलाई राजनीतिकरूपले मात्र पूर्ण भएको मानी आफूलाई शान्तिपूर्ण आर्थिक क्रान्तिका निम्ति सक्रिय तुल्याउनु आवश्यक छ। खासगरी राष्ट्रको कृषि, जलस्रोत र पर्यटनलाई आर्थिक विकासका आधारका रूपमा लिई मुलुकलाई नयाँ गति दिने शक्तिका रूपमा आफूलाई उभ्याउन सकेमा मात्र माओवादी दल (हरू) को औचित्य कायम हुन सक्नेछ। त्यसका लागि उनीहरूले न्यूनतम् वैयक्तिक स्वार्थ लिई सत्तालिप्साबाट यथाशक्य मुक्त हुनु र भारतसँगको सम्बन्धलाई नयाँ आयामबाट विश्लेषण गरी विकसित गर्नु आवश्यक देखिन्छ। त्यसका लागि देशभक्त शक्तिहरूको पहिचान गरी तिनीहरूसँगको सहकार्यमा देशमा नयाँ आर्थिक क्रान्ति गर्न माओवादीहरू अग्रसर हुनुपर्छ। यसका लागि नेपालका माओवादीहरू तयार होलान्?

प्रकाशित: १६ माघ २०७२ २०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %