१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

मितव्ययी बनौ !

नेपाल तीनतिर भारतबाट घेरिएको भूपरिवेष्ठित मुलुक हो । भूपरिवेष्ठित मुलुकका पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय अधिकार हुन्छन् तर सानो, गरिब र सैनिक दृष्टिले कमजोर मुलुकले त्यस्तो अधिकार उपभोग गर्न छिमेकीको नियत असल हुनुपर्छ । कम्तीमा उसले नैतिक बन्धनलाई स्वीकार गर्नुपर्छ।

सार्वभौमसत्ता सम्पन्न छिमेकी मुलुकमा निर्वाचित जनप्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेको संविधानविरुद्ध खुलारूपमा उत्रने छिमेकीबाट नैतिकताको अपेक्षा गर्नु पनि मूर्खता हुन्छ । यसैले नेपालीसँग राष्ट्रिय स्वाभिमान जोगाउने हो भने अहिलेको परिस्थितिलाई सहन तयार हुनुको विकल्प छैन । छिमेकी फेर्न सकिँदैन । यस अभिशप्त नियतिलाई स्वीकार गरेर राष्ट्रिय स्वाभिमान जोगाउन सके इतिहासमा यस कालखण्डका नियन्ताहरूको नाम सुनौलो अक्षरमा लेखिनेछ । यसका लागि आत्मसमर्पण गर्नुको साटो अघोषित नाकाबन्दीबाट परेको र भविष्यमा पर्ने असर सामना गर्न सरकारले तत्काल रणनीति तयार गर्नुपर्छ ।


आफूसँग नभएका वस्तुको प्रयोग र उपयोग सकेसम्म कम गर्नु परनिर्भर नहुने एउटा भरपर्दो उपाय हो । नेपालमा पेट्रोलियम पदार्थको उत्पादन हुँदैन । अहिलेसम्म पेट्रोलियम पदार्थका लागि नेपाल भारतमा निर्भर हुँदैआएको छ । त्यही कमजोरी यसपटक नेपालीलाई संकटमा पारेर झुकाउन खोज्नेका लागि महत्वपूर्ण अस्त्र बन्यो । यसैले सबैभन्दा पहिले सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले जीवनशैलीमा परिवर्तन गर्नु जरुरी हुन्छ । पेट्रोलियम पदार्थको उपभोग कम गर्न निजी र सरकारी सवारी साधनको प्रयोग स्वेच्छाले नियन्त्रित गर्नु उचित हुनेछ । यसका लागि राज्यको प्रशासनिक तथा राजनीतिक नेतृत्वले सबैभन्दा पहिले र बढी त्याग गर्नुपर्छ । सरकारका सञ्चालकहरू पैदल वा सार्वजनिक यातायातमा यात्रा गर्न थाले भने निजी सवारी हुनेलाई पनि पे्ररणा मिल्नेछ । सार्वजनिक यातायातको बेथितिमा पनि केही सुधार हुनेछ । औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव टार्न बेलैमा अन्तर्राष्ट्रिय बजारमा किन्ने र किन्न सकिन्न भने सहयोगमा माग्न ढिलो गर्नु हुँदैन । सबैभन्दा पहिले तराईका अस्पतालहरूमा औषधिको अभाव हुन नदिन मोटर चलाउन नसके भरिया लगाएर वा खच्चरलाई बोकाएर भए पनि आपूर्ति गर्नुपर्छ ।


भन्सारमा आधारित राजस्व उठती लगभग बन्द भएको छ । उत्तरी नाका भुइँचालोका कारण बन्द रहेका छन् भने दक्षिणमा भारतीय नाकाबन्दीको प्रभाव परेको छ । यस अवस्थामा राजस्वबाट हुने खर्चमा कटौती गर्ने नीति सरकारले तत्काल अपनाउनु आवश्यक छ । विदेश यात्रादेखि कर्मचारीका सुविधासम्म सबैमा पुनर्विचार गर्नुपर्छ । अनावश्यक तामझाम र अगुवापछुवा गाडीको ताँती लिएर हिँड्न प्रधानमन्त्रीदेखि सुरक्षा निकायका प्रमुखहरूसम्म सबैले तत्काल बन्द गर्नुपर्छ । सरकारी खर्चमा भोजभतेर नगर्ने र सकेसम्म आयातित सामग्री प्रयोग नगर्ने गरेर पनि आत्मनिर्भरता बढाउन सकिन्छ ।


दसैं मनाउने क्रममा पनि नेपालीले संकटको हेक्का राख्नु उचित हुनेछ । यस वर्ष यथार्थमा भूकम्पले लाखौं नेपालीका लागि यसै पनि दसैं रमाइलो छैन । त्यसमाथि छिमेकीले थपिदिएको विपत्तिले झन् सास्ती बढाएको छ । यसैले दसैं मनाउँदा पनि मितव्ययी बनौ । नेपालीसँग अब जीवनशैली परिवर्तन गर्नुको विकल्प छैन । प्रत्येक परिवारले आयात गरिएको इन्धनको प्रयोग कम गर्ने उपाय अपाउनु आवश्यक छ । बत्ती बाल्न र खाना पकाउन सौर्य ऊर्जाको प्रयोग एउटा विकल्प हुनसक्छ । दैनिक उपभोगका लागि सौर्य ऊर्जाको प्रयोग गर्न सरकारले पनि नीतिगत रूपमै प्रोत्साहित गर्नुपर्छ ।

यसले वातावरणीय प्रदूषण कम गर्न पनि सहयोग पुग्नेछ । जीवन शैलीमा परिवर्तनका लागि राजनीतिक र प्रशासनिक नेतृत्वले अगुवाइ गर्नुपर्छ । सायद यस पटकको ‘माया युद्ध’ जित्न नेपालीले प्रयोग गर्नसक्ने अचुक अश्त्र यही हो । नाकाबन्दी खुकुलो भयो नै भने पनि आत्मनिर्भर जीवनशैली अपनाएमा नेपालीलाई कुनै हानि हुनेछैन । ‘विलासको लालस’ले ‘दास’ बनाउँछ । स्वाभिमानी नेपालीका लागि दासत्व कदापी स्वीकार्य हुँदैन ।

प्रकाशित: १२ आश्विन २०७२ २२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %