१२ जेष्ठ २०७९ बिहीबार
विचार

लोकतन्त्रमा नागरिक शिक्षा

अबको विश्व परिस्थितिमा यथास्थितिकै राजनीतिक सिद्धान्त सर्वमान्य भइरहन्छ भन्ने सोच असान्दर्भिक भैसकेको छ। आममानिसको चित्त बुझ्ने गरी माक्र्सवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद वा उदारवाद पुँजीवाद कुनै पनि यस्ता राजनीतिवाद देखा परेनन्। यिनले मानव सभ्यताका समस्या समाधान गर्न सक्ने हुती देखाउन सकेनन्। आजसम्म देखापरेका राजनीतिक वाद १९ र २० औँ शताब्दीमा देखा परेका हुन। विश्वमा बढिरहेको अराजकता, अशान्ति, हिंसा र द्वन्द्वलाई कुनै पनि राजनीतिक वादले सम्बोधन गर्न सकिरहेको छैन। 

आजको विश्व राजनीतिक विषम मोडमा उभिएको छ। कैयौँ शताब्दीदेखि लोकतन्त्रका निम्ति संघर्षरत मानवीय प्रयासबाट प्राप्त गरिएको राजनीतिक शासन पद्धतिले आशानुरूपको परिणत दिन नसकेको घामझैँ छर्लङ्ग छ। यसले गर्दा विश्व समुदाय नै राजनीतिक वादप्रति वितृष्णा देखाउन थालेका छन्। परिणामतः संसारका ठूला ठूला लोकतान्त्रिक मुलुकमा पनि हत्या हिंसाका शृंखला दिनानुदिन बढ्दै आएका छन्।

अहिले हाम्रो देशको राजनीति पनि त्यही विषम मोडतर्फ उन्मुख भइरहेको छ। सात दशकदेखि लोकतन्त्रका लागि गरिएको संघर्ष केवल ढोङ जस्तै सावित हुँदैछ। आमजनताको मानसिकतामा लोकतन्त्रप्रति वितृष्णा फैलँदैछ। प्रायःजसो युवा राजनीतिप्रति मोह राख्न छाडेका छन्। आफ्नो भूमिमा रमाएर बस्नुको सट्टा विदेश पलायनतर्फ रमाउन थालेका छन्। यसले मानव समुदायमै राजनीतिक नेत्तृत्व, राजनीतिक दलप्रति नै सद्भाव र आस्था घट्दै जान थालेको छ। यस्तो वितृष्णा किन पैदा भयो भन्नेबारे व्यापक छलफल, गहन विचार र विश्लेषण जरुरी छ। यस किसिमको विचार विस्तार र व्यापक तुल्याउन आमनागरिकमा चेतना आवश्यक छ। सही चेतना विकास गराउन नागरिक शिक्षाको माध्यम नै प्रबल हुन सक्छ।

प्रजातान्त्रिक मुलुकका क्रियाकलाप देशको संविधान तथा ऐन÷कानुनमुताविक चल्नुपर्छ। यसैअनुरूप स्वतन्त्र न्यायपालिकाको अवधारणा राखिएको हुन्छ। स्वतन्त्र न्यायपालिकाले व्यवस्थापिका र कार्यपालिकालाई हमेसा कानुनी बाटोमा लाग्न प्रेरित गर्छ। नागरिक शिक्षाले नागरिक अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्य/मान्यताको अवमूल्यन हुनबाट जोगाउँछ। स्वतन्त्र र निष्पक्ष न्यायालयले कानुनी राज्यको स्थापना र व्यक्तिगत स्वतन्त्रता संगठन तथा सभा सम्मेलन गर्ने स्वतन्त्रता, निर्वाचनमा सहभागी हुने अधिकार र अन्य संविधानप्रदत्त व्यक्तिका मौलिक अधिकारहरूको संरक्षण गर्ने दायित्व लिएको हुन्छ। सामाजिक परिवर्तनसँगै राज्य व्यवस्था सरकारको भूमिका र दलहरूको गतिविधि यावत् पक्षको ज्ञान र सिपबारे नागरिक शिक्षाले यथार्थ ज्ञान दिलाउँछ। नागरिक शिक्षाले हरेक नागरिकलाई आफ्नाे अधिकार र कर्तव्यबारे सजग गराउँछ। आफ्नाे अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नगर्न र अरूलाई पनि कर्तव्य पालन गर्न र अधिकारको सही उपयोगप्रति प्रेरित गर्ने काम नागरिक शिक्षाले गर्छ।

लोकतन्त्रको सदुपयोगका लागि त्यस देशमा विद्यमान शासन व्यवस्थालाई सक्षम प्रभावकारी तुल्याउँदै सार्वजनिक प्रयासको सुदृढीकरण नित्तान्त आवश्यक छ। हरेक सार्वजनिक निकायमा रहने पदाधिकारीमा सेवा भाव र त्यागको खाँचो जरुरी छ। आमनागरिक भन्दा सार्वजनिक पद धारणा गर्ने व्यक्ति नैतिकवान र सदाचारी हुनुपर्छ। यसका लागि असल र सकरात्मक सोच नभई हुँदैन। राज्यको सुशासनको महत्वपूर्ण पक्ष भनेको सदाचार हो। सादाचार र नैतिकताबिना राज्यको शिर उच्च बन्दैन। यस्ता सोच र विचार सबै पदाधिकारीमा आए देशबाट भ्रष्टाचार निर्मुल हुँदै जान्छ। सामाजिक विधिविधान पनि त्यहाँ सहज ढंगले चल्दै जाने हुन्छ। समाजका मूल्य, मान्यता र संगठनहरूबारे ज्ञान हासिल गराउने तत्सम्बन्धी सामाजिक दायित्व बहन गर्न सक्ने क्षमताको प्रादुर्भाव पनि नागरिक शिक्षाले नै गराउँछ।  

आज नेपालका सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरूपयोग भइरहेको प्रशस्त गुनासा सुन्नमा आइरहेका छन्। यस किसिमको भ्रष्टाचार गर्ने पदाधिकारीमाथि कारबाही हुन सकिरहेको छैन। हरेक ठाउँमा व्यापार व्यवसाय वा सरकारी कार्यालय किन नहुन्, व्याप्त भ्रष्टाचारका स्वर सुन्नमा आइरहेका छन्। विकासोन्मुख मुलुकको विकासको बाधक भनेको नै भ्रष्टाचार बनेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२० को अध्ययन सर्वेक्षण प्रतिवेदन अनुसार १८० वटा देशमा गरेको सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औँ नम्बरमा परेको छ। कुल १०० अंकमा नेपालले ३३ अंक ल्याएको सर्वेक्षणले औल्याएको छ। यसमा ५० अंक भन्दा कम अंक ल्याउने देशलाई भ्रष्टाचारग्रस्त मुलुक मानिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायको सशक्तीकरण र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलगायत हर पक्षबारे यथोचित ज्ञान र सिपको आधारशीला भनेको नागरिक शिक्षा नै हो। यसर्थ राज्यले नागरिक शिक्षालाई मानवोचित ज्ञानका रूपमा प्रवद्र्धन गरी व्यापक विस्तार सदुपयोग गर्न सक्नुपर्छ।  

लोकतन्त्रका नाममा राजनीतिक दलहरूले अनेक चलखेल र दुरूपयोग गर्ने कार्य गरिरहेका गुनासो बढ्दो छ। हरेक क्षेत्रमा भ्रष्टाचारी वा बेरुजु अनियमिततालाई खासै कारबाही हुँदैन। केही कारबाही भए पनि आग्रह र पूर्वाग्रहका कारण हुने गरेको चर्चामा छ। भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघको महासन्धि कार्यान्वयन भएको छैन। संवैधानिक अंगलगायतका कैयौँ महत्वपूर्ण राजनीतिक नियुक्तिमा योग्यता, दक्षता, विज्ञता, समर्पणभाव र क्षमता नभई राजनीतिक भागबन्डाका आधारमा हुने गरेका छन्। यस्तो कार्यले समाजमा शोषक र शोषित वर्ग निर्माण हुन पुग्छ।

बीसौँ शताब्दीका निरंकुश अत्याचारी शासकहरूले पछि देखावटी लोकतन्त्र र चुनावका आवरणमा ठूला ठूला गल्ती नगरेका होइनन् तर लोकतन्त्रका लागि आधारभूत अधिकार र अवसरहरू उपलब्ध गराउने र तिनलाई पालना गराउनमा भूमिका खेल्ने संस्थाहरू नखोलिएको अवस्थामा शासकहरू निरंकुशतातर्फ अग्रसर हुँदा पनि कहीँ आवाज नउठ्न सक्छ। १८औँ शताब्दीको अन्त्यतिर आमअमेरिकीले बुझेका थिए वाक् स्वतन्त्रताविना लोकतन्त्र प्राप्त हुँदैन। सन् १८०० मा थोमस जेफर्सनले धेरै कार्य गरे। त्यसमध्ये आफ्ना पूर्ववर्ती जोन एडम्सको पालामा लागु गरिएको विदेशी तथा राज्यद्रोह ऐन खारेज गरे। यसरी उनले तत्कालीन अमेरिकी नागरिकका भावना अनकूल गर्न खोजेको आभास दिलाउँछन्। नागरिकलाई लोकतन्त्रमा मौलिक अधिकारहरू नभइ हुँदैन। त्यस्ता अधिकारका संरक्षण गर्ने राजनीतिक, प्रशासनिक र न्यायिक संस्थाहरूप्रति पूर्ण समर्थन प्राप्त भएन भने लोकतन्त्र खतरामा पर्ने हुन्छ। लोकतन्त्र भनेको के हो ? यसलाई कसरी दिगो र मजवुत पार्न सकिन्छ ? लोकतन्त्रमा सबै समान हुन्छन्। सबैको अधिकार सुनिश्चित रहन्छ भन्ने चेतना जगाउने काम नागरिक शिक्षाको हो। नागरिक शिक्षाले लोकतान्त्रिक अभ्यास र प्रयोगबारे पनि ज्ञान दिलाउँछ।

बालक वा युवा, जोसुकैलाई पनि अनुकरणबाट सामाजिकीकरणको प्रक्रियातर्फ उन्मुख गराउने हो। राजनीतिक दल, संसद्, सरकारी कार्यालयहरू, मन्त्रिमण्डल, चुनाव अभियान जस्ता सार्वजनिक क्रियाकलापले बालकलाई भन्दा युवालाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ। असल गुणकारी व्यक्तिको जीवनशैली तथा कार्यशैलीले युवा वर्गमा प्रभाव पार्ने त्यसबमोजिमको आचरणको थालनी गर्नेसमेतको संभावना हुन्छ। मुलुकमा सम्मानित प्रतिनिधिबाटै असम्भावित, अमर्यादित र अलोकतान्त्रिक व्यवहार प्रदर्शन हुन थालेका समकालीन युवा र भावी पुस्तामा प्रतिकूल प्रभाव पार्ने हुन्छ। कैयाैं महान् व्यक्तिको जीवन आदर्शबाट प्रभावित भई कैयौँ व्यक्तिको विचार र कार्यशैलीमा अनकूल प्रभाव परी ठूला ठूला सेवाका कार्य भएका छन्।

असल शिक्षाले कुशल नेतृत्व र गुणी व्यक्ति निर्माण गर्छ। सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्तित्वहरूको असर र खराब प्रभाव युवा पुस्तामा पर्ने हुन्छ। उनीहरू गुणी र असल चरित्रवान भए भने तिनकै सिको गरी पछिल्ला पिँढी असल नागरिक बन्ने हुन्छ। सार्वजनिक व्यक्तित्वहरू नै ध्वस्त चरित्रहीन भए भने समाजका तमाम नयाँ पिँढीको सामाजिकीकरणको प्रक्रिया नै गलत दिशातर्फ जान सक्छ। यसर्थ सार्वजनिक व्यक्तित्व हुन् वा कलिला बालक किन नहुन्, तिनलाई नागरिक शिक्षाको कुशल प्रशिक्षणबाट समाजिकीकरणको प्रक्रियालाई कुशल दिशातर्फ मोड्न सकिन्छ। कुन कुरा गर्ने वा नगर्ने भन्ने विषयमा सजिलै सिकेको हुन्छ। कतिचाँहि देखेर, भोगेर, सिकेर उचित, अनुचित थाहा पाउँछ्। समाजमा बालकले धेरै कुरा छरछिमेक, साथीभाइबाट पनि सिक्छ। 

औपचारिक, अनौपचारिक परिवेश र परिस्थितिमा कसरी व्यवहार गर्ने र आदर वा शिष्टाचारलाई कसरी पालना गर्ने भन्ने कुरा बालकले परिवारबाट नै पहिला सिक्ने गर्छ। बालकको पहिलो पाठशाला परिवार, छरछिमेक अनि विद्यालय, क्याम्पस, विश्वविद्यालय हो। लोकतन्त्रको अभ्यास पनि यसैगरी क्रमैले सिक्दै आउने हो। हरेक विद्यालय लोकतान्त्रिक अभ्यासको प्रयोगशाला हो। यहाँ राम्रो शिक्षण सिकाइ प्रक्रिया हुन सकेमा मात्र मुलुकले असल नागरिक पाउने हो। केटाकेटीलाई वरपरको वातावरण, विद्यालय साथीभाइ सञ्चारका साधनले पनि सामाजिकीकरण गर्न ठूलो बल पुर्‍याएको हुन्छ। अझ भन्ने हो भने घर÷परिवाको भूमिका ठूलो प्रभावकारी हुन्छ। हरेक घर/परिवारदेखि नै असल सामाजिकीरणको प्रक्रिया थालनी गर्नका निम्ति पनि अभिभावक शिक्षामा नागरिक शिक्षालाई प्रेरणाको स्रोत बनाउन सके अरू बढी प्रभावकारी हुन्छ।

समाज वैज्ञानिक एलेक्स डि टाक्भलका अनुसार हरेक नयाँ पिँढी नयाँ जनता भएकाले उनीहरूले व्यक्तिगत तथा सार्वजनिक जीवनका गुण तथा अवगुण केलाएर आफ्नो जीवनमा उतार्न सक्नुपर्छ। यसरी समाज विद्यमान गुणहरूको सिकाइ एक निरन्तर चलिरहने प्रक्रिया हो। लोकतन्त्रमा पारदर्शिता हुने हुुँदा यसका आधारभूत मूल्य र मान्यताहरूमा ठोस प्रतिबद्धता जाहेर हुन्छ। नागरिकमा लोकतन्त्रका आदर्शबारेको यथोचित ज्ञान र सिपको विकासबिना लोकतन्त्र फस्टाउन सक्दैन। जहाँ लोकतन्त्रप्रति प्रतिबद्ध नागरिक हुन्छन् त्यहाँमात्र मानव अधिकार, कानुनको शासन, उत्तरदायित्वको वोध र सामूहिक भावना, अरूको भलोमा आफ्नो भलो ठान्ने प्रवृत्ति विकास हुन्छ। यस्ता प्रतिबद्धता साथ नागरिक सहभागिताका लागि नागरिक चेतना चाहिन्छ। यसका लागि नागरिक शिक्षाको ज्ञान नै अपरिहार्य छ।

प्रकाशित: २१ पुस २०७८ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App