२३ श्रावण २०७९ सोमबार
विचार

पुनर्स्थापित राप्रपा नेपालको सार्थकता

फाइल तस्बिर।

सत्र वर्षअघि राजा ज्ञानेन्द्रद्वारा सत्ता हातमा लिइएपछि तत्कालीन राजनीति विघ्नै तरंगित हुन पुग्यो। अरूहरू त अरू, दरबारको नजिक रहेको भान दिने राप्रपाले समेत यो शाही कदमको विरोध जनायो। परिणामतः पार्टी ध्रुवीकृत हुन पुग्यो। यो शाही कदमलाई नयाँ संभावनाका लागि सुखद दृष्य उद्घाटन भएको ठान्नेहरूको संख्या पनि कम थिएन।

तसर्थ यो कदमको समर्थनमा नारा र जुलुस निस्किए। यही परिस्थितिबाट केही राजनीतिक व्यक्ति हौसिएर नयाँ सोचमा परिणत भए। यसको प्रभाव तत्कालीन राप्रपामा पनि पर्न गयो र अन्तरपार्टी संघर्ष चर्कियो। पार्टीभित्र शाही कदमको पक्षमा वक्तव्य प्रकाशित हुनुपर्ने आवाज जोडदार रूपमा उठ्यो जसलाई राप्रपाले समर्थन गर्न चाहेन।

अन्ततः पार्टी फुट्यो। यो फुटको नेतृत्व कमल थापाले गरेका थिए। यही पृष्ठभूमिमा थापाको नेतृत्वमा राप्रपा नेपालको उदय भएको थियो। आज ठीक विपरीत सोचका साथ राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपालको पुनरागमन हुन गएको छ। आफ्नो परम्परा र मर्यादामा जुट्नु नेपाली समाजको मौलिक संस्कृति हो।

यही तथ्यलाई आत्मबोध गरेर हुनुपर्छ संरक्षणवाद राप्रपाको चरित्र बन्न गएको छ। परम्परा धान्ने उद्देश्य निहित भएर होला, राप्रपाको कार्यकर्ताहरू राजसंस्थाका निमित्त मरिहत्ते गर्छन्। आफ्नो उद्देश्यमा कर्मठ राप्रपाका कार्यकर्ताहरूबाट अलग्गिर थालनी गर्न खोजिएको प्रयत्न कति वस्तुनिष्ठ छ र कति औचित्यपूर्ण छ, यो भविष्यले पुंष्टि गर्नेछ।

मुलुकको आमूल परिवर्तनका स्रोतमध्ये मुख्य त्यहाँको राजनेता हुन। निष्ठावान चिन्तनशील एवं ओजस्वी नेतामा मुलुकको यथास्थिति आकलन गर्न सक्ने खुबी निहित हुन्छ र राष्ट्रको आजको आवश्यकता मात्र होइन सुदूर भविष्यसम्म मुलुकलाई कुन अवधारणा मार्फत अघि बढाउने, योजना ऊसँग हुन्छ। जहाँ जनतालाई भ्रमित पारी बेइमानीका शृंखला निश्चित रहेका हुँदैनन्। सक्षम नेतामा राजनीतिमा लहर ल्याउन नसक्ने सामथ्र्य हुन्छ।

राजनीतिमा लहर ल्याउन सकिएको स्थितिमा राजनीतिले लय समाउन सक्छ र मुलुक सुखद गन्तव्यतर्फ प्रस्थान गर्छ। नेपालमा सक्षम नेतृत्वको अभावमा लहरको राजनीति मात्र सञ्चालन हुन सक्यो र परिणामतः जनताको जीवन स्तरमा आवश्यक सुधार हुन सकेन। अघिअघि पनि कमल थापाको निष्ठामा प्रश्न नउठेका होइनन् र वर्तमानमा उनमा पलाएको सैद्धान्तिक विचलन यसको पराकाष्ठा हो।

मूलतः उनी सक्षम र सामर्थ्यवान् व्यक्तित्व हुन। मुलुकमा आएका परिवर्तनका बाहक हौँ भनी फुर्ती हाँक्ने इतर पक्ष नेताहरूलाई खुला र चुनौती दिँदै बिलकुल फरक ढंगको अजेन्डाका साथ उनी एक्लैले राप्रपा नेपाल गठन गरेका हुन्। आज राप्रपामा मुलुक हाँक्न सक्ने अर्थात मुलुकका जुनसुकै पदमा रहेर त्यस पदको कार्यसम्पादन गर्न सक्ने महिला धेरै छन्।

राप्रपा नेपाल र निर्माणको सुरुका दिनमा राजनीतिको र नबुझेको महिलालाई केन्द्रीय सदस्य बनाउनुपरेको घटना तीतो यथार्थ हो। तत्कालीन राप्रपा नेपाल शून्यको स्थितिबाट उठेर राष्ट्रको चौथो शक्त्ति बन्न सफल भएको थियो। संघर्षको लामो यात्रा पार गर्दै राप्रपा नेपाल हुँदै राप्रपा यहाँसम्म आइपुगेको हो।

खासगरी राजसंस्थाको निरन्तरतामाथि प्रश्न उठेपछि अझ गणतन्त्र घोषणा गरिएपछिका दिनहरूमा राप्रपा थप सशक्त भई यो संस्थाको पुनर्बहाली मुद्दा बोकेर जनमानसमा जाने क्रममा राप्रपाका नेता तथा कार्यकर्तामाथि ठुलठूला सांघातिक आक्रमण भए। स्मरणीय छ, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रवीन्द्रनाथ शर्मामाथि भएको हमला निकै डरलाग्दो थियो। ठूलो भाग्यले मात्र उहाँ त्यस दिन बच्न सफल हुनुभयो र धेरै कार्यकर्ता नराम्ररी घाइते भएका थिए।

ती कठोरतम दिनमा शर्मालाई साथ दिने थोरैमध्ये महत्वपूर्ण व्यक्ति थापा हुुनुहुन्थ्यो। यस्ता सांघातिक आक्रमणहरूबाट अविचलित रही अघि बढ्न सकेकाले पार्टी यहाँसम्म आइपुगेका तथ्य बिर्सन सकिँदैन। डरलाग्दो दृश्यका साथ मुलुक सर्वत्र गणतन्त्रमय भयो भन्ने भान हुने ती दिनहरू राप्रपा नेपालका लागि कम कष्ठदायी थिएनन्। भयंकर त्रासको वातावरणका साहस र धैर्यका साथ कार्यकर्तालाई संरक्षण दिएर पार्टीलाई अगाडि बढाउनेहरूमध्ये एक कमल थापालाई राप्रपाका कार्यकर्ता यद्यपि सम्मान गर्छन्।

दुर्भाग्य, यो शक्तिको घडा अब शक्तिहीन भएको मात्र नभई सागरको बीचमा फुटेको छ र यसमा सञ्चित जल सागरको पानीमा विलय भएर छुट्टै अस्तित्वको यो जल नष्ट भएको छ। पूजा गरिएका सामग्रीहरू अविर र फूलहरू मात्र सागरको पानीमा तैरिरहेका छन्। अब छिट्टै यी फूल र अविरहरू पनि पानीमा हराएर जानेछन्। इतर पक्ष नेतृत्वलाई सदा अम्बाको बोट रोपेर आँप फल्ने आशा नगर्न व्यंग्य गर्नेहरूबाटै कन्टकारीको बोट रापेर अमृत प्राप्त गर्ने लक्ष्यमा जुटिएको घटनाले राप्रपाका कार्यकर्ता आश्चर्य चकित भएका छन्।

राजनीति पार्टीको भविष्य उपयुक्त अजेन्डा र व्यापकरूपमा फैलिएको संगठनले निर्धारण गर्ने विषय हो। हरेक स्थानीय तहमा फैलिएको वर्तमान राप्रपाको संगठन अक्सर टुट र फुटका कारण संगठन बाक्लो र ओजनदाररूपमा कहिले विकसित हुन सकेन। अन्यत्रलाई गीता छुवाइ वाचा गराउनेहरूबाटै फुटको राजनीति रचिएको यस स्थितिमा सजिलै गन्तव्य कसरी भेट्टाउने? महत्वपूर्ण अजेन्डाका साथ घोषणा गरिएको राप्रपा नेपालको फैलावटले खासै सार्थकता हासिल गर्न नसकेको यस स्थितिमा मूल अजेन्डालाई अलग्याइ नवघोषित राप्रपा नेपालको सार्थकता के हुने?

पुराना पीपलबोटे चौतारीहरू हुन वा आजका फेसबुकलगायतका सामग्रीहरू नै किन नहुन्, ती सबैमा यसै विषयमा चर्चा बढी नै भएका छन्। यी चर्चाले गरेका टिप्पणी नवघोषित राप्रपा नेपालतर्फ नकारात्मकतर्फ नै बढी केन्द्रित छन्। उमेरमा बैँस सकिएर प्रौढमा प्रवेश गरेकी महिला आफ्ना सन्तानलाई अलपत्र छाडी दोस्रोसँग घर बसाउन हिँडेको कथाझैँ आफैँद्वारा सिर्जित अजेन्डालाई गन्तव्यमा पुर्‍याउनुको साटो बीचैमा छाडेर हिँड्नु कुन हदको सैद्धान्तिक विचलन हो?

वर्तमान राप्रपा नेपालको उपस्थिति सार्थक नभई निरर्थकको प्रयास हो भन्ने पुष्टि भरखरै सम्पन्न स्थानीय निर्वाचनमा राप्रपा नेपालका लागि स्वीकृत चुनाव चिह्न अप्रयोगले पनि यथार्थ दर्शाउँछ। जोसुकैले नेतृत्व गरेको र जस्तोसुकै सरकारमा गएर राप्रपा बढी नै आलोचित भयो। खासगरी हिजोको राप्रपाको नेतृत्वलाई पद लोलुपताको गम्भीर आरोप लाग्दै गयो।

निष्ठावान कार्यकर्ताको हैसियतमा रहेर नेतृत्वलाई लागेका यी आरोपविरुद्ध जोडदाररूपमा खण्डन गर्दै गाउँ बस्तीमा कार्यकर्ता पुगेकै हुन्। विभिन्न जिम्मेवारीमा रहेर अनुभवबाट खारिएका राष्ट्रका महत्वपूर्ण व्यक्तित्वले राष्ट्रिय प्रसारणका विभिन्न टि. भि. च्यानलमा राप्रपाले आफ्नो मूल अजेन्डा छाडिसक्यो भनेर बहसमा उत्रेकै हुन्।

राप्रपाको घोषित नीतिविरुद्ध भएका यी प्रचारको पार्टीले कहिले पनि खण्डन गर्नुपर्ने आवश्यक ठानेन र खण्डन गरेन। यसैले पार्टीप्रति विश्वास जनमानसमा घट्दै गयो। यसमा समेत किञ्चित ध्यान पुर्‍याइएन तर कार्यकर्ताले उनीहरूको पहुँचभित्र रहेर यो प्रचारविरुद्ध जाइ लागेकै हुन्।

(निवर्तमान केन्द्रीय सदस्य, राप्रपा)  

प्रकाशित: २ असार २०७९ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App