तिते संक्रान्ति
नेपाल मण्डलका नेवारहरूले नेपाल संवतनुसार प्रत्येक वर्ष नयाँ वर्ष तिहारको गोवद्र्धन पूजाको दिन मान्दै आइरहेका छन्। तर सो समुदायमा विक्रम संवतनुसारको नयाँ वर्ष वा वैशाख संक्रान्तिलाई तिते संक्रान्तिका रूपमा मनाउने गरिन्छ।
यो दिन नेवारहरूले तिते संक्रान्ति (खाई संल्हु) मान्ने क्रममा तितो क्वाँटी खाने गर्छन्। यो संक्रान्तिलाई मेष संक्रान्ति पनि भनिन्छ। १२ महिनाको पहिलो महिनाका रूपमा वैशाख र १२ राशिमा पहिलो राशिका रूपमा मेष राशिलाई लिइराखेकाले पनि यो महिनाको संक्रान्तिलाई मेष संक्रान्ति भनिएको हो।
नेवारहरूले भने तिते संक्रान्तिका रूपमा मान्दै आएको यो नयाँ वर्षमा विभिन्न किसिमका औषधीय गुण भएका गेडागुडी र हरिया सागपात राखेर क्वाँटी बनाई खाने चलन छ। यसरी खाने क्वाँटीमा कोइरालो, तितो फलका पालुवा, सिलिकानको पात, सानाठुला केराउ, नीमका पात, मुलाको सुकुटी, मुलाको बिउ, भुटेको चामलको पिठो, प्याज, छ्यापी र विभिन्न किसिमका सागपात पनि राखी पकाइएको हुन्छ।
बौद्ध योगतन्त्रअनुसार यसरी तितो क्वाँटी पकाएर खाँदा वर्षभरि हाम्रो शरीरमा रहिआएको हानिकारक कीटाणु मर्नुका साथै पेट सफा भई विभिन्न रोग आदिबाट बच्न सकिन्छ। त्यसकारण पनि नयाँ वर्षमा तितो क्वाँटी खाने चलन चलेको हो। वैशाखको समय ज्यादै गर्मी हुने भएकाले विभिन्न किसिमका रोगव्याधि लाग्न सक्ने भएकाले हाम्रा पुर्खाहरूले यसरी तितो क्वाँटी खाने चलन चलाएका हुन्। तर यो चलन हाल आएर सहरबजारतिर त लगभग हराइ नै सक्यो। कतैकतै गाउँघरमा यो चलन अद्यापि रहिआएको छ।
टोखाको सपनतीर्थ
हरेक वर्ष चैत्र मसान्तका दिन उपत्यकाको चारैतर्फ रहेको शिवपुरी डाँडामा बास बसेर बिहान सबेरै बागद्वारमा नुहाएर नयाँ वर्ष वैशाख १ गते टोखाको सपनतीर्थमा नुहाए सबै पाप नष्ट भई पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास छ। सपनतीर्थमा नुहाउने मेला किन लाग्यो भन्ने सम्बन्धमा एउटा किंवदन्ती छ।
परापूर्वकालमा टोखाका राजा सत्वन्तका सात छोरीमध्ये ६ वटीको विवाह भइसकेपछि कान्छी छोरी केशरी मैयाँले बाबुले जोसँग विवाह गरिदिनुहुन्छ उसैसँग जान्छु भन्छे। राजाले ख्यालठट्टा गर्दै भने, ‘त्यसो हो भने तिमीलाई ऊ त्यो परको पाटीमा बस्ने महारोगीसँग विवाह गरिन्छु, हुन्छ?’ राजकुमारी केशरी मैयाँले पनि हुन्छ भनी जवाफ दिइन्।
राजाको मुखबाट निस्केको कुरालाई फरक पार्ने त कुरै भएन। त्यसमा पनि छोरी केशरी मैयाँले पनि हुन्छ भनेकीले कसको के लाग्छ ? त्यसैले राजाले उही महारोगीसँग आफ्नो छोरी राजकुमारीको विवाह गरिदिन्छन्। विवाहपछि एउटा नयाँ सानो घर बनाएर राजकुमारी दम्पतीलाई राखिन्छ।
एक दिन एउटा गोठालाले आफ्नो गालामा बस्न आएको एउटा फट्यांग्रोलाई समाएर हातखुट्टा भाँचेर नजिकै रहेको सपनतीर्थमा फालिदिन्छ। तर आश्चर्य! यसरी हातखुट्टा भाँचेर फालेको त्यो फट्यांग्रोको हातखुट्टा सग्लो भई हिँडेको देखिन्छ। यस्तो क्रियाकलाप हेरिरहेका त्यही महारोगी सपनतीर्थ गई नुहाउँदा अत्यन्तै राम्रो सुन्दर युवकमा परिवर्तन भइदिन्छ। सोही बेलादेखि सपनतीर्थमा नुहाउने मेला लागेको हो भनिन्छ। राजकुमारी केशरी मैयाँले आफ्ना पतिको रोग मुक्त गरिदिएको सपनतीर्थको छेवैमा सपन विनायक गणेशको स्थापना गरिदिइन्।
सपनतीर्थमा नुहाउने मेला सकिएपछि टोखा देशको रक्षाका लागि स्थापना गरिराखेको मसान कालीलाई पूजा गर्ने क्रममा जति पनि अन्न यो धरतीमा उब्जिन्छ, सबै अर्थात् १०८ थरी अन्न, जिउँदो एक जोडी माछा, सर्प, परेवा र कालो बोकासमेत ह्वारह्वार बलिरहेको आगोमा होम र यज्ञ गरिन्छ। यसरी होम गर्दा देशमा कुनै पनि किसिमको वाधा व्यवधान नआउने र प्रलय पनि नहुने जन विश्वास छ।
टोखाको बिस्का जात्रा
बिस्का जात्रा भन्नेबित्तिकै भक्तपुरको बिस्का जात्रा भन्ने सबैले ठान्छन् तर टोखामा पनि बिस्का जात्रा मनाइँदै आइरहेको छ भन्ने कुरामा प्रायः धेरैको ध्यान नजान सक्छ। हरेक वर्ष टोखामा बिस्का जात्रा मनाउने सन्दर्भमा चैत्र मसान्तका दिनदेखि वैशाख ४ सम्म विभिन्न किसिमका जात्रा गर्ने चलन छ। टोखामा बिस्का जात्रा ३२ हातको लिंगो ठड्याएर सुरु गरिन्छ। सपन गणेश, च्वय् (माथिल्लो) गणेश, क्वय् (तल्लो) गणेश, पिगंद्यः (मसान काली), इन्द्रायणी, चण्डेश्वरी र महादेवको खट जात्रा गरिन्छ।
टोखाको लाछी टोलमा लिंगो ठड्याएर मनाइने बिस्का जात्राको एउटा किंवदन्तीअनुसार टोखाका बासिन्दाहरू सन्ध्याकालीन समयमा ओहोरदोहोर गर्दा मसान काली स्थानमा पुग्दा जसको देवीसँग आँखा जुध्छ, उसको मृत्यु हुन थाल्यो।
यस्तो डरलाग्दो घटनाबाट बच्न काठमाडौंका तान्त्रिकसँग सल्लाह गर्दा त्यो तान्त्रिकले आफ्नो तन्त्र शक्तिबाट त्यस मसान कालीलाई आफ्नो वशमा पारी टाउकोको जुम्रा हेरिदिन्छु भनी फकाएर टाउकोदेखि भुइँसम्म गाडिनेगरी किला ठोकिदिन्छ। अनि त्यो कालीलाई जमिनभित्रै स्थिर गरी राख्न कर्र्माचार्य थरका पुजारी राखेर हरेक वर्ष यस्तो पूजा र जात्रा चलाइएको हो भनिन्छ।
टोखाको बिस्का जात्रामा हाँडीगाउँमा जस्तै गहना खोज्ने जात्रा पनि गरिन्छ। वैशाख २ गते मसान कालीमा बालिकाहरूलाई मरःजा खुवाइने गरिन्छ भने ३ गते सिन्दूर जात्रा गर्दै देवताको खट जात्रा र ४ गते मुख्य जात्रा मनाउँदै साथीभाइ, इष्टमित्र आफन्तहरूलाई आमन्त्रित गरेर भोज खुवाउने गर्छन्। जात्राको अन्तिम दिन वैशाख ५ गते ठड्याइराखेको लिंगो ढालेर जात्राको समापन गरिन्छ।
प्रकाशित: १ वैशाख २०७९ ०५:४८ बिहीबार

