८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

भर्खरै सम्पन्न नेपाली कांग्रेस १४औँ महाधिवेशनको उद्घाटन सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘आजकाल जनताले नेताहरूलाई चोर भनेर चिन्ने गरेको’ भनी भाषणमा व्यक्त गर्दा ‘चोरको खुट्टा काट’ भनेको सुनेपछि हत्तपत्त आफ्नो खुट्टा पछाडि सारेर लुकाएजस्तो केही नेताले चोरको चेतनाबोध झल्किने प्रकारले प्रतिवाद गरेका थिए।

सोही कार्यक्रममा बोल्ने क्रममा उनीहरूले पूर्वराजा ज्ञानेन्द्रमाथि विरोधको कटाक्ष गरेका थिए। बढी मात्रामा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई लिङ्देनले चोर भनेको कुराले मर्माहत बनाएछ, उनीहरूले प्रतिवाद गरे। सबभन्दा नराम्रो गरी बेवकुफ भएका थिए, माओवादी अध्यक्ष प्रचण्ड।

आफ्नै कुकृत्यको दुष्परिणामको रूपमा सातो गएका अर्का व्यक्ति हुन् राप्रपा अध्यक्षमा पराजित कमल थापा। आफ्ना बेथितिवादी तथा अराजक चरित्रले गर्दा जनताबाट कमाएको घृणा बिर्संदै, आफ्नै नेताले कुनै बेला ‘मुसा चरित्र’ भनेर किटानीका साथ औँल्याएको चरित्र देखाउँदै, २०७० को संविधानसभा निर्वाचनमा जनताले चौथो शक्तिको मतादेश र प्रतिनिधित्वको हैसियत स्थापित गरिदिएको अभिभारालाई आफ्नो स्वार्थमा भजाएको वास्तविकता लुकाउने चेष्टामा, पार्टीभित्रको निर्वाचनमा आफ्ना नालायकीको पराजयका लागि उनले पूर्वराजा ज्ञानेन्द्रलाई दोष दिएर विरोध गरे।

तत्कालीन राजदरबारको छत्रछायामा आफ्नो राजनीतिक हैसियत बनाएका कमल थापाले अति गरेपछि ‘पुनमूर्सिको भवः’को नियति भोग्नुपर्दा जेजस्ता बकवास गर्दै रहून्, राष्ट्रिय राजनीतिमा त्यसको कुनै अर्थ वा महत्त्व छैन।

गएको बडादशैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देशमा मुलुकको वर्तमान बेथिति, भ्रष्टाचार, कानुन मिच्ने प्रवृत्ति, दण्डहीनता इत्यादिबाट देश र जनताले भोग्नुपरिरहेको पीडा–मर्कालाई लिएर चिन्ता व्यक्त गरिएको थियो। वास्तवमा सो सन्देशमा व्यवस्थाका बारेमा होइन, अवस्थाका बारेमा विचार व्यक्त भएको थियो। त्यो पनि कतिपय गणतन्त्रवादी नेताहरूलाई पचेको थिएन।

किन खनिन्छन् पूर्वराजाविरुद्ध ?

पूर्वराजा चुपचापसँग आफ्नो सामाजिक जीवन बिताइरहेका छन्। मुलुक र जनताप्रतिको सामाजिक जिम्मेवारीबोधले उनलाई खास अवसर वा पर्वमा बोल्ने कर्तव्यजन्य आग्रह गर्दछ। उनले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नुको कारण राज्यमा पराधीन गणतन्त्र, जनविरोधी ‘नेता’, भ्रष्ट शासन, कर्तव्यच्युत प्रशासन, दण्डहीनताको पराकाष्ठा होस् भन्ने उद्देश्यले पक्कै थिएन। आफ्ना दोष र कमजोरी लुकाउन पूर्वराजालाई अचानो बनाउनु जनताका नजरमा स्वयं दोषी साबित हुनु हो। त्यसैले होला, गणतन्त्रवादीले उल्टोतिरबाट राजतन्त्र पुनः स्थापनाको सम्भावनालाई प्रबल बनाइरहेका छन् भनेर जनस्तरमा प्रतिक्रिया सुन्न थालिएको छ।

०६२/६३ को आन्दोलन राजाको घोषणाद्वारा विघटित प्रतिनिधिसभा पुनःस्थापनाका साथ सुरक्षित अवतरण भयो। एमालेकै हाराहारीमा ‘ईश्वरको नाममा’ प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेका माओवादी समेत उपस्थित भएपछि सर्वसम्मतिमा आएको ‘प्रतिनिधिसभा घोषणा २०६३’ को प्रस्तावनामै ‘जनआन्दोलन र राजाको घोषणाद्वारा पुनःस्थापित प्रतिनिधिसभा’ भनी उल्लेख गरिएको छ। सात राजनीतिक दलले राजासँग गरेको सम्झौता उक्त प्रतिनिधिसभा घोषणाको पाँचौँ दफामा उल्लेख छ।

६ वटा उपबुँदामा उल्लिखित पाँचौँ दफाको पहिलो बुँदामा भनिएको छ, ‘राजगद्दी उत्तराधिकार सम्बन्धी कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार प्रतिनिधिसभामा रहनेछ।’ त्यसैको दोस्रो बुँदामा ‘श्री ५ को खर्च र सुविधा प्रतिनिधिसभाको निर्णयबमोजिम हुनेछ’ उल्लेख छ। राजासँग गरिएको यही सम्झौतामाथि दलहरूले बेइमानी गरेको भनिएको हो। पुनः स्थापित प्रतिनिधिसभाले गणतन्त्रतर्फ जानु थियो वा राजासँग कुनै सम्झौता भएको थिएन भने सो घोषणामा दफा ५ राख्नुपर्ने के जरुरी थियो ? हो, यहीँबाट सुरु भएको हो उच्चस्तरको भद्र र लिखित सहमतिमाथि अभद्र किसिमको बेइमानी।

गणतन्त्र महँगो मूल्य चुकाउँदै

राजतन्त्र फालेर गणतन्त्र जसले जुन स्वार्थले ल्याएको होस्, निजको स्वार्थ पूरा हुनुको साटो उल्टै महँगो मूल्य चुकाउँदै नदुखेको टाउको दुखाउनुपरिरहेको छ। तर यो ‘लथालिंग देश’को गणतन्त्र शासनलाई किल्ला बनाएर गणतन्त्र ल्याउन लगानी र जोरजुलुम गर्नेमाथि नै खतरनाक धावा बोल्ने दिन नआउला भन्ने ग्यारेन्टी कसले दिन सक्छ? राजतन्त्र उखेलिएको खाडलमा राष्ट्रिय शक्ति होइन, राष्ट्रविरोधी शक्तिको सलबलाहट टड्कारो महसुस हुन्छ। जातीय वैमनस्यता, धर्मनिरपेक्षता, विदेशतिर आश्रित हुने मनोवृत्ति त्यहाँ बढिरहेका देखिन्छन्।

सर्वसाधारण जनताको दृष्टिकोण र ठहर बिल्कुल फरक छ। जनतालाई राजा भएको ठाउँमा अन्याय हुँदैन भन्ने अझै विश्वास छ। तब पूर्वराजा ज्ञानेन्द्र जहाँजहाँ जान्छन्, त्यहाँ स्वस्फूर्त रूपमा स्थानीय जनताको भीड लाग्ने गर्छ। भीडले राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारा लगाउँछ। विदेशीमध्ये कतिपयलाई राजतन्त्र स्थिरता र अखण्डताको मियो संस्था हो भन्ने लागेको देखिन्छ।

निर्वासनमा रहँदा कांग्रेस नेता शैलजा आचार्यले पुलिस र जासुसको पिछा छलेर आयोजना गरिदिएको जननायक बिपी कोइराला र कम्युनिस्ट नेता पुष्पलालको भेटवार्तामा कुराकानी चल्दा पुष्पलालले भनेका रहेछन्, ‘हामी पूराका पूरा गणतन्त्रवादी हौँ, तर गणतन्त्र जनमतले ल्याउँछ, जनमतले भएन भने जनक्रान्तिले ल्याउँछ। त्यस्तो गणतन्त्रमाथि सच्चा प्रजातन्त्रवादी हो भने तपाईंले पनि स्विकार्नुपर्ने परीक्षा हुन्छ। नेसन फर्स्ट मेरो मान्यता हो। नेपालीका लागि आउने गणतन्त्रले हामीलाई नै कठपुतली बनाउन थाल्ने भयो भने त्यस्तो गणतन्त्रबाट हामीले दुई कदम पछि सर्नुपर्छ।’

०६२/६३ को जनआन्दोलनले गणतन्त्रको नारा बोकेकै थिएन, ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेको थियो, जसको अर्थ ‘गणतन्त्र’ भन्ने लाग्दैन। बिपीका शब्दमा, ‘विदेशीले आफ्ना लागि सिँगारपटार गरेर क्रान्तिकारी बनाएका मानिसले रचेको क्रान्ति देशलाई काम लाग्दैन, क्रान्ति विदेशीको इच्छाले वा उनीहरूको खटन र उनीहरूबाट आयात गर्न खोज्नु हुँदैन। त्यसले राष्ट्रका उपर अर्कै जोखिम पैदा गर्न थाल्छ। मेलमिलापको नीतिमा यही ध्येय निहित छ।’

आरोप–प्रत्यारोपको होडबाजीले कसैलाई पनि सही देखाउँदैन। आफू सही हुन कसैलाई दोषी देखाउने जरुरत हुँदैन। त्यसकारण चेतनशील नागरिकको कर्तव्य उसले आफ्नो राष्ट्रको इतिहास बिर्सनु र कृतघ्न हुनु हुँदैन। सकारात्मक र वस्तुपरक भएर हेर्ने हो भने ‘थिति बाँधेर सल्तनत चलाउन्या छौ’ भन्ने पृथ्वीनारायण शाहको भनाइले आधुनिक विधिको शासनको आवश्यकतालाई मुखरित गर्दछ। पृथ्वीनारायण शाह मात्र होइन, पुर्खाको शासन शैलीका कतिपय अवगुणका बाबजुद जंगबहादुरको राष्ट्रप्रेम, राजा महेन्द्रले बनाएको आधुनिक राष्ट्रवाद, राजा वीरेन्द्रले शान्ति, विकास र प्रजातन्त्रका निम्ति गरेका प्रयास, जननायक बिपी कोइरालाले बनाएको राजतन्त्र र प्रजातन्त्रको जगमा समाजवादी समाजको खाका, कम्युनिस्ट नेता पुष्पलालले लिएको ‘नेसन फर्स्ट’को नीति अन्तर्गत प्रजातन्त्रवादी शक्तिसँगको संयुक्त प्रयासमा प्रजातान्त्रिक आन्दोलनको वस्तुपरक मूल्यांकन र इमानदारीपूर्वक अवलम्बन हुन नसक्दा मुलुक आज बीच समुद्रमा दिशा हराएको जहाजजस्तो हुन पुगेको हो।

कांग्रेसको कर्तव्य हो बिपी, गणेशमानजी, सुवर्णजीजस्ता नेताहरूले देखाएको मध्यमार्गमा देश र पार्टीलाई हिँडाउने। कम्युनिस्टहरूको जिम्मेवारी हो, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताले चिनेको मुलुकलाई उनीहरूकै भावना र सपनाको बाटोमा हिँडाउने। सबै राष्ट्रिय शक्तिहरूबीच कसैविरूद्ध पनि निषेधको नियत नराखी मेलमिलाप र एकताको वातावरण बनाएमा मुलुकले गति, मुक्ति र प्रगति पाउनेछ। नत्र, यस्तै आरोप–प्रत्यारोपको होडबाजी, दोष र जिम्मेवारी पन्छाउने, श्रेय र उपलब्धि मात्र हत्याउन खोज्ने हो भने मुलुकको भाग्य र भविष्यबारे केही भन्न नसकिने हुन सक्छ।

प्रकाशित: ८ पुस २०७८ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App