१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

कांग्रेसमा दूरगामी सोच

लोकतन्त्र: हालसम्म संसारमा प्रचलित राजनीतिक पद्धतिमध्ये तुलनात्मकरूपमा उत्कृष्ट व्यवस्था मानिन्छ लोकतन्त्र । यद्यपि यसमा पनि कैयौँ कमी कमजोरी र दुर्गुण नभएका होइनन् । लोकतन्त्रको राम्रो पक्ष शक्ति पृथकीकरणको सिद्धान्त हो।जहाँ आवधिक निर्वाचनका माध्यमले चार पाँच वर्षमा हुने चुनावमा जनताले सत्तासीन पार्टीको सरकारले उसको कार्यकालमा गरेका राम्रा÷नराम्रा कामको मूल्याङ्कन गरेर त्यो सरकार हटाउने वा पुनः भोट दिएर सत्तामा पठाउने विषयमा मत जाहेर गर्छन् । त्यसमा जनताले पार्टी मात्र छान्दैनन् । तिनले आफ्नो निर्वाचन क्षेत्रबाट जिताएर पठाएका सभासद्ले त्यो कार्यकालमा जनताका पक्षमा के कस्ता काम क्रियाकलाप गरे, त्यसको समेत समीक्षा गरेर पुनः उनैलाई प्रतिनिधि बनाएर पठाउने वा अर्कोलाई भोट दिएर प्रतिनिधि फेर्ने भन्ने निर्णय पनि त्यतिबेलै गर्छन् ।

चार पाँच वर्षमा हुने निर्वाचनका बेला जनता आफँै न्यायाधीश बनेर अर्को कार्यकालका लागि आपूmमाथि शासन गर्न को योग्य छ र कसलाई छान्ने भन्ने कुरा आफँै फैसला गर्छन् । नयाँ सरकार छान्ने त्यस्तो निर्णायक घडीमा न्यायाधीश बनेर आफँै फैसला गर्न पाउने जनताको सर्वोच्च अधिकार लोकतन्त्रबाहेक अरु कुनै राजनीतिक पद्धतिमा हुनै सक्दैन । यो लोकतन्त्रको सर्वसुन्दर पक्ष हो । तर जनता आफँै शिक्षित, सचेत र सक्षम नभएसम्म लोकतन्त्र बाँदरको हातमा नरिवल जस्तै बन्दोरहेछ भन्ने कुरा हामी नेपालीले भोगिरहेका छौँ ।

यस्तो सुन्दर लोकतान्त्रिक शासन पद्धतिभित्र पनि कतिपय स्वार्थी नेता र गलत नेतृत्वद्वारा संविधानमा त्यस्ता खराब प्रावधान र प्वाल राखिन्छन् जहाँबाट नेताका निगाहमा राजनीतिमा कुनै योगदान र पहिचान नभएका निकम्मा तिनका नातागोता आसेपासे र दानदातालाई सभासद्का रूपमा छिराएर तिनले आफ्नो कुत्सित स्वार्थ सिद्ध गर्ने सजिलो उपाय निकाल्ने गर्छन् । त्यसैले होला, जनप्रतिनिधिद्वारा अनुमोदित भनिएको जारी नेपालको आठौं संविधानमा प्रत्यक्ष निर्वाचित प्रतिनिधिबाट बन्ने प्रतिनिधि सभा (तल्लो सदन) मा समेत समानुपातिक प्रतिनिधित्वको प्रावधान राखेर लोकतन्त्रको खिल्ली उडाउने काम गरिएको छ । समानुपातिक र समावेशी प्रतिनिधित्वको प्रावधान आफैँमा खराब होइन तर त्यो व्यवस्था प्रतिनिधि सभामा नगरेर केही संख्या बढाएर भए पनि राष्ट्रिय सभामा गरिएको भए अझ राम्रो हुने थियो । त्यसो गर्दा प्रतिनिधि सभाको गरिमा र वजन बढ्थ्यो र बढी प्रतिनिधि हुँदा संख्याका दृष्टिले समेत राष्ट्रिय सभा सन्तुलित र प्रभावकारी बन्न सक्थ्यो ।

मुकुट

नेपालको राजमुकुट गोपाल, किरात, मल्ल, शाह आदि विभिन्न कालखण्डका राजवंश वा राजतन्त्र रहेको अवस्थामा समेत जनताको आस्था र साझा नासोका रूपमा रहिआएको पाइन्छ तर पछिल्लो कालखण्डका शाह राजाहरुले त्यो जनआस्थाको साझा धरोहरलाई आफ्नो स्वार्थसिद्ध गर्ने साधन ठान्न थाले । उदाहरणका रूपमा भन्दा कहिले त्यो मुकुटलाई राजा त्रिभुवनले दिल्ली दरवार नजिक पुर्याउने चेष्टा गरे । त्यसलाई रोक्न र आफ्नो जहानिया शासनसत्ता टिकाउन राणाहरुले त्यो मुकुट तत्कालीन तीन वर्षे राजकुमार ज्ञानेन्द्र शाहको शिरमा राखिदिए । कांग्रेसको पहलमा दिल्लीबाट फर्केका त्रिभुवनले पुनः त्यो मुकुट पहिरिए ।

२०११ सालमा त्रिभुवनको रहस्यमय मृत्युपछि कांग्रेसकै सहयोगमा युवराज बन्ने मौका पाएका महेन्द्रले आफू राजा बनेर त्यो मुकुटको शिर पोस पहिरिए । २०२८ मा महेन्द्रको त्यस्तै रहस्यमय आकस्मिक मृत्युपछि युवराज वीरेन्द्र राजा बनेर त्यो श्रीपेचको पगरी गुथे । त्यतिबेला उनले श्रीपेचलाई जनताको नासो स्वीकार्दै लोकतन्त्र र राजमुकुट मिलाएर लाने जमर्को गरे । तर दरवारिया दक्षिणपन्थी अतिवाद र उग्रवामपन्थी छाडावादको चेपुवामा परेर उनले आफ्नो वचनबद्धताअनुसार लोकतन्त्र र राजमुकुट मिलाएर लान सकेनन् । जसका कारण उनीसमेत कांग्रेसका रीसले भित्रभित्रै लोकतन्त्रविरुद्ध माओवादीका प्रचण्ड–बाबुरामका कुरा सुनेर तिनकै मतियार बन्न पुगे । त्यसको रहस्य दरवार हत्याकाण्डलगत्तै प्रचण्डकै मुखबाट खुलासा भएको कुरा जगजाहेर छ ।

इतिहासकै त्रासदीपूर्ण त्यो दरबार हत्याकाण्ड जुन २०५८ जेष्ठ १९ गते साँझ नारायणहिटीमा भयो । त्यसले २४० वर्ष लामो शाहराज वंश समुल नष्ट ग¥यो । असली राजतन्त्रको त्यस्तो दुःखद् अन्त्यपछि राजकुमार ज्ञानेन्द्रले प्राविधिकरूपमा राजतन्त्रको उत्तराधिकारी बन्दै राजा बनेर ५१ वर्षपछि पुनः त्यो राजमुकुटको टोपी ओडे । उनले राजमुकुटको महत्व र मर्यादा भुल्दै २०६१ माघ १९ गते राजमुकुट नारायणहिटीमा थन्क्याएर मन्त्रिपरिषद्को अध्यक्षको कुर्सी ओगट्न सिंहदरबार छिर्दा आफ्नै कारणले राजतन्त्र अन्त्य भएको पत्तै पाएनन् । विदेशीको इशारामा दिल्लीमा भएको १२ बुँदे समझदारीको आडमा भएको २०६२÷६३ को आन्दोलनको बलमा बनेको संविधान सभाले २०६५ जेठ १५ गते मध्यरातमा बिनाबहस राजतन्त्र अन्त्य गरेको घटना देखावटी औपचारिकतामात्र थियो ।

यथार्थ केलाउने हो भने २०१७ पुस १ गते राजा महेन्द्रले जनतासँगको राजमुकुटको सुसम्बन्ध तोड्दै बन्दुकका बलमा लोकतन्त्रको गला निमोठेर जननिर्वाचित सरकार र संसद् भंग गरी लोकतान्त्रिक व्यवस्थामाथि प्रतिबन्ध लगाएर राजतन्त्र समाप्तिको सुरुवात गरेका थिए । ज्ञानेन्द्रले त्यसको समापन गरेका मात्र हुन् । महेन्द्रले त्यो बेला त्यस्तो राष्ट्रघाती कदम नचालेका भए पञ्चायत आउने थिएन । राजाले कांग्रेससँग जुध्न कम्युनिस्टको सहारा लिन पर्दैनथ्यो । दश वर्षे माओवादी लुट, हत्या, हिंसा र कम्युनिस्टको बिगबिगी बढेर मुलुक नै अस्तव्यस्त बन्ने हालको अवस्था आउने थिएन पक्कै । २०१७ पुस १ गतेको लोकतन्त्र विरोधी राष्ट्रघाती कदमको त्यतिबेलाका कम्युनिस्टले दीपावलीसाथ भव्य स्वागत गरेका थिए । तिनले त्यसो गर्दा सायद अहिलेकै जस्तो माले, मसाले, मण्डलेको एकलौटी शासन चलाउन पाउने परिकल्पना गरेका थिए÷थिएनन्, समीक्षाको विषय हुन सक्छ ।

कांग्रेस

अन्य दलले स्वीकार गरुन् वा नगरुन्, नेपालका सन्दर्भमा अहिलेसम्म कांग्रेस नै लोकतन्त्रको पर्याय बन्दै आएको यथार्थ सबैसामु छर्लङ्ग छ । मुलुकमा कांग्रेस कमजोर वा विभाजित हुँदा लोकतन्त्रमाथि खतरा आइपर्ने र लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा त्यसको असर सोझै राष्ट्रियतामाथि पर्ने गरेका अनेक उदाहरण छन् । २०१७ सालमा जनताको दुई तिहाई मतबाट बिपी कोइराला नेतृत्वमा बनेको लोकतान्त्रिक सरकार र संसद्समेत ढालेर राजा महेन्द्रले पार्टीहरुमाथि प्रतिबन्ध लगाए । उन (राजा) कै सक्रिय नेतृत्वमा निरंकुश तानाशाही पञ्चायती व्यवस्था चलाए । लोकतन्त्र कुल्चेर आफैँ तानाशाह बन्ने महेन्द्रको महत्वाकाङ्क्षाले विधिको शासनसँगै संवैधचानिक राजतन्त्रसमेत खतरामा प¥यो । तिनको त्यस्तो राष्ट्रघाती कदमले राष्ट्रियतामा गम्भीर धक्का दियो । राष्ट्रवादको चर्को नारा दिने महेन्द्रले तत्काल आफ्नो गद्दी जोगाउन राष्ट्रियतामाथि ठूलो कुठाराघात गरे । त्यतिबेला तिनले बिपीले जोगाएको सगरमाथाको उत्तर पाटा चीनसँग र लिपुलेक कालापानी खण्ड भारतसँग गोप्य सम्झौता गरेर सदाका लागि दुई देशलाई सुम्पे । राजा महेन्द्रले गरेका यी दुई राष्ट्रघाती सम्झौताको चर्को राष्ट्रवादको नारा दिने नेपालका कुनै कम्युनिस्ट घटकले अहिलेसम्म विरोध गरेका छैनन् । कम्युनिस्टका खोक्रो राष्ट्रवादको पीडा नेपाली जनताले बितेका चार महिनादेखि भोग्दैछन् । कथित नाकाबन्दी र मधेस आन्दोलन तिनकै तानाबानाभित्र जेलिएको समस्या हो ।

लोकतन्त्रका पक्षमा प्रतिगामी शक्तिसँग कांग्रेस सधैँ लड्दै र अड्दै आएको छ । अहिलेको केपी–प्रचण्ड गठबन्धन सरकारलाई प्रतिगामी भन्न तबसम्म मिल्दैन जबसम्म त्यसले जारी संविधान कार्यान्वयनमा तत्परता देखाइरहन्छ । सत्तास्वार्थ, कुबद्धि र कांग्रेसका रीसका कारण यदि यो गठबन्धन लोकतन्त्रका विरुद्ध कमल थापाको राजतन्त्र व्युँताउने एजेन्डामा गाँसिन पुग्यो भने त्यतिबेला कांग्रेसले गठबन्धन सरकार बाहिरका सबै लोकतान्त्रिक शक्तिसँग मिलेर जारी संविधानको रक्षाका लागि आफ्नै नेतृत्वमा निर्णायक आन्दोलनको तयारी गर्नेछ ।

कोइराला

नेपाली कांग्रेसभित्र अनेक जात जातिका मानिस कांग्रेसको माथिल्लो नेतृत्व लिन लालायित देखिन्छन् । तीमध्ये कतिपय योग्य, इमानदार र अनुभवी पनि होलान् । तर पनि नेतृत्व चयनको अवसर पाउँदा सधैँ कोइरालाकै बढी चर्चा हुने गर्छ किन ? कोइरालाहरु सामन्त, अहंकारी र पक्षपाती पनि छन् । तिनीहरुमा विवेक छैन । जनसंस्कारभन्दा शासकीय सोच बढी छ । त्यसैले उनीहरु यथार्थभन्दा बढी चुक्ली र चाकडी मन पराउँछन् । स्वभिमानी त्यागी कार्यकर्ताभन्दा बढी नातागोता र चाकडीदारहरुलाई आफ्ना ठान्छन्, विश्वास मान्छन् । यस्ता अनेक दुर्गुण भेटिन्छन् कोइरालाहरुमा । तर पनि सर्वसाधारण कार्यकर्तादेखि देशीविदेशी सबै अझै किन आकर्षित छन् त कोइरालाहरुप्रति ? मानिसलाई अनौठो लाग्न सक्छ ।

बिपीका पिता कृष्णप्रसाद कोइरालाले प्रधान मन्त्री चन्द्रशमशेरलाई तिमीहरु सत्ताको तर मारेर मोजमस्तीसँग बाँचेका छाँै, जनता कहालीलाग्दो गरिबीमा पिल्सिएका छन् । नपत्याए लौ हेर जनताको हालत भन्दै भारी बोक्ने हलो जोत्ने गरिब जनताका मैलाधैला गन्हाउने कपडा पोको पारेर चन्द्रशमशेरको गद्दी बैठकमा पठाएका थिए । त्यो पोको फुकाउँदा गद्दी बैठक पुरै गन्हाएको थियो । कृष्णप्रसादले राजाको अपमान गर्न यस्तो बेइज्जती काम ग¥यो भन्दै रिसले चूर भएका चन्द्रशमशेरले कृष्णप्रसाद कोइरालाको अंश सर्वश्व गरेर सपरिवार देश निकाला गरे । भारतमा निर्वासित कृष्णप्रसादले दुःखजिलो गरेर मातृका, बिपीसहितका थुप्रै सन्तानको पालनपोषण र शिक्षादीक्षाको बन्दोबस्त मिलाए । कामविशेषले कृष्णप्रसाद काठमाडौं आउँदा पक्राउ परेर जेलभित्रै प्राण त्यागे ।

त्यो डर त्रास र अन्धकारको बेला बिपीकी आमा दिव्या कोइरालासहित केही साहसी महिला नेतृहरुको सक्रियतामा तराईमा महिला संघ खुल्यो । त्यसले राणाका दरवारसम्म हलचल ल्यायो । महिला संघको त्यही सुरुवाती जगमा टेकेर विद्यादेवी भण्डारीलाई अहिले नेपालको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य मिल्यो ।

तिनै कृष्णप्रसादका छोरा मातृका–बिपी र सुवर्णशमशेर, महावीर सम्झेर गणेशमान, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, सूर्यप्रसादसहित साहसी युवा मिलेर चार जना सहिद शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई सम्झँदै तिनकै सपना साकार पार्ने उद्देश्यले २००३ सालमा ज्युँदा सहिद टंकप्रसाद र रामहरि शर्मासहितको प्रेरणाले बनारसमा बसेर कांग्रेस जन्माए । त्यही कांग्रेसको नेतृत्व गर्दै बिपी कोइरालासमेतले राणा शासन ढाले, गणेशमान, कृष्णप्रसादको साथमा गिरिजाप्रसाद कोइरालाले पञ्चायत फाले । उनकै नेतृत्वमा राजतन्त्र ढल्यो । भरतशमशेर राणा गिरिजाप्रसादका कट्टर विरोधी हुन् । २०५९ मा कांग्रेस फुट्दा उनी शेरबहादुरतिर लागेनन् सच्चा कांग्रेस कोइराला नै हो भन्दै गिरिजातिरै लागे । जनअधिकार, लोकतन्त्र र राष्ट्रियताका पक्षमा दिएको योगदानकै कारण राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा कांग्रेस भनेको कोइराला र कोइराला भनेको कांग्रेस नै हो भन्ने छाप छ । दुःखको कुरा यतिबेला समयको चुनौती सामना गर्न सक्ने समष्टिगत सोच, दूरगामी विचार र क्रान्ति चेतनाको संवाहक भागबन्डाबिनाको साझा नेतृत्व कोइरालाभित्र वा समग्र कांग्रेस वृत्तमा कतै भेटिँदैन ।

प्रकाशित: ५ माघ २०७२ २१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %