६ जेष्ठ २०७९ शुक्रबार
विचार

पालिका माता/पिताः कस्तो ?

ललितपुरका मेयरले भनेका थिए–जितेँ भने सहरमा साइकल लेन बनाउँछु। लाग्यो– एकातिर गाडी, अर्कोतिर मोटर। अनि छेउबाट सर्वसाधारण मजाले ओहोरदोहोर गर्न पाउने भए। अब विदेशकै जस्तो दृश्य देख्न पाइने भयो नेपालमै। अहा कति सुन्दर दृश्य होला त्यो। नभन्दै साइकल लेन बन्यो तर मोटर बाटोकै छेउको भाग कटाएर। न साइकल यात्री सुरक्षित न त सँगै कुद्ने गाडीहरू नै तनावमुक्त हुने अवस्था।

सुन्धारास्थित चाइनाटाउन र जेडिए कम्प्लेक्समुनि संयुक्त पार्किङ छ। जुन सामान्य वर्षा भयो कि भरिभराउ हुन्छ। पूरै ढल जाम भएर गनाउँछ र बसिटिक्नै हुँदैन। वर्षको आधाआधी समय नाकै थुनेर बित्छ यहाँ आउने/बस्नेको। अचम्म त यो छ कि काठमाडौँ महानगरको कार्यालय पनि यहीँ छ जुन गन्ध र समस्या महानगरका पदाधिकारी तथा कर्मचारीका लागि पनि परिचित छ। तर महानगरले कहिल्यै यो समस्या समाधान गर्नुपर्ने ठानेन।

–धेरै वर्ष धुलाम्मे/हिलाम्मे मार्गमा यात्रा गर्न बाध्य भएपछि बल्लतल्ल सडक पिच हुन्छ। अबचाहिँ धुलोको एलर्जीबाट बचिएला कि, खाल्डाखुल्डीमा परेर मर्न नपर्ला कि भन्यो, केही दिनमै सुरु हुन्छ–खाल्डो खन्ने काम। कहिले टेलिकमले। कहिले ढल हाल्नेले। कहिले मेलम्ची आयोजनाले त कहिले कुनै पहुँचवाल स्थानीय घरवालाले।

अनि फेरि सुरु हुन्छ उही निराशा। उही दिक्दारी। हामी आउँदै गरेको वैशाख ३० गते गाउँघरको सरकार चुन्दैछौँ। जसको नेतृत्व गाउँ/नगर माता/पिता (अध्यक्ष/मेयर) ले गर्छन्। वडाको नेतृत्व वडाध्यक्षले गर्छन् भने उनलाई निर्वाचित सदस्यहरूले सघाउँछन्।

यसरी आफ्नो गाउँठाउँको समस्या के हो, त्यसलाई कसरी समाधान गर्न सकिन्छ र यो दिगो कसरी हुन्छ भन्नेबारे थाहा पाउने र गर्न सक्ने उपयुक्त पात्र यिनै जनप्रतिनिधि नै हुन्। स्थानीय भएकाले र टोलटोल, गल्ली–गल्ली चाहारेका कारण सबै थाहा हुने भएकाले उनीहरू यसका लागि सक्षम हुने ठानिन्छ पनि।

यतिबेला खासगरी गाउँ/नगर माता/पिताका लागि मत माग्न घरदैलो आउनेको लर्कै सुरु भइसकेको पनि छ। यसरी आउनेमा कतिपय ठूला भनिएका दलका छन् भने कतिपयचाहिँ सानातिना दलका। अनि कतिपयचाहिँ स्वतन्त्र नाम गरेका छन्। यी सबैका आआफ्नै डम्फु छन्।

जान्नेले मिलाएर बजाउँछ, नजान्नेले ढ्याङ–ढ्याङ मात्र पार्छ तर डम्फु भने उही देखिन्छ। उम्मेदवार अर्थात उनीहरू आबद्ध दलका नेताको भाषण सुन्नुपर्छ, अन्तर्वार्ता सुन्नुपर्छ, सुनिसक्नु नै छैन। अर्को दल वा उसका उम्मेदवारलाई यति गाली गर्छन् कि यसरी गर्छन् कि बालबच्चा र घरका परिवार सँगै बसेर सुन्न पनि अप्ठेरो हुन्छ।

उम्मेदवारले त आफ्ना योजना के हुन् ? तिनलाई कार्यान्वयन गर्ने तरिका के हुन् ? स्रोत जुट्ने आधार के हो ? ती सफल र प्रभावकारी हुन्छन् नै भनेर गरिएको दाबी किन पत्याउने ? अरू उम्मेदवारभन्दा म योयो अर्थमा फरक छु जस्ता विषयमा मतदातालाई बुझाउन सक्नुपर्ने हैन र ? आफ्नो नवीनतम सोच र सपना मतदाताको दिमागमा भरेर ‘यसले चाहिँ केही गर्छ है’ भन्ने पारेर मत लिन प्रयास गर्नुपर्ने हैन ?

तर विडम्बना, अहिलेका उम्मेदवारमा यो खालको न प्रवृत्ति देखिएको छ न त शैली नै। माथि सुरुमै उल्लिखित ३ वटा घटनाले प्रमाणित गर्छन्, विगतका मेयरहरू विकासे भिजनवाला भएनन्। उनीहरूलाई गाउँ/नगरबासीले के खोजिरहेका छन् र तिनको समाधान कसरी गर्नुपर्छ भन्ने पत्तै भएन।

स्रोत नपुग हुनु अर्को कुरा हो तर भएकै स्रोतको पनि अधिकतम प्रयोग गर्न तिनले जानेनन्। कतिपय ठाउँमा बरु बजेट त्यत्तिकै रह्यो तर सर्वसाधारणका समस्या ज्युका त्युँ रहे। ख्वै, विगतका यस्ता कमजोरीको फाइदा उठाउँदै म ती समस्या यसरी समाधान गर्छु भन्ने योजना ? ख्वै, सर्वसाधारणसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्ने मार्गचित्र ?

म चुनाव जितेपछि यति पैसा बाँड्छु, यतिलाई रोजगारी दिलाउँछु भनेर खोक्नेहरू पनि देखिए। तिनै मतदाताले तिरेका करबाट पालिकालाई प्राप्त हुने रकम बाँड्नु कुन ठूलो कुरा भयो र ? बरु पालिकाको स्रोत बढाउन म यसो गर्छु भन्ने आँट किन कोहीसँग छैन ? रोजगारी त दिने तर कहाँ ? केही बेरोजगारलाई पालिकामै जागिर दिन सकिएला तर त्यो बेरोजगारी हटाउने दीर्घकालीन उपाय हो ?

किन म आफ्नो पालिकामा यो उद्यम सम्भावना छ, खोल्छु, त्यसमा यतिजनाले काम पाउँछन् भन्न सक्दैनन् उम्मेदवारहरू ? उद्योग/कारखानाको नाम लियो कि अगति परिन्छ भन्ठान्ने अनि जागिरचाहिँ धेरैलाई दिन्छु भनेर आश्वासन बाँड्दै हिँड्ने ? यो कत्ति पनि सम्भव विषय हुँदै होइन।

कतिपय उम्मेदवार यस्ता देखिएका छन् मानौँ, उनीहरू आफूलाई केजरीवालकै नेपाली संस्करण ठानिरहेका छन्। के केजरीवाल जादू हो ? उनले गरेका राम्रा कामको अनुशरण अवश्य पनि जरुरी छ तर त्यसका लागि उम्मेदवारसँग यसरी यो यो गर्छु र यहाँबाट स्रोत व्यवस्थापन गर्छु भन्ने कुनै योजना छ ?

विनायोजना आफ्नै दाबीका आधारमा उनीहरूलाई मतदाताले किन केजरीवालका अवतार ठानिदिनुपर्ने ? विगतका पृष्ठभूमि केही नभएका, समाजसेवाका स पनि थाहा नभएका, न जीत हात परि पो हाल्छ कि भनेर च्याँखे दाउमा प्रतीक्षारत त्यस्ता उम्मेदवार पनि यतिबेला हँसिमजाकका पात्र बनिरहेका देखिन्छन्।

यत्रो भूमिका बाँध्नुको मतलव प्रष्ट छ–पालिका हाँक्ने नेतृत्व सक्षम हुनुपर्छ। सक्षमको अर्थ पढाइ मात्र हैन, सक्षमको अर्थ मोटोघाटो र तन्दुरुस्त मात्र पनि हैन।सक्षमको अर्थ ऊ आबद्ध दलमा र यो व्यवस्था ल्याउनमा ठूलो योगदान छ भन्ने मात्र पनि हैन। उम्मेदवार यस्तो हुनुपर्‍यो कि जसले आफ्नो ठाउँ बुझेको होस्। ऊसँग विकास/निर्माणको योजना होस्।

विकास र विकासका लागि पूर्वाधार फरक कुरा हुन् भनेर छुट्याउने क्षमता होस्। जनतालाई सपना देखाएर आशातीत हुने वातावरण प्रदान गर्न सकोस्। अनि केही निश्चित समयमा त्यो सपनालाई विपनामा परिणत गर्न सक्ने सामर्थ्य होस्।

कुनै पालिकाले आफ्नो क्षेत्रको विकासको आधार पर्यटनलाई बनाउन सक्छ। कुनैले कृषिलाई बनाउन सक्छ। कुनै पालिकाले उद्योगलाई बनाउन सक्छ। कुनैले भने संस्कृतिलाई बनाउन सक्छ। आफ्नो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर त्यही विषयलाई प्रबद्र्धन गर्ने गरी पूर्वाधारहरूमा लगानी गरिदिने हो भने पालिका स्वतः समृद्ध हुन्छ।

यहाँ त कुनै एउटा पालिकाले कुनै काम गरेर वाहवाही कमायो भने अर्को आवश्यकै नपरेकाले पनि सोही काम गरिदिने चलन छ। उदाहरणका लागि पहाडै पहाडले भरिएको मुलुकमा ती पहाड भन्दा निकै कम गहिराइमा भ्यु टावर बनाइनुलाई लिन सकिन्छ। यस्ता टावर केही ठाउँमा आवश्यक भए पनि धेरै ठाउँमा ‘बालुवामा पानी’ सावित भइरहेका छन्।

करोडौँ रुपियाँको बजेट चलाउने, स्थानीय सिंहदरबारको अभ्यास गर्ने पालिका प्रमुख वास्तवमै त्यहाँको वास्तविक अभिभावक हो। उसले गरिब, निमुखादेखि धनाढ्य सम्पन्नहरूलाई समेत चित्त बुझाउनुपर्छ। आफ्नो क्षेत्रका विकास समन्वयात्मक ढङ्गले गर्नुपर्छ। समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न पनि उसको ठूलो भूमिका हुन्छ।

शिक्षा, स्वास्थ्य, रोजगारी तथा चेतना प्रदान गर्ने कुरामा उसको सुझबुझपूर्ण ज्ञानले ठूलो भूमिका निर्वाह गर्छ। त्यसैले पालिका हाँक्ने व्यक्ति नेताको आशीर्वाद प्राप्त मात्र योग्य हुन सक्दैन। कुनै नेताको छोरा/छोरी/श्रीमान्/ श्रीमती/साला/साली/जेठान/सम्धी यसका लागि योग्यता हुँदै होइन।

मतदाताले मतदानका बेला विचार गर्नुपर्ने कुरा एउटै छ– मैले मत दिँदै गरेको उम्मेदवारसँग हाम्रो ठाउँको अविकास, बेरोजगारी मिल्काउने योजना छ ? दिगो र वातावरणमैत्री विकासको खाका अघि सारेको छ ? लैङ्गिक, जातीय, धार्मिक आदि आधारमा विभेदरहित समाज निर्माणको परिकल्पना छ ?

शिक्षा, स्वास्थ्यलाई सहज, सुलभ र स्तरीय तुल्याउने रणनीति छ ? स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगद्वारा पालिकालाई समृद्ध तुल्याउने र खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्यक्रम छ ? बस्, यति सोचिदिनुभयो भने बल्ल हामीले खोजेको पालिका मातापिता अवश्य प्राप्त हुनेछ।

प्रकाशित: १८ वैशाख २०७९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App