त्यसो हो भने स्वायत्त मधेस प्रदेशका बारेमा अहिले तराई मधेस केन्द्रित राजनीतिक दलले उठाएका विषय के होला? नयाँ संविधानले त्यसलाई कसरी संस्थागत गर्ला?
मधेसवादको परिभाषा के हो?
तराई–मधेस केन्द्रित दल र तीनका नेता आफूलाई मधेसवादी भन्न रुचाउँछन् तर मधेसवाद र मधेसवादीको परिभाषा के हो? सिद्धान्त र विचारले मधेसवाद हो भने त्यसको वस्तुनिष्ठ व्याख्या र विश्लेषण कहाँ छ? भूगोलका आधारमा ‘मधेसवाद' हो भने त्यहीँ चुरेभावर पनि छ। आन्दोलनभन्दा अघि ‘मधेस, मधेसवाद' कहाँ थियो? जात वा समुदायले मधेसवाद हो भन्ने हो भने खस आर्य, आदिवासी/जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक जस्ता बहुभाषी र बहुसाँस्कृतिक मान्यता बोक्ने बासिन्दा कहाँ पर्छन्? के आधारले ‘मधेसवाद' र ‘मधेसवादी' भनिने हो? त्यसको साझा उत्तर र बैज्ञानिक धारणा आवश्यक छ।
आधा जनसंख्या ‘मधेसी' मात्रैको हो?
तराई–मधेसमा देशको ५० प्रतिशत जनसंख्याको बसोवास छ। तर, के ती मधेसवादी दलले भने झैँ सबै मधेसी हुन् त? पहाडी मूलका भनिने चुरेभावर र महेन्द्र राजमार्ग वरपर बढी बस्ने खस आर्यले आफूलाई मधेसी भन्दैनन्। थारुले मधेसी समुदायमा राखेकोमा आपत्ति जनाउँछन्। मुस्लिमहरूले अलग समुदायका रूपमा आरक्षण मागेका छन्। आदिवासी/जनजाति, राजवंशी, दलित र अल्पसंख्यक समुदायले आफ्नो छुट्टै पहिचानको दाबी गरेका छन्। धरातलका यस्ता यथार्थलाई मधेसवादीले किन उपेक्षा गरेका हुन्?
‘चैते मधेसी, बैशाखे नेपाली'
विसं २०६३ माघ/फागुनमा भएको मधेस आन्दोलनपछि चैतमा त्यहाँका धेरै मधेसी घोषित भए। बैशाखमा सरकारले नागरिकता टोली खटायो र नागरिकता वितरण गर्यो । सो क्रममा नेपाली नागरिकता पाउनेमा ‘अपराध कर्म' गरेर नेपालमा आफन्त कहाँ लुक्दै र बस्दै आएका भारतीय पनि थिए। तिनले नेपाली नागरिकता पाएपछि अहिले मधेसी दल र नेताका आडमा ‘रैथाने मधेसी'लाई सताउन थालेको गुनासो बढ्दो छ। त्यसैले त ‘नयाँ मधेसी'लाई ‘चैते मधिसे, बैशाखे नेपाली।' रैथाने मधेसीको यो मर्काप्रति मधेसवादी दलको उदासीनता बु‰नै सकिँदैन।
पहिचानको उल्टो बुझाइ
मधेसी जनताको पहिलो लडाइँ आफ्नो पहिचान स्थापित गराउनु हो भने दोस्रो अधिकार र समानताको विषय हो। तर, मधेसवादी दलले पहिचानको विषयलाई त्यहाँको ऐतिहासिक, सांस्कृतिक र भाषागत विषय पूरै ओझेलमा पर्नेगरी ठाएका छन्। भोजपुरी, मैथली, अबधी र बज्जिकालगायतका अनेकौं भाषा तराई–मधेसमा बोलिन्छन् तर तिनैमध्य एएटा भाषालाई सम्पर्क भाषाका रूपमा विकास गराउनुको साटो तिनले हिन्दी भाषामा जोड दिएका छन्। मातृभाषा र राष्ट्रिय भाषाको पक्षमा वा मिथिलाजस्ता प्रदेश बनाउन गरिएका आन्दोलन यसका उदाहरण हुन्। पहिचानप्रति अपनत्व हुन्छ। लादिएको नयाँ पहिचानलाई कसैले आफ्नो ठान्दैन।
राष्ट्रियताप्रति शंका
मधेसवादीकै शब्दमा– ‘खस आर्य समुदाय, जो शासक वर्गका रूपमा परिभाषित गरिन्छ, उनीहरू हाम्रो राष्ट्रियतामा सधै शंका गर्छन् जबकि हामी पनि नेपाली नै हो।' मधेसी समुदाय नेपाली हुन् तर तिनको राष्ट्रियतामा प्रश्न पनि उब्जिरहेको हुन्छ। अरू समुदायको राष्ट्रियतामा प्रश्न नउठ्ने तर मधेसीमा नै किन समस्या छ? मधेसवादी दलका नेताले आत्मसमीक्षा गर्नु जरुरी छ।
भारतले सीमामा बाँध बाँध्छ, डुबानमा मधेसी जनता पर्छन्। भारतीय सीमा सुरक्षाकर्मीको ज्यादतीमा दुखः पाउने मूलतः मधेसी नै हुन्छन्। नेपाल–भारतबीच ७५ भन्दा बढी स्थानमा सीमा मिचिएको छ। यसरी मिचिँदा पहाडी मूलका खस आर्य समुदायको भन्दा मधेसी जनताकैे धरजग्गा धेरै पर्छ। तर, त्यसको न कुनै मधेसवादी दलले विरोध गर्छ, न त कुनै नेता नै मधेसी जनताको पक्षमा उभिन्छ। अनि राष्ट्रियतामा प्रश्न त उठ्ने नै भयो।
अतिवादी सोच र आत्मनिर्णयको अधिकार
मुख्यतः उत्पीडन तथा राज्यको विभेदमा परेको भन्दै मधेसवादी दलले आत्मनिर्णय र राजनीतिक अग्राधिकारको माग गरेका छन्। शरदसिंह भण्डारी, महन्थ ठाकुर र राजेन्द्र महतोजस्ता मधेसवादी नेताले ‘मधेसीलाई अधिकार नदिए देश टुक्रन्छ' भन्ने चर्को अभिव्यक्तिसमेत दिए। तर आफूलाई ‘सच्चा र क्रान्तिकारी मधेसवादी नेता'को उदाहरण बनाउन खोज्ने तीनैजना चुनावमा पराजित भए। जनताले सन्देश दिए – टुक्य्राउने नेतालाई पत्याउन सकिँदैन।
राजनीतिक जातीय अग्राधिकार र नागरिकता
मधेसी समुदायलाई नागरिकता दिनुपर्छ भनेर चर्को माग गर्ने मधेसवादी दलले मधेसीका नाममा भारतीयले नागरिकता लिएको घटना प्रकाशमा आएपछि किन तिनीहरूमाथि कारबाहीको माग गरेनन्? अर्को, तराई–मधेसको कुन चाँही क्षेत्र र भूगोलमा एकल जातीय बहुमत छ र राजनीतिक (जातीय) अग्राधिकार दिने? स्वायत्त मधेस प्रदेश
चुरे क्षेत्र दक्षिणका २२ जिल्लालाई सिंगो स्वायत्त मधेस प्रदेश बनाउनुपर्ने मधेसवादीको माग कति उचित, वैज्ञानिक र लोकतान्त्रिक र स्वीकार्य छ भन्ने पनि मधेसवादी दलका नेताले नै मनन गर्नुपर्छ। के त्यसलाई थारु समुदायले स्वीकार गर्ला? के त्यहाँ बसोबास गर्ने खस आर्य, आदिवासी/जनजाति, राजवंशी, दलित, अल्पसंख्यक समुदायले सहजै स्वीकार गर्लान्? मागमा अड्को थाप्नुअघि यसलाई मनन गर्नु आवश्यक छ। एउटा विभेद र उत्पीडनको विकल्प अर्को विभेद र उत्पीडन हुन सत्तै्कन।
मधेस मुद्दाको नेतृत्व?
गजेन्द्रनारायण सिंहपछि मधेसमा जागरण ल्याउन उपेन्द्र यादवले गरेको प्रयासको जगमा मधेस आन्दोलन भयो। त्यसको नेतृत्व पनि यादवले नै गरे। तर, अहिले परीस्थिति फेरिएको छ। अहिले मधेसका मुद्दाको नेतृत्व कस्ले गर्ने हो? त्यो प्रस्ट छैन। मधेसका असली नेता यादव, महन्थ ठाकुर, विजयकुमार गच्छदार वा राजेन्द्र महतोमध्ये को हुन्?
पराधीन राजनीतिक शैली
मधेसवादी दल खासमा आफैँ नेतृत्व गरेर आफनो मुद्दा स्थापित गर्नेभन्दा पनि अरूका भरमा बढी पर्ने घटनाक्रमबाट देखिँदै गएको छ। यो नै मधेस मुद्दा स्थापित गराउन सबैभन्दा ठूलो बाधाका रूपमा रहेको छ। मोदीप्रतिको ‘अन्तिम भरोसा' करिब करिब सकिएको छ। त्यसभन्दा अघि मधेसवादी नेताको भारतसँगको सम्बन्ध राजदूतावासका कर्मचारी तहभन्दा माथि राजनीतिक तहमा भएन।
मधेसवादी दल संघीयताको मुद्दा स्थापित गराउने नाममा कुनै बेला मधेस आन्दोलनको विपक्षमा उभिएको शक्तिको माओवादीको पछि लागेका छन्। मधेस आन्दोलनको उत्पत्ति नै नेपालगन्ज आक्रमण, सिरहा गोलीकाण्ड, गौर हत्याकाण्डजस्ता माओवादी विरोधी आन्दोलनबाट सुरु भएको थियो। तर, अहिले त्यही शक्तिको आड लागेर मधेसवादीले आफ्नो मुद्दा स्थापित गराउने नाममा उल्टो बाटो हिँडेर दुनियाँलाई हँसाइरहेका छन्।
जसको मुद्दा, उसकैको नेतृत्व
मधेसी समुदाय विभेद र उत्पीडनमा परेका छने भन्नेमा दुईमत छैन। तर तिनको हक अरूले मागिदिने त होइन। न अरूको भरमा न्याय पाइन्छ भनेर आशा नै गर्न सकिन्छ। मधेसवादी दल र तीनका नेताले आफ्नो संघर्षको नेतृत्व आफैँ गरेर अघि नबढ्दासम्म ती कमजोरै रहन्छन्। विभेद, उत्पीडन र अन्याय भइरहन्छ। मधेसवादी दल र समुदायमाथि पटक पटक उठ्ने गरेको प्रश्न र शंकाको उचित निवारण नगर्दासम्म तिनको माग पूरा हुँदैनन्।
प्रकाशित: ७ भाद्र २०७१ २२:५७ शनिबार

