११ कार्तिक २०७८ बिहीबार
विचार

महत्वाकांक्षी निमित्त नायक

महत्वाकांक्षा, चतुर्या्इँ र केही हदसम्म भाग्यले सूर्यबहादुर थापाको व्यक्तित्व बनाएको हो। नेपालको राजनीतिमा वैयक्तिक छाप र अस्तित्व राख्न सफल थोरै व्यक्तिमध्येमा पर्छन् सूर्यबहादुर थापा (सूबथा)। पञ्चायतमा थापाले जति धेरै मौका अरूले पाएनन् भने उनले जति चुनौती पनि अरू कसैले सामना गर्नुपरेन। ( राणा शासनको अन्त्यपछि नेपालको इतिहासमा बीपी कोइराला, सूर्यबहादुर थापा, मरिचमान सिंह र शेरबहादुर देउवा 'बर्खास्त' गरिएका प्रधानमन्त्री हुन्।कोइराला, थापा र सिंह एक एकपटक अनि देउवा दुई पटक बर्खास्त गरिएका थिए। अरू प्रधानमन्त्रीले बाध्यतावश पदबाट हट्नुपर्दा पनि राजीनामा दिने मौका पाएका थिए।) पहिलो जनआन्दोलनपछि पनि थापा दुईपटक प्रधानमन्त्री भए। पहिलोपटक नेपाली कांग्रेसको समर्थनमा र दोस्रोपटक राजाको निगाहमा। जीवनको उत्तरार्धमा पनि उत्तिकै सक्रिय र चतुर देखिने थापाको मूल्यांकन भने मूलतः पञ्चायती राजनीतिकै आधारमा गर्नुपर्छ।

जनक्रान्ति र निर्वाचन दुवैबाट स्थापित विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्वको दाँजो लाग्नसक्ने व्यक्तिको खोजीमा रहेका राजा महेन्द्रले केही महत्वाकांक्षी युवालाई जम्मा गरेर सामूहिक शक्ति जुटाई कोइरालालाई चुनौती दिन सकिने ठानेको हुनुपर्छ। उनले त्यसभन्दा पहिले नै टङ्कप्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, डा. केआई सिंह, डा. दिल्लीरमण रेग्मीजस्ता स्थापित पाका राजनीतिक नेतालाई बीपी कोइरालाविरुद्ध र विकल्पमा प्रयोग गरिसकेका थिए। तिनीहरू सबै विफल भएपछि राजा महेन्द्रले एकातिर बीपीका विश्वासपात्रहरूलाई साथमा लिने र अर्कातिर आफ्नै विश्वासपात्रको जमात बनाउने तथा स्थापित गर्ने प्रयत्नमा लागेको देखिन्छ। विश्वबन्धु थापा र डा. तुलसी गिरीलाई राजाले प्रयोग गरे पनि एकपटक विश्वासघात गर्नेहरूमाथि पूरै भर नपर्नु अस्वाभाविक थिएन। यही क्रममा सूर्यबहादुर थापालाई उनीहरूको पनि विकल्पमा दरबारले प्रयोग गरेको देखिन्छ। ( विश्वबन्धु कहिल्यै प्रधानमन्त्री हुन पाएनन् भने सूर्यबहादुर थापा पटकपटक प्रधानमन्त्री भए। सूबहादुरको उदय हुँदा विश्वबन्धु ओझेलमा पर्ने गरेको देखिएको छ। दरबारलाई घुर्की लगाउन सूर्यबहादुरले इटुम्बहालमा भाषण गरेका थिए। त्यसपछि उनलाई पत्रे्कर थुनिएको थियो। तर यसभन्दा पहिले नै पञ्चायतका बौद्धिक हस्तीहरू तुलसी गिरी, विश्वबन्धु र हृषिकेश शाह पनि ‰यालखानामा परिसकेका थिए। तर सूर्यबहादुरले भने दरबारको एउटा समूहसँग (स्थायी सत्तासँग) सम्बन्ध बलियो बनाएका थिए। त्यसले गर्दा दरबारमा उनको पक्षधर रही नै रहे। कांग्रेसी संस्कारमा दीक्षित विश्वबन्धु थापाले सम्भवतः यस्तो चतुर्यासइँ गर्नै जानेनन् वा चाहेनन्। एउटा रमाइलो संयोगले सूर्यबहादुर र विश्वबन्धुको चरित्र उजागर हुन्छ। बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि विश्वबन्धु दसैंमा टीका लगाउन पुगे। कोइराला परिवारकै सदस्यका रूपमा हुर्केका विश्वबन्धुका लागि त्यति बेला प्रधानमन्त्रीपछिको सबैभन्दा शक्तिशाली पद गाउँफर्क राष्ट्रिय अभियानको अध्यक्षभन्दा बीपीप्रतिको लगावले बढी तान्यो। त्यति नै बेलातिर २०२८ सालको विद्रोहपछि पन्छाइएका सूर्यबहादुर थापा भने दरबारको इसारामा बीपी कोइरालामाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने प्रस्तावको प्रस्तावक भए। यसरी उनले परेको बेलामा प्रयोग गर्न सकिने राजाको योद्धाको छवि बनाइराखे। )

राष्ट्रिय पञ्चायतले पञ्चायत व्यवस्था 'निर्विकल्प' भएको हृषिकेश शाहको प्रस्ताव पारित गरेपछि राजाले गाउँफर्क राष्ट्रिय अभियान घोषणा गरे। त्यसपछि 'जनताको नासो सुम्पेँ' भनेर थापालाई प्रधानमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्को अध्यक्षता गर्न छाडे। (त्यसपछि सायद, ज्ञानेन्द्रले मात्रै २०६१ मा मन्त्रिपरिषद्को अध्यक्ष हुने रहर गरेका थिए।) थापालाई दरबार र राष्ट्रिय पञ्चायत सदस्य दुवैलाई रिझाउनुपर्ने भयो। बिस्तारै, पञ्चायतभित्र गुटबन्दी बलियो हुँदै गयो। थापाको प्रभाव बढ्नुभन्दा पहिले नै राजाले उनलाई हटाए। राजाको कदमबाट खुनासिएका थापाले पनि प्रतिक्रियामा नेपालमा 'द्वैध शासन' रहेको भन्दै सार्वजनिक विरोध गरे। फलस्वरूप, २०३७ सालसम्म दिव्य बाह्र वर्ष सूर्यबहादुर थापा ओझेलमा परे।

तुलसी गिरी र विश्वबन्धु थापा पञ्चायतको मूलधारबाट पन्छेका बेला राजाले सूबथाको साथ लिएका र उनलाई जिम्मा दिएका थिए। कीर्तिनिधि विष्टले धान्न नसक्ने आकलन महेन्द्रले पनि गरेको हुनुपर्छ। कीर्तिनिधि राजाका लागि कामलाग्दा त थिए तर भरोसालाग्दा थिएनन्। महत्वाकांक्षी सूर्यबहादुर थापा काम फत्ते गर्न त सक्थे तर भरपर्दा थिएनन्। यसैले दरबारले उनलाई पटकपटक प्रयोग गर्योब। उनले पनि पटक पटक 'जोरी खोज्न' छाडेनन्। जनमत संग्रहको घोषणापछि पञ्चायतलाई जिताउन अपेक्षाकृत कम महत्वाकांक्षी कीर्तिनिधि विष्टका ठाउँमा कल, बल, छल गरेर आँटेको पुर्या उन सक्ने चतुर सूर्यबहादुर थापा उपयोगी भए।

जनमत संग्रहका बेला राजा र थापा दुवैलाई एक अर्काको खाँचो थियो। बहुदल हराउन थापाको चतुर्‍याइँको खुलेर प्रयोग भयो। बदमासी सबै थापाको ठहरियो र पञ्चायतलाई 'धाँधली' गरेर जिताएपछि शासन चाहिँ भारदारहरूको चल्यो। धन्न, महाभियोग लगाएपछि थापामाथि जनमत संग्रह कालका अपराधका लागि मुद्दा चाहिँ चलाइएन! –शाह राजाहरूको कृतघ्न स्वभाव हेर्दा त्यसो भएकै भए पनि आश्चर्य हुने थिएन। डा. तुलसी गिरीलगायत प्रभावशाली पञ्चहरूको तेजोबध गर्न 'गलैँचा काण्ड'मा मुद्दा चलाइएको थियो।

पञ्चायतलाई थापाले जिताए। नयाँ संविधान बनाएपछि चुनाव भयो। राजाले २०३६ साल पुस १ गते न ै— जनमत संग्रहमा जुन पक्षले जिते पनि बालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन, राष्ट्रिय पञ्चायतको सिफािरसमा प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी हुने घोषणा गरेका थिए। विसं २०३८ मा भने राजाले खुसीले भन्दा परिस्थितिजन्य बाध्यताका कारण राष्ट्रिय पञ्चायतको सिफारिसमा थापालाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

पञ्चायतको असहिष्णु राजनीतिमा सूर्यबहादुर थापालाई समेत नसहने असहिष्णु दम्भ उत्पन्न भइसकेको थियो। गैरसंवैधानिक शक्तिकेन्द्रसँग कुरा नमिलेपछि राष्ट्रिय पञ्चायतमा थापाको बहुमत रातारात १७ भाइमा सीमित भयो। महाभियोगका पक्षमा दुई तिहाइ पुर्यामउन उनले 'जम्बो मन्त्रिपरिषद्' बनाएका थिए। तिनै मन्त्रीहरूमध्ये उनका निकटतम भनिने नवराज सुवेदीलगायतले समेत थापाको साथ छाडिदिए। राजदरबारको 'मन्त्र'ले कमालै गर्यो । राजाले २०३६ साल पुस १ गते विधायिकाले नै प्रधानमन्त्री छान्ने व्यवस्था हुने घोषणा त गरे तर पालना गर्न सकेनन्। त्यो नेपाली जनतालाई दिएको धोका नै थियो। पञ्चायत जनताको शक्तिको प्रतिवादमा थालिएकाले हो कि त्यसलाई पञ्चहरूले खासै नरुचाएको पनि देखिएन। राजा तिनका तारनहार जो थिए।

शरदचन्द्र शाहाहरू थापाविरुद्ध खुलेरै लागेका थिए। विकेन्द्रीकरण योजनाको बहानामा पञ्चायतको कथित उदार र अनुदार पक्षबीच चर्कै विवाद सतहमा आएको थियो।

राजालाई रिझाउने तर भाइभारदारलाई नटेर्ने स्वभाव थापाको विशेषता बन्यो।

थापाले २०५४ सालमा कांग्रेसको सहयोगमा प्रधानमन्त्री भएर दरबारलाई उनको हैसियत देखाइदिए। दरबारले भने त्यसलाई रुचाएको थिएन। उनले प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरे। सामान्यतः संसद्मा बहुमत भएको प्रधानमन्त्रीको सिफारिस राजाले मान्नुपर्थ्यो। मनमोहन अधिकारीको अल्पमतको सरकारको सिफारिसमा समेत राजाले संसद् भङ्ग गरेका थिए। पछि पार्टीको बहुमतले विरोध गर्दागर्दैपनि शेरबहादुर देउवाको सिफारिस ज्ञानेन्द्रले स्वीकार गरे। ( हुनत, देउवालाई चुनाव हुनै नसक्ने बेलामा पार्टीको सहमतिसमेत नलिई प्रतिनिधि सभा भङ्ग गर्न ज्ञानेन्द्रले नै उक्साएका थिए।) सूर्यबहादुर थापाको सिफारिस अस्वीकार गरेर दरबारले पनि उनलाई हैसियत देखाएको थियो। पछि, २०६० मा पनि उनलाई ज्ञानेन्द्रले विश्वास गरेर प्रधानमन्त्री बनाएका थिएनन्। थापालाई प्रयोग गरेर सडक आन्दोलन मत्थर पार्ने उनको रणनीति देखिन्थ्यो। अर्काेतिर, थापा पनि राजालाई सहयोग टक्य्राउनभन्दा शासनमा पुग्नका लागि नै अगाडि सरेका थिए। मन्त्रिपरिषद् विस्तारसम्म गर्न नसकेरै थापाले पदत्याग गर्नुपर्यो्। ज्ञानेन्द्र माओवादी विद्रोह आफूले साम्य पार्न र उनीहरूसँग मिलेर शासन गर्न उद्यत थिए। महत्वाकांक्षी थापाबाट उनको मनसुवा सजिलै पूरा हुने सम्भावना थिएन। थापाले पनि दरबारको इसाराभन्दा सडकको संकेततिर ध्यान दिन थालेका थिए। यसैले उनको बहिगर्मन गरायो। जनमत संग्रहमा धाँधली, संस्थागत भ्रष्टाचार, छिन्ताङ काण्डलगायतमा थापालाई दरबारले निमित्त नायक बनाएको थियो। त्यसका लागि थापालाई मात्र जिम्मेवार ठहर गर्नु अन्याय हुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गणतन्त्रमा पुर्या्एर थापाले पनि ज्ञानेन्द्रसँग बदला लिए। सिंगो राप्रपाले गणतन्त्र स्वीकार नगरेको भए पहिलो संविधान सभामा १ प्रतिशतभन्दा कम मतमात्र राजतन्त्रका पक्षमा पर्ने अवस्था पक्कै आउने थिएन। र, सूर्यबहादुर थापा नै अगाडि नसरेका भए पञ्चहरूको मूलधार गणतन्त्रको पक्षमा उभिन सजिलो पनि थिएन।

विसं २०२८ साल र २०४० सालमा थापाले राजासँग निहुँ खोजेकै हुन्। पञ्चायत अधिनायकवादी व्यवस्था हो। त्यसमा जनताले चुन्दैमा शासन गर्न सकिँदैन थियो। राजाको सक्रिय नेतृत्व नहुन अर्को कोही सक्रिय हुनुपर्थ्यो। अर्थात्, अर्को जङ्गबहादुर। (थापामाथि महाभियोग लगाउने क्रममा अर्को जङ्गबहादुर बन्न खोजेको आरोप पनि लगाइएको थियो। र उनले 'राणाले नै जन्माउन नसकेको राणा थापाले कसरी जन्माउँछ भनेर कटाक्ष गरेका थिए।) राजा रहुन्जेल सिंहदरबारको मात्र शासन हुनसक्ने नै थिएन। यही भ्रम उनको महत्वाकांक्षाको प्रेरक र उनको उत्थान र पतनको कारण बन्यो। पछिल्ला पटकहरूमा पनि उनले धरातल नठम्याएको देखियो। कांग्रेसको समर्थन नहुनेबित्तिकै सरकार गिर्थ्यो तर उनले गिरिजाप्रसाद कोइरालालाई नटेर्ने आँट गरे। राजा माओवादी समस्या समाधान गर्न चाहँदैन थिए। उनलाई त्यही बहानामा सत्ता पूरै हातमा लिनुथियो। लोकेन्द्र, थापा र देउवा राजाका प्रयोगहरू थियो। थापाले भने माओवादीसँग वार्तामात्र हैन अरू विपक्षीलाई समेट्ने त्यसमा प्रयास गरे। राजालाई सह्य भएन। त्यति बेला उनले प्रतिनिधि सभा पुनःस्थापनाको सिफारिस गरेका भए इतिहासले अर्कै मूल्यांकन गर्ने थियो। जनमत संग्रहमा बहुदलको पक्षमा लागेका भए हुन्थ्यो। विसं २०२८ पछि र २०४० पछि पनि उनलाई लोकतन्त्रका पक्षमा लागेर प्रायश्चित्त गर्ने मौका मिलेको थियो। तर उनी त्यतापटि्ट प्रवृत्त भएनन्। यसैले उनलाई अरू केही भन्नुभन्दा चतुर, महत्वाकांक्षी र भाग्यमानी राजनीतिक नेता भन्नु उचित हुनेछ। थापा सिद्धान्तनिष्ठ नभएर व्यवहारवादी नेता थिए। उनको अवसानसँगै नेपालको राजनीतिको एउटा अध्याय सकिएको छ।

प्रकाशित: ७ वैशाख २०७२ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App