१३ असार २०७९ सोमबार
विचार

सिमसार क्षेत्र जीवनको नर्सरी

हरेक वर्ष फेब्रुअरी दुईलाई विश्व सिमसार दिवस ‘वेट लेन्ड डे’ का रूपमा मनाउने गरिन्छ। यो वर्षको नारा ‘मानिस र प्रकृतिको लागि सिमसार संरक्षण कार्य’ रहेको छ। यसले सफा पानीको स्रोतमा सिमसार क्षेत्रको अपार महत्वलाई दर्साउँछ।

यस्तो जीवनपयोगी सिमसार क्षेत्रलाई बचाउन र जीवनमा तिनीहरूको पुनर्भरण गर्दै जोगाउने पहल गर्नु आजको दिनको उपादेयता हो। सिमसार क्षेत्र पानीको दलदल, बाढीले डुबेका क्षेत्रहरू र दलदलहरू हुन् जसले जीवनका विभिन्न प्रकारहरूलाई सजीव बनाउन मद्दत गर्छ। दुवै प्राकृतिक र कृत्रिम सिमसारहरूले जैविक विविधता र पारिस्थितिक स्वास्थ्यलाई कायम राख्न र बढाउन ठूलो सहयोग गर्दछ।

दुर्भाग्य! हाम्रा आवश्यकताहरू कतै अर्कैतिर सोझिएका छन्। धेरै राष्ट्रिय पत्रिकाले यो दिनलाई सम्झेनन्। गत हप्ता पत्रिकाहरू रंगिए हाम्रा सुन्दर पहाडहरू सिमेन्ट बनाउने कच्चा पदार्थ चुन ढुंगा उत्खनन गर्ने नाममा गरिएको प्राकृतिक बलात्कार र अरबौं रुपियाँको राजस्व अपचलनका खबरले। जुन मुद्दा यतिखेर अख्तियार दुरपयोग निवारण आयोग प्रवेश गरेको छ। यी तिनै सिमेन्ट कम्पनीहरू थिए जसले अरवौं रुपियाँको बिजुलीको पैसा तिरेका छैनन्। अर्कातिर यिनै महासेठहरूको घरमा हाम्रा नेताहरूले आफ्नो पार्टी कार्यालय राखेका छन्।

फेवाताल, बेगनास ताल जस्ता देशका सिमसारका गहना कसरी अतिक्रमित भएका छन्? हामी सबैलाई थाहा छ। विश्वका आधा जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्दछन्। सन् २०५० सम्ममा ६.३ अर्ब मान्छे सहर पस्नेछन् राम्रो भविष्यको खोजीमा। यो ठूलो जनसंख्यालाई सहरमा कसरी व्यवस्थित गर्ने भन्ने चुनौती यतिखेर विश्व समुदायमा देखिन्छ।

सहरको वर्तमान पूर्वाधारहरू खानेपानीका व्यवस्था, स्वच्छ हावा, दिगो बासस्थान अर्को ठूलो वैश्विक समस्या बनेर खडा भएको छ हरेक देशका सामु। अर्कातिर विश्वका सिमसार क्षेत्रहरू विगतका सय वर्षमा नासिएर आधा भएको बताइन्छ।

सिमसार क्षेत्रले सहरी क्षेत्रमा मात्र नभएर पूरै मानवतालाई प्रभावित बनाइरहेको छ। उदाहरणका लागि सिमसार क्षेत्रले पिउने पानीको स्रोतको रूपमा काम गरेको हुन्छ। यसले बाढी नियन्त्रणमा मद्दत पुर्‍याउँछ। सिमसार क्षेत्रमा रहेका वनस्पतिहरूले घरेलु र औद्योगिकहरूलाई छान्ने गर्दछन् जसले पानीको गुणस्तरलाई सुधार गर्नसमेत मद्दत पुर्‍याउँदछ। सहरी क्षेत्रका हरियो क्षेत्र, सिमसार क्षेत्र पिटलेन्डहरूले जलवायु परिवर्तनको डरलाग्दो प्रभावहरूलाई कम गर्न र अनुकूलन गर्न ठूलो अवसर प्रदान गर्दछन्।

विश्व सिमसार दिवस हाम्रा सहरका यस्ता महत्वपूर्ण क्षेत्रहरूलाई बचाउने सजाउने र सबैलाई यसको महत्व बुझाउने प्रण गर्ने दिन हो। सिमसार क्षेत्रले सहरलाई जीवन प्रदान गर्दछ। जसरी भेनिस सहर र त्यसको विश्व सम्पदा क्षेत्र लगुनले सहरको विश्व आकर्षण बढाएको देखिन्छ। हामीले हाम्रो प्रागैतिहासिक वाग्मती क्षेत्रलाई पुनस्र्थापित गर्नुपर्छ। पशुपतिको विश्वसम्पदा सूचीलाई बचाएर विश्वमा हिन्दुको तीर्थस्थलका रूपमा सजाउनुपर्दछ।

सिमसार क्षेत्र संसारका केही कमजोर र संवेदनशील इकोसिस्टम हुन् जसले बोटबिरुवा र जनावरहरूका लागी अद्वितीय आवासको व्यवस्था गर्दछन्। विश्वभरि लाखौँ मानिसलाई आजीविका प्रदान गर्दछन्। सिमसार क्षेत्रले आश्चर्यजनकरूपमा कार्वन उत्सर्जन गर्दछ। विश्वका हरेक भागमा यस्ता सिमसार क्षेत्रहरू पाइन्छन् पोलार क्षेत्रदेखि ट्रपिकल बेल्ट अग्ला भागदेखि कोस्टल एरियादेखि सुक्खा मरूभूमिहरूसम्म पाइन्छन्।

हामीहरू जहाँ पानीका स्रोतहरूले जमिन भेट्छन् त्यहाँसम्म यस प्रकारका सिमसार क्षेत्रहरू देख्न सक्छौं। जस्तै पानीको दलदल, पिटलेन्ड, नदीहरू, तालहरू अन्य जल निकायहरू जङ्गली क्षेत्रमा धान खेतहरूमा कोरल चट्टानहरूमा पाइन्छन्। यसप्रकारका सिमसार क्षेत्रहरूलाई जोगाउन भविष्यमा बचाएर सजाउन लिनको पर्यावरणमा पर्ने जैविक प्रभावलाई विश्वसामु बुझाउन युनेस्कोले ठूलो मद्दत गर्दै आएको पाइन्छ। संसारभर २४०० संरक्षित सिमसार क्षेत्र घोषणा गरिएको छ।

स्वस्थ धर्ती र सिमसार क्षेत्र  

विश्व आज कोभिड–१९ को दर्दनाक पीडाको उत्कर्षमा पुगेको छ। लाखौं मान्छेले अमूल्य जीवन गुमाए। करोडौले यो त्रासदीपूर्ण महारोगको सामना गरिरहेछन्। विश्व अर्थतन्त्र खस्केर दोस्रो विश्वयुद्धकालीन समयको हाराहारीमा पुगेको बताइन्छ।

संसारका ठूला भनिएका र मानिएका आफूलाई उच्च स्तरको स्वास्थ्य सुविधाको व्यवस्था भएको भनेर दावी गर्ने अमेरिका, बेलायत र युरोपले आफ्ना लाखौँ मान्छे गुमाउनुपर्‍यो। यो हाम्रा साधन र स्रोतहरू सानु एउटा महामारीसमेत थेग्न असमर्थ रहेको ज्वलन्त उदाहरण हो। प्राकृतिक प्रकोप र महामारीका बेला मान्छेका साधनहरू कति अपुग, कति कमजोर र कति निरिह रहेछन् भन्ने संसारले चाल पायो।  

यो सबै हाम्रो साझा धर्ती पृथ्वीमाथि गरिएको खेलवाड, हेलचेक्र्याइँ, पर्यावरणमाथि गरिएको नृशंस बलात्कारको परिणति हो। यो सत्यलाई बुझ्न यो मर्मलाई आत्मसात गर्न ढिला गर्नु हुँदैन। हाम्रो एकमात्र साझा धर्तीलाई बचाउन त्यसको स्वस्थता कायम गर्न सिमसार क्षेत्रको ठूलो महत्व रहेको छ।

यसले मानव जीवनलाई मात्र नभएर समस्त ग्रहको जीवनमा आश्रित वातावरण, वनस्पति र त्यसमा रहेका करोडौ जीव वनस्पतिलाई सुरक्षा प्रदान गरिरहेका हुन्छन्। स्वस्थ सिमसार क्षेत्रले स्वस्थ पृथ्वीको रक्षा गर्छ। यसले विश्वका ४०% प्रजातिलाई बासस्थान प्रदान गर्दछ। तिनीहरूको प्रजनन प्रक्रियामा सहयोग पु¥याउँछ। तथापि यस्तो महत्वपूर्ण सिमसार क्षेत्र हामी मान्छेका कुकृत्यले वनजंगल भन्दा तीन गुणाले नासिइरहेको छ।

सिमसार क्षेत्र जीवनका नर्सरी हुन् जहाँ भोलिको मानव जातिको भविष्य फुल्छ र फल्छ। कठै! मानव जाति आफ्नै जीवनको नर्सरी मासेर विकासको छलांग मारेको गुड्डी हाँकिरहेको छ। भत्काइरहेको छ। पुरातात्विक क्षेत्र मासिरहेको छ। सिमसार पुरिरहेको छ। ऐतिहासिक पोखरीहरू, अतिक्रमण गरिरहेको छ सहरका हरित क्षेत्रहरू।

यो बुझ्न ढिला भैसक्यो। प्रकृतिले कोरोनारूपी कहर पठाएर धर्तीमा रातो बत्ती बालेकी छन् मान्छेलाई सम्झाएकी छिन्। ‘सिमसार क्षेत्र धर्तीको किड्नी हो’ जसले वातावरणलाई सफा बनाएर छान्ने काम गर्दछ। मान्छेले धर्तीमा गरेका फोहोरलाई सफा गर्दछ। यसरी मौसम परिवर्तनको भयाबह रोक्न छेक्न सिमसार क्षेत्रहरू क्रियाशील हुन्छन्।

वायुमण्डलको ३०% कार्बनलाई भण्डारण गरेर धर्तीलाई सफा सुन्दर बनाउन सहयोग गर्ने, अनेकखाले आँधीबेहरी विपत्तिहरूबाट समेत हामीलाई जोगाउँछ। यस्तो सुन्दर प्रकृतिलाई मासेर विकासको नाममा भ्यु टावर, समृद्धिका नाममा वन अतिक्रमण, पुरातात्विक अतिक्रमण कहिलेसम्म गरिरहने? धर्ती बचाउने आन्दोलन कहिले सुरु होला? हामीलाई चिन्ता पद र प्रतिष्ठाको, संविधान र कानुनको छ। नेताका पछाडि हुलका हुल लाखौँ जम्मा हुने र धर्तीमा डुङ्गुर फोहोर मिलकाउने हामीलाई प्रकृतिले गिज्याइरहेको छ।  

नेपालमा सिमसारको स्थिति  

विश्वको ९% र नेपालको ५% (८,१९,२७७ हेक्टर) भूभाग सिमसार क्षेत्रले ओगटेको छ। नेपालका आदिवासी जनजातिमध्ये १०% यस्तै सिमसार क्षेत्रमा आश्रित छन्। नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व भएका सिमसार क्षेत्र छन्।

अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई नेपालले रामसार सूचीमा सूचीकृत गराइ व्यवस्थापन गर्दै आइरहेको छ। देशका सबै प्रदेश र स्थानीय तहमा यस्ता सिमसार क्षेत्र छन्। नेपालमा ५३५८ वटा ताल, ३२५२ वटा हिमनदी, २३२३ वटा हिमताल छन्। तराई क्षेत्रमा १६३ वटा र पहाडमा ७९ वटा सिमसार छन्।

नेपालको ११ प्रतिशत जनसंख्या सिमसार क्षेत्रमा परनिर्भर छन्। बोटे, माझी, दनुवार जस्ता लोपोन्मुख २१ आदिवासी जनजाति समुदायहरू जीविकोपार्जनका लागि सिमसार क्षेत्रमा नै आश्रित छन्। विश्वका लोपोन्मुख प्रजातिहरू एकसिंगे गैँडा, घडियाल गोही, अर्ना नेपालका सिमसारहरूमा आश्रित र संरक्षित छन्।

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धताअनुरूप यहाँका सिमसार क्षेत्रहरूको संरक्षण तथा सम्वद्र्धन गर्ने अभिप्रायले जलचर संरक्षण ऐन–२०१७, जलस्रोत संरक्षण ऐन–२०४९, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन–२०७६, राष्ट्रिय सिमसार नीति–२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४) मार्फत सिमसारको संरक्षण, संवद्र्धन र व्यवस्थापनमा प्रतिबद्धता जनाएको भए पनि त्यो मात्र कर्मकाण्डीय औपचारिकतामा सीमित भएको छ।

नेपालले सन् १९८७ मा रामसार महासन्धिमा प्रवेश गरेदेखि हालसम्म १० वटा महत्वपूर्ण सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरी विशेष प्राथमिकताका साथ व्यवस्थापन गर्दै आइरहेको छ। नेपालका सिमसार क्षेत्रहरू यथोचित संरक्षण र सुरक्षाको पर्खाइमा छन्।

यसका लागि स्थानीय मानिसको सक्रिय सहभागिता आवश्यक छ। कतिपय सिमसार क्षेत्र मासिएका छन्, नासिएका छन्। वन अतिक्रमण, बढ्दो सहरीकरण, जनाचेतनाको कमी, हाम्रा पाठ्यक्रमहरूमा वातवरणीय चेत फैलाउने पर्यावरणीय सचेतता जगाउने शिक्षाको टड्कारो खाँचो देखिन्छ। 

प्रकाशित: २४ माघ २०७८ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App