पाल्पा तानसेन राणाकाल अघिदेखि नै काठमाडाैंपछिको दोस्रो ठूलो प्रशासनिक केन्द्र थियो। त्यसको पुष्टि आदिकवि भानुभक्त आचार्यले सरकारी कर्मचारीको रूपमा पाल्पामा काम गरेको आधारमा पुष्टि हुन्छ। अर्थात् नेपालको आर्थिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा पाल्पाको विशिष्ट योगदान छ भन्दा फरक नपर्ला। किनभने योजना आयोगका दुई उपाध्यक्ष पाल्पाली भए। कुनै वेला राजा वीरेन्द्रका मुख्यसचिव पाल्पाली थिए। हुँदाहुँदा देशको प्रधानमन्त्री (मन्त्रिपरिषद्को अध्यक्ष) समेत खिलराज रेग्मी भए, जो पाल्पाली नै थिए। मुख्यसचिव भएका माधव घिमिरे पनि पाल्पाली हुन्, जो पछि खिलराज रेग्मीकै पालामा गृहमन्त्री भए तर दुर्भाग्यवश उनको जिप दुर्घटनामा रहस्यमयी मृत्यु भयो। अहिले पनि नेपालको प्रशासनिक संयन्त्रमा अंग्रेजीको ‘ग्याप्स’ भन्ने शब्दावली प्रख्यात छ, अर्थात् प्रशासनिक क्षेत्रमा गुल्मी, अर्घाखाँची, पाल्पा तथा स्याङ्जाको वर्चस्व छ। यसरी पाल्पासँग जोडिएका जिल्ला खासगरी गुल्मी, अर्घाखाँची र स्याङ्जाको समेत वर्चस्व हुनुमा पाल्पाकै विशेष योगदान रहेको छ, किनभने नेपालका अन्यत्र ठाउँमा शिक्षाको विकास नहुँदा राणाकाल (२००४ साल) मै माध्यमिक विद्यालय खुलिसकेको थियो। कलेजस्तरको पढाइ २०११ सालमै सुरु भएको थियो। सुरुसुरुमा एसएलसी र पछि कलेजको पढाइ गर्न यहाँ उल्लेख गरिएका जिल्लावासी सबै पाल्पामै आउँथे। सुन्नमा आएअनुसार गुल्मीका लीलामणि पौडेलले पनि पाल्पाको जेभिटी विद्यालयमा पढेका थिए र पछि उनी मुख्यसचिवसम्म भए। अहिले गाउँगाउँमा कलेजको शिक्षा प्राप्त भए पनि बाहिर गएर पढ्न चाहने अझै पनि पाल्पा आउने गरेका छन्, यिनै कारण नेपालको सबै क्षेत्रमा पाल्पालीको वर्चस्व भएको हो।
जुन वेला तराईमा घना जंगल र औलो थियो, त्यति वेला सो बाटो भएर काठमाडौं आउने कल्पना गर्न सकिँदैनथ्यो। अतः धादिङ, गोर्खा, तनहुँ, कास्की तथा स्याङ्जाको पहाडी बाटो हुँदै पाल्पा जानुपथ्र्यो। लगभग एक महिना हिँड्नुपर्ने कठिन बाटो हुँदाहुँदै पनि काठमाडौं र पाल्पाबीचमा धेरै पुरानो सम्बन्ध थियो, किनभने काठमाडौंपछि दोस्रो दर्जाका प्रशासक पाल्पामा बस्थे। त्यसकै परिणामस्वरूप पाल्पा तानसेनमा ऐतिहासिक दरबार मात्र छैन, काठमाडौं उपत्यकाकै पाटन तथा भक्तपुरका मन्दिरको झझल्को दिने शैलीका मन्दिर पनि छन्। काजी अमरसिंह थापाले अंग्रेजसँग युद्ध लड्दा पाल्पालाई नै आधार बनाएका थिए। तानसेन बजारका टोलका नाम काठमाडौंकै नक्कल गरी बनाइएको छ, अर्थात् असन, भीमसेनटोल र पछिल्लो समय विशाल बजार यसको उदाहरण हो। इतिहास तथा संस्कृतिका धेरै पाटा काठमाडौंसँग परापूर्व कालदेखि नै जोडिएको छ। यी सबका बाबजुद पाल्पा पहिलेजस्तो थियो, अहिले पनि लगभग उस्तै छ, फेरिएको छ त विकास र प्रविधि। पहिले कच्ची घर तथा संरचना थिए, अहिले पक्की। पाल्पा तानसेनका रैथाने धेरैजसो बुटवल, भैरहवा, नारायणगढसम्म फैलिएका छन् भने धेरै पाल्पालीको दोस्रो घर काठमाडौं भएको छ। पाल्पा जिल्लाभरिका खासगरी मध्यम तथा उच्च वर्गीय परिवारका कुनै न कुनै सदस्य युरोप, अमेरिका तथा अस्ट्रेलियामा बसोबास गर्छन्।
काठमाडौंसम्मको आवतजावतको कुरा गर्दा औलो उन्मूलन नहुँदासम्म एक महिनाको पहाडी बाटो थियो, जब भारतको नौतनवासम्म रेल आयो र गोरखपुरको रेल रक्सौलसम्म जोडियो, त्यसपछि पाल्पालीको काठमाडौंसम्मको यात्रा अलि सहज भयो। २०१६ सालतिरै त्रिभुवन राजपथले वीरगन्जलाई जोड्यो, त्यसपछि यात्रा अझ सहज भयो। पाल्पाबाट गोरखपुर हुँदै काठमाडौंसम्म यात्रा गर्ने मेरै पुस्ताका धेरै दाइहरू हुनुहुन्छ, जो पढाइ तथा जागिरका लागि काठमाडौं ओहोरदोहोर गर्नुहुन्छ।
मेरै पालामा पनि काठमाडौंसम्मको यात्रा त्यति सहज थिएन, चीनले काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्गको निर्माण गरेपछि सुनौलीबाट पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग काठमाडौंसम्म जोडियो। अनि, बसको यात्रा अलि सहज भयो, तर तानसेनबाट काठमाडौं आउँदा दुई दिन लाग्थ्यो, अर्थात् बिहानै बस चढेर पोखरासम्म आउँदा दिउँसोको २ बजिसकेको हुन्थ्यो, त्यहाँबाट काठमाडौंसम्म जाने बसले बीचमा बास नबसी धर पाउँदैनथ्यो। यो सिलसिला धेरै लामो समयसम्म चल्यो, त्यसपछि मिनीबसको चलन आयो। जुन बस भैरहवाबाट ५ बजे छुटेर काठमाडौंमा राति ७–८ र कहिले रातको १० बजेसम्म पुग्थ्यो, अर्थात् जसरी पनि यात्रा एक दिनको भयो। त्यसै बीचमा पूर्व–पश्चिम राजमार्गको निर्माणले गति लियो र बुटवलबाट नारायणगढसम्म बाटो तयार भयो। तर नारायणी नदीमा पुल नबन्दा ठूलो डुंगामा गाडी र मान्छे तार्नुपर्ने भयो। धेरै वर्षसम्म गाडी तार्ने व्यवस्था थिएन, यसबाट हामी हाईस्कुलका विद्यार्थी हुँदा तानसेनबाट वीरगन्जसम्मको यात्रा सहज भयो। त्यसपछि नारायणगढ गोर्खा राजमार्ग चीन सरकारले बनाइदियो। खासगरी मुग्लिन नारायणगढको बाटो अत्यन्त रणनीतिक महत्वको साबित भयो, किनभने यसले नेपालको पश्चिम क्षेत्रको यात्रा मात्रै नभईकन पूर्वी क्षेत्रको यात्रा पनि सहज बनाइदियो। तर लामो समयसम्म नारायणी नदीमा पुल नबन्दा ठूलो डुंगामा गाडी र मान्छे तार्दा धेरै लामो पालो कुर्नुपर्ने अवस्था थियो। अर्थात् काठमाडाैंबाट बिहान १०–११ बजे नारायणगढ पुग्दा पनि नदी तर्दा ३–४ बज्नु सामान्य थियो। पछि पुल बनिसकेपछि पाल्पालीको रुट बुटवल, नारायणगढ हुँदै काठमाडौंसम्म भयो, जुन आजपर्यन्त कायम छ।
पाल्पाको छिमेकी जिल्ला गुल्मीमा एयरपोर्ट बनिसक्दा यहाँ एयरपोर्ट बन्ने कुनै चर्चा समेत छैन। अहिलेको पुस्ता तथा काठमाडौं लगायत देश–विदेशमा बस्ने पाल्पालीका लागि एयरपोर्ट आवश्यक भइसकेको छ। अब प्रश्न उठ्छ, एयरपोर्ट कहाँ बनाउने, साना १९ सिटे जहाजका लागि एयरपोर्ट डाँडा काटेर कहीँ पनि बनाउन सकिन्छ, तर त्योभन्दा ठूला जहाजका लागि एयरपोर्ट बनाउने ठाउँ कहाँ त? पाल्पालीलाई प्रकृतिले दिएको माणी फाँट छ। हाम्रा पुर्खाले यत्रो ठूलो उपत्यकामा सहर बनाउने कल्पना किन गरेनन् होला भनी बुझ्दा त्यसलाई अन्नको भण्डारको रूपमा लिइएको र त्यहाँ सहर बसाउँदा त्यो मासिने हुँदा बरु पानीको अत्यन्त अभाव भएको श्रीनगर डाँडोमा बस्ती बसाउन उनीहरू तयार भएको देखिन्छ। पहिले पनि माणीको अन्नले पाल्पालीलाई पुग्दैनथ्यो, अहिले त झन् पुग्ने कुरा भएन। अतः माणीफाँटमा एयरपोर्ट बनाउने हो भने ७२ सिटे जहाज अवतरण गर्ने एयरपोर्ट सजिलै बनाउन सकिन्छ। पूर्व–पश्चिम फैलिएको माणीफाँटमा अवतरण र उडान भर्न चाहिने पर्याप्त ठाउँ छ। अब यो अन्नको भण्डारलाई मास्ने कि नमास्ने, एयरपोर्ट बनिसकेपछि त्यहाँ बिस्तारै सहर पनि बस्ने भएको हुँदा अन्न फल्ने खेत झन् कम हुँदै जाने पक्का छ, तर अब हामीले सोच्नुपर्ने भएको छ, पुरातन प्रणालीमा आधारित खेतीलाई कायम गर्ने कि अहिलेको आवश्यकतालाई पूरा गर्न एयरपोर्ट बनाउने।
हामीले बचपनदेखि नै सुन्दै आएका शिक्षा, स्वास्थ्य र पर्यटन पाल्पाको विकासको आधार भनेको तर त्यसलाई सार्थक बनाउने कुनै पनि पहल पाल्पाबाट बनेका योजनाविद्, प्रधानमन्त्री तथा प्रशासकले कहिल्यै गरेनन्। पर्यटन विकासमा थप योगदान पुर्याउने हो भने एयरपोर्ट एउटा मुख्य पूर्वाधार हुन्छ। माणीफाँटलाई जहाँसम्म अन्न भण्डारकै रूपमा सुरक्षित राख्ने कुरा छ, अहिले मदनपोखरा समेत तानसेन नपामा गाभिएको हुँदा अहिले माणीफाँटको बीचतिर नभए पनि छेउछाउमा प्रशस्तै प्लटिङ भएको बुझिएको छ। त्यहाँ एयरपोर्ट बनाए पनि नबनाए पनि त्यो क्रम रोकिने सम्भावना छैन। यदि त्यहाँ एयरपोर्ट बनेर सुचारु भयो भने पाल्पाली लगायत ग्याप्स भनिने क्षेत्रका बासिन्दाले पनि प्रत्यक्ष लाभ पाउनेछन् र पाल्पाको पर्यटन विकासमा थप टेवा पुग्नेछ।
प्रकाशित: ४ पुस २०७८ ०२:४१ आइतबार