६० वर्षअघि यो सम्मेलन समापन भएको र त्यसबेला घोषणा भएका विषयका साथै अन्य सान्दर्भिक कुरामा छलफल गर्नु हालैको सम्मेलनको उद्देश्य थियो । त्यसैगरी अफ्रिका र एसियाका एक्काइसौँ शताब्दीका उदीयमान राष्ट्रहरूले केकस्तो भूमिका खेल्दै अगाडि बढ्नुपर्छ भन्ने मूल विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल भएको थियो । शक्तिशाली बन्दै गरेका राष्ट्र, जसलाई 'इमर्जिङ सेभेन' पनि भनिन्छ तिनमा भारत, चीन, इन्डोनेसिया, टर्की, ब्राजिल, भेनेजुयला र दक्षिण अफ्रिका पर्छन् । अब यी राष्ट्रहरूको भूमिका शान्ति, समृद्घि र विकासतर्फ मोडिनुपर्छ भन्नेमा त्यस सम्मेलनले जोड दिएको थियो ।
सम्मेलनमा अफ्रिकी मुलुक जिम्बावे , सिनेगल, नाइजेरियाका साथै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स , ब्राजिल, मोरोक्को, दि नेदरल्यान्ड्स, प्यालेस्टाइन, फिलिपिन्स, चीन, जापान, मलेसिया, बर्मा, भारत, नेपाललगायतका मुलुकका प्रतिनिधिको सक्रिय सहभागिता थियो । यस सम्मेलनमा राजनीतिक विषयमात्र नभएर इतिहास, संस्कृति, लैंगिक, वातावरण आदि समावेश गरिएको कार्यपत्रहरू प्रस्तुत गरी त्यसमाथि छलफलसमेत भएको थियो ।
यो पंक्तिकारले पनि 'बाङ्डुङ सम्मेलनले दिएको ऊर्जा र आजको सन्दर्भ' विषयमा कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएको थियो । भारतले २ महिनाभन्दा लामो समयदेखि नेपालविरुद्ध चलाएको हैकमवादका सन्दर्भमा जोडदाररूपमा लिखित अभिव्यक्ति मैले प्रस्तुत गरेको थिएँ । भारत, जो आफै बेलायती उपनिवेशबाट मुक्त भएको ७ दशक हुन लागिसकेको छ । उसले आफूलाई प्रजातन्त्र भएको ठूलो मुलुक दाबी गर्छ, जो प्रथम बाङ्डुङ सम्मेलनको सूत्रधार पनि हो । उक्त सम्मेलन सफल पार्न भारतको भूमिका महŒवपूर्ण पनि थियो । तर, दुर्भाग्य आज आएर उसैले आफ्नो छिमेकी मुलुकलाई सानो र कमजोर ठान्दै मिचाहा काम गरिरहेको छ !
प्रथम बाङ्डुङ सम्मेलन हुँदा भारतका प्रधान मन्त्री जवारलाल नेहरुले पञ्चशीलको अवधारणा ल्याइ त्यसैका आधारमा सबै राष्ट्रले व्यवहार गर्नुपर्छ भन्ने विषयलाई घोषणापत्रमा अनुमोदन गराएका थिए । विश्वबाट साम्राज्यवादको अन्त्य भएको बेला र ठूला दुई राष्ट्र सैनिक गठबन्धन भएका, अमेरिकी गठबन्धनको नाटो र सोभियत संघ नेतृत्वको वार–स बीच शीतयुद्ध चलिरहेको बेला यो सिद्धान्त नेहरुले प्रतिपादन गरेका थिए । उनले प्रतिपादन गरेका पञ्चशीलमा एक राष्ट्रले अर्को राष्ट्रको क्षेत्रीय एकता र सार्वभौमसत्ताको आपसमा सम्मान गर्ने, एकअर्को राष्ट्रबीचको आन्तरिक मामलामा हस्तक्षेप नगर्नेजस्ता सिद्धान्त अन्तर्निहित छन् । साथै, एकअर्काे राष्ट्रले आपसमा शत्रुतापूर्ण व्यवहार नगर्ने, समानताका आधारमा आपसी लाभ लिने र शान्तिपूर्ण र सहअस्तित्व कायम गर्ने भन्ने कुरासमेत पञ्चशीलमा उल्लेख छ ।
बाङ्डुङ सम्मेलनमा त्यसबखत सहभागी २९ राष्ट्रले अनुमोदन गरेको र गत अप्रिल महिनाको राष्ट्रप्रमुखहरूको सम्मेलनसम्म आउँदा ११५ राष्ट्रले फेरि पनि अनुमोदन गरिसकेको त्यो घोषणालाई यतिखेर भारत स्वयंले लत्याएको छ । नेपाल इतिहासमा कहिल्यै पनि कसैको उपनिवेश बन्नुपरेको छैन । दास बन्नुपरेको छैन । एउटा सार्वभौमसत्तासम्पन्न मुलुकको आन्तरिक मामलामा भारतले हस्तक्षेप गरिरहँदा दुई सातअगाडि भएको बाङ्डुङ सम्मेलनमा उपस्थित विश्वका कतिपय मुलुकका बुद्धिजीवीहरूले त्यस गलत कदमको विरोध गरिरहेका थिए । त्यस सम्मेलनमा सहभागी दिल्ली विश्वविद्यालयका प्राध्यापक डा. मनोरञ्जन मोहन्तीले भारतले गरिरहेको यो ज्यादतिको खुलेर निन्दा गरे । अन्य सहभागीले समेत भारतले गरेको नाकाबन्दी र हैकमवादविरुद्ध तथा नेपालले अन्तर्राष्ट्रिय कानुनसम्मत उपभोग गर्न पाउने पारवहन सुविधामाथि ठाडो हस्तक्षेप गरेको प्रसंग कार्यपत्रमा उठाइएकोप्रति ऐक्यबद्धता जनाएका थिए । यो सम्मेलनमार्फत् भारतले नेपालप्रति गरेको दुश्मनीपूर्ण व्यवहारको बुद्धिजीवी र जनस्तरमा अन्तर्राष्ट्रियकरण भएको छ ।
प्रकाशित: १५ मंसिर २०७२ १९:५५ मंगलबार

