१६ चैत्र २०८० शुक्रबार
विचार

खोप संङ्कीर्णताले खति

कोभिड महामारी अझै अन्त्य नभएको कुरा जति सत्य हो, महामारीले संसारका देशबीचको गहिरो विभेद सतहमा ल्याएको पनि उत्तिकै तीतो सत्य हो। धनी र विकसित देशले आफ्ना नागरिकलाई कोभिडविरुद्ध तेस्रो मात्रा खोप दिएर चौथो मात्रा दिने तयारी गर्दै गर्दा संसारका धेरै देश, विशेषतः अफ्रिकी देशमा अझै पनि पूर्ण (दुई) मात्रा खोप लगाउने मानिसको सङ्ख्या १० प्रतिशत पनि पुगेको छैन।  

विज्ञानले तुलनात्मकरूपमा निकै छोटो समयावधिमा कोभिडविरुद्धको खोप बनाउन सक्नु धेरै पछिसम्म मानिसको उल्लेखनीय उपलब्धिका रूपमा अभिलेखित रहनेछ। तर संसारकै लागि खतरा बनेको महामारी रोक्ने हतियार बनेको खोपमा समेत विभेदको कुरूप चित्र उजागर हुँदा वास्तवमा संसार र मानव जाति कता जाँदैछ भन्ने प्रश्न पनि यतिबेला टाठो सुनिएको छ।

नोभेम्बरबाट संसारमा फैलिन थालेको ओमिक्रोन भेरियन्ट रोकथाम गर्न अहिले प्रयोगमा आएका खोपले नै काम गर्छ वा गर्दैन भन्ने विषयमा पश्चिमा अध्येताहरूले सघन अध्ययन गर्दैगर्दा केही अफ्रिकी देशले भने आफूलाई सहायतामा आएका खोप नष्ट गर्दै थिए। विश्व स्वास्थ्य संगठनअन्तर्गत खोप व्यवस्थापन संयन्त्र कोभ्यास र अफ्रिकी खोप खरिद कोष (एभ्याट) जस्ता सञ्जाल तथा सिधै विभिन्न देशबाट प्राप्त खोप म्याद सकिएको पुष्टि भएपछि महामारीको चपेटामा परेका देशहरूले मन मारेर खोप खाल्डो खनेर नष्ट गर्नुपर्‍यो।

खोपमा विभेद र असमानताकै कारण आज अफ्रिकाबाटै नयाँ भेरियन्टको जन्म भएको छ। ओमिक्रोनले आज गरिब देशलाई त दुःख दिइरहेको छ नै। धनी देशलाई पनि छाडेको छैन।

अफ्रिकी देश नाइजेरियाले १० लाख ६० हजार भन्दा बढी अस्ट्राजेनका खोप नष्ट गर्‍यो। सेनेगलले सन् २०२१ को अन्त्यसम्ममा ४ लाख खोप नष्ट गर्‍यो। गत सालको मे महिनामा मालावीले झण्डै २० हजार मात्रा खोप र अप्रिलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोले १३ लाख मात्रा खोप नष्ट गरे। दक्षिण सुडानले ७२ हजार मात्रा खोप कोभ्याक्सलाई फिर्ता गर्‍यो। उसले मार्चमा प्राप्त गरेको १ लाख ३२ हजार अस्ट्राजेनेका खोपको म्याद जुन मसान्तसम्म मात्र थियो। फेब्रुअरीमा भारतले दक्षिण अफ्रिकालाई १० लाखमात्र अस्ट्राजेनका खोप पठायो। तर त्यसको पनि म्याद दुई महिनामात्र थियो।  

दक्षिण अफ्रिकी सरकारले त्यो खोप प्रयोग नगर्ने र फिर्ता गर्ने निर्णय गर्‍यो। त्यही खोप मार्च मसान्तमा अफ्रिकी सङ्घमार्फत अन्य अफ्रिकी देशहरूमा पठाइयो। खोपको चरम अभाव भोगिरहेका देशहरूले खुसी भएर त्यो खोप लिए। तर उनीहरूलाई खोपको म्याद निकै छोटो भएको पूर्वजानकारी दिइएन। नाइजेरियाले पाएको कम आयुका केही खोप उसले आफ्ना छिमेकी देश टोगो र घानालाई पठाएको थियो। ‘द इकोनोमिक्स’ मा प्रकाशित अर्को समाचारअनुसार दक्षिण अफ्रिकाले अस्वीकार गरेको १ लाख ९१ हजार अस्ट्राजेनका खोप पछि दक्षिण सुडानमा पठाइयो। त्यहाँ पुग्दा खोपको आयु जम्मा दुई सातामात्र बाँकी थियो। दुई सातामा खोप प्रयोगमा ल्याउन सम्भव थिएन। नष्ट गर्नुको विकल्प रहेन। मानिसको जीवन जोगाउनेमात्र होइन, सिंगो संसारलाई विपत्तिको दलदलबाट उकास्ने खोप यसरी नष्ट गर्नुपर्नाको कारण के?  

केही पश्चिमा सञ्चारमाध्यमहरू अफ्रिकी देशमा स्वास्थ्य पूर्वाधार राम्रो नभएको हुनाले सहायतामा आएको खोपसमेत नष्ट गर्नुपरेको समाचार सम्प्रेषण गरिरहेका छन्। अफ्रिकी रोग नियन्त्रण केन्द्रअन्तर्गत अफ्रिकी खोप आपूर्ति तथा अफ्रिकी खोप उत्पादन साझेदारीका सदस्य असफुरा अब्दुल करिम यस्ता प्रचारबाजीप्रति असहमति राख्छिन्। उनी पूर्वाधार र खोप अभियान चलाउने क्षमताको विषयमा अफ्रिकी सरकारको आलोचना गर्नुअघि कुन अवस्थामा ती खोप त्यहाँ पुगे भन्ने कुरा बुझ्न जरुरी भएको बताउँछिन्। अफ्रिकी देशमा अधिकांश खोप या छोटो सूचनाको भरमा पुर्‍याइएका थिए नभए ती खोप म्याद नाघेका थिए।  

छोटो समयसीमामा खोपको थुप्रो लाग्दा अपुग पूर्वाधार भएका अफ्रिकी देशहरूलाई ती खोप व्यवस्थापन गर्न हम्मेहम्मे भयो। छोटो आयु बोकेका खोपलाई तत्काल वितरण गर्न नसक्दा तिनको म्याद सकियो र तिनलाई नष्ट गर्नुको विकल्प रहेन। अफ्रिकी देशमा अनुदानमा आएका कतिपय खोप म्याद नाघेका थिए।  

केही महिनाअघिसम्म संसारका गरिब तथा विकासशील देशलाई अत्यावश्यक खोप उपलब्ध गराउन कोभ्याक्ससँग पुग्दो मात्रामा खोप थिएन। विशेषतः धनी देशहरूले आवश्यकता भन्दा बढी खोप भण्डारण गर्दा संसारभर पुर्‍याउन खोपको अभाव भएको भन्दै विश्व स्वास्थ्य संगठनका अधिकारीहरू रोइकराइ गरिरहेका थिए। उनीहरू धनी देशसमक्ष आवश्यकता भन्दा बढी खोप भण्डारण नगर्न र ‘खोप अन्धराष्ट्रवाद’ त्याग्न आग्रह गरिरहेका थिए तर स्वार्थी धनी देशहरूले यस्ता आग्रहको टेरपुच्छर लगाएनन्।  

अहिले त्यसरी भण्डारण गरिएका खोपको आयु सकिँदैछ। अब ती खोप धनी देशका लागि घाँडो भएको छ। ती खोपलाई ‘अनुदान’ र ‘मानवता’ को नाममा गरिब देशलाई पठाएर आफ्नो भण्डार नयाँ खोपले भर्न धनी देशहरू आतुर छन्। त्यसरी भण्डार खाली गर्ने क्रममा म्याद सकिन थालेका र सकिएका खोप कोभ्याक्समार्फत तेस्रो विश्वका देशहरूमा पठाइँदैछ। हिजो थोपा पाउन गाह्रो खोपको अहिले हाम्रै देशमा पनि बाढी आउनुको मूल कारण यही पनि हो। विभिन्न देश र अन्तर्राष्ट्रिय संगठनले पठाउने खोपको बाढी रोक्न नेपाल सरकारले ती निकायलाई केही समय खोप नपठाउन अनुरोधसमेत गर्नुपरेको थियो। तथ्याङ्कअनुसार अमेरिकालगायत उसको नजिकका केही देशसँग मात्र २४ करोड मात्रा खोप म्याद नाघ्ने अवस्थामा छन्। म्याद नाघेका वा नाघ्ने क्रममा रहेका खोप अन्य देशमा पठाएर आफ्नो भण्डार खाली गर्ने विषयमा अमेरिकामा सङ्घीय र राज्य सरकारबीच विवादसमेत भएको थियो। यसरी गरिब देशमा म्याद नाघेको खोप जान थालेकामा आलोचना बढ्न थालेपछि कोभ्याक्स र एभ्याट जस्ता सञ्जालले कम्तीमा १० साता म्याद भएको खोपमात्र सहायतामा लिने मापदण्डसमेत बनाउनुपर्‍यो।  

प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित असफुरा अब्दुल करिमको लेखमा अफ्रिकी देशहरूलाई अहिले ‘बलीको बोका’ बनाएर धनी देशहरूले आफूले खाँचो भन्दा बढी खोपको भण्डारण गरेको र अन्धराष्ट्रवादी नीति अंगीकार गरेको अपराधको प्रत्यक्ष परिणाम लुकाउन खोजेको बताएकी छिन्। खोप उत्पादनका निम्ति पुँजी, स्रोत/साधन र वैज्ञानिक अध्ययन अनि पूर्वाधार भएका धनी देशहरूले सुरुबाटै संसारभर समतामूलक ढंगले खोप वितरण गरेको र आफूलाई चाहिने भन्दा बढी खोपको अनुत्पादक भण्डारण नगरेको भए महामारी नियन्त्रणमा संसारले धेरै ठूलो प्रगति गरिसक्ने थियो। खोपमा विभेद र असमानताकै कारण आज अफ्रिकाबाटै नयाँ भेरियन्टको जन्म भएको छ। ओमिक्रोनले आज गरिब देशलाई त दुःख दिइरहेको छ नै। धनी देशलाई पनि छाडेको छैन। आज बेलायत सब भन्दा बढी ओमिक्रोन भेरियन्टको चपेटामा परेको छ।  

खोपमा धनी देशहरूको सङ्कीर्णता र अनुदारताका कारण महामारीको आयु अझै लम्बिरहेको छ। महामारीका कारण संसारको अर्थतन्त्रमा पारेको प्रभावले हरेक मानिसको दैनन्दिनमा बहुआयामिक प्रभाव पारिरहेको छ। त्यसको अन्त्यका निम्ति संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नुको विकल्प अहिले मानिससँग छैन। तर, धनी र आफूलाई विकसित भन्ने देशहरूले ‘सर्वे भवन्तु सुखिनः’ को कोणबाट भन्दा उही पुरानै उपनिवेशवादी चस्मा लगाएर संसारलाई नियाल्दा मानव जाति कुन दिशातिर जाँदैछ भनी चिन्तायुक्त छलफल हुनु स्वाभाविक हो।  

धनी देशहरूले अब गरिब देशलाई आफ्नो ‘फोहोर फाल्ने कन्टेनर’ ठान्नु उनीहरूकै लागि घातक हुन सक्छ। संसारको कुनै पनि कुनामा कोभिडको बिउ बाँकी रहुञ्जेल कोही पनि मानिस सुरक्षित नभएको वास्तविकता दुई वर्षमा संसारले सिकिसकेको छ। गरिब देशलाई फेरि पनि नक्कली सामान पठाएर ‘मानवतावाद’ को स्वाङ नछाड्ने हो भने ओमिक्रोनका नवीन शृङ्खलाहरूले संसारलाई अत्याउन कदापि छाड्ने छैन। अन्धराष्ट्रवाद जुनसुकैरूपमा पनि संसारका लागि घातक हुने गर्छ। विश्वयुद्धहरू राजनीतिक अन्धराष्ट्रवादका परिणाम थिए। अहिले खोपमा अन्धराष्ट्रवादले पनि संसारको भलो गरिरहेको छैन।  

त्यसका निम्ति संसारका सबै देश र अन्तर्राष्ट्रिय निकायले कोभिडको खोप र भविष्यमा विकास हुने औषधिलाई ‘सार्वजनिक वस्तु’ बनाउन सक्नुपर्छ। खोप उत्पादन संसारका सबै देशको उत्तरदायित्व हुने र त्यसमा कुनै पनि देश वा औषधि कम्पनीको विशेषाधिकार नहुने नीतिले संसारलाई खोपको अभाव वा खोप प्रभुत्ववादबाट मुक्त गर्न सक्नेछ। म्याद नाघेको वा कमजोर खोप दिएर मानिसलाई त झुक्याउन सकिएला। तर प्राकृतिक भाइरसलाई झुक्याउन त गाह्रै पर्छ। भाइरसले मानिसको रङ, जात, भाषा, राष्ट्रियता, उमेर, लिंग नचिन्ने कुरा संसारका धनीले पनि नबुझेको पक्कै होइन।  

nlawoju@gmail.com

प्रकाशित: २० पुस २०७८ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App