समाजशास्त्रका संस्थापकमध्येका एक इमानुयल दुर्खाइमले एउटा पुस्तक लेखेका छन्– 'सुसाइड' अर्थात आत्महत्या। यस पुस्तकमा उनले कुनै पनि व्यक्तिले गर्ने आत्महत्या व्यक्तिगत वा मनोविज्ञानको कारणले नभई त्यसको सामाजिक कारण हुने उल्लेख गरेका छन्। करिब ६ सय पेजको सो पुस्तकको निष्कर्ष छ– 'व्यक्तिको समाजसँगको एकीकरण कस्तो छ? भन्ने कुरासँग आत्महत्या जोडिएको छ। यदि व्यक्तिको सामाजिक एकीकरण बलियो छ भने जस्तासुकै समस्यामा परेका व्यक्ति पनि आत्मविश्वासका साथ बाँच्छन् भने एकीकरण कमजोर रहेका व्यक्तिले आत्महत्या गर्छन्। युवा पुस्तामा बढ्दै गएको नैराश्यताका कारणहरु खोजी गर्ने हो भने समाजशास्त्रीय दृष्टिकोणबाट व्याख्या र विश्लेषण आवश्यक छ। नेपाली युवामा नैराश्यता बढ्दै जानुका विभिन्न कारण देखिन्छन्।
पहिलो, संक्रमणकालीन अवस्था। पुरानो सामाजिक संरचना भत्किसकेको छ भने नयाँ संरचनाहरुको खास निर्माण भइसकेको छैन। अर्थात अहिलेको पुस्ता संक्रमणमा छ। यो संक्रमणकालीन अवस्थाले युवापुस्तामा नैराश्यता बढाएको छ। पहिले समाजमा रहेका सामाजिक सम्बन्ध, सामाजिक संरचना, बानीबेहोरा सबै भत्किएका छन्। उदाहरणका लागि पहिला बाबु र छोराको बीचमा जुन किसिमको सम्बन्ध थियो अहिले त्यस्तो छैन। सयौँ वर्षदेखि रहिरहेको सम्बन्ध प्रविधिको तीव्र परिवर्तन, शिक्षामा भएको विकास जस्ता कारणले भत्किएको छ। तर नयाँ सम्बन्ध कस्तो रहने भन्ने मान्यता स्थापित भइसकेको छैन्। जसले गर्दा बाबुले पहिलाको जस्तो सोच्ने तर छोराले अर्कै किसिमले सोच्ने अवस्था अहिले देखिन्छ। यही संक्रमणकालीन अवस्थाका कारण युवा पुस्तामा नैराश्यता हावी भइरहेको छ।
दोस्रो, विश्वव्यापीकरणको प्रभाव। सन् १९८० को दशकदेखि नवउदारवादी अर्थनीतिले विश्वमा प्रभाव पार्योम। त्यसैको बुइ चढेर विश्वव्यापीकरण झाँगियो। संसारका हरेक कुना कन्दराका समाज र त्यहाँ बसोबास गर्ने नागरिक यसको प्रभावबाट अछुतो रहन सकेनन्। विश्वव्यापीकरणका कारण संसारका हरेक कुनामा आवतजावत गर्न सहज हँुदै गयो। प्रविधिमा भएको विश्वव्यापीकरण अर्थात इन्टरनेट, सामाजिक सञ्जाललगायतका कारण हरेक युवाले आफ्नो समाजलाई सम्पन्न देशसँग तुलना गर्न थाले। नेपाली युवा पनि यसबाट अछुतो रहेनन्। अन्य देशको तुलनामा आफू बाँचिरहेको परिवेश कमजोर र अविकसित पाउँदा युवा निराश भइरहेका छन्।
तेस्रो, बिग्रँदो राजनीतिक संरचना। व्यक्ति, समाज तथा देश बनाउने माध्यम भनेको राजनीति हो। सही राजनीतिक बाटो र राजनीतिक नेतृत्वले समाजलाई रूपान्तरण गर्ने र सही बाटोमा अगाडि बढाउने सामर्थ्य राख्छ। तर नेपालमा राजनीति नै गलत बाटोमा छ। यहाँ आदर्शको राजनीति द्रुतगतिमा क्षय हुँदै गइरहेको छ र राजनीतिमा अपराधीकरण उस्तै गतिमा बढिरहेको छ। राजनीति भ्रष्टाचारको अखडा बनेको छ। राजनीतिमा लागेर समाजमा योगदान गर्छु भन्ने युवा उसै निराश छ किनकि स्थानीय निकायको निर्वाचन झण्डै डेढ दशकदेखि र झण्डै आधा दशकदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकिरहेको छैन।
चौथो, बेरोजगारी। पछिल्लो पुस्ताले शिक्षा पाएका छन्। मेहनत गरेर शिक्षा प्राप्त गरेको युवाले रोजगारी पाउन सकिरहेको छैन। शिक्षालाई रोजगारीसँग जोड्न सकिएको छैन। नेपाललाई जे आवश्यक छ त्यो उत्पादन गर्ने शिक्षा दिन सकिएको छैन। नेपालको लागि आवश्यक पर्ने शिक्षा दिन नसक्दा उच्च शिक्षा प्राप्त गरेर पनि युवाले आफ्नै देशमा रोजगारी पाउन सकिरहेको छैन। उच्च शिक्षाको प्रमाणपत्र भएर पनि खाडीमा भेडा चराउन जानुपर्दा युवा निराश छन्।
पाँचौ, भ्रष्टाचार तथा अनियमितता। युवा जुन कार्यालय तथा निकायमा आफ्नो काम लिएर पुग्छन् त्यहाँका अधिकारीले घुस माग्छन्। टान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष प्रकाशित गर्ने रिपोर्टले नेपाल बढी भ्रष्टाचार हुने देशको सूचीमा दरिँदै गएको छ। युवाले जे काम गर्न खोज्छन् त्यसको सुरुवाती प्रक्रियामै अतिरिक्त रकम बुझाउनुपर्ने हुन्छ। परिवर्तनका संवाहक युवा घूस दिन चाहँदैन। तर घूस नख्वाई कुनै काम बन्दैन। समाजमा हुर्कदै गएको नातावाद र कृपावादले युवा पुस्तालाई निराश बनाउँदै लगेको छ।
छैटौँ, नेपाली आमसञ्चारमाध्यम। सार्वजनिक विचार निर्माण गर्ने एक महत्वपूर्ण माध्यम भनेको सार्वजनिक सञ्चारमाध्यम हुन्। तर यिनै निकायहरुले नकारात्मक सवाललाई बढी महत्व दिने र सकारात्मक सवाललाई बेवास्ता गरिरहेका छन्। भत्किएको, मारिएको, सकिएको, बिग्रिएको जस्ता समाचारलाई प्रमुखताका साथ प्रकाशन तथा प्रसारण गर्दा राम्रा र सकारात्मक घटना ओझेलमा परेका छन्।
सातौँ, युवालाई परामर्श दिने स्थानको अभाव। विभिन्न सामाजिक कारणले व्यक्तिमा नैराश्यता बढ्दै गइरहेको छ। युवा निराश हुँदै गएका छन्। कुनै सकारात्मक किरण नै भेट्न सकिरहेका छैनन्। तर कालो बादलमा चाँदीको घेरा हुन्छ र त्यसले सकारात्मक परिणाम पनि दिन सक्छ भन्ने गरी युवालाई परामर्श दिने स्थानको नेपालमा अभाव छ।
प्रकाशित: ३ माघ २०७२ २१:३७ आइतबार

