२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

छिमेकीप्रति भारतको रवैया

अन्ततः संविधान सभाद्वारा विधि र प्रक्रिया पूरा गरी पारित नेपालको संविधान, २०७२ घोषणा भयो । नेपाल वास्तविकरूपमै जनताद्वारा शासित र व्यवस्थित मुलुकका रूपमा स्थापित भयो । नेपालमा संविधान सभामार्फत् संविधान आउने देखिनासाथ भारतको 'साउथब्लक'मा खलबली सुरु भयोे ।दिल्लीबाट भारतका प्रधान मन्त्रीका विशेषदूतका नाममा जय शंकरहरू आएर नेता भेट्दै धम्क्याउन सुरु गरे । पहिले पनि नेपालमा कुनै राजनीतिक परिवर्तन हुन खोज्दासाथ भारतले चलखेल गर्न सुरु गरिहाल्थ्यो । कतिपय अवस्थामा यताका नेतृत्व पंक्तिलाई दिल्ली बोलाइन्छ र उनीहरू खुसी हुँदै उता पुगिहाल्छन् । भनिन्छ, बीपी कोइरालालाई प्रधान मन्त्री हुन नदिन दक्षिणका नारायणहरुले –चन्द्रश्वर नारायणः राजदूत र गोविन्द नारायणः बीपीका पिए, भारतीय कर्मचारी) ले यस्तै खेल खेलेका थिए । अहिले दामोदरदास (नरेन्द्र) का दूत जयशंकर फेरि त्यही भूमिकामा आए । यसैगरी ०६३ ६÷६४ को जनआन्दोलनको अन्तिम क्षणतिर करणसिंह आएका थिए । नेपालमाथि भारतको यस्तो व्यबहार इतिहासदेखि नै रहँदै आएको छ । नेपाल–भारतबीच लामो ऐतिहासिक सम्बन्धका बारेमा छुुट्टै पुस्तकको तयारीमा लागिरहेको छु । यस लेखमा भने विगत ७ दशकको अवधिमा भारतको नेपालसम्बन्धी नीतिबारेमा चर्चा गर्नेछु ।

छिमेकीप्रति भारतको रवैया

बीपीका प्रमुख सहयोगीहरूलाई फुटाएर हातमा लिइ सत्ता हत्याउने र देशविकासको उर्लंदो बेगलाई आफ्नै माध्यमबाट सञ्चालन गरेर त्यसको श्रेय आफै लिने महŒवाकांक्षा राजा महेन्द्रमा जागेर आयो । उनले संसदीय प्रजातन्त्र अफाप भो भन्दै प्रजातान्त्रिक सरकार भंग गरी २०१७ सालमा सत्ता लिए । बीपीको दाहिने हात मानिने विश्वबन्धु थापा, तुलसी गिरीजस्ता व्यक्ति राजासँग मिले । राष्ट्रिय कांग्रेसका ऋषिकेश शाह, कीर्तिनिधि बिष्टजस्ता प्रखर व्यक्तिसमेतलाई साथ लिएर राजा आफै सत्ता चलाउन लागे, पञ्चायतको नाम दिएर । राजाले सुवर्ण शमशेरलाई पनि प्रधान मन्त्री बनाएर आफूतिर तानेर कांग्रेसलाई निस्तेज पार्ने सोचेका थिए । तर, उनी यसमा सफल भएनन् । सुवर्णले राजाको कदमको विरोधमा आन्दोलन नै सुरु गरिदिए । नेपालका राजाले सैनिकबलले शासन चलाए भन्ने सुन्नासाथ सबै मित्रराष्ट्रले सहायता दिन ठ्याम्मै बन्द गरिदिए । यसले गर्दा देशमा उर्लेको विकासको लहर ठ्याक्कै रोकियो । त्यसैबेला भारत–चीन युद्ध सुरु भएपछि सुवर्णले पनि प्रजातान्त्रिक आन्दोलन रोक्नुप¥यो । तर, पञ्चायती शासकले सुख–शान्तिसँग चल्न पाएनन् । भारतले नेपाललाई २०२२ को सन्धि गर्न बाध्य पा¥यो । २००७ सालमा मोहन शमशेर र नेहरूबीचमा भएको सन्धि असमान थियो । यसबाट पनि राजालाई निकै पीडाबोध भयो । भारतबाट सीमा मिचिँदा पनि टुलुटुलु हेरी बस्नुप¥यो । यसै क्रममा २०२६ सालमा महेन्द्रले भारतीय सैनिक मिसनलाई नेपालबाट हटाइदिए । यो एउटा स्वतन्त्र राष्ट्रले गर्नुपर्ने कार्य थियो, तापनि चीनको पक्षपोषण गरियो भनेर भारतीय पक्षमा भित्रभित्रै जलन सुरु भयो ।

भारतमा इन्दिरा गान्धीको शासनकालमा कुनै पनि छिमेकी देशसँग राम्रो र सुमधुर सम्बन्ध हुन सकेन । चीनसँग त युद्धको तुस मेटिएको थिएन सीमाविवादै थियो । पाकिस्तानसँग झन् पहिलेदेखिकै कलह, वैमनस्य छँदैथियो । पाकिस्तान विखण्डनकै संघारमा थियो र पूर्वी पाकिस्तान (बंगलादेश) मा विद्रोहको आगो बलेको थियो । त्यसमा इन्दिरा सरकारले घिउ थपिदिँदै थियो । सुखिम खान मुख बाएकी इन्दिराले लेन्डुप दोर्जेजस्ता आफ्ना कृत्यपक्षलाई हात लिएर राजा र प्रजामा भयंकर फाटो ल्याइदिएकी थिइन् । तर, भारतभित्र पनि कहाँ शान्ति थियो र ? आसाममा जातीय दंगाबाट बाहिरिया मान्छेलाई खेद्ने अभियानै चल्यो । त्यसबाट कैयौँ नेपाली पनि पीडित भए । पञ्जावमा सिखहरूको समस्या थियो । जम्मुकस्मिरको समस्या कायमै थियो ।

इन्दिराको राजनीतिक चलखेल विखण्डन निम्त्याउने नै थियो । आफ्नै देशभित्र सिख समुदायभित्र चिरा पार्न खोज्दाखोज्दै उल्टो प¥यो । २०२८ साल मंसिरमा इन्दिराले पाकिस्तान छुटाउन आफ्ना सैनिक पठाएर सहयोग गरिन् । मुजिबुर रहमानको नेतृत्वमा स्वतन्त्र बंगलादेश बन्यो । पाकिस्तानको विखण्डन गराउनासाथ पालो सुखिमको आएको थियो । २०३२ सालमा सुखिमलाई पनि भारतमा इन्दिराले जबर्जस्ती गाभिदिइन् । नेपालमा चाहिँ भारतअनुकूलको विद्रोह मच्चिएको थिएन । बीपीलाई प्रयोग गर्न उनले नचाहेकी होइनन् । नेहरूलाई ठेगान लाउनसक्ने बीपीले इन्दिराको इशारामा चल्ने कुरै थिएन । बरु प्रवास छाडेर बीपी स्वदेश फर्के । श्रीलंकामा तमिल विद्रोह समन गर्ने निहुँले प्रधान मन्त्री राजीव गान्धीले २०४४ सालमा शान्तिसेनाका रूपमा भारतीय सैनिक पठाए । केही समयपछि राजीवको मृत्युको कारण त्यही बन्यो

विखण्डनको विभिषिका

नेपालमा इन्दिराका आाँखा लागे, तराई छुट्याउने प्रपञ्च रच्न थालियो । यस्तो उपक्रम धेरै पहिलेदेखि पश्चिमा राष्ट्रका एजेन्टहरूबाट पनि भइरहेको थियो । अहिले इन्दिराले युद्धस्तरमै यो कारबाही थालिन् । 'नेपाल जाओ धन कमाओ' भन्ने अभियानै चल्यो । केही धन दिँदै भारतबाट मानिस पठाइए । गान्धीले आफ्ना विश्वस्तसूत्रबाट नेपालका जातीय नेता, आफ्ना पूर्वसैनिक र तराईका केही मुख्य राजनीतिक पात्रलाई बोलाएर रअका एजेन्टद्वारा मन्त्र सुनाउन थालेको संकेत दरबारमा आउन थाल्यो । यसबाट राजा अति चिन्तित भइरहेका थिए । केही विश्वस्त मानिस भेट्ने उद्देश्यले सधैँजसो जाडो छल्ने निहुँले राजा महेन्द्र भरतपुरको दियालो बंगलामा बसेका थिए । केही जातीय नेता दिल्ली जाँदैछन् भन्ने सूचना पाएपछि तिनलाई बोलाएर 'के तिमी दिल्ली जाँदैछौ' भनेर सोधेछन् । सरकारबाट 'नजा' भनेमा जान्नँभन्दा 'होइन जान त जाऊ, तर के कुरा हुन्छन्, त्योचाहिँ मलाई सुनाउ' भने । 'होइन सरकार त्यस्तो सुनाउन त सक्दैनौँ' तिनले भनेपछि राजा झसंग भए । लौ अब मेरो हातबाट राजनीति गएछ । अब भारतले नेपाल खोसेर लिने भो भनेर विखण्डनको विभिषिकाले छटपटिँदाछटपटिँदै राजालाई हृदयघात भयो । बंगलादेश बनेको ठीक दुई महिनापछि २०२८ साल माघमा राजा महेन्द्रको मृत्यु भयो ।

शान्ति क्षेत्र र सुखिम विलय

नयाँ राजा वीरेन्द्रको मन पनि पोलिरहेको थियो । नेपाललाई तटस्थ राष्ट्र बनाइ यसको सार्वभौम स्वतन्त्रता अक्षुण्ण राख्ने उपाय उनले सोचिरहेकै थिए । २०३१ सालमा आफ्नो राज्याभिषेक समारोहमा ५७ राष्ट्रका निम्तालु राष्ट्र प्रमुखसामु नवराजाले नेपाललई 'शान्तिक्षेत्र' घोषित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरे । यसमा भारतबाहेक सबैजसो राष्ट्रले समर्थन जनाउन थाले । आफ्नो योजनामा तगारो हाल्न प्रस्ताव ल्याइएको भन्ने इन्दिराले सोचिन् । सोभियत संघले पहिले समर्थन जनाएकोमा पछि भारतको दबाबमा फिर्ता लियो । ११६ देशले नेपालको शान्ति क्षेत्र प्रस्ताव स्वीकारे पनि भारतले समर्थन जनाएन । इन्दिराले पूर्वी पाकिस्तान टुक्राएको ४ वर्षपछि २०३२ सालमा सुखिमलाई पनि भारतमा गाभिदिइन् । सीआरपीले घेरेर राजालाई आत्मसमर्पण गराइयो । त्यसबेला प्रचारमा आएको थियो, '२२ जना सांसदमा एक जनाबाहेक सबै पैसा दिएर किनिए ।'

भारतमा संकटकाल

अब पालो आएको थियो नेपालको यस जालोमा पर्ने । परन्तु घटनाक्रमले उल्टै उनैलाई जालोमा पारिदियो । नेपाललाई पनि पूर्वी पाकिस्तानजस्तो टुक्राउने उनको धोको अधुरो नै रह्यो । इन्दिराले धाँधली गरेर चुनाव जितेकी हुन् भनेर राजनारायणले मुद्दा हालेका थिए । उच्च न्यायालयबाट उनले जिते, इन्दिराले हारिन् । उनी हारे पनि स्वीकार्नेवाली थिइनन्, झटपट इमन्र्जेन्सी लाएर एकाधिकार चलाउन थालिन् । विरोधी नेताहरू जेल पठाइए, सञ्चारमा सेन्सरसिप लाइयो । निर्वासित जीवन बिताइरहेका बीपीमाथि निगरानी राखियो । नेपाल सीमाबाट ५० माइलभित्र कुनै गतिविधि चलाउन नपाइने भयो । नेपालमा भारतीय खुफिया एजेन्सीहरूको चलखेल तीव्र भयो । विदेशीको हस्तक्षेप बढेर आयो, यस्तो अवस्थामा बीपी विदेशी तानाशाहीको खप्की खानुभन्दा आफ्नै देशको राजाको निरंकुशता सहनु बरु बेस होला भन्ने सोची ७ वटा संगीन मुद्दा शीरमा बोकेर २०३२ सालमा स्वदेश फिरे । परन्तु बीपीको विचार क्षमतालाई दरबारले बुझ्नै सकेन वा चाहेन । उनलाई पहिलेजस्तै उपेक्षा गरिरह्यो । राजालाई स्थितिको बोध गराएर प्रजातन्त्र ल्याउने उनको धोको अधुरो रह्यो । इन्दिराको इमर्जेन्सी पनि घेरै समय टिकेन । सारा देशवासी विरोधमा उत्रेपछि उनी चुनाव गराउन बाध्य भइन्, त्यसपछि जनता दलका बयोबृद्ध नेता मोरारजी देशाईं प्रधान मन्त्री भए । उनले खुफिया एजेन्सीको नेपाल निगरानी हटाइदिए, स्वयं उनी नेपाल आएर सम्बन्ध सुधारे ।

आफ्नै अस्त्रले आफैलाई

राजनीतिक परिस्थितिले ०३६ सालमा इन्दिरा पुनः भारतको प्रधान मन्त्री बनायो । सिख विद्रोहले पुनः सक्रियता बढायो । इन्दिराले रुससँग सामरिक सन्धि गरेपछि अमेरिकालगायत पश्चिमी राष्ट्र रुष्ट भए । उनी छिमेकीलाई सताउँथिन् भने उनलाई पश्चिमी राष्ट्रले । सिख विद्रोहलाई बढावा दिन पश्चिमको आर्थिक सहयोग पनि थियो । सिख नेता भिन्डरावाले सिख संगठनको नेतृत्व लिएर स्वर्णमन्दिरमा अखडा जमाएर विरोधी गतिविधि चलाउँदै थिए । उता विदेशमा सिख संगठनले स्वतन्त्र खालिस्तान घोषणा गरेर जगजित सिंहलाई प्रमुख घोषित गरेका थिए । यता इन्दिराले स्वर्णमन्दिर कब्जा गरी बसेका भिन्डरावालेसहित सिखहरूलाई सैनिक कारबाहीद्वारा समाप्त पारेपछि लन्डन बसेका जगजितले इन्दिरालाई मार्ने घोषणा गरे । नभन्दै केही समयपछि २०४१ सालमा आफ्नै अंगरक्षक (सिख)द्वारा मारिइन् । त्यसपछि उनैका छोरा राजीव प्रधान मन्त्री भए । नेपाल नीतिमा भने परिवर्तन आएन । झन् तिक्तता बढ्यो । नेपालले चीनबाट हतियार ल्यायो भन्ने निहुँमा राजीवले नेपालमा नाकाबन्दी लाए । तराईमा नाकाबन्दी गर्दा नेपाललाई सजिलै काबुमा राख्न सकिन्छ भन्ने सोच इन्दिराकै पालादेखिको हो । उनी पनि तमिल असन्तोषको आगोमा परेर आत्मघाती बमद्वारा मारिन पुगे । श्रीलंकामाथि गरिएको प्रयोग आत्मघाती बन्यो । महात्मा गान्धी हिन्दुस्तान टुक्रायो भनेर मारिए । गान्धी उपनामधारी आमा र छोरा आतंकमा हात हाल्दा अकालमा मारिए ।

माओवादीको छहारी

नेपालमा २०४६ साल फागुनदेखि असन्तुष्ट दल मिलेर नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त मोर्चा बनाएर प्रजातन्त्रका लागि आन्दोलन थाले । यसलाई थेग्न नसकेर राजाले पञ्चायत हटाएर प्रजातन्त्र बहाली गरे । चुनावद्वारा पुनः प्रजातन्त्र स्थापित भयो । सत्तामा पुगिसकेपछि कांग्रेस नेतृत्वमा ठूलो अन्तकलह प्रारम्भ भयो । कहिले एमाले कहिले कांग्रेस सत्तामा पुगे । यसै अस्थिरतालाई बहाना बनाइ नेपालमा प्रजातन्त्र 'अफाप भो' भन्ने महेन्द्रमत अनुशरण गर्दै देशमा सशस्त्र आतंक सुरु भयो । माओवादीको यस आतंकमा भारतीय कांग्रेस सरकारको सहयोगको छहारी थियो । उसको नीति इन्दिराकै पालादेखि यही थियो । तर, आश्चर्य असन्तुष्ट दरबारका मूर्ख सहयोगीहरू पनि यस आतंकको आगोमा घिउ थप्न पुगे । नेपालसम्बन्धमा इन्दिरा 'डक्ट्रिन'लाई नै जनता दल, भारतीय जनता पार्टीले पनि छाड्न सकेनन् । जनता दलका आइके गुजरालको नेपाल नीति राम्रो छ भनेर केही पत्रकारले प्रचारमा ल्याएका थिए । तर गुजरालको नीति पनि नेपालको हितमा थिएन । इन्दिराले हुलका हुल भारतीयलाई नेपाल पसाउन र बसाउन प्रोत्साहन दिएकी थिइन् । यो कुरा गुजराललाई पत्रकारले सोधे, उनले हाम्र्रा धनी देशका मान्छे नेपालजस्तो गरिब देशमा किन जान्छन्, त्यो सत्य होइन भनेर ठाडै इन्कार गरे । २०५४ सालमा मैले विमर्शमा उनको कुराको सप्रमाण खण्डन गरेको थिएँ । प्रधान मन्त्री बाजपेयीका पालामा २०५८ सालमा नेपालका राजा वीरेन्द्रको वंशविनाश भयो । माओवादी आतंक चरमचुलीमा थियो । भन्न त त्यसलाई जनयुद्ध भनिन्छ । परन्तु दुई अस्त्रधारीबीचको द्वन्दलाई 'युद्ध' भनिन्छ । निहत्था जनतामाथि हतियारधारीले प्रहार गर्नु अपराध कर्म मानिन्छ । इन्दिराको नीतिअनुसारै नेपालमा पनि आतंक मच्चाइएको थियो । बाजपेयीलाई त माओवादी नेताले बिन्तीपत्रै हालेका थिए । खुफिया एजेन्सीका सञ्चालकसँग साँठगाठै थियो । यति कुरा त सुखदेव (एसडी) मुनिको मुखबाट थाहा भइहाले । भित्री रहस्य भविष्यमा कि एसडी मुनिले खोल्लान् वा माओवादी नेताले ! राजधानी दिल्लीकै आसपासमा अखडा जमाएर राइफलधारी सशस्त्र अंगरक्षकले घेरिएर माओवादी नेता सुरक्षित रहेका थिए । भारतबाट बिनारोकटोक विस्फोटक पदार्थ तथा अस्त्र आइरहेको थियो । निरपराध जनता र सुरक्षाबल मारिइरहेका थिए । विकास निर्माणका कार्य ध्वस्त बने, जनताको चलअचल सम्पत्ति कब्जा गरिए, बैंक लुटिए । क्रमशः

प्रकाशित: १२ आश्विन २०७२ २१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App