१५ असार २०८१ शनिबार
image/svg+xml
विचार

मानवविकास र यसका सूचकाङ्कहरू

विकास भन्ने शब्दलाई सबैले आआफ्नै प्रकारले बुझ्ने गरेकाले यो भ्रामक शब्द बनेको छ र यसबारे समान अवधारणा बन्न सकेको देखिन्न। त्यस्तै गरी प्रतिवर्ष प्रकाशित हुने विश्वव्यापी मानव विकास सूचकाङ्क (एचडिआई) प्रतिव्यक्ति आयको मापदण्डभन्दा किन र कसरी फरक छन् भन्नेबारे पनि प्रायः पत्रकार, नेता र नीतिनिर्माताहरूमा समेत भ्रम रहेको देखिन्छ। अतः यसबारे पनि सबैमा स्पष्टता हुन जरुरी छ।  

अठारौँ शताब्दीसम्म पनि टाढाटाढाका देशहरूलाई जितेर सुनचाँदी र कौडीका दाममा कच्चा पदार्थ ल्याई उत्पादन बढाएर आफ्ना राजा र देशवासीलाई धनी बनाउने कार्यलाई विकास मानिन्थ्यो। पछि गएर प्रा. हिक्स र मैडिसनले परिभाषित गरेझैँ उपयोगमा नआएका स्रोतसाधनहरूको उपयोग गरी उत्पादन बढाएर जनताको आय स्तर बढाउने कार्यलाई अल्पविकसित देशहरूमा विकास र विकसित देशहरूमा आर्थिक वृद्धि मान्न थालियो र ग्राहस्थ उत्पादन तथा ग्रस नेसनल इनकम (जिएनआई) र प्रतिव्यक्ति आयलाई विकासको र वृद्धिको सूचक मानी विश्लेषणका लागि विश्वव्यापी रूपमा प्रयोग गर्न थालियो।  

आर्थिक विकासको अवधारणा  

यस्तो पृष्ठभूमिमा प्रा. हैरिक र किंडलवर्गर आदिले विकासबारे चिन्तन मनन गरी आर्थिक विकासलाई अधिक उत्पादन–वितरण र संस्थागत व्यवस्थामा उन्नत परिवर्तन भनी परिभाषित गर्दै आर्थिक वृद्धिको मतलब अधिक उत्पादन नै हो भन्ने स्पष्ट पारेका थिए। हाल आएर चरम भोगवादी संस्कृति र गरिबीले गर्दा हुने दोहनलाई पृथ्वीले ‘दिगो रूपमा’ धान्न नसक्ने कटुसत्य उजागर गर्दै यस्तो अनियन्त्रित विकासमा नियन्त्रण हुनुपर्ने माग र दबाब बढाउँदै लगिएको छ। अतः श्रमशक्ति, पुँजी, उपभोग र कृषि, उद्योग, व्यापार वृद्धिबाट हुने सन्तुलित, वातावरण मैत्री र दिगो आर्थिकवृद्धिका साथै समाजका आवश्यक वस्तु र सेवाहरूको उत्पादन र वितरण तथा उद्यमीहरूको र कामदारहरूको प्रेरणा र उत्पादकत्व क्षमता तथा आर्थिक सङ्गठन/संस्थाहरूको स्थितिमा आउने गुणात्मक परिवर्तनलाई नै आर्थिक विकास मान्नुपर्दछ भन्ने हाल विश्वव्यापी मान्यता रहिआएको छ।

तर पनि यस परिभाषाले मानवको विकास नै अन्तिम लक्ष्य हो र आर्थिक विकास साधन मात्र हो भन्नेमा जोड दिन नसकेको अनुभूत गरी सन् १९९० मा मानव विकासको परिष्कृत अवधारणा र सूचकाङ्क संयुक्त राष्ट्रसंघबाट प्रतिपादित भयो। यस कार्यमा प्रो. महबुव–उल–हक र नोबल प्राइज विजेता प्रो. अमृत्य सेनको विशेष योगदान रहेको थियो। जिडिपीबाट प्राप्त प्रतिव्यक्ति आयलाई नै विकासको सूचक मानेमा, नर्वे, स्विडेन, क्यानडालाई होइन, चरम असमानता र तुलनात्मक रूपमा निम्न शिक्षा र जनस्वास्थ्यको स्थिति रहेको तर विश्वमै सर्वाधिक (१,२९,९१६ डलर पिपिपी) प्रतिव्यक्ति आय भएको कतारजस्ता देशहरूलाई सर्वोच्च मानवविकासको स्तरमा रहेका देश मान्नुपर्ने हुन्छ। एक लेखमा प्रो. सेनले क्याम्ब्रिजमा पढ्दाखेरिदेखि नै उहाँ र मकबुव–उल–हकले कुल ग्राहस्थ उत्पादन जिडिपी सूचकाङ्क अपक्व (क्रुड) रहेको र मानव विकासका अनेक पक्षहरूलाई उजागर गर्न नसक्ने भनी यसबारे छलफल गर्ने गरेको संस्मरण गरेका छन्। पछि युएनडिपीमा प्रो. हकसँगै काम गर्दा मानव विकासको सर्वाङ्गीण (आर्थिक, सामाजिक र राजनीतिक) महŒवपूर्ण पक्षहरूमा गुणात्मक परिवर्तन आएको नआएको एउटै ‘एग्रिगेट इन्डेक्स’ (जिडिपीले जस्तै) एउटै सङ्ख्यामा दर्शाउन सक्नु ठूलो चुनौतीपूर्ण कार्य रहेको थियो भनी डा. अमृत्य सेनले लेखेका छन् (ह्युमन डेभलप्मेन्ट रिपोर्ट, सन् २०२०, न्युयोर्क: ह्क्ष्)।  

सामाजिक–सांस्कृतिक विकासको अवधारणा 

प्रत्येक व्यक्तिको व्यक्तित्व निर्माणमा असल–खराब, ठीक–बेठीक, उचित–अनुचित छुट्याउने (समाजका बहुसङ्ख्यक व्यक्तिहरूद्वारा स्वीकृत) मूल्य–मान्यताहरूले तथा धार्मिक विश्वास आदिले गहिरो प्रभाव पार्दछ। तदनुरूप नै बृहत् समाजको सांस्कृतिक स्वरूपको निर्माण हुन्छ र समाजका नागरिकहरूको मानसिक गुण (स्वभाव) मा बिस्तारै परिवर्तन आउँछ र संस्कृतिको कुनै दिशातिर सम्पूर्ण समाजको झुकाउ बढ्दछ। त्यसअनुरूप नै प्रायः सबै नागरिकहरूको आचारविचार, विश्वास, व्यवहार र कार्यशैली आदिको निर्माण हुन्छ। डा. रूथ वेनडिक्टले इन्डोनेसियाका टापुहरूका र न्युमेक्सिको आदि क्षेत्रका तीन आदिम जनजातिहरूका समाजका व्यक्तिहरूको व्यक्तित्व निर्माण र समाजको सामुहिक व्यक्तित्वको निर्माणबारे वर्षौं लगाएर अध्ययन गरेकी थिइन्। 

त्यस आधारमा सम्पूर्ण समाजको बहुसङ्ख्यक व्यक्तिहरूको सांस्कृतिक झुकाव दुई प्रकारको हुने उनले निष्कर्ष निकालेकी थिइन्। उनका अनुसार ‘अपोलोनियन’ संस्कृतिमा शान्ति र सुव्यवस्थालाई धेरै महŒव दिइन्छ। नागरिकहरू शान्तिपूर्ण जीवन जिउन चाहन्छन्, औचित्यको सीमाभित्र रहन्छन्, प्राचीन संस्कारहरूप्रति लगाव राख्दछन्। परस्परमा सहयोग आदानप्रदान गर्दछन्। (यस्ता समाजहरू प्रायः सुखी र सम्पन्न भएको पाइएको थियो। यस्तै समाजमा प्रत्येक मानवले मानसिक, बौद्धिक र आध्यात्मिक आत्मविकास गर्ने अवसर पाउने अवस्था पनि हुन्छ।) अर्कोतर्फ डायोनिसियन संस्कृतिले आर्थिक पिछडापन, अव्यवस्था, झगडा र अशान्ति बढाएको डा. बेनडिक्टले पाएकी थिइन्। अतः सामाजिक विकास भनेको अपोलोनियन सामाजिक संस्कृतिको विकास र विस्तार नै हो। ज्ञानयुक्त र रचनात्मक जीवनको र सुखी जीवनको प्रतिनिधित्व गर्ने मानव विकासका सूचकाङ्कहरूले सामाजिक विकासका उपरोक्त मान्यताहरूको उपयोग केही हदसम्म गरेको देखिन्छ।  

राजनीतिक विकासका अवधारणा र युएनडिपीको ‘पोलिटिकल फ्रिडम इन्डेक्स’ (पिडिआई)  

राजनीतिक विकासको व्याख्या, मापनका सूचकाङ्क र विकासको स्तर निर्धारणको क्षेत्रमा प्रा. ल्युसियन पाईको ठूलो योगदान छ। उनका अवधारणाहरूको कोलमैन, रिग्स, विनर र विशेषतः प्रा. आमन्डले परिमार्जन र व्याख्या गरेका छन्। सारसङ्क्षेपमा भन्दा लुसियन पाईले तल प्रस्तुत तीन प्रकारको सन्दर्भमा राजनीतिक विकासलाई मापन गर्नुपर्ने मान्यता राखेका छन् : 

१) सम्पूर्ण जनसङ्ख्याको सन्दर्भमा  

निर्णय प्रक्रियामा सहभागी भई, गुणस्तरीय निर्णय गर्ने क्षमता, समान अवसरको प्राप्ति, समान न्यायको प्राप्ति र भ्रष्टाचारको स्तर, नेता छनोटमा भागिदारी, जल्दाबल्दा समस्याहरू बारेको जानकारीको स्तर र अभिमत व्यक्त गर्ने सक्ने क्षमता, सार्वजनिक र निजी क्षेत्रमा भर्तीबारे व्यवहारमा देखिने स्थिति र (जौन लक आदिले प्रतिपादित गरेको लोकतान्त्रिक, बहुलवादी, लोककल्याणकारी र उदारवादी) राजनीतिक संस्कृतिको लौकिकीकरणको स्तर।  

२) संरचनात्मक तथा व्यवहारात्मक परिवर्तनको सन्दर्भमा  

सम्पूर्ण राज्य व्यवस्था (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) का साथै राजनीतिक उपव्यवस्था भित्रका पार्टीहरू, दबाब समूहहरू, (निहित स्वार्थ र माफियाहरूबाट मुक्त) स्वतन्त्र प्रेस आदिमा समन्वयात्मक विशेषीकरण र (चेक एन्ड ब्यालेन्स गर्न सक्ने) सन्तुलित विभिन्नीकरणको स्तर र तद्जन्य राजनीतिक स्थायित्वको स्थिति। प्रो. आमन्डले (क्रोनी–आसेपासे र भ्रष्टहरूबाट मुक्त) उपव्यवस्था (पार्टी, दबाब समूह र प्रेस) को स्वायत्तता र प्रभावकारिताको स्तरमा विशेष जोड दिएका छन्।

३) राज्य संरचनाहरूको कार्य क्षमताको सन्दर्भमा  

राजनीतिक समस्याहरूको उचित समाधान र प्रबन्धन गर्ने क्षमता, द्वन्द्व व्यवस्थापन र नियन्त्रण क्षमता, उच्च स्तरीय कुटनीतिक क्षमता र विभिन्न क्षेत्र, वर्ग र लिङ्गका समुदायहरूको इच्छा, आकाङ्क्षा र मागहरूको सम्बोधन÷परिपूर्ति गर्ने र वस्तु सेवाहरूको प्रभावकारी परिपूर्ति गर्न गराउन सक्ने क्षमताको स्तर आदि।

संयुक्त राष्ट्र सङ्घले पनि सन् १९९१ तिर पोलिटिकल फ्रिडम इन्डेक्स बनाएर विकासको यस तेस्रो आयामलाई बुझ्ने र मापन गर्ने प्रयास गरेको थियो। सदस्य राष्ट्रहरूको राजनीतिक विकासको स्तरमापन गर्न नागरिकको सुरक्षा, कानुनी राज्य, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक सहभागिता र अवसरहरूमा पहुँचको स्तरलाई मुख्य सूचक मानेको थियो (ह्युमन डेभेलोपमेन्ट रिपोर्ट, सन् १९९२ : २६–३३)। तर केही सदस्य राष्ट्रहरूको विरोधमा यस कार्यलाई रोक्नुपरेको थियो। हाल मानव अधिकार सन्धि गर्ने राष्ट्रहरूबारे र ह्युमन सेक्युरिटीका विविध सूचकाङ्क दिने मात्र कार्य युएनडिपीले गर्दै आएको छ। त्यस्तै इनइक्वेलिटी इन्डेक्स, जेन्डर इनइक्वेलिटी इन्डेक्स तथा परसेप्सन अफ वेल विइङ आदिका माध्यमबाट केही हदसम्म पोलिटिकल डेभलपमेन्टको मापन गर्ने प्रयास भएको छ।

युएनडिपीको मानव विकास सूचकाङ्क (एचडिआई) र परिमार्जन पद्धति  

प्रत्येक मानवको (अनेक प्रकारका) क्षमता उपयोगको सम्भावना अपरम्पार छ। त्यसमध्ये पनि स्वस्थ, लामो र ज्ञानयुक्त तथा सम्मानजनक र सुविधा सम्पन्न स्तरको जीवन जिउन चाहिने स्रोत साधन प्राप्त गर्न सक्ने मानव क्षमतालाई आधारभूत क्षमता मान्नुपर्ने हुन्छ। मानवको क्षमता विकासमा लगानी गर्दा सन्तुष्ट, स्वस्थ र शिक्षित÷प्रशिक्षित जनशक्तिको वृद्धि भई उत्पादन र उत्पादकत्व बढ्ने भएकाले यस विषयलाई, समाज कल्याण कार्य मात्र नमानी, आर्थिक वृद्धिका लागि लगानी मान्नुपर्नेमा जोड दिइएको हुन्छ। यसप्रकार, विकसित मानवले आर्थिक वृद्धि ल्याउँछ र आर्थिक वृद्धिले मानवको सुख–शान्तिको अभिवृद्धि गर्न मद्दत पु र्‍याउँछ भन्ने आशा गरिन्छ र यसै आधारमा उपर्युक्त क्षेत्रहरूमा कति उपलब्धि भयो भन्ने मूल्याङ्कन गरिन्छ।

एचडिआईको गणना गर्दा (१) प्रतिव्यक्ति आय (जिडिपी ÷जिएनआई—पर्चेजिङ पाओर पेरिटी÷युएस डलर) लाई आम्दानीले किन्न सकिने आधारभूत उपभोग्य सामान र सेवाबाट प्राप्ति हुने तृप्तिको प्रतीक (सेरोगेट) मानिन्छ। (२) त्यस्तै, स्वस्थ र लामो आयुको प्रतिनिधित्व, जन्मको बेलाको स्थितिमा नवजातले आशा गर्न सक्ने औसत आयुका वर्ष (लाइक एक्स्पेक्टेन्सी याट बर्थको) सूचकाङ्कले गर्दछ भने (३) ज्ञानपूर्ण (सुसूचित) र रचनात्मक जीवनको प्रतिनिधित्व पन्ध्र वर्षभन्दा माथिकाको प्रौढ साक्षरता र पच्चीस वर्षमाथिकाको सरदर स्कुल÷कलेज पढाइको वर्षले गर्दछ। आजकल यसमा संशोधन गरी प्रौढ साक्षरताको सट्टा पढाइ सुरु गर्ने बेलाको स्थितिमा बच्चाबच्चीहरूले आशा गर्न सक्ने पढाइका सरदर वर्ष (एक्स्पेक्टेड इयर्स अफ स्कुलिङ) लाई लिने गरिन्छ। यसका साथै स्कुल शिक्षाप्राप्तिका सरदर वर्ष (मिन इयर्स अफ स्कुलिङ) लाई पनि आधार बनाइन्छ। उपर्युक्त तीनओटै सूचकाङ्कको सरदर निकाली एचडिआईको रूपमा कुनै देश, प्रदेश र जिल्लाको मानव विकासको स्तरको सूचकाङ्क निकालिन्छ।

सुरुदेखि नै विभिन्न आयवर्ग र लिङ्गका व्यक्तिहरूको एचडिआईको पनि गणना गरिन थालिएको थियो र जेन्डर सेन्सेटिभ एचडिआईसमेत प्रकाशन गर्न थालिएको थियो। महिला र पुरुषहरूको एचडिआई, लाइफ एक्स्पेटेन्सी, एक्सपेक्टेड ईयर्स अफ स्कुलिङ तथा मिन इयर्स अफ स्कुलिङ र पर–क्यापिटल इन्कमहरूमा रहेको फरकका आधारमा जेन्डर डेभलपमेन्ट इन्डेक्स (जिडिआई) को गणना गरिन्छ। त्यस्तै स्वास्थ्य, शिक्षा, श्रमशक्ति उपयोग र संसद् आदिमा महिला प्रतिनिधित्वको आधारमा जेन्डर इनइक्वालिटी इन्डेक्स (जिआइआई) को पनि प्रकाशन गर्ने गरिन्छ। दिगो विकासका दुई प्रमुख नकारात्मक तत्व (वातावरणीय विनास र गरिबीको समस्या) मा विचार गर्दै एचडिआईले यी दुवै पक्षको स्थिति दर्शाउन नसक्ने भएकाले पूरक सूचकाङ्क बनाइनुपर्नेमा जोड दिइएको थियो। त्यसपछि दीर्घायु, सूचना र ज्ञान तथा सम्मानजनक जीवन स्तरमा वञ्चितीकरण (डेप्राइभेसन) का सूचकाङ्कका आधारमा ह्युमन पोभर्टी इन्डेक्स (एचपिआई) प्रकाशन गर्न थालिएको थियो। 

हाल यसमा थप परिमार्जन गरी मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स प्रचलित गरिएको छ। अझ बढी वास्तविक स्थिति देखाउन, विभिन्न तीन क्षेत्रमा असमानताको स्तर मापन गरी ‘लस इन पोटेन्सिएल डेभलेपमेन्टको सरदर सङ्ख्या निकाली एचडिआईका सूचकाङ्कहरूमा घटाई (डिस्काउन्ट गरी) ‘इनइक्वालिटी एडजस्टेड ह्युमन डेभलेपमेन्ट’ पनि प्रकाशन गरिन्छ। त्यस्तै पूरक सूचकाङ्कका रूपमा ह्युमन सेक्युरिटी आदिको स्थितिबारे पनि बर्सेनी सूचकाङ्कहरू प्रकाशन गरिन्छ। संयुक्त राष्ट्र संघका सदस्य विश्वका १९३ देशका नीतिनिर्माताहरू र योजनाकारहरूलाई यस्ता सूचकाङ्कहरूले ठूलो मद्दत गरेको छ। नेपालले पनि यसलाई स्वीकारेर मानव विकासका लक्ष्य तोक्ने गरेको छ।

मानवले भौतिक सुखबाट मात्र सन्तोष लिन सक्दैन। मानसिक–आध्यात्मिक सुख नै वास्तविक सुख हो। तर यसको मापन असम्भव प्रायः छ, तापनि युएनओको सस्टेनेबल डेभलपमेन्ट सोल्युसन्स नेटवर्कले यस क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै बर्सेनी वल्र्ड ह्याप्पीनेस रिपोर्ट प्रकाशित गर्ने गरेको छ। त्यस्तै युएनले ‘परसेप्सन अफ वेलबेइङ’ को स्थिति पनि प्रकाशन गर्ने गरेको छ। यस गहन र व्यापक विषयमा छुट्टै लेखमा विवेचना गरिनु उपयुक्त हुन्छ। आजको स्थितिमा लैङ्गिक र अन्य असमानता र सुखका सूचकाङ्कहरूलाई समायोजन गरी प्रा. अमृत्य सेनले नै भनेझैँ सर्वसमायोजित एउटै अङ्कको ‘फाइनल एग्रिगेट इन्डेक्स’ बन्न सम्भव भएको छैन। तर एचडिआईले धेरै हदसम्म मानव विकासको वास्तविक स्तर मापन गर्न समर्थ भएको छ।  

उपरोक्त सबै अवधारणाहरूलाई ध्यानमा राखी नेपालको विकासको प्रयोजन र उद्देश्यहरूबारे समान धारणा बनाउन जरुरी छ। तदनुरूप हाम्रो संविधानमा घोषित (मेनिफिस्टेड) उद्देश्यहरूको आधिकारिक व्याख्या गरिनुपर्दछ र यस आधारमा प्रथम प्राथमिकताको विकासका लक्ष्यहरू तोकिनुपर्दछ र यस्ता लक्ष्य प्राप्तिका लागि योजनाबद्ध, इमानदार र दृढ प्रयास गरिनुपर्दछ।

प्रकाशित: ३२ असार २०७९ ००:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App