७ वैशाख २०८१ शुक्रबार
विचार

कहीँ नभएको जात्रा हाँडी गाउँमा

हाम्रो नेपाली समाजमा कहीँकतै चोटिलोरूपमा व्यंग्य प्रहार गर्नुपर्‍यो भने उखानकै रूपमा जनजिब्रोमा आइसकेको एउटा वाक्यांश छ– कहीँ नभएको जात्रा हाँडी गाउँको जात्रा।’ उदाहरणका लागि– जम्बो मन्त्रिमण्डल बन्यो भने त्यसलाई चोटिलो व्यंग्य गर्न भनिन्छ– कहीँ नभएको जात्रा...आदि। हो यही जात्रा आगामी कात्तिक ४ गते हाँडी गाउँमा हुँदैछ।

वर्षाऋतु समाप्त भएपश्चात काठमाडौँ उपत्यका जात्रामय भएको छ। यसै मेसोमा काठमाडौँको मध्यक्षेत्रमा रहेको सांस्कृतिकरूपले सम्पन्न हरिग्राम वा हाँडी गाउँमा नेपाल प्रख्यात ‘कहीँ नभएको जात्रा हाँडी गाउँको जात्रा’ कार्तिक प्रतिपदा अर्थात कात्तिक ४ गते मध्याह्नमा सम्पन्न हुँदैछ। 

यस हाँडी गाउँमा भगवान विष्णुसम्बन्धी मठमन्दिर प्रशस्त छन्। विभिन्न जात्रा पनि भगवान् विष्णुप्रति नै समर्पित छन्। त्यसै कारण यस क्षेत्रलाई हरिग्राम भनेर चिनिन्थ्यो। हाल हरिग्राम अपभ्रंश भएर हाँडी गाउँ हुन पुगेको हो। यस जात्राको तयारी कात्तिक १ गतेदेखि कोटाल टोलमा रहेको आनन्द श्रेष्ठको घरबाट प्रारम्भ हुन्छ।

यसमा ब्रह्मा, विष्णु र महेश्वरको तीनवटा रथ बनाइन्छ। ब्रह्मा र विष्णुको रथमा एक/एकवटा देउताको मूर्ति हुन्छन् भने महेश्वरको रथमा ६ वटा देउताको मूर्ति हुन्छ। जात्रा प्रारम्भ भएपश्चात राति ९ बजेदेखि ११ बजेको समयमा एउटा रथ कोटाल टोलमा राखिन्छ। 

त्यस्तै दोस्रो रथ भूतेश्वरी कृष्ण मन्दिरअगाडि राखिन्छ। तेस्रो रथ लामोढुंगा डबलीमा राखिन्छ। रथको गजुर तल पारि र गर्भ गृह र भगवानको मूर्तिमाथि राखेर रथ निर्माण गरिन्छ। भगवान राखिएको गर्भ गृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ। साथै रथमा मैनको सुगन्धित फूल बनाइ राख्ने गरिन्छ।  

यस्तै यस जात्रामा विशेष प्रकारका फूल तथा कलात्मकरूपमा सजिएको उक्त रथमा ३६/३६ जनाले नोल लगाएर परम्परागत बाजा र विधिअनुसार तीन फेरा सहर परिक्रमा गराइन्छ। पृथक शैलीमा जात्रा मनाइने भएकाले कहीँ नभएको जात्रा हाँडी गाउँमा भनिएको हो। 

जात्रामा निकालिएका तीनवटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ। साथै रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भीड हुने गर्छ। 

यो फूल प्रसूति पीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वास गरिन्छ। ४ गते तीनवटै रथलाई नगर परिक्रमा गराइ एकापसमा जुधाइ वा एकापसमा मिलन गराइ तीनवटै रथलाई आआफ्नो स्थानमा राखी जात्रा सम्पन्न गरिन्छ। तत्पश्चात दुई तीन दिनपछि यो रथ ढालिन्छ। यो जात्राको रेखदेख गर्ने कार्य स्थानीय गणेश मानन्धर र स्थानीय अगुवाहरूले गर्दै आएका छन्।

कहीँ नभएको जात्रा, हाँडी गाउँको जात्रा दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ। यस जात्राको किंवदन्ती यसप्रकार छ– लिच्छविकालीन समयमा विशालनगर विद्यापुर नामको शहर थियो। जुन सहर उत्तर शिवपुरी पहाडको फेदमा बूढानीलकण्ठ नारायण र दक्षिणमा पाटनको शंखमूल र पूर्वमा देवपत्तन, पश्चिममा नारायण चौर विष्णुमतीसम्म फैलिएको देखिन्छ। 

सोही समयमा राजपरिवारका दिदी/बहिनीबीच प्रसूति सम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले इन्कार गरी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखिन्। 

बहिनीको अहं भावले १२ वर्षसम्म पनि बच्चा नजन्मेर साह्रै कष्ट भोग्नुपरेको हुँदा ज्योतिषलाई देखाउँदा नारायणलाई हेलाँ गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण भगवान् नारायण रिसाएर हिमालमा गएर बसेका हुँदा कहीँ नभएको तरिकाले जात्रा गरी नारायण भगवानलाई फकाएर ल्याएमात्रै बच्चा जन्मन्छ भनेको हुँदा यो जात्रा चलाएको हो। 

यो जात्रा कहिलेदेखि प्रारम्भ भएको हो भन्नेबारे अहिलेसम्म कुनै ठोस प्रमाण भेटिएको छैन। विष्णु भगवानको रथमा राखिने देवताको मूर्तिको तल्लो भागमा ५३८ लेखिएको छ। तर त्यो अंकले संवत् वा के संकेत गर्न खोजेको हो ? पुरातत्वविद्हरूले यसलाई अथ्र्याउन सकेका छैनन्।

यो जात्रामा तीनवटा खट या रथ हुन्छन्। जुन रथ कहीँ नभएको हिसाबले गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना या शिखर शैलीको रथ अथवा प्यागोडा शैली हुन्छ। त्यसमुनि देवता राखिन्छ। 

यहाँ भने त्यसो नगरी गजुर मुनि राखिन्छ। यो कहीँ नभएको विशेषता हो। त्यसैले यो जात्रा कहीँ नभएको भनेर प्रख्यात भएको हो। यस जात्रामा सुगन्धित मैनको फूल बनाएर चढाइन्छ। भक्तजनहरू सो फूल प्राप्त गर्नाका निमित्त तँछाडमँछाड गर्छन्। कोरोना कहरको पहिलो लकडाउनमा यो जात्रा सम्पन्न हुन सकेन।  

हाम्रा चाडपर्व, रीतिरिवाज, मठमन्दिर, गुम्बा, जात्रा आदि अमूल्य सांस्कृतिक धरोहर हुन्। यसको संरक्षण संबर्धन हामी नागरिक, सरकार सबैले मिलेर गर्नुपर्छ। उचित संरक्षणको अभावमा हाम्रा कैयौँ सांस्कृतिक धरोहरहरू लोपोन्मुख अवस्थामा छन् भने कैयौँ सांस्कृतिक धरोहरहरू लोपसमेत भइसकेका छन्। यी सांस्कृतिक धरोहरहरू पुस्तान्तरण हुन सकिरहेका छैनन्। 

युवा पुस्तामा आफ्नो सांस्कृतिक धरोहरप्रति आकर्षण घट्दै गएको छ। हाम्रो समाजमा तीव्ररूपमा विदेशी संस्कृतिको प्रभाव बढ्दै गएको छ। उदाहरणका रूपमा मोटरहरूको नम्बर प्लेटमा देवनागरी लिपिको सट्टा अंग्रेजी ल्याइएको छ। 

कमिसनको लोभमा नेपाली लिपि कम्प्युटर स्वीकार्य भाषा भएन भन्ने हाँसउठ्दो तर्क दिएर राज्यद्वारा हाम्रो आफ्नोपनलाई नामेट गर्न खोजिएको छ। यसका विरुद्ध हामी नागरिक अघि आउनु आवश्यक छ। यस्तै हाम्रो तिहारलाई दीपावलीले छोप्दैछ, फागुपूर्णिमालाई होलीले अनि दसैँलाई बंगालको दुर्गा पूजाले।

आजकालको आधुनिक युगमा कुनै पनि मुलुकलाई आफ्नो अधीनमा ल्याउनका लागि लडाइँ गरिराख्नु पर्दैन। त्यस मुलुक र त्यस देशका नागरिकले गर्व गर्ने धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन र भाषालाई नामेट गरेर त्यस देशमा आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन र भाषा लादिदियो भने त्यो देश स्वतः आफ्नो गुलाम हुन्छ। अहिले हाम्रो मुलुकमा त्यही भइराखेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App