कुनै जाति, समुदायले राज्य स्थापना गरेर आफ्ना प्रथालाई सामाजिक व्यवहारमा ल्याएपछि प्रथाले कानुनको रूप लिन्छ। यस्ता प्रथाजनित कानुनहरूको झल्को लिम्बू जातिका केही संस्थामा पाइन्छ। जस्तो– चुम्लुङ (सभा) र तुम्याङ (भद्रभलाद्मी)। झै–झगडा मिलाउन, जग्गाको सीमाङ्कन गर्नदेखि प्राकृतिक विपत्ति टार्न लिम्बूहरूको चुम्लुङ बस्ने चलन थियो। साजोरा इङ्मी (जनप्रतिनिधि) हरूले चुम्लुङ बोलाएपछि सावा येहाङ (प्रजा) हरूलाई न्याय दिने कार्य तुम्याङबाट हुन्थ्यो। लिम्बूहरूको मुन्धुम (आख्यान) मा प्राकृितक विपत्तिबाट बच्न चम्ुलुङ (कचहरी/सभा) को आयोजना भएको पाइन्छ। मुन्धुमअनुसार घामलाई पृथ्वीतलका पशुपन्छीको चुरीफुरी मन पर्दैन र उसलाई डाहा हुन्छ र बेस्सरी जलचर थलचरहरूलाई सेक्न थाल्छ। यस्तो भएपछि दुष्ट घामबाट बच्न लुङबोङबा खाम्बोङबा (भूमिपुत्र) को अगुवाइमा पुच्छर डढेका दुम्सी, प्वाँख डढेका चरालगायतका मनुष्य, पशुपन्छीको चुम्लुङ बस्छ र घाम अन्त्य गरिन्छ।
चुम्लुङ लिम्बूहरूको पहिलो न्यायिक निकाय बनेको देखिन्छ। गाउँघरका झै–झगडा आजसम्म पनि गाउँका ठूलाबडा तुम्याङहरूले चुम्लुङमा मिलाउने गरेका छन्। मुन्धुमअनुसार दुष्ट घामलाई अन्त गर्न मुसा, दुम्सी, चरालगायतका पशुपन्छीले लुङबोङबा खाम्बोङबाहरूसँग ज्याला मागे। लुङबोङबा खाम्बोङबाहरूले मनुष्यले लगाएका अन्नबालीहरू मनुष्यले नटिपी नखाई तिमीहरूले खानू भनेर ज्याला तोकिदिए। यसरी ज्याला तोक्ने हैसियत राख्ने लुङबोङबा खाम्बोङबाहरू तुम्याङ कहलिए। तुम्याङ भनेका चुम्लुङमा उपस्थित प्रजालाई न्याय दिलाउने निकाय हो। गाउँघरमा आजसम्म केही संस्कारजन्य कार्य र कचहरीमा उपस्थित केही पाका मानिसलाई तुम्याङ भन्ने चलन छ। ‘तुम्याङ' शब्द हाक्पारे गीत गाउँदा र चिन्ता राख्दा फेदाङ्बा, साम्बा र येवा/येमाहरूले बोलेको/गाएको सुन्ने गरिन्छ। विशेषगरी विवाहको रीत मिलाउने, जस्तो– जारी उठाउने जस्ता झमेला आजसम्म पनि तुम्याङले मिलाउँछन्।
गाउँका ठाउँठाउँमा चप्लेटी ढुङ्गाहरू बिछ्याएको आजसम्म पाइन्छ। त्यहाँ चम्लुङ (कचहरी) बसेर तुम्याङले झगडा मिलाउँथे भनेर अझै भन्छन् बूढापाका। ठाउँठाउँमा ठाडो गाडिएका ढुङ्गालाई आजसम्म पवित्र मानेर पुज्ने गरिन्छ। जग्गा जमिनको साँध सिमाना मिलाउन यस्ता ढुङ्गा तुम्याङले गाडेको (लुङ लेप्ममा) भन्ने अझै लोकोक्ति छँदैछ। गैरलिम्बूहरूलाई आफ्नो वंशभित्र ल्याउने विधिलाई चोकफुङ (भैयाद बनाउने) भनिन्थ्यो। सन्तान नभएकाहरूले कसैका सन्तान प्राप्तिका लागि ससिङ लाप्मा (धर्मपुत्र राख्ने) गरिन्थ्यो। छोरीले माइतबाट आफ्नो घरतिर क्रिया सार्न मेःलुङ फुसिङमा (सैमुन्द्री/किरिया सार्ने) गरिन्थ्यो। मेःलुङ फुसिङमा संस्कार नगरेसम्म छोरी र भान्जाभान्जी मावलीकै हुन्थे। जुठो पनि मावलीलाई नै लाग्थ्यो। यस कारण आवश्यक दस्तुर बुझाएर बाबुले आफ्ना परिवार ससुरालीबाट सैमुन्द्री दस्तुर बुझाएर उकासेर ल्याउनुपर्थ्याे। आफ्नो नाता, साइनो लाग्नेहरूसँग यौन सम्बन्ध वा बिहाबारी भएमा काःइसोधोक (हाडनाता करणी) हुन्थे। यस्ता मुद्दा तुम्याङहरूले चुम्लुङ बोलाएर छिन्थे। तुम्याङहरूले साइनो केलाएर हाडनाता भएको ठहर गरेपछि उनीहरूलाई अर्कोथरी (कुटुम्ब) बनाइन्थे। गाउँ निकाला पनि गरिन्थे। बाबु पत्ता नलागेका बच्चाहरू खोसा (बेवारिसे बालक) भनिन्थे। पहिलो लोग्ने छाडेर गएकी स्त्रीको पेटबाट जन्मिएका बच्चा बढीजसो खोसा हुने गर्थे। तुम्याङले चुम्लुङमा आमालाई आधार मानेर फलानोको बच्चा हो भनेर टुङ्गो लगाइदिन्थे, अनिमात्र खोसाहरूले सामाजिक मर्यादा पाउँथे।
सानो साइनो भएकाले ठूलो साइनो पाएकालाई गाली बेइजती वा कुटपिट गरेमा ठूलो साइनो पाएकाको शिर ढलेको (चिःलिनारा सुःम्मा) मानिन्थ्यो। यस्तो अवस्थामा तुम्याङले साना साइनो पाएकाले ठूलो साइनो पाएकालाई माफ माग्न लगाई आवश्यक दस्तुर राखी मुन्धुम गर्दै शीर उठाइदिने चिःलिनारा फोःङमा (शिर उठाउनी) गरिन्थ्यो। यसपछि झगडामा भएको धनजनको क्षति हेरी बाँकी क्षतिपूर्ति गरिन्थ्यो। संरक्षणका लागि शिर उठाउन फेदाङ्मा (कुल पुजारी) ले मुन्धुम संस्कार गरी शिर उठाउँथे। लिम्बू गाउँघरमा आजसम्म पनि जारी उठाउन जाँदा झगडा भएको कुरा बूढापाका स्वीकार्छन्। आफ्नो श्रीमती पोइल लाने लोग्ने मान्छेलाई जार भनिन्थ्यो। जारबाट पहिलेको लोग्नेलाई तुम्याङले जारी उठाइदिन्थे। यस्तो अवस्थामा पहिले विवाहमा पहिलेको लोग्नेले ससुरालीमा तिरेको सुनौली (सुन) र रुपौली (रुपियाँ) को आधारमा तुम्याङले जारी उठाइदिन्थे।
विवाह लगनमा फेदाङबाले तुम्याङहरूको रोहबरमा बेहुलाले बेहुलीको मजेत्रोमा सत्यवाचा गराएर ढुङ्गा (लुङयाङ) बाँधिदिन्थे। ढुङ्गाको सट्टा चाँदीको सिक्का बाँध्न थालेपछि युप्पालुङ भनिन थालियो। बाँधिएको उक्त ढुङ्गासँग फेदाङबाले यस्तो सत्य वाचा बाँधिदिन्थे– ‘यदि श्रीमतीले लोग्नेसँग घरजम गरिखान नसकेमा श्रीमतीले लोग्नेलाई उक्त युप्पालुङले लोग्नेको निधारमा हानेर गएमा श्रीमतीले लोग्ने छाडेर गएको ठहरिनेछ।' पहिले पहिले लिम्बूनीले आफ्नो श्रीमान्सँग चित्त नबुझेमा युप्पालुङले हानेर आफ्नो लोग्ने छाड्ने चलन थियो। त्यसपछि लिम्बूनी फेरि कन्या हुन्थे। यसरी स्वास्नीले लोग्ने छाड्ने परम्परालाई नाजोङ भनिन्थ्यो। लाग्ेने स्वास्नीबीच घरजम नहँुदा लोग्नेले श्रीमतीसँग सम्बन्ध विच्छेद पाउँथे। यस्तो अवस्थामा तुम्याङले श्रीमतीले पाउने अंश लोग्नेबाट दिलाइदिन्थे। यस्तो परम्परालाई खेमजोङ भनिन्थ्यो। विवाहमा बेहुला पक्षले बेहुली पक्षलाई बुझाउनुपर्ने गरगहनालाई सुनौली र रुपियाँलाई रुपौली भनिन्छ।
विवाहमा चारकलम महत्वपूर्ण रीत हो। यसभित्र केटी माग्न जाँदादेखि बेहुली भोज (इङमे) सम्म केटा पक्षकाले केटी पक्षलाई बुझाउने दस्तुर चारकलम (सुङलिङ नाःला) पर्छन्। यसदेखि बाहेक मृत्यु संस्कारहरूमा पनि आजसम्म पनि तुम्याङको भूमिका पाइने गरिएको छ। युम्सा (नून तेल) फुकाउने, खाःउमा (शुद्धाइ) देखि गाली सराप बगाउने (साक्मुरा खेङगा) जस्ता संस्कारमा तुम्याङको उपस्थिति अनिवार्य हुने गर्छ।
आज लिम्बू जातिमा चुम्लुङको ठाउँ अमाल, पञ्चायत हुँदै चौकी, ठाना र अदालतले लिएको छ। त्यस्तै तुम्याङको ठाउँ सुब्बा, पञ्च हुँदै वकिल, न्यायाधीशले लिएका छन्। कानुनका आधार, परम्परा र रीतिरिवाज हुन्। लिम्बू जातिको परम्परागत कानुनी पहिचानलाई संस्थागत गर्दै नयाँ संविधानमा समेट्न सांस्कृतिक न्यायिक निकाय बनाउन सकिन्छ।
कानुनमा एलएलएम
प्रकाशित: ३ कार्तिक २०७१ २२:३१ सोमबार

