१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

स्वावलम्बन जीवनपद्धति अवधारणा

पूर्ण र अतिअशक्त अपांगता भएका व्यक्तिको ‘स्वावलम्बन जीवन पद्धति' अवधारणा अपांगता क्षेत्रमा सबैभन्दा पछिल्लो र वैज्ञानिक अवधारणा मानिन्छ।यस अवधारणाको विकास अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको बर्कले विश्वविद्यालयमा अध्ययन गर्ने अतिअशक्त अपांगता भएका विद्यार्थीले गरेका हुन्। पूर्ण र अतिअशक्त अपांगता भएका विद्यार्थीले अपांगताका कारण भोगिरहेको विविध समस्याको समाधानका लागि प्रतिपादन गरेको सिद्धान्त नै ‘इन्डिपेन्डेन्ट लिभिंग' को अवधारणा हो। यस अवधारणाअनुसार खोलिएको पहिलो संस्था पनि अमेरिकाको बर्कले इन्डिपेन्डेन्ट लिभिंग सेन्टर हो। यसको सफलतासँगै अमेरिका, जापान, युरोपेली मुलुकहरू, कोरिया, ताइवानजस्ता देशमा यस अवधारणाको प्रयोग गरिएको छ। थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, पाकिस्तान र नेपालमा पनि यसको प्रयोग भइरहेको छ। नेपालमा यस अवधारणाको संस्थागत विकासका लागि ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर' काठमाडांैले अगुवाइ गरिरहेको छ। 
अंग्रेजी भाषाको ‘इन्डिपेन्डेन्ट लिभिंग कन्सेप्ट' भन्ने शब्दको स्वावलम्बन जीवनपद्धति अवधारणा भनेर नेपाली अनुवाद गरिएको हो। ‘इन्डिपेन्डेन्ट लिभिङ' शब्दको नेपाली अर्थ अरू पनि हुनसक्लान् तर पनि पूर्ण र अतिअशक्त अपांगता भएका व्यक्तिले आफ्नो स्वविवेक र स्वनिर्णयमा स्वावलम्बी जीवनयापन गर्न सक्छन र त्यसका लागि सम्बन्धित पक्षले उपयुक्त सेवा सुविधा र आवश्यक वातावरण निर्माण गरिदिनुपर्छ भन्ने अर्थमा यो शब्दावलीको प्रयोग गरिएको हो। 
नेपालमा पुरातनवादी कल्याणकारी सोच, चिकित्सकीय अवधारणाका चरण पार गर्दै अपांगता अन्दोलन सामाजिक अवधारणामा प्रवेश गरेको छ। यसमा अपांगतालाई पूर्वजन्मको पाप वा श्राप वा रोग केही होइन, यो त एक अवस्था हो यसलाई समाजमा विभिन्न तरिकाबाट पुनर्स्थापना गर्न सकिन्छ भन्ने मान्यता हुन्छ। अपांगता भएका व्यक्तिका पनि अधिकार हुन्छन् भन्ने मान्यतामा समुदायमा आधाररित पुनःस्थापनाको अवधारणा विकसित भयो। सामाजिक अवधारणाभन्दा पनि बढी अधिकारमुखी र त्यसको परिस्कृतरूप नै ‘इन्डिपेन्डेन्ट लिभिङ'को अवधारणा हो। यो अवधारणा अपांगता भएका व्यक्तिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको धारा १९ मा लेखिएको अपांगता भएका व्यक्तिहरूलाइ आफूले चाहेको समुदायमा समावेश भई अवरोधमुक्त वातावरणमा स्वतन्त्र, स्वाबलम्बी र स्वाभिमानपूर्ण जीवनयापन गर्ने अधिकार छ' भन्ने व्यवस्थाअनुरूप छ। महासन्धिको पूर्ण निष्कर्षको रूपमा पनि धारा १९ लाई लिने गरिन्छ। समाजमा रहेका पूर्ण, अतिअशक्त र सबै प्रकारका अपांगता भएको व्यक्ति स्वनिर्णय र स्वेच्छाले आफूले चाहेको समाज वा समुदायमा सहयोगी सेवा, सहायक सामग्री, आधुनिक प्रविधिको प्रयोग गरी अपांगतामैत्री भौतिक संरचनामा स्वतन्त्र, स्वावलम्बी र स्वाभिमानपूर्वक जिउनसक्ने अवस्था नै ‘इन्डिपेन्डेन्ट लिभिङ' वा स्वावलम्बन जीवनपद्धति हो। 
नेपालमा ‘स्वावलम्बन जीवनपद्धति'को अर्थ गर्दा व्यक्ति आर्थिकरूपमा सक्षम वा उसको आर्थिक स्रोत भए स्वावलम्बी हुन्छ भन्ने पनि गरिन्छ। यस अवधारणालाई आय आर्जन वा रोजगारी वा पैसा कमाउने वा आर्थिकरूपमा आत्मनिर्भर हुने भनेर बु‰नु भने सही होइन। अपांगता भएका व्यक्ति आर्थिकरूपमा सबल वा धन कमाउने भए भने पनि निर्णयमा स्वतन्त्र र स्वावलम्बीरूपमा प्रयोग भयो वा भएन भन्ने विषयले बढी अर्थ राख्छ। किनभने उसलाई निर्णय प्रक्रियामा सहभागी नगराई दैनिक जीवनयापन स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी र सम्मानित हुनबाट परिवार, समाज र राज्यले विभिन्न अवरोध खडा गरिरहेको हुन्छ। 
यस अवधारणाअन्तर्गत समाजमा रहेका पूर्ण र अतिअशक्त अपांगता भएका व्यक्तिहरू स्वावलम्बी बनाउन मुख्य ४ कुरामा विशेष जोड दिन जरूरी हुन्छ। यी चार कुरामा दैनिक जीवनयापनका लागि अत्यावश्यक सहायक सामग्री, व्यक्तिगत सहयोगी सेवा र प्रविधि, अपांगतामैत्री वातावरण तथा जीविकोपार्जनका लागि अनिवार्य रोजगारी वा पर्याप्त जीवन वृत्ति (भत्ता वा पेन्सन) हुन्। यिनको सहज उपलब्धताका लागि राज्य जिम्मेवार र संवेदनशील हुनु जरूरी हुन्छ। यसरी व्यक्तिले पूर्णमानवअधिकारको अनुभूति गर्न आफूले रोजेको र सोचेको जीवन स्वाभीमानपूर्वक जिउनु पाएमा ‘मेरो जीवन मेरो निर्णय' भन्ने कथन सार्थक हुन्छ। 
यस अवधारणाका केही विशेष क्रियाकलाप हुन्छन्। समान प्रकारका अपांगता भएका व्यक्तिले गरिने परामर्श कार्यक्रम दौंतरी परामर्श हो। यसले व्यक्तिमा हीनताबोध, नैराश्य हटाई उसमा मनोबल र ऊर्जा भर्ने कार्य हुन्छ। फलस्वरूप, ऊ सकारात्मक सोचका साथ अगाडि बढ्दछ। त्यसैगरी पूर्ण र अतिअशक्त अपांगता भएको व्यक्तिले आफ्ना व्यक्तिगत काम जस्तै खाना पकाउने, कपडा धुने, ट्वाइलेट प्रयोग गर्नेलगायतका ‘दिनचर्या व्यवस्थापन' गर्नेजस्ता ककामलाई विशेष तरिकाबाट सिकाइन्छ। यसलाई इन्डिपेन्डेन्ट लिभिङसम्बन्धी कार्यक्रम भनिन्छ। त्यसैगरी उसको दैनिक जीवनयापनमा सहयोग गर्ने व्यक्ति सहयोगीलाई व्यवस्थित तरिकाबाट र व्यावहारिकरूपमा परिचालन गर्ने कार्य गरिन्छ। 
त्यसैगरी यस अवधारणा विभिन्न सिद्धान्तबाट अभिप्रेरित हुन्छ। 
१. व्यक्तिले आफ्नो निर्णय आफैँ गर्ने, आफूलाई व्यवस्थित गर्ने र आफ्नो परिचालन आफैँ गर्ने।
२. यस अवधारणा सबै प्रकारका अपांगतामा लागु हुन्छ, कुनै खास प्रकार र समूहका लागिमात्र हैन अर्थात् ‘क्रस कटिङ' हो। 
३. समुदायमै रहेर त्यहाँ रहेका विभिन्न अवरोधलाई हटाउँदै जाने र आफूलाई समाजको अभिन्न सदस्यका रूपमा स्थापित गर्ने तथा सामाजिक सहभागिता बढाउँदै जाने। 
४. मानवअधिकारको पूर्ण पालना गर्ने, अपांगताकै कारण कुनै पनि भेदभाव गर्न नहुने। 
५. अपांगता भएको कारण अपांगघरमा राख्न नहुने र अपांग घरलाई पूर्णरूपमा निषेध गर्ने। 
६. अपांगता भएका व्यक्तिलाई अपांगताकै कारण चिकित्सकीय परिक्षण गर्न नहुने। कारण, उसको भविष्य निर्धारक चिकित्सक हैन। 
७. स्वावलम्बन समूह पनि हो। आफ्ना अधिकारका विषय आफँै उठाउने, अपांगताको विज्ञ स्वयं अपांगता भएको व्यक्ति नै हुने। 
८. वकालत तथा पैरवीबाट अधिकार खोजी गर्ने। 
९. सामाजिक, मानसिक, भैतिक अवरोधलाई हटाउँदै अवरोधमुक्त वातावरणको निर्माण गर्ने। 
१०. आफ्नो अधिकारका लागि नेतृत्व आफैँ गर्ने, आफैँ उदाहरणीय व्यक्तित्वका रूपमा रहने र उसको प्रतिनिधित्व आफैँ गर्ने, अभिभावक वा अन्यले गर्ने होइन।

प्रकाशित: २ भाद्र २०७१ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %