९ माघ २०७८ आइतबार
विचार

पौडेललाई सारथि बनाऊ देउवा

दस्तावेज

साथीहरू,

भर्खरै नेपाली कांग्रेसको १४औँ अधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले १३४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हामी बधाई दिन्छौँ। साथै नेपाली कांग्रेसलाई विचारशील, कर्मशील, आदर्शप्रति प्रतिबद्ध र जनविश्वास प्राप्त पार्टी बनाउन यो कार्यसमिति सक्षम बन्न सकोस् भन्ने शुभकामना दिन चाहन्छौँ।

हाम्रासामु धेरै चुनौती छन्। महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरी पार्टीको वैधानिकता सुनिश्चित गरेको छ। कार्यकर्ताको लोकप्रिय मत प्राप्त गरी नयाँ ऊर्जा लिएर साथीहरू निर्वाचित हुनुभएको छ। तर यो नै पर्याप्त होइन। २००७ सालको क्रान्तिले जगाएको जनताका आकांक्षा ७० वर्ष पार गर्दा पनि अधुरै छन्।

तीन तीनवटा क्रान्ति तथा आन्दोलनको नेतृत्व गरी लोकतन्त्र स्थापना गर्न हामीले सफलता प्राप्त गरेका छौँ तर दुःखका साथ भन्नुपर्छ, लोकतन्त्रलाई स्थायित्व दिइ जनताका आकांक्षा पूर्ति गर्न हामी चुकेका छौँ। २०४८ र २०५६ सालमा जनताले नेपाली कांग्रेसलाई विश्वास गरी बहुमत दिए। त्यो बहुमतलाई राष्ट्र निर्माणको पक्षमा सदुपयोग गर्नुको बदलामा हामीले आन्तरिक संघर्षमा शक्ति खर्च गरी जनताको विश्वासमा घात गर्‍यौँ।

देशको गरिबी र कुशासनमाथि निर्मम प्रहार गर्नुपर्ने समयमा आन्तरिक संघर्षमा लागि वर्ष दिनभित्रै संविधान जारी गरी तत्काल निर्वाचन गराउने सन्त नेताप्रति नै घात गरी पार्टीभित्र बेइमानी र विग्रहको सुरुवात गर्‍यौँ। आज त्यही विषवृक्ष झांगिएर हामीलाई तर्साइरहेको छ।

देशको स्वतन्त्र अस्तित्व रक्षा र राष्ट्र निर्माणका लागि चाहिने राष्ट्रियता, आत्मसम्मान र स्वाभिमानका लागि चाहिने लोकतन्त्र र उत्पादनको न्यायपूर्ण वितरण गरी गरिबी उन्मूलनका लागि आवश्यक पर्ने समाजवादको मूल नीति र सिद्धान्त बोकेका हामी आज व्यक्तिगत महरूवाकांक्षा र शक्ति आर्जनका लागि पार्टी र सत्ताको दुरूपयोग भएकामा सहयोगी बन्दैछौँ या निरीह दर्शक बनेका छौँ।

वर्तमान समयमा राजनीति तथा राजनीतिकर्मी निन्दित भएका छन्। जनताबाट सम्मानित हुनुपर्ने नीति र नेतृत्व किन निन्दायोग्य बने? भर्खरै सम्पन्न १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा एकजना राजावादीले गणतन्त्रलाई बदनाम गराउने नियतले राष्ट्रका नेताहरूको चीरहरण गर्दा हाम्रै कार्यकर्ताबाट तालीको गड्गडाहटसँग समर्थन गर्नु हामी सबैको चिन्ताको विषय हुनुपर्ने थियो। दुःखका साथ भन्नुपर्छ त्यस्तो गम्भीर विषयमा प्रतिस्पर्धी नेतृत्व गणमा कुनै चिन्ता देखिएन।

यस्तो चिन्ताजनक अवस्थामा हामी कसरी पुग्यौँ? पार्टीभित्रको आन्तरिक प्रजातन्त्र सुदृढ गर्न हुनुपर्ने प्रतिस्पर्धाको बदला अस्वस्थ प्रतिस्पर्धातर्फ किन लाग्यौँ? आफ्नै नेता तथा साथीहरूको घात/प्रतिघात तथा बेइमानी गरी मानमर्दन गर्न किन उद्यत छौँ? अर्को पार्टीको नेतासँग मित्रवत् व्यवहार गर्ने तर आफ्नै पार्टीको प्रतिस्पर्धी नेतृत्वसँग औपचारिकता मात्र पूरा गर्ने मानसिकताको विकास कसरी हुन पुग्यो? ३० वर्षको पञ्चायती शासनको कठोर समयमा एक साथीको जीवन सुरक्षाका लागि अर्को साथीले यातना सहन्थ्यौँ। आर्थिक लाभको गुञ्जायस थिएन तापनि साथीहरूमा हार्दिकता थियो, आपसी विश्वास थियो। लोभ, लालच थिएन, केबल प्रेम थियो। आजको नयाँ पुस्ता ती दिनको स्मरण सुनाउँदा ऐतिहासिक गफ मान्छ।

हामी यो अवस्थामा पुग्नुको कारण हामीभित्रको आदर्शवादी चिन्तनमा आएको स्खलनको कारण हो भन्ने हाम्रो सामूहिक ठम्याइ छ। हाम्रो लक्ष्यप्रतिको समर्पणको अभाव हो। आदर्शप्रति उदासीन बनी उपभोगवादी बन्नुको परिणाम हो। ३० वर्षको कठोर कालरात्रिमा यातना भोगेका नेताहरूमा पनि स्खलन आएको देख्दा आश्चर्यमिश्रित पीडा हुन्छ।

पार्टीका लागि सत्ता जनसेवा र जनहित गर्ने अवसर हो। राजनीतिकर्मीले प्रतिष्ठा अवश्य खोज्छ तर सत्ता र शक्तिमा रहँदामात्र नभएर सत्ता र शक्तिबाहिर रहँदा पनि प्रतिष्ठित हुन सक्नुपर्छ। त्यसका लागि सत्ता र पदीय शक्तिलाई जनता तथा राष्ट्रको सेवामा अर्पण गर्नुपर्छ।

यो भावनाको अभावका कारण नै आज राजनीति र राजनीतिकर्मी निन्दित बन्न पुगेका छन्। यसले व्यक्ति तथा पार्टीलाई मात्र कमजोर बनाउँदैन। शनै शनै हाम्रो संविधान, हाम्रो गणतन्त्रलाई नै कमजोर बनाउँछ। संविधान, लोकतन्त्र र गणतन्त्रमाथि आउने संकटको जिम्मेवारीबाट नेपाली कांग्रेस पन्छन मिल्दैन। त्यसैले यो अवस्था आउन नदिन लोकतन्त्रको नेतृत्वकर्ता नेपाली कांग्रेस नै अग्रसर हुनुपर्छ।

हाम्रा सामुन्ने तत्कालै तीन तहका निर्वाचन उपस्थित छन्। अस्वस्थ प्रतिस्पर्धाको घाउमा मलम लगाउँदै स्थानीय निर्वाचनमा जनविश्वास प्राप्त गर्न पार्टीलाई तयार पार्नुपर्नेछ। लगत्तै प्रादेशिक तथा संघीय निर्वाचन हुनेछन्। यी निर्वाचनमा पार्टीका सम्पूर्ण कार्यकर्तालाई उत्साहपूर्ण एकताका साथ जनमत तयार गर्न लगाउनुपर्नेछ। पार्टीहरूका पटक–पटकका झुटा आश्वासनले जनता विरक्त छन्। कार्यकर्ताहरूमा निर्वाचनका लागि चाहिने उत्साह र तत्परता छैन। एक/अर्काप्रति अविश्वास छ। यस्तो निराशा र अविश्वासले लोकतन्त्रलाई नै संकटमा पार्छ।

दक्षिणपन्थीहरू यसको लाभ लिइ गणतन्त्र समाप्त गर्न सक्रिय बनेका छन्। नेकपा एमाले अधिनायकवादउन्मुख छ। माओवादी उग्रपन्थतर्फ आकर्षित हुने हो कि भन्ने शंका छ। संसद् लामो समयदेखि अवरुद्ध छ। न्यायपालिकाको विवादित नेतृत्वका कारण न्यायालयप्रति नै प्रश्न उठेको छ। न्यायमूर्ति तथा स्वतन्त्र न्यायपालिकामा सुशासन र लोकतन्त्रको भविष्य देख्ने कानुनविद्हरू आन्दोलित छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षमता र निष्पक्षतामा अनेकौँ प्रश्न उठेका छन्। अर्थतन्त्र अस्वस्थ छ। जनताले द्रुत गतिमा प्रगति खोजेका छन्। राज्यले पुँजीगत खर्च गर्न सकेको छैन। यति धेरै समस्याहरूले घेरिएको र लोकतन्त्र नै संकटमा पर्ने भय उत्पन्न भएको समयमा युद्धस्तरको कार्यशैली र सोच आवश्यक पर्छ।

सभापति शेरबहादुर देउवा भरखरै पुनर्निर्वाचित हुनुभएको छ। आसन्न तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने संकल्प लिनुभएको छ। वर्तमान सभापति सरकार प्रमुख पनि भएकाले उहाँका आफ्नै सीमा छन्। सभापतिको एक्लो प्रयास र अठोटले मात्र सबै समस्यासँग जुझ्दै नेपाली कांग्रेसलाई विजयी बनाउन कठिन छ।

निर्वाचनको माहोल बनाउन जनता र कार्यकर्तामा आशा जगाउने सन्देश दिनु जरुरी छ। पार्टीभित्रको असहयोगी भावना अन्त गर्नु आवश्यक छ। यसका लागि सभापतिलाई भरपर्दो राजनीतिक सहयोगी आवश्यक छ। यस्तो सहयोगी जसले चाणक्यले जस्तै सोच्न, योजना निर्माण गर्न र कार्यान्वयन गर्न सकोस्। कार्यकर्तामा नवीन उत्साह जगाउन सकोस्। सबै कार्यकर्तामा सहयोगी मानसिकता तयार गर्न सकोस्। जनतामा आशा सञ्चारित होस्। जसको अपिललाई जनताले गम्भीरपूर्वक सुनून्।

हाम्रो विचारमा सभापतिले आफ्नो सहयोगी वा परिपुरक व्यक्तिका रूपमा अगाडि सार्नका लागि सभापतिजीकै समकक्षी रामचन्द्र पौडेल उपयुक्त व्यक्तित्व हुनुहुन्छ। उहाँ सभापतिको सहयात्री र समवय पनि हुनुहुन्छ। लोकतन्त्र र नेपाली कांग्रेसप्रति उहाँको अटुट निष्ठा छ।

पार्टीभित्र उग्र ध्रुवीकरणको समयमा पनि उहाँ समस्या समाधानका लागि मध्यमार्गीका रूपमा परिचित हुनुहुन्छ। जनता तथा कार्यकर्ताको नजरमा निष्कलंक चरित्र छ। पार्टीका नीति तथा सिद्धान्तको परिमार्जनकर्ता तथा व्याख्याता हुनुहुन्छ।

राष्ट्रलाई तथा नेपाली कांग्रेसलाई उहाँको क्रियाशीलताको आवश्यकता छ भन्नेमा स्वयं सभापतिजी पनि सहमत हुनुहुन्छ। सभापतिले रामचन्द्र पौडेललाई अगाडि सार्ने हो भने उहाँको स्वच्छ छवि तथा व्यक्तित्वका कारण जनता तथा नेपाली कांग्रेसका कार्यकर्तामा नवीन उत्साह उत्पन्न हुनेछ। सभापतिजीको छवि पनि सबैलाई साथ–साथ हिँडाउन सक्ने उदार व्यक्तित्वका रूपमा देखिनेछ।  

नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने पनि सहयोगी नेतृत्व सँगसँगै हिँड्दाको परिणाम सुखद रहेको छ। २०१५ सालमा सुवर्णजी सरकार प्रमुख रहँदा बिपीले निर्वाचनको कमान्ड लिनुभयो। दुईतिहाइ बहुमत आयो। २०४८ मा किसुनजी सरकार प्रमुख र पार्टी प्रमुख रहँदा गणेशमानजी र गिरिजाबाबुले निर्वाचनको नेतृत्व गर्नुभयो। बहुमत आयो।

२०५६ मा गिरिजाबाबु सरकार प्रमुख तथा पार्टी प्रमुख रहँदा किसुनजीको नेतृत्वमा निर्वाचन भयो, बहुमत आयो। अहिले पनि लोकतन्त्र जोगाउन, संविधान जोगाउँदै पूर्ण कार्यान्वयनमा लैजान र देशका यावत् समस्या समाधान गर्न नेपाली कांग्रेसभित्र सामूहिक प्रयत्नको खाँचो छ। मन, वचन र कर्मले सहयोग पनि गर्ने र जनता तथा कार्यकर्ताले विश्वास पनि गर्ने सहयोगी व्यक्तित्वको सभापतिलाई आवश्यकता छ। यस्तो व्यक्तित्व पार्टी पंक्तिमा रामचन्द्र पौडेलबाहेक अर्को हुन सक्दैन। उहाँ विभिन्न जिम्मेवारीमा हँुदा इमान्दारिताका साथ कार्य सम्पादन पनि गरेको र पार्टी तथा राज्यको प्रथम व्यक्तिका रूपमा जिम्मेवारी सम्हाल्न पनि नपाएकाले उहाँमाथि जनताको सहानुभूति पनि छ। 

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन अभियान सञ्चालन गर्दा नेपाली कांग्रेसका कुनै पनि नेता/कार्यकर्ताले असहज महसुस गर्दैनन् र सबैले सुरक्षित भएको महसुस गर्नेछन्। निर्वाचनमा आउने राम्रो परिणामको जस स्वभावतः सभापतिजीलाई नै मिल्नेछ।

तसर्थ नेपाली कांग्रेसलाई एकताको सूत्रमा बाँधी सहयोगी मनका साथ सबै नेता/कार्यकर्ता निर्वाचनमा होमिने परिस्थिति निर्माण गरी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन पार्टी सभापतिले रामचन्द्र पौडेललाई अंघि सार्नु उचित ठानी यो अपिल गरेका छौँ। कुनै/कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी गरिएको यो अपिललाई सबै नेता/कार्यकर्ताको सद्भाव र समर्थन रहने आशा तथा विश्वास लिएका छौँ। जय नेपाल।

प्रकाशित: २३ पुस २०७८ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App