२ भाद्र २०७९ बिहीबार
विचार

राजनीतिलाई आवश्यक छ योग

असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।

अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।

भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ– हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ तापनि यसलाई अभ्यास वा वैराज्ञले नियन्त्रणमा ल्याउन सकिन्छ। अभ्यास केवल अभ्यासले व्यक्तिको आचरण र व्यवहार सही बन्दै जान्छ।

योग प्रत्येक व्यक्तिको जीवनशैली रूपान्तरणमा अति महत्वपूर्ण आयाम भएकैले जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन थालिएको हो। योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो। विविध आसन, अभ्यास, साधना, ध्यान, समाधिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो। संसार र अध्यात्मलाई जोड्ने प्रक्रिया योग हो। मानव सभ्यताको विकास र संस्कार नै योग हो किनकि आत्मदर्शन र समाधिको अनुभूति नगर्दासम्म मानवीय जीवन सफल भएको मानिन्न त्यो कर्मद्वारा होस् या भक्तिद्वारा गरिएका संस्कार र शैलीमा मानवीय भूमिका प्रष्ट पार्न आवश्यक मापन पनि हो। जीवनशैली विकास, संस्कार र सभ्यता विकास या मन भन्दा पार गएर विशुद्ध चेतनामा स्थित हुने कलाको विकास सबैलाई आवश्यक छ यसले जीवन, समाज र राष्ट्रलाई समुन्नत बनाउनमा मद्दत गर्छ।  

राजनीतिको ज्ञाता राजनीतिज्ञ हो। त्यसैले उसले आफ्नो सम्बन्ध, कूटनीतिमार्फत विकासलाई अघि बढाउन उच्च तहदेखि भुइँ तहसम्मका नागरिकलाई एक ठाउँ जोड्नुपर्छ। राजनीति गर्नेले योग अर्थात जोडको मर्मलाई राम्ररी आत्मसात गरेर सबैलाई समेट्ने सूत्र अंगीकार गर्न सके सहज तरिकाले अघि बढ्न मद्दत पुग्छ। त्यही हिसाबले पनि राजनीति गर्नेका लागि योग झन् आवश्यक छ। समाज र राष्ट्रमा सुशासन कायम राख्न, सभ्यता र संस्कृतिको विकास गर्न। किनकि व्यक्तिगत स्वभाव रूपान्तरण भएमात्र उसले गर्ने र गराउने कार्यशैलीमा कुशलता र शुद्धता आउँछ। कार्यशैली कुशलता, पवित्रता र करुणाद्वारा नै विकासको गति र अवस्थालाई मापन गर्न सहज हुन्छ। राज्य, समाज र व्यक्तिमा देखिने विसंगति, वितृष्णा, भ्रष्टाचार, अनियमितता, अमानवीयता सबै मानवीयताको सम्बन्धलाई केन्द्र विन्दुमा राख्न नसक्नुको परिणाम हुन्।  

चित्तवृत्ति निरोध गर्नु योग  

चित्त अर्थात मन, भाव र विचारको गति अर्थात् अवस्थालाई थाहा पाउनु चित्तवृत्ति या चित्तको प्रकृति हो। विशेष पाँच चित्तवृत्तिले मानिसका कार्यशैली र व्यवहारमा प्रभाव पार्छन्। ती हुन्– प्रमाण, विपर्यय (मिथ्या ज्ञान), विकल्प, निद्रा र स्मृति। यिनलाई सामान्य व्यवहार शैलीबाट हेर्नुपर्दा कार्यप्रतिको सोच र त्यसबाट आउने परिणाम, आर्जन गरेको ज्ञान सही हो या मिथ्या, जे रोजेको छ त्यो प्रमाणिक हुन सकेन भने त्यसको विकल्प छ कि छैन अर्थात् विकल्प के हुन सक्छ ? व्यक्तिको समय सबै नै निद्रा या बेहोसीमा बितेको हुन्छ या स्मृति, स्मरण र सुमिरनमा पनि उसले आफ्नो समय दिन सक्छ र आफूलाई पुनर्ताजगी बनाइ, कार्यकुशलता विकास गर्न सक्छ त्यो व्यावहारिक आचरणलाई ध्यान दिनु चित्तवृत्ति निरोध हो।  

महर्षि पतञ्जली भन्नुहुन्छ– चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो। महर्षि पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्छ। व्यक्तिमा रहेको अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो। व्यक्तिको मनमा अनेक प्रकारका राम्रा÷नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ। योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ। योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रह्म, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग। मनमा कुनै पनि इच्छा, कल्पना, चिन्ता, चिन्तन, विचार भय, इत्यादि आउनै नदिनु, विचारको निरोध गरिदिनु नै योग हो। त्यस्तो अवस्थामा मन, पूर्ण विचार शून्य हुन्छ। मन विचारशून्य भएपछि यो स्वतः ध्यान धारणा र समाधितिर उन्मुख हुन्छ। मनलाई विचार शून्य बनाउन धैरै कठिन छ, यो अवस्था प्राप्त गर्न त्यति सहज हुँदैन तर अभ्यास गरेपछि सहज हुन्छ। व्यवहारको अभ्यासले यसलाई साँध्दै लग्नेछ। आफ्नो इच्छाशक्तिलाई परआत्मा (परमात्मा) को इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ।  

योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु। अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो। व्यक्तिले जब मन, मनका वृत्ति, शरीर, आत्मा र अस्तित्वको बोध गर्न सक्छ तब उसको आचरण एक से एक शुद्धतम, पवित्र र कल्याणकारी भावनाले भरिएर आउँछ। जब व्यक्तिको आचरण सही हुन्छ तब उसले आफ्नो व्यक्तिगत जीवन, सामाजिक दायित्व, राजनीतिक भूमिका र नेतृत्व तहको भूमिका मानवीयता, कल्याणकारिता र विकासमा सही मार्गनिर्देशनसहित उच्च कोटीको कार्यशैली प्रस्तुत गर्न सफल हुन्छ। व्यक्तिगत आचरण नसुध्रिकन अरू विकासका कार्य अगाडि बढ्न सक्दैनन्। त्यसैले व्यक्ति, उसको मन, मनले सिर्जना गरेका विचार र रोगबाट पार पाउन योग साधनाको विकल्प नै छैन। योगका आयाम अलग हुन सक्छन् तर योग भएन भने उसको सम्बन्ध, कार्यक्षमता, दक्षता सबैतिरबाट वियोग हुनुपर्ने अवस्था आइलाग्छ।  

योगमार्फत विकास  

श्रीमद्भगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ। जसमा कर्मयोग, ज्ञानयोग र भक्तियोग पर्छन्। गीतामा कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ। कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ। काम त्याग्नुको अर्थ कामना अर्थात्य अपेक्षा त्याग्नु हो। कर्म गर्ने, कर्म गर्नुअघि परिणाम के आउला सोचेर गर्ने, कर्म गरेपछि परिणाम त आइ नै हाल्छ जस्तो कर्म गरिन्छ त्यस्तै। तर, कर्मप्रतिको फलाकांक्षा रहनु हुन्न। सम्पूर्ण मानव जातिमा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु गीताको सार हो। यसरी नै भक्तियोगको विषयमा गीताको दृष्टान्त छ– यदि कोही व्यक्ति भगवान अर्थात् अस्तित्वको सान्निध्य चाहन्छ भने उसले भगवानको भक्ति गर्नुपर्छ। भगवानको अर्थ कुनै मूर्तिविशेष, धर्मविशेष र नामविशेष नभई गुणवान तत्वको आराधना गर्नु भगवानको आराधना गर्नु हो। “भग“ धातुबाट बनेको भगको अर्थ ऐश्वर्य, वीर्य, स्मृति, यश र ज्ञान भन्ने बुझाउँछ। यी गुणवत्ता आफ्नो जीवनमा कसरी फलित हुन्छन्, तिनको आराधना गर्नु भगवानको आराधना र भक्ति हो। आफ्नो अन्तस्करणमा निरन्तर भगवानको चिन्तन गरेर योगी बन्नु र परमसिद्ध प्राप्ति गर्नु भनेको आफ्नै गुणवत्ताको पहिचान गर्नु हो।

योग हो प्राकृतिक स्वभावमा जिउनु  

ना यथा यतते नित्यं यद्भावयति    यन्मयः।

यादृगिच्छेच्च भवितुं तादृग्भवति    नान्यथा।।

मैले यति गरेँ, अझै गर्नु छ, संसार जित्नु छ भन्दै आधुनिकताको परिचयसँगै आफूलाई व्यस्त छु भन्दा गर्व गर्ने मानिसले समयअनुसार प्राकृतिकरूपमा आफू चल्नुपर्नेमा आफैँले समयलाई चलाउने गरेको पाइन्छ। यहाँ मानिसले जति नै गरेको छु भनेर घमण्ड गरे पनि अन्तिम निर्णय अस्तित्वको हातमा छ। उसले जे चाह्यो त्यही हुन्छ। मानिस केवल समयसँग चल्न सके पुग्छ। सूर्योदयसँगै उठ्ने, आफ्नो नियमित कार्य सम्पन्नपछि योग–ध्यान अनि सन्तुलित आहारपछि कर्मक्षेत्रमा लाग्नाले उसको कार्यक्षमता र कार्यकुशलता प्रभावकारी हुन्छ। आजकल त मानिस राति अबेरसम्म बसी टिभी हेर्नु, समाचार सुन्नु, सिनेमा देख्नु वा कम्प्युटरमा बस्नु र बिहान अबेरसम्म सुत्नु अनि छिटोछिटो गास टिपेर, गाडी चढेर कर्म क्षेत्रतर्फ प्रस्थान गर्नुलाई धनाढ्यको संज्ञा दिने गर्छन्। यो असहज जिउने तरिकाले उसको स्वास्थ्यमा र मानसिकरूपमा पार्ने असरको ख्याल गरेको हुँदैन।  

सबैभन्दा उत्कृष्ट आफ्नो स्वास्थ्य नै नभइकन प्राप्त गरेको धन–सम्पत्ति, नाम, इज्जत, प्रतिष्ठा केका लागि भन्ने जानकारी नभएका विद्वान् मानिसको खाँचो छैन आजकल। पशुपन्छीले समेत प्रकृतिको नियम विपरित गएर आफ्नो स्वास्थ्य र सम्बन्ध बिगारेका हुँदैनन् तर मानिस विवेकशील प्राणी भएर पनि अस्तव्यस्त जीवनमा नै आफ्नो गर्वको मापन गर्छन्। हरेक व्यक्तिले मनन गर्नुपर्ने कुरा नै यही हो। यही नै योग र योग दिवसको मर्म पनि हो।

प्रकाशित: ७ असार २०७९ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App