१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

ठूला ऊर्जामा मानवताविरोधी खतरा

‘पृथ्वीले हरेक मानिसको आवश्यकता पूरा गराउँछ तर उसको अत्यघिक लोभ होइन।’ महात्मा गान्धीको यो भनाइले धेरै यथार्थ बोलेको छ। दुनियाँ आज लोभी/पापी बन्दै गएको देखिन्छ। त्यो लोभ सत्ता, शक्ति र अत्यधिक संसाधन सञ्चयको हो। शक्तिमा अकन्टक कसरी रहिरहने? विश्वको शक्तिशाली कसरी बनिरहने? यही अति लोभको परिणति हो रुस,युक्रेन युद्ध। दुनियाँमा गरिबी, समानता र समाजवादका नमुना मुलुक मान्ने र ठान्नेहरूका नेता कतिसम्म पद र प्रतिष्ठाका भोका रहेछन्? कति रक्तपिपासु रहेछन् व्यवहारले देखाउँछ। तिनका विलाशी जीवनशैली खरबौँको सम्पत्ति र बाथरुमको कमोड अनि पेपर होल्डरसमेत सुनको बनाउनुपर्ने।

तर जनता भने पाउरोटीकालागि लाइन लाग्नुपर्ने स्थिति एउटा लज्जाको विषय हो। इतिहास पढे हुन्छ तिनका। अकन्टक शक्तिमा रहन अनेकौँ तिकडम गरिरहने। विरोधीहरूलाई सिध्याइहाल्ने चरित्र समाजवादी होइन? साना राष्ट्रहरूको स्वाधीनता आज कुनै पनि क्षण मेटिने अवस्थामा पुगेको छ।  

ठूला राष्ट्र आफ्नो शक्ति र सौर्यको ओजमा देखाउने दादागिरी सहन नसकिने विन्दुमा पुगेको अवस्था हो यो। अर्कातिर २१ औँ शताब्दीको सुविधा सम्पन्न विश्वलाई चलाउन नभइनहुने ऊर्जा, त्यसको बढ्दो वैश्विक माग र केही शक्ति राष्ट्रहरू तिनै ऊर्जाका भण्डारमा दादागिरी गर्न लागिपरेका छन्। ऊर्जाका भौतिक संरचनालाई आफ्नो युद्ध पिपासामा प्रयोग गर्न उद्यत देखिन्छन्। न्युक्लियर प्लान्टहरूको कब्जा, रासायनिक हात हतियार प्रयोगको सन्त्रास, बायोलोजिकल हतियारहरूको सम्भावनाले नपुगेर हाइड्रो पावरका ठूला बाँध समेत कब्जा गर्नुले के सन्देश दिएको छ? ऊर्जा सुरक्षा, साइबर सुरक्षा यतिखेर ठूलो चुनौती बनेर दुनियाँ सामु खडा छ। अर्कातिर न्युक्लियर प्लान्ट बिष्फोट भए त्यसले सारा युरोप र विश्वलाई विषाक्त पार्नेछ। यो पासविक अत्याचारको सजाय ढिलो/चाँडो यसका खलनायकले भोग्नेछन्। जित्ने उन्मादमा आफ्नै छिमेकी मास्नेले भोलि आफ्नै आँगनमा हार्नेछन्। मर्दा दुईजना मलामी नहुने स्थिति आउन सक्छ। संसार जित्ने अलेक्जेन्डर द ग्रेटले अन्त्यमा मृत्युपछि आफ्ना दुई हात खुला राखेर लैजानु भन्नुपर्‍यो रे।

शक्तिमा अकन्टक कसरी रहिरहने? विश्वको शक्तिशाली कसरी बनिरहने? यही अति लोभको परिणति हो रुस,युक्रेन युद्ध।

आणाविक दुर्घटना र आक्रमणको सम्भावना  

‘मुर्खस्य प्रथमं बन्धे सज्जनम तदनन्तरम’, मेरा ८७ वर्षीय पिताजी सधैँ घरमा दाजुभाइको ठाकठुक परेर सम्झाउनुपर्‍यो भने यो श्लोक सुनाउनुहुन्थ्यो। मुर्खलाई पहिले नमस्कार गर्नुपर्छ। तँ बुद्धिजीवी छस् भन्नुहुन्थ्यो। ठीक त्यस्तै स्थितिमा ऐले विश्व पुगेको छ। पुटिन नामका स्वाँठलाई पहिलो नमस्कार गरेरै भए पनि विश्व शान्ति कायम गरेर ऊर्जाको यो विषम परिस्थितिलाई सन्तुलित पार्दै शान्ति कायम गर्नु आवश्यक छ। नत्र उनले आफ्नो अहंकार प्रदर्शन गर्ने क्रममा आणविक शक्ति पड्काइदिए भने त्यसले विश्वलाई पुस्तौँसम्म नोक्सानी पुर्‍याउनेछ। सन् १९८६ मा भएको चेर्नोबिल घटनाको घाउको खाटा नबस्दै हामीले फेरि अर्को आणविक दुर्घटनाको सिकार बन्न नपरोस्। यो आणाविक भट्टीमा पुटिनले २०० कामदारलाई बन्दी बनाएका छन्। त्यहाँ बिजुली काटिएको छ। त्यहाँ भएका हजारौँ फ्युल सेलहरूलाई चिस्याउन बिजुली चाहिन्छ। यसो गर्न नसके त्यो रेडियो विकिरण चुहिएर वायुमण्डलमा मिसिने सम्भावनाले सबैलाई त्रसित बनाएको छ। युक्रेनको न्युक्लियर एजेन्सीका अनुसार बीसौँ हजार न्युक्लियर फ्युल सेल चिस्याउन नसक्दा बढी तात्ने खतरा बढेको र त्यो चुहिएर वातावरणमा मिसिने ठूलो खतरा छ।  

रुस यतिखेर यस्ता आणविक भट्टीहरू आफ्नो कब्जामा राखेर विश्वलाई आतंकित गर्ने डरलाग्दो खेल खेलिरहेको छ। त्यस्तै ऊर्जाका ठूला संरचना जलविद्युतका ठूला बाँधसमेत ओगटिएको बताइन्छ। यसरी ऊर्जाका लागि बनाइएका ठूला संरचना कुनै सन्की शासकका लागि मानवताविरुद्ध हतियार बनेर सोझिन सक्ने दुःखद परिस्थितिले विश्वलाई ठूला ऊर्जा संरचना निर्माणमा सोच्न बाध्य बनाएको छ।  

अमेरिकी गुप्तचर संस्थाका अनुसार रुसले रासायनिक र बायोलोजिकल हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ। त्यो अन्तर्राष्ट्रिय कानुनविरुद्ध हुने बताइएको छ। रुसले यस्तो आक्रमण गरे त्यो केमिकल विपंस कन्वेंसन १९९७ विरुद्ध ठानिनेछ जुन सन्धिमा विश्वका १९३ राष्ट्रले हस्ताक्षर गरेका छन्।

सक्कली राष्ट्रवाद  

नक्कली र मौसमी राष्ट्रवाद पटक,पटक देखे/झेलेका हामीले आफ्नै जीवनकालमा सक्कली राष्ट्रवाद बुझ्न र देख्न पाइयो युक्रेनको यो दुःखद युद्धमा। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले यतिखेर विश्वभरिबाट बाक्लो समर्थन पाइरहेका छन्। देशभक्ति र वीरतापूर्ण जुझारूपनले उनलाई युक्रेनको मात्र नभएर विश्वकै ठूला क्रान्तिकारी बनाएको छ। उनको वीरगाथालाई सबैले सुन्ने र सम्मान गर्ने गरेको पछिल्लो उदाहरण हो उनको ऐतिहासिक सम्बोधन चाहे त्यो बेलायतको संसद वेस्ट मिनिस्टरमा होस्, चाहे क्यानडाको संसद्मा, चाहे जर्मनको संसद्मा। त्यो वीरतापूर्ण भर्चुअल सम्बोधन विश्व उनीसँग भएको बलियो प्रमाण हो। संसदलाई स्तब्ध बनाएर विस्टन चर्चिलको दोस्रो विश्वयुद्धकालीन सम्बोधनलाई दोहोर्‍याएका जेलेनेस्कीले साराको मन जित्दै भने, ‘हामी समुन्द्रमा लड्नेछौँ, हावामा भिड्नेछौँ, जंगलमा उफ्रनेछौँ, मैदानमा डुक्रिनेछौँ। जुनसुकै मूल्यमा हामी लडिरहनेछौँ।’ उनले यसो भनिरहँदा बेलायतको संसद् भवन स्तब्ध भयो। सबैले उठेर ताली बजाइरहे कर्तल ध्वनिमा समर्थन गरिरहे।  

उनले विश्वलाई अनुरोध गर्दै भने, ‘कृपया आततायी पुटिनको नृशंस युद्धको पन्जाबाट युक्रेनी जनतालाई जोगाउन पश्चिमले तुरुन्त रुसविरुद्ध अझ कडा आर्थिक नाकाबन्दी लगाओस्। नाटोले यथाशीघ्र युक्रेनी आकासलाई उडान निषेधित क्षेत्र घोषणा गरोस्।’

कति प्रेरणादायी, कति उत्प्रेरक थियो त्यो ऐतिहासिक सम्बोधन। नेता हुन धेरै वर्ष जेल बस्नुपर्ने रहेनछ। नत क्रान्तिकारी हुन हजारौँ निरपराधको टाउको छप्काउन पर्ने रहेछ। सामन्ती भन्दै दुई चार बिघा जग्गा हुनेलाई खुकुरी चलाउनुलाई क्रान्तिकारी भनिएको छ। मात्र ४४ वर्षे एउटा हाँस्य कलाकार नै काफी रहेछ देश बचाउन। साँचो राष्ट्रवाद देखाउन।  

हामीलाई वर्षौँदेखि नक्कली र मौसमी राष्ट्रवादको उन्मादी तुफानले एकापसमा लड्न भिड्न सिकायो। कहिल्यै सिकाएन देश बनाउन। देशभक्ति के हो? तीन वर्षदेखि संसद्मा दर्ता भएको एमसिसी अनुदानलाई निरर्थक बहसले सडक तताएर श्रीलंकाको उदाहरण दिएर दिग्भ्रमित बनाउने राष्ट्रवादीहरूले आज चीनको मिटर ब्याजको सांग्लोमा परेको श्रीलंकाबाट पाठ सिक्न जरुरी छ।  

अब बुझाउन यतिखेर एउटा युवा हाँस्यकलाकार देशले खोजिरहेको छ। एउटा युवा नायक, महानायक अगाडि आओस् जसले जोड्न सकोस्, भत्किएका मनहरूलाई। जसले मलमपट्टी गरोस् दुखेका मुटुहरूलाई। पाता कसोस् भ्रष्टाचारीहरूलाई।

ऊर्जाको बढ्दो माग

ऊर्जाको बढ्दो माग र मूल्यलाई कसरी सन्तुलन गर्ने र अर्थतन्त्रलाई कसरी सन्तुलितरूपमा चलाउने भन्ने विषयमा अत्तालिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी तेल र प्राकृतिक ग्यासमाथि लगाएको प्रतिबन्धपछि ऊर्जाको माग सन्तुलनका लागि साउदी अरबको भ्रमण गर्दै गर्दा बेलायतको प्रख्यात दैनिक पत्रिकाको मुख्य पृष्ठमा ‘डिल्स विथ अनादर डेविल’ अर्को सैतानसँग सम्झौता शीर्षकमा रचेल वेरमथ लेख्छन्, ‘बोरिस जोन्सन साउदी अरबको भ्रमण गर्दैछन् आसन्न ऊर्जा संकटबाट बेलायती अर्थतन्त्रलाई जोगाउन।’ यो अभियानको विरुद्धमा केर स्टेमर टिप्पणी गर्छन्, ‘एउटा तानाशाहपछि अर्को तानाशाहसँग सम्झौता गर्नु ऊर्जा भविष्यको राम्रो नीति किमार्थ होइन।’

सन् २०२० मा बोरिस जोन्सनले सन् २०३५ सम्म बेलायतलाई सम्पूर्णरूपमा नवीकरणीय ऊर्जामा बदल्ने प्रण गरेका थिए। जुन यतिखेरको विश्व परिवेशले त्यो प्रतिज्ञा पूरा नहुने देखिन्छ। सत्ता पक्षको वातावरणीय प्रभावको खण्डन गर्दै लेबर पार्टीका नेताहरू सरकारले सौर्य, वायु ऊर्जालाई पर्याप्तरूपमा लगानी गर्नुपर्ने तर्क गर्छन्। बेलायतको ऊर्जा मिश्रणअनुसार १६% न्युक्लियर पावरमा आधारित छ जबकि यो छिमेकी फ्रान्समा ७१% देखिन्छ। नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन २०७२/७३ मा सन् २०३० सम्ममा नेपालमा ४६१४.४ मेगावाट ऊर्जा आवश्यक पर्ने प्रक्षेपण गरेको छ। त्यस्तै एसियाली विकास बैंकले गरेको अर्को अध्ययनअनुसार नेपालमा वार्षिक ८.५ प्रतिशतका दरले ऊर्जाको माग बढ्ने जनाइएको छ।

ऊर्जा दक्षता

ऊर्जा कमीले आक्रान्त यो विषम परिस्थितिमा चिसो युरोपका देशहरूलाई हिटिङ बिलले सबैलाई पिरोलेको देखिन्छ। यो अत्यधिक बिललाई घटाउन ऊर्जा दक्षता एउटा ठूलो उपाय हो। हिटिङ बिल घटाउन सबै घरलाई इन्सुलेसन गर्नु सबै भन्दा राम्रो उपाय हो। बेलायतका १९ मिलियन घरलाई इन्सुलेसन गर्दा प्रतिघर ४०० पाउन्ड प्रतिवर्ष कम लाग्ने हुन्छ। यसले बेलायतको ग्यास आयातलाई १५ प्रतिशतले घटाउँछ। त्यस्तै अनुपातमा कार्बन न्यूनीकरणसमेत भई बायुमण्डल सफा देखिन्छ। अत्यधिक ऊर्जा खपत हुने क्षेत्रको एउटा उदाहरणका लागि सिमेन्ट उद्योगलाई लिन सकिन्छ। अहिलेसम्म हामीकहाँ परम्परागत ढंगबाट सिमेन्ट उत्पादन गर्ने प्रणाली रहँदै आएको छ। यसबाट वातावरण प्रदूषण हुनुका साथै अत्यधिक ऊर्जा खपत हुँदै आएको छ। तर यसलाई न्यून गर्न केही समयअघिदेखि प्रयास गरिएको ऊर्जा दक्षताको अभिवृद्धि गर्दा धेरै सकारात्मक परिणामहरू देखिएका छन् विश्वका धेरै ठाउँमा।

उद्योग मन्त्रालयले गरेको एक अध्ययनअनुसार, मुलुकभर रहेका सातसय भन्दा बढी इँटा उद्योगले परम्परागतरूपमा इँटा उत्पादन गर्दा करिब ९३ हजार मेट्रिकटन कोइला र ७७ हजार मेट्रिकटन दाउरा खपत गर्ने गर्छन्। यसले वायुमण्डलमा हुने वायुप्रदूषणमा झण्डै एकतिहाइ हिस्सा ओगट्ने गर्छ। तर होलो ब्रिक प्रविधिबाट इँटा उत्पादन गर्न सकिएमा ३० प्रतिशत ऊर्जा बचत हुने मन्त्रालयको ठम्याइ छ।

आधुनिक ऊर्जा दक्षता बढाउने उपायहरू अपनाएर उत्पादन लागत घटाउनका साथै प्रतिटन सिमेन्ट उत्पादन गर्दा लाग्ने बिजुली, कोइलालगायतका अन्य पेट्रोलियम पदार्थको अनुपात घटाउन सकिन्छ। धेरै टाढा नगइकन हाम्रा दुई छिमेकी भारत र चीनमा उपलब्ध प्रविधिलाई मात्र नेपालका सिमेन्ट उद्योगहरूले अपनाउने हो भनेमात्र ६ महिनामा ठूलो मात्रामा बिजुली जोगाउन सकिन्छ। त्यो अनुपात १० वर्षदेखि कुरिरहेर हालै सम्पन्न भएको १४ मेगावाटको कुलेखानी तेस्रो भन्दा बढी हुनेछ। नेपाल सरकारको यतापट्टि ध्यानाकर्षण हुन आवश्यक छ। विश्वको वर्तमान ऊर्जा सङ्कटबाट नेपालले पनि समयमै पाठ सिकेर ऊर्जा सुरक्षा, ऊर्जा मिश्रण, ऊर्जा दक्षता, ऊर्जा अडिटिङ जस्ता कामलाई एउटा ठूलो आवश्यकता सम्झेर युद्धस्तरमा लागु गर्न ढिला गर्नुहुँदैन।  

प्रतिमेगावाट बिजुली बनाउनु भन्दा जोगाउन सस्तो, सजिलो, छिटो र वातावरणीयरूपमा राम्रो मानिन्छ। ऊर्जाका ठूला संरचनाहरू मानवताविरुद्ध युद्धको ठूलो हतियार बनेर पड्काइन सकिने खतरा बढिरहेको वर्तमान अवस्थामा विश्वले ऊर्जाको महत्वलाई हृदयंगम गर्दै ससाना संरचना बनाउनुपर्छ। नवीकरणीय ऊर्जाको धेरै प्रयोग गरौँ। ऊर्जा सुरक्षालाई बढी ध्यान दिउँ। युक्रेनको ग्रिडमा रुसको प्रत्यक्ष नियन्त्रण रहेको तथ्य आश्चर्य र अचम्मलाग्दो दुवै थियो। भर्खरै इन्जिनियरहरूले युक्रेनलाई युरोपको धेरै भागमा फैलिएको बिजुली ग्रिडसँग जोडेका छन् जसले युक्रेनलाई आक्रामक रुसबाट आफ्नो पावर प्रणालीलाई छुट्कारा मिलेको बताइन्छ। ऊर्जाका लागि हदैसम्मको परनिर्भरताले छिमेकीसँगको सम्बन्ध बिग्रन सक्ने सन्देश यो युद्धले दिएको छ।  

(लेखकले ‘नेपालको ऊर्जा सङ्कट र नवीकरणीय ऊर्जा र अन्य उपायबाट गरिने समाधान’ विषयमा बेलायतको स्वन्जी युनिभर्सिटीको इलेक्ट्रिकल/इलेक्ट्रोनिक इन्जिनियरिङ डिपार्टमेन्टबाट पिएचडी गरेका छन् भने त्रिवि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एमएस्सीका इनर्जी इकोनमिक र प्लानिङ विषयका अतिथि लेक्चररसमेत हुन् ।)

प्रकाशित: १२ वैशाख २०७९ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App