धेरै मानिसले मलाई सोध्छन्– किन तपाईं महिलाका बारेमा मात्रै लेख्नुहुन्छ? पुरुषका बारेमा किन कलम चलाउनुहुन्न? मलाई यसको जवाफ दिन गाह्रो थियो। जब मेरी १६ वर्षीया छोरीले मलाई सोधिन्, ‘तपाईं केवल महिला स्वास्थ्यका बारेमा कुरा गर्नुहुन्छ। पुरुषको स्वास्थ्यका बारेमा चाहिँ नगर्ने?
अछाम, डोटीका महिलाको स्वास्थ्य मात्रै भन्ने किताब लेख्नुहुन्छ। बिचरा पुरुषका बारेमा खोइ त किताब ?’ त्यसपछि मेरो घैँटोमा घाम लाग्यो र मैले भनेँ, ‘नानु हामीले पुरुषको सुरक्षा गर्न पनि महिला स्वास्थ्यको रक्षा गर्नुपर्छ।
पुरुषलाई प्रकृतिले कमजोर बनाएको छ। त्यसैले उनीहरूको सुरक्षा गर्नुपर्छ, मानसिक, शारीरिक र सामाजिक रूपमा सुरक्षा गर्न पनि महिला बलियो हुनुपर्छ। त्यसैले वर्षमा एक दिन मात्रै नारी दिवस मनाएर उनीहरूका बारेमा कुरा गर्छौं। अन्य तीन सय ६४ दिन त सम्पूर्ण रूपमा पुरुषका लागि समर्पित छ नि।’
मेरो कुरा कति बुझिन्, कति बुझिनन् किशोरीले। वास्तवमा सत्य यही हो। महिलाले पुरुषको रक्षा नगरे कसले गर्ने?
आफ्नै घर वरिपरि हेर्नुहोस् न, महिला (आमा, दिदीबहिनी, छोरी, काकी) आदि भएनन् भने पुरुष भोकै पर्छन्। उनीहरूलाई खाना पकाउन आउँदैन, त्यसैले बाहिर गएर खानुपर्छ। श्रीमती बिरामी भइन् भने श्रीमान्को खाना कि त ससुरालीबाट आउँछ कि त सासु वा साली आएर ज्वाइँलाई पकाएर खुवाउनुपर्छ। श्रीमान् बिरामी हुँदा श्रीमतीले आफ्नो बच्चाको स्याहार र बिरामी पतिको स्याहार सबै गर्छिन्।
अफिस छ भने त्यो पनि भ्याउँछिन्, पुरुष कमजोर भएकाले सक्दैनन्? अर्को उदाहरण छ, जवानीका बेला वा प्रेममा परेका बेला आकाशबाट चन्द्रमा र तारा टिपेर ल्याइदिने कुरा गर्ने पुरुषले विवाहपछि यति कमजोर हुन्छन् कि भान्छाबाट एक गिलास पानी सारेर ल्याउन उनलार्ई चन्द्रमा र तारा ल्याउनभन्दा गाह्रो हुन्छ। त्यसैगरी प्रेममा परेका युवकको मन यति कमजोर हुन्छ कि उनको प्रेम युवतीले स्विकारिनन् भने र प्रेम गरेर छाडिन् भने युवकको मुटु छियाछिया हुन्छ, कति त सहनै नसकी बिरामी पर्छन्। कति कमजोर सानो मुटु त!
युवती भने मुटुमा पत्थर राखेर प्रेम भुलाउन कोसिस गर्छन् र जिन्दगी सुरु गर्छन्। महिला बलिया हुन्छन् भन्ने कुरामा कतै शंका रह्यो त? पुरुषहरू बिरामी भएर सुते भने सम्पूर्ण घरै उनको सेवामा लाग्नुपर्छ। पुरुषलाई साधारण रुघाखोकी लागेर टाउको दुखे महाभारत हुन्छ, उसलाई आमा, दिदीबहिनी वा श्रीमतीले स्याहार गर्नुपर्छ। उसको अगाडि दालको सुप हुनुपर्छ।
रुघा लागेर सुतेका बेला पुरुषले नजिकै भएको टेलिफोनको घन्टी बज्दा पनि उठाउन सक्दैनन्, घन्टी बज्दा उनी ठूलो स्वरले कराउँछन्– घन्टी बज्यो कसैले उठाऊ न हौ।’ जब कि टेलिफोन उसको हातबाट एक फिट मात्र टाढा हुन्छ। पुरुषहरू साधारण रुघाखोकीले यति बिरामी हुन्छन् भने के महिलाले उनीहरूको स्वास्थ्यको ख्याल राख्न पनि आफ्नो स्वास्थ्य राम्रो र सुरक्षित राख्नुपर्दैन? त्यसैले म महिला स्वास्थ्य कसरी राम्रो राख्ने भनेर लेख्छु, भाषण दिन्छु ताकि पुरुषको स्वास्थ्यलाई स्याहार गर्न सकौँ।
मानसिक रूपमा पनि पुरुषहरू त्यति नै कमजोर हुन्छन्। उनीहरूलाई आफ्नी श्रीमती कतै अरूसँग जालिन् कि, छोड्लिन् कि भन्ने भयले २४ घन्टा सताइरहन्छ। त्यसैले अरूकी श्रीमती, बहिनीदिदीलाई हेर्ने र प्रशंसा गर्ने पुरुषहरू आफ्नी श्रीमतीलाई पर्दाभित्र राख्न चाहन्छन्। हामीकहाँ बुर्कामै बस भनेर त भनिँदैन तर श्रीमतीले कुर्तासुरुवाल लगाएको र जिन्सको पाइन्ट लगाएकोसम्म पुरुषले मन पराउँदैनन्।
एकचोटि मेरी एक साथी साडी लगाएर चिटिक्क परी घरबाट निस्कन लागेकी थिइन्। ‘अलि मोटी भइछौ आजकल तिमी,’ मैले भनेँ। उनले भनिन्, ‘छिटै पातलो हुन्छु नि।’ ट्याक्सीमा बसेपछि उनले धमाधम साडी फुकालिन्। म त स्तब्ध भएँ। भित्र त जिन्स र कुर्ता पो लगाएकी रहिछन्। मेरो आँखाको आश्चर्य देखेर उनले भनिन्, ‘मेरो श्रीमान्लाई मैले जिन्स लगाएको मन पर्दैन। म त लुकेर लगाउँछु।’
‘जिन्स र टपमा सुहाउँछ तिमीलाई। तिम्रा श्रीमान् डराउँछन् कि तिमीलाई अर्कोले लैजान्छ भनेर’ मेरो ठूलो हाँसोले उनी पनि मुस्कुराइन् र भनिन्, ‘होइन नि, ईष्र्यालु बानी छ, पढेलेखेको भनेर के गर्नु। कति कमजोर मानसिकता भएका पुरुष भन्नुस् त! अझै पुरुषको चित्त त माखाको पित्तजस्तो भने रिसाइहाल्छन्। अलिकति बिरामी भए भने म नभईकन कामै चल्दैन। उनलाई कुनै तनाव भए पनि त्यसको व्यवस्थापनमा मैले सघाउनुपर्छ। तर यति जाबो लुगा लगाउने कुरामा कति संकुचित छन्।’ उनले दुखेसो पोखिन्।
उच्च पदमा काम गर्ने पुरुष मानसिक रूपमा कति कमजोर! त्यस्ता पतिको मानसिक स्वास्थ्यको सुरक्षा गर्न महिला मानसिक रूपमा सक्षम हुनुपर्छ। अनि म महिला स्वास्थ्यका बारेमा लेख्छु।
‘विवाह भएको २७ वर्षपछि मेरा श्रीमान्, मेरो प्रत्येक टेलिफोन सुन्छन्। त्यस कारण मैले कति मेरा राम्रा साथी गुमाएकी छु। आजकल उनी विदेशमा काम गर्छन्। कहिले कहिले घर आउँदा उनको ‘अंह’ शान्त पार्न म घरमै बसिरहन्छु। उनी खुसी हुन्छन्। म मेरा साथीसँग चिया खान, पार्टी गर्न रुचाउँछु। तर श्रीमान् घरमा छँदा त्यो पनि बन्देज छ। उनी त्यसैले टाढा बसेकै बेस छ,’ मलाई एक महिलाले सुनाइन्।
कति पुरुषलाई श्रीमतीले के गरिरहेकी छन्, कतै गइन् कि, कोही मान्छेसँग सिनेमा हेर्न गइन् जस्ता अनावश्यक चिन्ताले सताइरहन्छ, उनीहरू मानसिक रूपमा डराउँछन्। अनि डिप्रेसनमा पुग्छन् र डाक्टर कहाँ लैजानुपर्छ।
कति श्रीमान् त आफूभन्दा धेरै पढेका र बढी योग्य श्रीमती छन् भने पनि तनावमा पर्छन्। बढी कमाउने श्रीमती परिन् भने दुःखको मारमा डुब्छन्। कतिपय पुरुषलाई समाजले भन्छ– तेरी श्रीमती कति कमाउँछे। तँ त जोइटिंगे्र। अनि, पुरुषको मानसिकता त्यसै बिग्रन्छ। त्यसपछि ऊ श्रीमतीसँग झगडा गर्न थाल्छ। यस्ता पुरुष आफू दुःखी हुन्छन् नै परिवार, सन्तानलाई पनि दुःखी बनाउँछन्।
सायद आज मनु बाँँचेको भए लेख्थे होला, ‘सानो छँदा आमाले पुरुषको हेरविचार गर्नुपर्छ, यौवनावस्थामा प्रेमिका र श्रीमतीले गर्नुपर्छ (श्रीमती मरे पुरुषले तरुणी केटी विवाह गर्नुपर्छ)।’
पुरुष, तपाईंको सुरक्षाका लागि नारीहरू वर्षैभरि एकजुट छन्।
प्रकाशित: २६ फाल्गुन २०७८ ०२:१४ बिहीबार