१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

पुनर्निर्माणका सात चुनौती

लामो समयको प्रतीक्षापछि पुनर्निर्माणको सांगठनिक संरचना बनेको छ। हुनतः ठूला विपद् सामना गरेका मुलुकहरूले विपद्लगत्तै विशेष अधिकारसहितको संयन्त्र गठन गरी पुनर्निर्माणसहित अन्य कुराको व्यवस्थापन गरेको पाइन्छ। तर, नेपालमा संगठन संरचना निर्माण हुन पनि भूकम्पपछिको झन्डै ९ महिना पर्खनुपर्यो।विपद् व्यवस्थापनको विशेषता के पनि हो भने, जति छिटो काम सुरु गर्न सक्यो, धनजनको क्षति त्यति नै कम हुने, पुनर्निर्माणको लागत घट्ने, आन्तरिक र बाह्य सहयोग तथा सहभागिता सहज हुने एवं सर्वसाधारणको राज्यप्रति विश्वास बढ्ने गर्छ । यही कुरालाई ध्यानमा राखी नेपालमा पनि भूकम्प गएको ५ दिनपछि बैशाख १७ बाट राष्ट्रिय योजना आयोगले पुनर्निर्माणको प्रारम्भिक काम सुरु गरेको हो । बैशाख २९ मा परकम्प गएको समयमा पाकिस्तानी विज्ञहरूसँग विपद्पछिको आवश्यकता आकलन (पीडीएनए) को प्रारम्भिक छलफल भएको थियो । त्यसपछि छोटो अवधिमै योजना आयोेगको नेतृत्वमा पीडीएनए कार्य सम्पन्न गरी पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन विकास साझेदारहरूको सम्मेलन पनि गरियो, जसमा पुनर्निर्माणको कुल लागत रु. ६६९ अर्बमध्ये रु.४४० अर्बजति उपलब्ध गराउने आश्वासन पनि प्राप्त भयो । विपद्को इतिहासमा नै पीडित मुलुक आफैले आवश्यकता आकलन गरेको विरलै पाइन्छ । ठूला विपद् आइपरे कि विश्व बैंकजस्ता वित्तीय संस्थाले क्षति र नोक्सानी विवरण (डाला) तयार पारेको छ वा युएनडीपीले विपद्पछिको आवश्यकता आकलन गरेको छ । तर, नेपालले योजना आयोगको अगुवाइमा विषयगत निकाय र विशेषज्ञ परिचालन गरेर उदाहरणीय कार्य ग¥यो । पुनर्निर्माणलाई नवनिर्माणका रूपमा अघि बढाएर विकासको नयाँ स्वरूप दिने र आधारभूत मानवीय सेवा सहज, सुलभ गराइ बस्तीलाई सुरक्षित बनाउने खाका तयार पा¥यो । तर, विपद्पछि दिनहरू जसरी बित्दै गए, नेपाली जनताका साथै निर्णयकर्ताले पनि विपद्को पीडालाई बिस्तारै भुल्दै गए । परिणामतः झन्डै ९ महिनापछि मात्र पुनर्निर्माणको कार्य थालनी गरिएको घोषणा गरियो, त्यो पनि सिंगटी, बारपाक वा बाह्रबिसेबाट होइन, काठमाडौँ उपत्यकाबाट ! जेहोस् मुलुक अहिले पुनर्निर्माणको अभियानमा संकल्पित छ ।

पुनर्निर्माणको काम ढिला सुरु हुँदा केही पक्षमा चुनौती थपिएका छन् । पहिलो त यसका लागि लाग्ने स्रोत व्यवस्थापनमा चुनौती देखिएको छ । आन्तरिक सहभागिता तथा बाह्य विकास साझेदारहरूमा सुरुका अवस्थामा देखिएको उत्साह केही सेलाएको छ, त्यसलाई कसरी पुनः जगाउने ? दोस्रो चुनौती क्षति विवरणको आधिकारिकतामा छ । तत्कालीन समयमा ५ लाख ८ हजार निजी आवास पूर्णरूपमा भत्किएको विवरण प्राप्त भएको थियो, अहिले यो संख्या ७ लाख नाघेको विवरण बाहिर आएको छ । कतिपय बस्तीमा त भत्किएका संरचनाभन्दा बढीको विवरण आएको छ । तेस्रो चुनौती, अन्तरनिकाय सहकार्यमा देखिन सक्छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण बन्नुअघि पुनर्निर्माण कोषका लागि विनियोजित रकमको कार्यक्रम योजना आयोगबाट स्वीकृत भई कार्यान्वयनमा अघि बढेको थियो ।

मन्त्रालयहरूको स्वाभाविक मनोविज्ञान सनातनी प्रवृत्ति हो, भैरहेको संस्थामार्फत् काम गर्न उनीहरू अभ्यस्त छन् । प्र्राधिकरण गठनपछि त्यस निकायले प्रणाली निर्माणमा अस्पष्टता राख्न सक्छ भने विषयगत मन्त्रालयहरू तदर्थ÷नयाँ संगठनभन्दा आफू अभ्यस्त भएको संगठनसँग काम गर्न रूचाउँछन् । कतिपय काम अभ्यस्त भएका परम्पराबाट सुरु हुँदा र नयाँ संगठनमा ती कार्य हस्तान्तरित हुँदा नयाँ प्रणाली निर्माण नभएसम्म संक्रमणको लागत विपद्पीडितले व्यहोर्नुपर्ने सम्भावना पनि उत्तिकै छ । चौथो चुनौती, भत्किएका संरचनाहरू नयाँ मापदण्डअनुसार नवनिर्माण गर्नुमा देखिन सक्छ । नेपाली समाज परम्पागत मनोवृत्तिमा रमाउनेखालको छ । नयाँ मापदण्ड र प्राविधिक आधार अनुशरण गरेर नै विपद्मैैत्री, समृद्ध र सुरक्षित बस्ती बसाउन सकिन्छ । तर, यसलाई जनजीवनसम्म कसरी पु¥याउने ? स्थानीय कालिगढी विकास र उपयोग कसरी गर्ने ? भत्किएका आवास संरचनाहरू भौगर्भिक तथा धरातलीय जोखिमयुक्त स्थानमा पुनर्निर्माण हुनबाट कसरी जोगाउने ? विपद्पीडित व्यक्ति जति जोखिम भए पनि आफू जन्मे–हुर्केको स्थानमा बस्न रूचाउँछ, त्यहीँको माटोसँग उसको मुटु जोडिएको हुन्छ । त्यहीँको आवहवासँग उसको सामाजिकीकरण भएको हुन्छ । त्यहाँबाट उसलाई अन्यत्र सार्न निकै कठिन छ ।

पाँचौ चुनौती, पुनर्निर्माणका समयमा विभिन्न बहानामा प्राकृतिक स्रोतको दोहन हुन सक्छ । जस्तो, दैवी प्रकोप ऐनअनुसार दिनुपर्ने काठ उपलव्ध गराउँदा पनि करोडाँै घनफिट काठ लाग्न सक्छ, जसको माग धान्न वनपैदावार सक्षम छैन । यसअघि उपयोग भएको काठ पुनःउपयोग गर्न सकिने सम्भावनाको बेवास्ता हुन सक्छ । वातावरणीय लागतसँग सम्झौता गरेर नवनिर्माण गर्न सकिँदैन । त्यसरी गरिएको निर्माणले अर्को विनाश र विपद् निम्त्याउँछ । निर्माणको फाइदाभन्दा विनाशको लागत बढी हुन्छ । यही कुरालाई पनि ध्यानमा राखेर पीडीएनएका समयमा नै वातावरण मन्त्रालयले '¥यापिड इन्भाइरोनमेन्ट एसेसमेन्ट' (आरइए) पनि गरेको छ । छैठौँ, नवनिर्माणका नाममा विभिन्न प्रविधि र विज्ञहरूको बजारीकरण हुनसक्ने सम्भावना छ, जसलाई नेपाली अर्थतन्त्र र मूल्यसंस्कृतिले धान्न सक्तैन । कतिपय स्थानमा प्रिफेब संरचना बनिसकेका छन् । साताँै चुनौती, मानवीय र विकास सहायताका नाममा विभिन्न छिद्रबाट विकास साझेदार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्रवेश गरी राष्ट्रिय प्राथमिकता र प्रणालीलाई उपेक्षा गर्न सक्छन् ।

विपद् व्यवस्थापनका हाम्रै अनुभवबाट पनि शिक्षा लिनु जरुरी छ । २०४५ सालमा गएको भूकम्पको पुनर्निर्माणका कार्यक्रमहरू त्यसको एक दशकसम्म थपिँदै थिए । यतिसम्म कि भूकम्पको निकैपछि स्थापित काठमाडाँै विश्वविद्यालयले समेत केही ब्लकको कोटा भूकम्प पुनर्निर्माणबाट लिएर आफ्नो वर्कसप निर्माण गरेको थियो । त्यस्तै, सशस्त्र द्वन्द्वका समयमा बिग्रेभत्केका संरचनाका नाममा अहिले पनि कार्यक्रम थपिँदै छन् । यस्तो प्रवृत्ति भूकम्पबाट क्षतिग्रस्त संरचना पुर्निर्माणमा पनि देखिन सक्छ । यस्तो क्रम दोहोरिए पुनर्निर्माणको लागत र समय निकै बढ्न जान्छ । राजनीतिक समुदाय त्यसो गर्न उत्सुक हुन सक्छ । पीडीएनएकै क्रममा कतिपय मन्त्रालयले बिग्रेभत्केको संरचना निर्माणमा भन्दा क्षेत्रगत विकास अवधारणाअनुरूप कार्र्यक्रम प्रस्तुत गरेका थिए । पीडीएनएको संस्थागत संरचना नहुँदा यो चुनौती सामना गर्न झनै कठिनाइ पर्नसक्छ ।

नेपालको पुनर्निर्माणका सन्दर्भमा अनुभव आदानप्रदान गर्न राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा इन्डोनेसियाली पुनर्निर्माण विज्ञ डा. कुन्टुरोले तत्कालीन प्र्रमुख कार्यकारी अधिकृत, नीति निर्माता तथा विज्ञहरूलाई भनेका थिए– 'कर्मचारीतन्त्र, राजनीति र भ्रष्टाचार पुनर्निर्माणका शत्रु हुन्, पुनर्निर्माणलाई यी ३ कुराबाट टाढा राख्नुहोस् ।' तर, सम्भव कसरी ? प्रत्येक संगठन (सरकारी वा अन्य संरचना) भित्र कर्मचारीतन्त्र मौलाउँछ, राजनीति मुलुकको समस्त नेतृत्व लिने वर्ग हो, जसलाई चाहेर पनि बेवास्ता राज्यसंयन्त्रले गर्न सक्तैन । कमभन्दा कम कर्मचारीतन्त्रीय पद्धति अवलम्बन र राजनीतिक स्वार्थ÷हस्तक्षेप घटाउन पुनर्निर्माणका जिम्मेवारी लिने निकायलाई कार्यक्रमिक स्वायत्तता दिने गरिन्छ र प्राविधिक विशेषज्ञता, व्यावासयिक अनुशासन भएका गैरराजनीतिक (विशेषतः सैनिक पृष्ठभूमि) व्यक्तिलाई जिम्मेवारी दिइन्छ । पुनर्निर्माणको नेतृत्व कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा यस लेखकले उतिबेला भनेको कुरा सान्दर्भिक हुनसक्छ– 'प्राधिकरण गठन गरेरमात्र हुँदैन, त्यसको केन्द्रबिन्दुमा रहने प्रमुख कार्यकारी (सीईओ) को क्षमता, कार्यशैली र व्यक्तित्वबाट पुनर्निर्माणको कार्य प्रभावित हुन्छ । संगठन र यसबाट सम्पादन हुने काम संगठनका नेतृत्वको नैतिक स्तर, व्यावसायिक दक्षता, परिवेशको विश्वास जित्न सक्ने क्षमता, समूह परिचालन गर्ने मानवीय सीपसापेक्ष रहन्छ । प्राधिकरणको सीईओ कुनै मन्त्रीजस्तो पपुलिस्ट, सचिवजस्तो प्रशासनिक र इन्जिनियरजस्तो प्राविधिक हुनु हुँदैन । बरु मन्त्रीजस्तो राजनीतिक सहयोग परिचालन र जोखिम बहन गर्ने, सचिवजस्तो समूह पचिालन र प्रणाली निर्माण गर्ने र इन्जिनियर÷चिकित्सकजस्तो प्रोफेसनल नम्र्स मान्ने हुनुपर्छ । परिवेश छिटो चिन्ने, बुझ्ने, बुझाउन सक्ने, परिवेशलाई प्रयोग गर्न सक्ने, सबैको विश्वास जित्न सक्ने, सबैलाई विश्वास दिलाउन सक्ने आधुनिक व्यवस्थापक हुनुपर्छ । प्राधिकरण सुपर मन्त्रालय हो, त्यसैले सीईओ सुपर म्यानेजर हुनुपर्छ ।' अहिले यो चरण हामीले पार गरिसकेका छाँै ।

पुनर्निर्माणलाई समय, स्रोत र शक्तिको दुरूपयोग हुने सम्भावनाबाट कसरी बचाउने ? यस सन्दर्भमा हाइटी पुनर्निर्माण र मानवीय सहायतामा अनुभव भएका निक्सोन बाउम्बाले सुझाएका थिए–'स्थानीय जनताका आवाज सुन, उनीहरूलाई नै रकम देऊ, सबैभन्दा जोखिममा परेकोमा छिटो पुग, आधारभूत पूर्वाधार तुरुन्तै बनाऊ र सहयोगलाई एकैद्वारबाट छिराऊ ।' सार्वजनिक संरचनालाई उपेक्षा गरेर हाइटीमा गैरसरकारी संस्था परिचालित थिए, परिणाम १० अर्ब डलरभन्दा बढी सहयोग ५० वटाजति आवास संरचना निर्माणमा सकिएको थियो । यसर्थ, सार्वजनिक संरचनालाई उपेक्षा गरेर गैसस÷नागरिक समाज वा यस्तै नामका संस्था परिचालनमा मात्र भर परे त्यसले समय, शक्ति र स्रोतको व्यापक दुरूपयोग हुन सक्ने अनुभव हाइटीबाट लिन सकिन्छ । सरकार र यसका आंगिक संरचनाको क्षमता उपयोगको विकल्प छैन । ढिलो गर्ला, चिमोट्नुपर्छ, तर जवाफदेही निर्वाह त्यही संरचनाबाहेक अरुमा रहँदैन । अरु तदर्थ हुन्, ऊ स्थायी र अन्तिम जिम्मेवारीको संरचना हो ।

पुनर्निर्माणका कार्य सनातनी होइनन्, यो विपद् व्यवस्थापन र नवनिर्माणलाई साथै लैजाने रणनीति हो र हुनुपर्छ । विपद्पछिको आवश्यकता आकलन र '¥यापिड इन्भाइरोनमेन्ट एसेसमेन्ट' ले पुनर्निर्माणको रणनीति तर्जुमा गरेको छ । पुनर्निर्माणलाई आधारभूत मार्गदर्शन गर्न साविकमा पुनर्निर्माणको समेत जिम्मेवारी पाएको योजना आयोगले भूकम्पोत्तर पुनस्र्थापना तथा पुनर्निर्माणसम्बन्धी नीति तर्जुमा गरेको छ । नीतिले समृद्ध, व्यवस्थित र सुरक्षित बस्तीको सोचका साथ स्थानीय स्वामित्व, साझेदारको सहयोगमा राज्यको नेतृत्वलाई जोड दिएको छ । यसका लागि केन्द्रीकृत नीति र विकेन्द्रीत कार्यान्वयन आवश्यक मानेको छ भने 'बनाऔँ अझ राम्रो बलियो' (बिल्ड ब्याक बेटर) भन्ने विपद् व्यवस्थापनको सेन्दाइ सिद्धान्तलाई मार्गदर्शक आधार बनाउनुपर्नेमा जोड दिएको छ । साथै, क्षेत्रगत प्राविधिक नम्र्स र बस्ती व्यवस्थापनका आधारभूत पक्षहरूमा केन्द्रित भएरमात्र पुनर्निर्माणलार्ई नवनिर्माणमा रूपान्तरण गर्न सकिन्छ । फेरि पनि के भुल्नु हुन्न भने यो विकास, निर्माण वा नवनिर्माणमात्र होइन, मानवीय संवेदनाको विषय पनि हो । त्यसैले विलम्ब गरिनु हुँदैन ।

प्रकाशित: ५ माघ २०७२ २१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %