९ माघ २०७८ आइतबार
विचार

कोप–२६ को सफलता

कोप–२६ मा हस्ताक्षर भएको ग्लास्गो क्लाइमेट प्याक्ट हरेक हिसाबले ऐतिहासिक छ। यो विगत दुई वर्षको लगातार प्रयास र दुई साताको गहन छलफलपछिको परिणाम हो। हामीले चाहेको कुरा पाएका छौँ। हामी विश्वासका साथ भन्न सक्छौँ कि औद्योगिकीकरणपूर्वको तुलनामा विश्वको तापमान वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्ने उद्देश्य परिपूर्ति गर्न सम्मेलन सफल भएको छ।

यसबाहेक विश्वका विभिन्न देशले ‘कोइला, कार, क्यास (नगद) र ट्रिज (रुख)’ लाई व्यवस्थित गर्न ऐतिहासिक प्रतिबद्धता व्यक्त गरेका छन्। यस्ता प्रतिबद्धता कार्यान्वयन कसरी गर्ने भन्नेमा चुनौती भए पनि यो आफैंमा महत्वपूर्ण उपलब्धि हो।

कोप–२६ लाई वेलायतमा भएको सबै भन्दा ठूलो राजनीतिक भेला मान्नुपर्छ। विश्वका १९४ देशका प्रतिनिधि र १२० देशका नेता, ३८ हजार प्रतिनिधिलाई ग्लास्गो आतिथ्य दिन सफल भएको छ। बाहिरबाट हेर्दा जलवायु सम्झौता अधिक प्राविधिक देखिए पनि वास्तवमा यी विषय त्यस्ता थिएनन्। जलवायु संकटसँग जुधिरहेका मानिसको जीवन र जीवन यापनको सुरक्षाबारे यी सम्झौता केन्द्रित थिए। त्यस भन्दा पनि महत्वपूर्ण पक्ष के हो भने आगामी पिँढीलाई खतरनाक, अनिश्चित र क्षयग्रस्त विश्वमा बाँच्न बाध्य नपार्न यी छलफल र सम्झौता केन्द्रित थिए।

तापमान वृद्धिलाई १.५ मा सीमित राख्न कोप–२६ सफल भएको छ। अब अनुगमनको पाटो महत्वपूर्ण छ।

विज्ञानले विश्वको तापमान १.१ प्रतिशतले बढेको प्रष्ट पारिसकेको छ र विश्वका लाखौँ मानिस जलवायु परिवर्तनका कारण प्रभावित भैसकेका छन्। विश्वमा विषम मौसमका घटनाक्रम बढ्दो क्रममा छन् र जलवायु परिवर्तन देशको सीमाभित्र सीमित विषय पनि होइन।

यो पृष्ठभूमिमा ग्लास्गो क्लाइमेट प्याक्टले सम्वन्धित सबैलाई गर्व गर्ने मौका दिएको छ। यो सम्झौता हुँदा विश्वका नेताले देखाएको सहकारिताले आशा सञ्चार गराएको छ। राजनीतिक हिसाबले विभक्त विश्वका नेता जलवायुको विषयमा एक ठाउँमा उभिएका छन्।

हो, चुनौती अझै कायम छन्। यो सहमतिको अन्तिम घडीमा समस्या आए र यसले अनिश्चितता र चिन्ता पनि बढेको हो। तर अन्ततः विश्वका विभिन्न राष्ट्र सम्झौताका लागि तयार भए। यसले विभिन्न राष्ट्रबीच आपसी विश्वास बढेको र पेरिस सम्झौता कार्यान्वयन गर्ने दिशामा सबैको सच्चा संकल्प व्यक्त भएको छ।

विज्ञानका आधारमा उत्सर्जन कटौतीका लागि कहाँ खाडल छन् र विश्वले त्यो खाडल पुर्न के गर्नुपर्छ भन्नेमा ग्लास्गो क्लाइमेट प्याक्टले महत्व दिएको छ। सम्झौताले सन् २०३० सम्म कार्बन उत्सर्जन घटाउन थप प्रतिबद्धता सुनिश्चित गरेको छ र सन् २०२२ सम्म उत्सर्जनका लक्ष्यलाई थप आक्रामक र प्रभावकारी पार्न विश्वका देश तयार भएका छन्।

यसैगरी जलवायु अनुकूलन, वित्त तथा जलवायुजन्य हानि/नोक्सानीलाई सम्बोधनको क्षेत्रमा प्रगति भएको छ। पहिलो पटक, कोइलाको प्रयोगलाई घटाउन सहमति भएको छ र खनिज इन्धनमा दिइने सहुलियत कटौती गरिने भएको छ।

विगत ६ वर्षको लगातार छलफलपछि पेरिस सम्झौता कार्यान्वयन गर्न ‘पेरिस रुल बुक’ अनुमोदन भएको छ। सम्झौताका हल बाहिर स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने तथा वन फँडानी रोक्ने दिशामा महत्वपूर्ण उपलब्धि भएका छन्। यसैगरी स्वच्छ गाडी तथा जलवायु वित्तका क्षेत्रमा थप प्रतिबद्धता व्यक्त भएका छन्।

ऊर्जा रूपान्तरण साझेदारिताअन्तर्गत दक्षिण अफ्रिकासँग भएको साढे ८ अर्ब अमेरिकी डलर बराबरको सहयोग चानचुने विषय होइन। विश्वका एकतिहाइ कार निर्माता कम्पनीले प्रदूषक गाडी बेचबिखन रोक्न गरेको प्रतिबद्धता पनि अर्काे महत्वपूर्ण सफलता हो। यसैगरी विश्वको ९० प्रतिशत वन क्षेत्र ओगट्ने राष्ट्रले वन फँडानी रोक्न गरेको वाचा पनि कम महत्वपूर्ण छैन। अर्काेतर्फ अनुकूलन कोषका लागि व्यक्त गरिएको थप प्रतिबद्धता पनि स्वागतयोग्य छ। यो सूची अझै लामो हुन सक्छ।

यति धेरै घोषणा हुँदा पनि हामी सन्तुष्ट नहुन सक्छौँ। यसो गर्नु गलत हुन सक्छ। विश्वको तापमान वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्ने हाम्रो आकांक्षा जीवित छ। यसलाई पहाडका डिलमा पुग्नबाट हामीले जोगाएका छौँ तर यो विषयमा हाम्रा नाडी कमजोर छ। हामीले विश्वका देशलाई आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न निरन्तर दबाब दिनुपर्छ र सन् २०३० सम्म र त्यसपछिका लक्ष्य हासिल गर्न प्रेरित गर्नुपर्छ।

कोप–२६ को अध्यक्षता लिएको बेलायतको जिम्मेवारी थप बढेको छ। आगामी वर्षमा हामी सम्बद्ध देशलाई आफ्ना प्रतिबद्धता पूरा गर्न झक्झकाउने छौँ। संयुक्त राष्ट्र संघीय सहमतिका लागि निगरानी गर्न औपचारिक पुलिस प्रक्रिया (पुलिसिङ प्रोसेस) नभएकाले रचनात्मक दबाब, आपसी विश्वास र सद्भावनाको महत्व अधिक हुन्छ। समग्रमा यो सम्मेलनले विश्वले आपसमा मिलेर काम गर्न सक्छ भन्ने कुरा पुनः प्रमाणित गरेको छ र यसलाई अझ थप मजवुत पार्न आवश्यक छ।

यसैगरी यो प्रसंगमा विश्व बजारको प्रतिक्रिया पनि स्वागतयोग्य छ। अबका दिनमा कोइलाको उपयोगमा कटौती गर्ने घोषणा भएपछि विश्वमा कोइलामा आधारित उद्योगको सेयर मूल्य गिर्दाे छ र यो सुखद सुरुवात हो। हामीले यो क्षणलाई अधिकतम् उपयोग गर्नुपर्छ। के गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौँ। जलवायु वित्त, अनुकूलन तथा १.५ डिग्री तापमानको लक्ष्य पूरा गर्न विश्व सँगसँगै अगाडि बढ्नुपर्छ।

समाओका जलवायु अभियन्ता व्राएना फुइनले सम्मेलन अन्तताका हामीलाई भनेकी थिइन्–२ डिग्री तापमान वृद्धि भनेको अन्त हो र १.५ डिग्री वृद्धि भनेको अझै लडाइँ बाँकी छ भन्ने हो।

व्राएना जस्तै अन्य सहभागीले विश्वका नेतालाई जलवायु परिवर्तनले उनीहरूको जीवनमा के अर्थ राख्छ भने प्रष्ट पारेका छन्। उनीहरू सबैप्रति हाम्रो जिम्मेवारी छ। हामी ग्लास्गोमा भएको सहमति कार्यान्वयनप्रति गंभीर छौँ।

(शर्मा कोप–२६ का अध्यक्ष तथा वेलायती सांसद हुन्। यो लेख गार्जियनबाट लिइएको हो।)

प्रकाशित: १२ मंसिर २०७८ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App