निजी क्लिनिकमा डाक्टरले बिरामीलाई चाहिए पनि नचाहिए पनि अनेकथरीका जाँच गराउने, ८–१० थरिका औषधि र भिटामिन लेख्ने कामले बिरामीलाई निकै आर्थिक भार पर्छ। कति त बिरामीलाई चाहिँदै चाहिँदैनन्। नेपालका केही निजी अस्पतालमा यस्तो हुँदा सबै निजी अस्पतालप्रति नकारात्मक धारणा बढेको छ। सरकारी अस्पतालमा चाहिने औषधि र विवेकशील तरिकाले जाँच गराउने स्वास्थ्यकर्मीले किन निजी अस्पतालमा चाहिँ विवेक प्रयोग गर्दैन होला? किनभने निजी अस्पताल र निजी क्लिनिकमा बिरामीको समस्यालाई मात्र ध्यानमा राखेर औषधि लेखियो र विवेकशील तरिकाले जाँच गराइयो भने धेरै फाइदा हुँदैन जबकि निजी अस्पतालमा पनि विवेकशील चिकित्सा गर्न सकिन्छ।
'उनीहरु समाज सेवा गर्न बसेका त पक्कै होइन तर कमाउँदा पनि बिरामीलाई चाहिनेमात्र जाँच गराए पनि त कमाई भइहाल्छ नि'–कतिपय बिरामी र उनका परिवारले भनेको सुनिन्छ। निजी क्लिनिक र अस्पतालमा यसरी बिरामीलाई धोका दिने काम नेपालमा मात्र होइन, अमेरिका र भारतमा समेत हुन्छ। 'मुटुको समस्या नभएको मानिसलाई पनि मुटुको समस्या छ' भनेर अमेरिकामा समेत धेरै शल्यक्रिया हुन्छ। केही महिनाअघि अमेरिकाको मिचिगनमा एक ४८ वर्षीय डाक्टर फारिद फाताले बढी कमाउनका लागि नै 'क्यान्सर रोग नभएको व्यक्तिलाई पनि क्यान्सर छ' भनेर उपचार गरेर इन्स्योरेन्स कम्पनीबाट धेरै पैसा लिए। तर उनको बदमासी थाहा पाइयो, हाल उनी जेलमा छन्।
नेपालमा पनि निजी अस्पतालमा सुत्केरी हुन जाने महिलाको केही स्त्री रोग विशेषज्ञले शल्यक्रिया नै गरेर बच्चा जन्माउन प्रेरित गर्छन्। एक जना विशेषज्ञले भनेकी थिइन्– थापाथलीको प्रसूति गृहमा सुत्केरी गराउन आउने महिलामध्ये २०–२५ प्रतिशतको शल्यक्रिया गरिन्छ भने नेपालमा नाम चलेका ठूला निजी अस्पतालमा त प्रसवका लागि जानु भनेको नै शल्यक्रिया गराउन जानु हो। सामान्य प्राकृतिक तरिकाले त प्रसव हँुदै हँुदैन। झण्डै ८० प्रतिशत महिलाको प्रसव शल्यक्रियाबाट गरिने निजी अस्पतालमा कसरी विवेक प्रयोग हुन्छ होला र? तर हामीले यो विषयमा बोल्न मिल्दैन। प्रसव गराउने महिलामध्ये सकेसम्म बढीलाई शल्यक्रिया गराउनु भनेर अघोषित/अलिखित दबाब दिइन्छ।
त्यसैगरी पाठेघर जति धेरै शल्यक्रिया गरेर निकाल्यो, उति फाइदा हुने हुनाले कतिपय निजी अस्पतालमा प्रजनन स्वास्थ्यको समस्या परेर जाने महिलालाई 'तपाईँको पाठेघरमा घाउ छ, बच्चा पुगिसक्यो, किन पाठेघर चाहियो र, निकालेर फ्याँकिदिए हुन्छ, क्यान्सर पनि हुँदैन' भनेर स्त्री रोग विशेषज्ञले नै हौस्याउँछन्। डाक्टरले नै यसो भनेपछि महिला र उनका परिवार त डराउने नै भए। अनि पाठेघर निकाल्ने काम गरिहाल्छन्। भारतका कतिपय निजी अस्पतालमा पनि नचाहिने शल्यक्रिया गरिन्छ। यसबारे त अनुसन्धान पनि भएको छ। बिबिसीमा गरिएको एक अनुसन्धानअनुसार जयपुरको एउटा गाउँका झण्डै ९० प्रतिशत महिलाले पाठेघर निकालेका पाइएको थियो जबकि उनीहरुको पाठेघर निकाल्नुपर्ने नै थिएन।
यसरी अविवेकी तरिकाले चिकित्सा कसरी गरिन्छ भनेर भारतमा एक संस्थाले अनुसन्धान नै गरेको थियो। अनुसन्धानका क्रममा एक डाक्टरले नै भनेका थिए– हो, स्वास्थ्यकर्मीले विवेकहीनरूपमा औषधि प्रयोग गर्ने र चाहिनेभन्दा बढी जाँच गराउँछन्। मलाई मुटुको शल्यक्रिया गर्न भनिएको थियो तर जीवनशैलीमा परिवर्तन गरेर, केही सामान्य औषधि प्रयोग गरेर र योगासन गरेर नै मलाई ठीक भयो। ९२ जना डाक्टरसँग छलफल गरेर निकालिएको प्रतिवेदनमध्ये ५० प्रतिशत डाक्टरले आफ्नो नामसमेत खुलाएका थिए। यसले के देखाउँछ भने चिकित्सामा बदमासी र ठगी गर्नु एक महामारीकै रूपमा फैलिएको छ। महाराष्ट्रको पुनेमा अवस्थित साथी नामक संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो। विशेष गरेर निजी अस्पतालमा आउने बिरामीसँग गलत तवरबाट फाइदा लिने प्रवृत्ति बढ्दो देखिएको छ।
उक्त अनुसन्धानका क्रममा एक जना डाक्टरले भनेका छन्– म काम गर्ने निजी अस्पतालका मालिकले जँचाउन आएका बिरामीमध्ये १० प्रतिशतलाई मात्र शल्यक्रिया गर्न पठाउने कार्य ठीक नभएको भन्दै कम्तीमा पनि ४० प्रतिशत बिरामीलाई शल्यक्रिया गर्न पठाउन भने र यति गर्न नसक्ने हो भने काम छाडे हुन्छ भनेर चेतावनी दिए। साथी संस्थाका संयोजक लेख्छन्– यो प्रतिवेदनले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचार देखाउँछ। यो प्रतिवेदन विभिन्न सामाजिक संस्था, बिरामी र उनका परिवार तथा चिकित्सकसँग छलफल गरे प्रकाशित गरिएको पनि उल्लेख छ। यो प्रतिवेदनको विशेषता के हो भने पहिला कोही पनि डाक्टर यस्ता विषयमा बोल्दैनथे तर अब बोल्न थालेका छन्, शायद अति भयो भनेर। यस प्रतिवेदनमा डाक्टरहरुले नचाहिए पनि मुटुको शल्यक्रिया गर्दा ब्याक ब्यालेन्स बढाउँछन्, नचाहिए पनि सिटी स्क्यान गराउँछन् र नचाहिए पनि विभिन्न किसिमका जाँच गर्ने ठाउँमा पठाएर कमिसन लिन्छन् भन्ने प्रष्ट्याएको छ।
नेपालमा विवेकहीन औषधि प्रयोग र अविवेकशील शल्यक्रियाबारे यस्तो अध्ययन नभए पनि समस्याचाहिँ छ भनेर सबैले स्वीकारेका छन् तर पनि विस्तारै परिर्वतन भने देेखापर्दैछ। विवेकहीन चिकित्साबारे विभिन्न समयमा पत्रिकाहरुले गहनखालका सामग्री प्रकाशन गरेपछि जनमानसमा यसबारे सजगता आएको छ। डा. गोविन्द केसीको अनशन पनि यस्तै विवेकहीन चिकित्सा पद्धतिविरुद्ध हो। त्यसमा प्रत्येक विवेकशील व्यक्तिको सहमति यही कारण छ।
प्रकाशित: १६ भाद्र २०७२ २१:१० बुधबार

