४ श्रावण २०८२ आइतबार
image/svg+xml
विचार

राजनीतिमा नयाँ अनुहार

कोही मान्छे राजनीतिमा किन आउन चाहन्छ? वास्तवमा बाहना जे जे बनाए पनि सत्ता र शक्तिको प्रयोगकै लागि मान्छे राजनीति गर्न चाहन्छ। राजनीतिको यो परिभाषा कुनै भूगोल या समुदायमा सीमित छैन। हामीले रामराज्य देखेका समृद्ध देशदेखि रोग/भोकसँग लडिरहेका कंगाल मुलुकमा पनि राजनीति गर्नेहरूको स्वार्थ र सपना समान नै हुन्छ। फरक यत्ति हो– कोही शक्तिको सदुपयोग गरेर देश बनाउन सफल हुन्छन् त कोही दुरूपयोग गरेर देश बिगारिरहेका हुन्छन्। यो एउटा विश्वव्यापी मान्यता नै हो। योमहत्वकांक्षी यात्रामा होमिनेहरू कति सफल हुन्छन्, कति बीच बाटोमै अलप हुन्छन्।  

पछिल्लो स्थानीय तहको निर्वाचनको परिणामपछि राजनीतिको राजमार्गमा होमिने युवाको जमात नेपालमा बढ्दो छ। उनीहरू कति गन्तव्यमा पुग्लान् त्यो भने हेर्न बाँकी नै छ। नयाँ दल निर्माण/विनिर्माण र स्वतन्त्र उम्मेदवारी घोषणाको शृंखला जारी छ। यो रहर र लहरको संख्या मंसिरसम्म पुग्दा कति पुग्छ, अहिले नै एकिन गर्नु हतार हुनेछ। खास गरेर राजधानीमा बालेन्द्र शाहको विजयले केही युवामा एकाएक राजनीतिक मोह जगाइदियो। सुदूरपश्चिममा गोपाल अनि पूर्वमा हर्कको जीतले थप भोक जगाउने काम गर्‍यो। राजनीतिमा नवप्रवेशीको लहरलाई रुचाएकाहरूले पुरानो दल विस्थापनका लागि नयाँ र स्वतन्त्रको उदय अपरिहार्य रहेको टिप्पणी गरेका छन्। यता आलोचकहरूले भेलमा ढडिया थापेर माछा मार्ने तिकडम गरेको आरोप लगाएका छन। पुराना दलका धेरै कमजोरी हुँदाहुँदै पनि नयाँका अगाडि चुनौतीको अग्लो पहाड ठडिएको वास्तविकता नकार्न हुँदैन। बालेन, हर्क र गोपालहरूको जीतबाट हौसिएर मात्रै कोही यो यात्रामा होमिएको छ भने त्यो मूर्खता हुनेछ।  

सबैभन्दा पहिला त पुराना राजनीतिक दलले स्थानीय तहमा पाएको मत विश्लेषण गर्न जरुरी छ। कांग्रेस, एमाले, माओवादीले दलगतरूपमा प्राप्त गरेको पपुलर मत घटेको देखिँदैन। यसरी हेर्दा मंसिरको निर्वाचनमा यो मत यति छिटै डाइभर्ट भइहाल्ने संभावना कम छ। यस भन्दा अघि बनेका नयाँ दलतर्फ पनि त्यो जनमत डाइभर्ट भएन। यसको ज्वलन्त उदाहरणका रूपमा डा. बाबुराम भट्टराईले बनाएको नयाँ शक्ति र रवीन्द्र मिश्रको साझा विवेकशील पार्टी नै हुन। दुवै चर्चित अनुहारले बनाएका यी पार्टी केही वर्षसमेत टिक्न सकेनन्। यसपछाडिका कारण विविध होलान्। तर विगत तीन दशकदेखिको ट्रेन्ड हेर्दा जनमत कांग्रेस र कम्युनिस्ट इतरको विकल्पमा बाँडिएको देखिँदैन। यसर्थ मंसिरमा मोह पूरा गर्ने नयाँहरूकोमहत्वकांक्षा बालेनको नजिरलाई हेरेर मात्र सहज देखिँदैन।  

अर्कातर्फ राजनीतिमा संगठनको ठूलोमहत्व हुन्छ। राम्रोसँग संगठित दल नै शक्तिशाली बन्न सक्छ। स्वतन्त्र या नयाँ दल सांगठानिकरूपमा ६ महिनामै पुरानालाई टक्कर दिने ठाउँमा पुग्लान्? यो अर्का यक्ष प्रश्न हो। अझ स्वतन्त्रको त संगठन हुने कुरै भएन। स्वतन्त्र उठ्नेहरूले योजनाबद्ध भन्दा पनि हतार र ‘ओभर एम्बेसिएस’ भएर उम्मेदवारी घोषणा गरेको देखिन्छ। अधिकांशमा मान्नुस् या नमान्नुस्, बालेनले जितेकाले आफूले पनि जितिहालिन्छ नि भन्ने भ्रम छ। कतिपयमा त आफूहरूले नजिते देश कसैले बनाउनै नसक्ने भन्ने दम्भ पनि होला। पुरानोको विरोध नै जितका लागि काफी छ भन्ने एकांगी सोचले पनि कति राजनीतिको रंगमञ्चमा हेलिएका छन्। खास गरेर व्यक्तिगतमहत्वकांक्षा बोकेर लहडकै भरमा स्वतन्त्रहरूले उम्मेदवारी घोषणा गरेका हुन् भने यो उनीहरूका लागि अर्को कठोर चुनौती बन्नेछ। हो, मजबुत संगठनविना नै पनि कोही/कसैले चुनाव जित्लान्। तर आमरूपमा बलियो उपस्थिति देखाउन नयाँ दल या स्वतन्त्रलाई फलामको चिउरा चपाएसरह हुनेछ।

दोस्रो तथ्य हो– मुद्दा। अहिले दल खोल्ने र उम्मेदवार घोषणा गर्नेहरू सबैले सुशासन र भ्रष्टाचार विरोधी इस्युलाई नै प्राथमिकतामा राखेका छन्। यी अरूले नउठाएको कुनै नौलो विषय होइन। यी समस्याको न्यूनीकरण गर्ने वैज्ञानिक र प्राविधिक आधार के हो, उनीहरूले प्रष्ट पारेका छैनन्। यसर्थ जनमत बोलेकै भरमा परिवर्तन भइहाल्छ भनेर सोच्नु भ्रम हुनेछ। त्यस्तै स्थानीय तहको चुनाव र संघको चुनाव फरक विषय हुन। स्थानीय तहमा व्यक्तिगत सम्बन्ध, निकटता र भोलिका दिनमा आफ्ना दैनिक काम/कारबाही कुन व्यक्तिको जीतले सहज हन्छ? त्यसलाई पनि मतदाताले मूल्यांकन गरेका हुन्छन्। तसर्थ संघको चुनावमा क्षेत्र, समुदाय या पेसाविशेषको प्रभाव मात्रै निर्वाचन जित्न पर्याप्त हुन्छ भन्न सकिँदैन।

तेस्रो उदाहरण हो हाम्रो प्रवृत्ति। हामी केही नयाँ हुने बित्तिकै हौसिएर कसैको देवत्वकरण गर्न हतार गर्छौँ। अनि केही कमजोरी गर्‍यो भने दानवीकरण गर्न पनि पछि पर्दैनौँ। केही दिनअघिसम्म वाहवाहीका पात्र भएका बालेनको क्रेजमा एउटै सालिक निर्माण घोषणाले धक्का दियो। सामजिक सञ्जालमा उनलाई भरपुर समर्थन गरेको ठूलो जमात उनको त्यो निर्णयको खण्डनमा उत्रियो। यसले के देखाउँछ भने बालेनहरूले आगामी दिनमा यस्तै थप विरोधाभाष निर्णयहरू गर्दै गए भने स्वतन्त्रहरूको समर्थक घट्ने निश्चित छ। अनि राजनीतिको सगरमाथा आरोहण गर्न आएका अरू नयाँलाई पनि त्यसले झड्का दिनेमा दुई मत छैन। परिणामतः ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने सन्देश गयो भने केही थान नेता थप्नका लागि जनमत नबदलिन सक्छ।

स्थानीय निर्वाचनमा स्वतन्त्रहरूको जीतले परिवर्तनका केही संकेत भने दिएको छ। लुई चौधौ जस्तै “आइ एम द स्टेट, स्टेट इज आइ” भन्ने नेताका लागि स्वतन्त्रहरूको उपस्थिति कम पेचिलो भने बन्ने छैन। स्वतन्त्रको जीत पुराना दललाई ‘कि सच्च कि खुम्च’ भन्ने सन्देश पनि हो। राजनीतिलाई सेवा होइन, पेसा बनाएकाहरूलाई झड्का पनि हो। राजनीतिप्रति अनास्था राख्ने युवा जमात अहिले जबर्जस्त आकर्षित पनि भइराखेको छ। यसले ठूला हुँ भन्ने दल नसच्चिए उनीहरूको प्यारामिटर खुम्चने निश्चित पनि छ।  

यो परिणामले अब कम्तीमा उम्मेदवार बन्न चाहनेलाई आफ्नो क्षमता र योग्यताबारे सोच्न बाध्य बनाएको छ। आफ्नो विगत र वर्तमानलाई स्वविश्लेषण गर्न पनि दबाब दिएको छ। दलले टिकट दिँदैमा चुनाव जितिन्छ भन्ने भ्रमको पर्दा हट्दैछ। साम, दाम, दण्ड, भेदको दुरूपयोग गरेर उम्मेदवार बन्ने मोह भंग हुन जरुरी छ। किनकि आफ्नो गढ, प्रभाव क्षेत्र सधैँ आफ्नै पकडमा रहन्छ भन्ने दलहरूको भ्रमलाई धक्का दिएको छ। खास गरेर दलहरू उम्मेदवार चयन गर्दा पैसा र पहुँचको प्रभावलाई प्राथमिकता दिन्थे। तर अब इमानदारिता, योग्यता, दक्षता र क्षमताको मूल्यांकन गर्नुपर्ने बाध्यतामा राजनीतिक दलहरूलाई पुर्‍याइदिएको छ। परिणामतः पुराना दलहरू पनि आगामी दिनमा योग्यलाई अवसर दिन बाध्य हुनैपर्छ। अनुभव र योग्य हुँदाहुँदै पनि सदा अवसरबाट वञ्चित भएकालाई विद्रोह गर्ने आँट पनि स्वतन्त्रको विजयले दिलाइदिएको छ। जनताले दिएको यो सन्देश योग्यहरूबाट शासित हुन चाहन्छौँ भन्ने पनि हो।  

आगामी दिनमा चुनौती नयाँ र पुराना दुवैलाई छ। तर योग्यहरूको उपस्थिति वर्तमानको आवश्यकता हो। अनि छान्ने जिम्मेवारी जनताको हो। जनमत पात्रलाई होइन, उसको योग्यतालाई रुचाउँछ भन्ने केही बाह्य देशको ट्रेन्ड पनि हेरौँ :

कुनैबेला संसारकै गरिब देश भनेर चिनिएको इथियोपियालाई अहिले डा. अवि अहमेदले हाँकिरहेका छन्। सन् २०१८ मा ४२ वर्षमा प्रधानमन्त्री भएका नोवेल शान्ति पुरस्कार विजेता डा. अहमेदले विज्ञान, सूचना तथा प्रविधिको क्षेत्रमा काम गरेर अलग्गै पहिचान बनाएका थिए। सक्रिय राजनीतिमा आउनुपूर्व नै उनले एक सफल नेतृत्वकर्ता, अध्येता र अनुसन्धानकर्मीको छविसमेत बनाएका थिए। प्रधानमन्त्री बनेसँगै उनले इरिट्रयासँगको दुई दशक लामो रक्तपातपूर्ण युद्ध अन्त्य गर्न सफल भए। परिणामतः उनी नोबेल शान्ति पुरस्कारको हकदार बने। यो एउटा सफल पात्र अजेन्डासहित इमान्दारपूर्वक राजनीतिमा प्रवेश गर्‍यो भने उसले परिवर्तनका राजमार्गहरू खन्न सक्छ भन्ने जवलन्त उदाहरण हो। भलै इथियोपियामा अहिले कुनै समस्या छैन भन्ने होइन। विकास, संस्कार, संस्कृति चेतनाको स्तर रातारात बदलिइहाल्ने कुरा पनि होइन। मात्र नेतृत्व सही भए क्रमिकरूपमा परिवर्तन हुँदै जानेछ।।  

अर्का दृष्टान्त हुन् फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोन। सक्रिय राजनीतिमा आउनुपूर्व उनले एक सफल व्यवस्थापक र बैंकरको छवि बनाएका थिए। उदार राज्य र उदार अर्थनीतिको नारासहित सन २०१७ मा निर्वाचनमा गएका उनलाई फ्रेन्च मतदाताले अनुमोदन गरिदिए। ४० वर्षकै उमेरमा शक्तिशाली फ्रान्सको राष्ट्रपति बनेका म्याक्रोनको पार्टी त झनै नयाँ थियो। जनताले पार्टीको इतिहास, स्थपानको पात्रो हेरेर मात्र नेतृत्वको अनुमोदन गर्दैनन् भन्ने दृष्टान्त पनि हो यो। अहिलेको जनमत नेतृत्वको अजेन्डा, अनुभव र कार्यक्षमतामा प्रतिबिम्वित हुन्छ भन्ने उदाहरण पनि हो। हुन त अहमेद र म्याक्रोन जस्ता फरक पृष्ठभूमिबाट राजनीतिमा आएर नायक बनेका अरू थुप्रै उदाहरण पनि छन्।

यी दृष्टान्त हेर्दा नेपालमा पनि नयाँ प्रयोग नहोला भन्न सकिँदैन। असफल निरन्तरताको क्रमभंगता वर्तमानको आवश्यकता पनि हो। यसका केही लक्षण पनि देखिँदै आएका छन्। यसो भन्दैमा विश्वासिलो आधार र योजनाविना अहमेद र म्याक्रनको जस्तै अभ्युदय नयाँका लागि सहज छैन। अहिले सतहमा देखिरहेका पात्रहरूमा पनि भाइरल रमहत्वकांक्षा भन्दा भिन्न अर्को विशिष्ट योग्यता/अनुभव के छ? त्यसले पनि उनीहरूको आगामी यात्रा कहाँसम्म भन्ने निर्र्दिष्ट गर्नेछ ।

प्रकाशित: ३० असार २०७९ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App