८ वैशाख २०८१ शनिबार
विचार

श्रमिक महिला र नेतृत्व तहमा महिला

भर्खरै मार्च ८मा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसलाई संसारभर विभिन्न कार्यक्रम गरी बिदा गरेका छौँ। सन् १९०९ मा अमेरिकाको न्युयोर्क सहरमा १५००० महिलाले श्रम, ज्याला र मतदानको अधिकार माग राखेर सुरु गरेको र्‍यालीसँगै नारी दिवसको वीजारोपण भयो।

त्यसको २० वर्षअगाडि नै सन् १९८६ मा अमेरिकाकै सिकागो सहरमा भएको श्रमिक आन्दोलनमा मरेका सातजना श्रमिक र श्रमिक आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १९८९मा फ्रान्सको पेरिसमा विश्वभरका श्रम संगठन र श्रमिक नेताहरूको बैठकले विश्वभर मे १ मा श्रमिक दिवस मनाउने घोषणा गरेको थियो।

नेपालमा भने २००७ सालमा विराटनगरमा भएको मजदूर आन्दोलनदेखि मात्र यो दिवस मनाउन थालिएको हो। २०१६ सालमा बिपी कोइरालाको पालादेखि नारी दिवस मनाउन थालिएको पाइन्छ। नेपालको संविधान २०७२ को धारा ३४ मा ‘श्रमिक’ भन्नाले पारिश्रमिक लिइ रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनुपर्छ भनेर उल्लेख गरेको पाइन्छ।

यसलाई अक्षरशः पालना गर्ने हो भने नेपालको कुल जनसंख्याको ठूलो हिस्सा श्रमिकले ओगटेका छन्। श्रमको प्रकार फरक होला, श्रम गरेबापत पाउने सेवा/सुविधा तलमाथि होला तर पारिश्रमिक लिएरकाम गर्ने वर्ग सबै श्रमिकमै परिभाषित भएका पाइन्छ।

नेपालको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा पनि आइसकेको छ जसमा कुल जनसंख्याको एकाउन्न दशमलव शून्य चार (५१.०४) प्रतिशत महिला जनसंख्या छ। पुरुष संख्याभन्दा छ लाख धेरै महिला जनसंख्या भएको हाम्रो मुलुकमा नेतृत्व तहमा महिलाको संख्या न्यून रहेको विभिन्न आँकडाले देखाउँछन्।

विश्वमा जति क्रान्ति, सन्धि र सम्झौता भए तापनि विश्व सञ्चालन गर्ने तालाचाबी भनेको आजका दिनसम्म आइपुग्दा पनि पुरुषहरूकै खल्तीमा छ। नारीको पोल्टोमा भने केवल आश्वासन, कार्यान्वयनमा नआउने वा नगरिने कानुनी दस्ताबेजमा समेटिएका बुँदाहरू, निगाहस्वरूप प्रदान गरिनेकेही आरक्षण आदि मात्र परेका छन्।

सबै आयामबाट समान हैसियत प्राप्त हुन शायद अझै केही पुस्ताले संघर्ष र बलिदानी दिनु नपर्ला भन्न सकिन्न। श्रमिक वा मजदूरका लागि भनेर नेपालमा धेरै संघ र संगठन कार्यरत छन्। विभिन्न पेसा, वर्ग, लिङ्ग, जाति, धर्म, स्थानका आआफ्नै संघसंगठन छन्। नेपालमा प्रजातन्त्र पुनर्बहालीपश्चात विभिन्न राजनीतिक दलको उदयसँगै तिनीहरूका भातृ वा भगिनी संघ, संगठन स्थापना गर्ने लहर नै चल्यो।

सबैका उद्देश्य साझा जस्तै छन् तर पनि यस्ता संघ, संगठनले लक्षित उपलब्धि हासिल गर्न नसकेको कुरा संगठनभित्रैको खिचातानीले प्रष्ट पारेको छ भने लक्षित समूह स्वतः ओझेल परेका छन्। लक्षित श्रमिकहरूको जीवनस्तरमा तात्विक फरक परेको देखिँदैन। श्रमिक देशका मेरुदण्ड हुन। देशले श्रमिकको उचित मूल्याकंन गरेर जिम्मेवारीको सही बाँडफाँट गर्न सकेको खण्डमा देशको समृद्धिलाई कसैले रोक्न सक्ने थिएन।

नेपालमा हाल सञ्चालनमा रहेका विभिन्न संघ, संगठनका नेतृत्व तहमा महिला सहभागिता न्यून रहेको छ। नेपाल नर्सिङ संघमा महिलाको बाहुल्य हुने हुनाले संघको नेतृत्वमा बहुसंख्यक महिला छन् भने नेपाल चिकित्क संघको १४ सदस्यीय समितिमा केवल एकजना मात्र महिला सदस्यको उपस्थिति देखिन्छ। त्यस्तै नेपाल इन्जिनीयर संघको नेतृत्व तहमा सदस्यका रूपमा २ जना मात्र महिला छन्। यस्तै प्रायः सबै संघसंस्थाका नेतृत्व तहमा महिलाको उपस्थिति दयनीय अवस्थामा भेटिन्छ।

अझै पनि नेतृत्व तहसम्म पुग्न महिलालाई अंकुश लगाइन्छ। यो कुरा त मुखैमा आएको स्थानीय तहको निर्वाचनले पनि देखाइरहेको छ। स्थानीय तहको अघिल्लो निर्वाचनमा निर्वाचित भएर आएका उपाध्यक्ष र उपप्रमुख महिलाहरूको प्रमुख चलाउन सक्ने क्षमता भएर स्थानीय जनताले पत्याउँदा पनि आफ्नै दलहरूले भने पत्याएका छैनन्। माथिल्लो तहमा पहुँच हुने बाहेककाले पाँच बर्ष जति नै राम्रो काम गरेका भएपनि माथ्लो सिँढीमा उक्लन नदिनु कति न्यायसंगत होला !

विश्वको शक्तिशाली तथा प्रजातन्त्र र सामाजिक न्यायको क्षेत्रमा अग्रणी मुलुक अमेरिकामा समेत हिलारी क्लिन्टन जस्तो नेतृत्व क्षमतामा आफूलाई प्रमाणित गरिसकेकी सक्षम र सबल नेतृलाई राष्ट्रपति निर्वाचनमा अमेरिकी जनताले पत्याएनन्। यसरी राष्ट्र शक्तिशाली र विकसित हुँदा पनि महिलालाई निर्णायक भूमिकामा पुग्न असहज रहेछ भनेर अमेरिकाको निर्वाचनले पनि देखायो।

यसरी संसारका देशहरूका राष्ट्र प्रमुखको सूची हेर्ने हो भने महिला सहभागिता न्यून देखिन्छ। नेपालमा शारीरिक श्रम गरेर जीवन यापन गर्ने महिलाको संख्या उल्लेख्य रहेको बिभिन्न अध्ययनले देखाएका छन्। निकृष्ट प्रकारको श्रम गर्नेमा बालिकादेखि वृद्धसम्म छन्। त्यसैगरी शारीरिक श्रम आवश्यक पर्ने क्षेत्रमा कार्य गर्ने महिलाको संख्या पनि प्रत्येक वर्ष वृद्धि भएको देखिन्छ।

शारीरिक श्रम गर्ने बहुसंख्यक महिला आधारभूत अधिकारबारे बेखबर र राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित छन्। श्रमिकहरूको हकअधिकारका लागि कैयौँ संघ संस्था स्थापना भई सञ्चालनमा रहेता पनि महिला श्रमिकहरूलाई लक्षित गरेर श्रमिकहरूबीच रहेको विभेद घटाउन वा अन्त्य गर्न खासै प्रभावकारी रहेको देखिँदैन जसको पुष्ट्याइँ देश र समाजको विभिन्न कार्य क्षेत्रमा विद्यमान अवसर र सुविधा वितरणमा देखिएको विभेदले स्पष्ट पारेको छ।

अन्तमा, पद्धति फेरिए पनि प्रवृत्ति नफेरिएको व्यापक जनगुनासो आइरहेको बेलामा काम गर्ने शैलीमा परिवर्तन महसुस गर्न नपाउनुलाई विडम्बना मान्नुपर्छ। नेपाली समाज रूपान्तरण हुँदै अगाडि बढ्नुपर्नेमा कतै पछाडि फर्कन त लागिरहेको हैन ? विश्वव्यापीकरणको युगमा महिलाको सर्वाङ्गीण विकासका लागि उनीहरूमाथि गरिने नीतिगत र व्यवहारगत भेदभाव जरैदेखि उखेल्दै दिगो, प्रभावकारी र समतामूलक समाजको विकास गर्न महिलाहरूलाई अवसर र चुनौतीहरूमा सक्रिय सहभागी गराइ नेतृत्व क्षमता विकास गरी सोहीबमोजिमको जिम्मेवारी तथा अवसर सुनिश्चित गर्न ढिला भइसक्यो।

पहुँचका आधारमा संभ्रान्त र तरमारा वर्गका महिलाहरूलाई प्रतिनिधित्वका नाममा अवसर प्रदान गर्नाले नेपालको संविधानको मर्ममा आघात पुग्नुका साथै लक्षित वर्गका महिला संविधानले परिकल्पना गरेको अवसर पाउनबाट वञ्चित भएका छन्। लिङ्गका आधारमा विभेद नगरी राम्रो काम गर्ने क्षमतावानलाई सम्बन्धित क्षेत्रको नेतृत्व तहमा पुर्‍याउने परिपाटी विकास गर्न यस वर्षको श्रमिक दिवसका अवसरमा सबै तह र तप्काकाका नेतृत्व वर्गका महानुभावहरूले संकल्प गरेको सुन्न पाइयोस्। १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पूर्ण श्रमिक र श्रमिक परिवारलाई शुभकामना।

प्रकाशित: १८ वैशाख २०७९ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App