९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

‘बनाना रिपब्लिक’ को यात्रा

हालै भेटिएका एक प्रबुद्ध व्यक्तिका कुरा सुन्दा मुलुक चिन्ता गर्नुपर्ने ठाउँमा पुगिसकेको अनुभव हुन्छ।

‘अब छोराछोरी यो देशमा राखेर काम छैन,’ उनी भन्छन्, ‘हाम्रो आफ्नो भविष्य सकियो, कम्तीमा विदेशमा भए भने तिनले त सुख पाउँछन्।’ उनले फेरि एकपटक सुस्केर हालेर भने, ‘यो देशको भलो हुनेवाला छैन।’

सेकालाई केही थाहा हुँदैन। तिनका लागि यो देश उत्कृष्टताको हदमा पुगिसकेको छ। उहिले पञ्चायतले ‘एसियाली मापदण्ड’ भन्थ्यो। अहिले यिनले सिंगापुर वा स्विजरल्यान्डभन्दा तलको कुरा गर्दैनन्। यिनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा भइसकेको छ।

प्रत्येक एउटा चेतनशील मानिस अब यो देशबाट भाग्नुपर्छ भन्ने मानसिकता बनाउन पुगेको छ। जहाँ गए पनि निराश मानिस भेटिन्छन्। घर, चोक, चौतारा जहाँसुकै मानिसहरू यही निराशा बोलिरहन्छन्। उहिले राजाहरू जनताका कुरा बुझ्न भेष बदलेर जान्थे। अहिले भेष बदल्नुपरेको छैन। सबैले खुलेर बोलिरहेका छन्।

सामाजिक सञ्जालका भित्तामा चिहाए पनि हुन्छ। पत्रिकाका पाना पल्टाए पनि हुन्छ। अहिले आँखामा पट्टी लागेको हुनाले राजनीतिक नेतृत्वले यस्तो केही देख्दैन। हामी दैनिक मानिससँग अन्तरक्रिया गरिरहेका हुन्छौँ। ट्याक्सी चालक, हजाम, फुटपाथ पसले, सर्वसाधारण आदिलाई भेट्दा कोही खुसी देखिँदैनन्। यी मानिसका कुरा सुन्दा एउटा अर्को विद्रोहले प्रतीक्षा गरिरहेको आकलन हुन्छ। यस्ता कुरा बालुवाटार, खुमलटार, कोटेश्वर, बालकोटतिर थाहा हुँदैन।

त्यहाँ सुरक्षाकर्मीको बीचमा बस्दा संसारै सुगम देखिन्छ। जताततै विकासको मूल फुटेको देखेर ती अभिभूत हुन्छन्। पछाडि धारेहात लगाए पनि अगाडि भेटिने मानिसले स्वस्ती गरिहाल्छन्। हालै मुलुकका एक ठूला नेतालाई भेट्न जानुपर्ने भयो। पहिलो तिनको समय मिलाउनै हम्मे। त्यसपछि तिनीसम्म पुग्न सुरक्षाका तगारा पार गर्नुपर्‍यो।

यिनलाई कसले के गर्छ र ? यत्रो ठूलो ठस्सा लोकतन्त्रका नेतामा देखिनु उही राजतन्त्रको छोटे रूप देखिनु हो। उनी अत्यन्त हतारमा छन्। बोल्न समेत फुर्सद छैन। झण्डै झर्कोफर्कोको स्तरमा ती पुग्छन्। हामीजस्ता केही माग्न नजानेका निम्ति त यो अवस्था छ भने आममानिसले आफ्ना काम कसरी गराउँदा हुन् ? ‘विनाशकाले विपरीत बुद्धि’ भनेको यही हो। नेताहरूमा हिजोको त्यो हार्दिकता कहाँ गयो होला ?

अचेल सरकार चलाउने दलका नेताहरू बेफुर्सद छन्। तिनले सबैभन्दा बढी कमिसन एजेन्टलाई भेट्छन्। पदहरूको खरिद बिक्री गर्छन् र सबैतिरबाट कमाइ गर्छन्। एउटा राजदूत पदको मूल्य केही करोड रुपियाँसम्म पर्ने रहेछ। देश र ठाउँ हेरी तिनले मोलमोलाइ गर्छन्। राजदूत हुनेले पनि केही वर्षमा करोडौँ जम्मा गरेर फर्किन्छ र फेरि अर्को पद किन्छ।

मुलुकको एउटा ठूलो सरकारी संस्थानमा हालै एउटा नियुक्ति भयो। ती व्यक्ति पूर्ववर्ती केपी शर्मा ओली सरकारको पालामा पनि प्रिय थिए। अहिले शेरबहादुर देउवा सरकारले पनि तिनैलाई छान्यो। सबै दल र नेतालाई प्रभावित गर्न सक्ने शक्ति पैसाबाहेक अरू केही छैन। त्यही पैसाको योग्यताले नियुक्ति गरायो। अरू हेरेको हेर्‍यै भए।

भर्खरै घटित गभर्नर काण्डले पनि यसको पुष्टि गरिसकेको छ। विदेशबाट पटक–पटक ल्याएको शंकास्पद करोडौँ रुपियाँको छानविन गर्न अग्रसर भएबापत गभर्नर महाप्रसाद अधिकारी यतिबेला निलम्वित भई अनुसन्धानमा छन्। अनुसन्धान तिनैले गर्दैछन्, जो माओवादी केन्द्रसँग निकट छन्।

रमाइलो पक्ष के भने यस्तो रकम ल्याउने पात्रलाई राज्यले २०७४ सालमै नक्कली भारुसहित समातेको रहेछ। त्यो समाचार यही दैनिकले समेत छापेको छ। राज्यले कारबाही गरेर असुल गर्नुपर्ने त्यस्ता पात्रले गभर्नरलाई नै घर पठाइदिए। अचेल मुलुकमा केही कमिसन एजेन्टहरूको चकचकी छ।

त्यसैले सरकारमा जुनसुकै दल पुगे पनि निर्णय तिनले गराउँछन्। आकास–पाताल जोड्न जान्ने तिनै कमिसन एजेन्टका कारण वर्तमान राजनीतिक प्रणाली धरापमा पर्दैछ। यहाँका सबै मानिसले एकअर्कालाई देखेका छन्। सबैले सबैलाई चिनेका छन्। हाम्रो जस्तो केही सय मानिसले रजगज गरेको देशमा सबैले गरेका काम राम्ररी थाहा हुन्छ।

अचेल कुनै पनि नियुक्ति दुई किसिमले हुन्छ। एक, लिलाम बढाबढ। दुई, नातागोतालाई पजनी। लोकतन्त्रमा असल मानिस खोजेर नियुक्ति गर्ने प्रचलन हुन्छ। त्यसका निम्ति आवश्यक विशेष व्यक्तिको रोस्टर तयार हुन्छ। त्यसैका आधारमा विचार गरेर मानिस नियुक्ति हुन्छ।

हाम्रो ‘केरा गणतन्त्र’ मा संस्थागत रोस्टर हुँदैन। नेतासँग व्यक्तिगत रोस्टर हुन्छ। तिनले आफ्ना नातेदारलाई नियुक्ति गर्न बनाएको रोस्टरका आधारमा काम हुन्छ। हालै राजदूत नियुक्तिका निम्ति सिफारिस भयो। केही नेताका ज्वाइँहरू योग्यतम उम्मेदवार बने। ज्वाइँसापहरू भाग्यमानी हुन् जसका आफन्त यतिबेला निर्णायक ठाउँमा छन्।

‘कहाँ पोखियो घिऊ आफ्नै भागमा’ भनेको यही हो। यतिबेला नेपालमा श्रीलंका चर्चित छ। हामीकहाँ देश श्रीलंका हुन लाग्यो भन्ने चासो पनि छ। नेताहरू उफ्रीपाफ्री गर्दै भन्दैछन्–‘नेपाल श्रीलंका हुनै सक्दैन।’

नेपाललाई श्रीलंका बनाउने एउटा तत्व परिवारवाद पनि हो। श्रीलंकाको राजापक्षे परिवारका मात्र ४० जनाभन्दा बढी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि राज्यका अन्य उच्च स्थानमा रहेका छन्। हामीकहाँ पनि झण्डै परिस्थिति त्यसरी नै विकास भइरहेको छ। सकेसम्म आफ्ना नातालाई पद दिनु नभए बिक्री गरेर भए पनि त्यसबापतको रकम जम्मा गर्नु अहिलेको नियति भएको छ।

अहिलेको राजनीतिक नेतृत्व असफल भइसक्यो। अब यो वा त्यो दल भन्ने पनि काम छैन। सिद्धान्त नभएको राजनीति र त्यो राजनीतिलाई नेतृत्व गर्ने मुलुकको नेतृत्वले आशा जगाउन सक्दैन। जुनसुकै दलको नेतृत्व सरकारमा गए पनि काम गर्ने शैली उही छ। उही नातावाद, कृपावाद, परिवारवादले जेलिएको राजनीति नेतृत्वबाट मुलुकको लोकतन्त्र जोगिँदैन।

अब एकपटक फेरि केही झिल्काको मात्र आवश्यकता छ। डँढेलो लाग्न ठिक्क भएको छ यो मुलुकको परिस्थिति। तत्कालका लागि मुलुकमा वैकल्पिक राजनीतिको सम्भावना पनि देखिएको छैन। बहालवाला राजनीतिक दलहरू मात्र होइन, भर्खर उम्रिँदै गरेका तीनपाते पार्टीमा समेत यही समस्या छ।

वैकल्पिक राजनीति भनेर नथाक्ने दलभित्रको गुटबन्दीले समेत असफलता देखाइसकेको छ। विवेकशील साझा नामको दलमा घुसेको अविवेकी व्यवहार यसको उदाहरण हो। मुलुकको राजनीतिमा आफू र परिवारभन्दा माथि उठेर काम गर्न सक्ने राजनीतिक नेतृत्व आउने हो भने स्वाभाविकरूपमा त्यसले आशा जगाउन सक्छ।

स्थानीय तह निर्वाचनको मुखमा उभिएको देशले फेरि त्यस्तो राजनीतिको लहर ल्याउन सक्नुपर्छ। अहिले केन्द्रमा बसेका केही नेताले ठेकेदारी गरेर स्थानीय तहका निम्ति उम्मेदवार बनाउन खोज्दै छन्। मुलुक सुधार्ने हो भने मतदाता सुध्रिनुपर्छ। मासु र रक्सीमा मत साटिने स्थिति भयो भने फेरि पनि देशमा खराब नेतृत्व आउनेछ।

त्यसैले नेताले जस्तासुकै गठबन्धन गरुन् वा नेतृत्व दिउन्, वास्ता नगरी आफूले देखेका असल मानिसलाई चुनाव जिताउने गरी मतदाताले ध्यान नदिने हो भने परिस्थिति सुध्रिँदैन। अब यो देशमा पार्टी हेरिरहनु आवश्यक छैन, त्यसमा पनि स्थानीय तहमा काम गर्न सक्ने इमान्दार व्यक्तिलाई मात्र हेरे पुग्छ।

खासमा अहिले देशमा जताततै किनबेच मात्र भइरहेको छ। निर्वाचनमा मतदाताले आफ्नो मत बेच्ने हो भने त्यसले गतिलो नेतृत्व ल्याउँदैन। अहिले सार्वजनिक भइसकेको छ–निर्वाचन कति महँगो भइसक्यो भन्ने पक्ष। अहिले नेपाली कांग्रेसका नेता डा. सशांक कोइराला निर्वाचन खर्चसम्बन्धी आफ्नो खुलासाका कारण भाइरल भइरहेका छन्।

उनले भनेका छन्– ‘पहिलो चुनाव (२०६४) मा मेरो खर्च ८० हजार रुपियाँ भएको थियो। दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड... ल भन्नुस् त तपाईँहरू मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुहुन्छ ? म छोड्न तयार छु।’

डा. कोइरालाले त आफूलाई लागेको कुरा भने। सबैले यसरी नै खर्च गरेका छन्। अरू नबोली खर्च गरिरहेका छन्। खर्चको जोहो पनि गरिरहेका छन्। निर्वाचन आयोगले तोकेको मापदण्ड विपरीत खर्च गरेर निर्वाचित हुने नेताले देश बनाउँछ कि आफू र आफ्नो परिवार ? यसकारण पनि खर्च गरेका भरमा नेतृत्वमा पुग्ने परम्परा बन्द गराउनु आवश्यक भइसकेको छ।

जताबाट हेरे पनि भ्रष्टाचारमात्र देखिन थालेको अहिलेको परिस्थितिबाट देशलाई मुक्त गराउनुपर्ने भइसकेको छ। संयोगले ती व्यक्रि देशमा भ्रष्टाचार भएको थाहा पाउनेमध्येका एक रहेछन्। अनुसन्धान गर्ने ठाउँमा रहिसकेका पनि हुन्।

उनले औँलो भाँच्दै एक–एक नेताका नाम लिए। यीमध्ये कसैलाई पनि विश्वास गर्न नहुने उनको निष्कर्ष छ। उनलाई भेटिसकेपछि म मनमनै गमेँ–यो देशका शासकहरूलाई फेरि दशा लागेको छ। यिनलाई लागेको अमत्याइँले देशलाई अर्को दुर्घटनातिर लैजाने निश्चित छ।  

प्रकाशित: ४ वैशाख २०७९ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App