इबोला भाइरस रोग (ईडीभी) एक्कासि हुने संक्रमण हो। यो भाइरसको संक्रमण पहिले जङगली जनावरजस्तै चिम्पान्जी, गुरिल्लाहुँदै मानिसमा भएको हो। मानिसबाट मानिसमा सर्नसक्ने जोखिम अत्यधिक भए पनि बिरामीको शरीरबाट निस्केको तरल पदार्थ जस्तै पसिना, पिसाब, र्यानल, रगत तथा अन्य तरल पदार्थको सम्पर्कबाट मात्र फैलिन्छ। सास फेर्दा, कुरा गर्दा, छिउँ गर्दा भने नजिकै बस्ने मानिसलाई यो रोग सर्दैन। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको संक्रमण छिटै हुनसक्ने, भरपर्दो औषधि उपचार नभएको र भाइरस सरेको केही दिनमै ५०–९० प्रतिशतसम्म बिरामीले ज्यान गुमाउन सक्छन्। यस भाइरसले छोटो समयमै बिरामीका रक्त कोषिका (व्लड सेल) हरूमा संक्रमण गरी रक्तअल्पता गराउँछ। अन्य भाइरल संक्रमणजस्तै यसमा पनि टाउको दुख्ने, जीउ दुख्ने (विशेषतः ढाड), अत्याधिक ज्वरो आउने इत्यादि हुनेगर्छ।
इबोलाको संक्रमण भएमा बिरामीलाई अत्यधिक ज्वरो आउँछ। टाउको र ढाड दुख्दछ। शरीरमा रातो डाबरजस्तो दाग देखिन्छ। शरीरका विभिन्न अंग नाक, कान, घाँटी इत्यादिबाट रगत आउन थाल्छ। पेट दुख्छ, झाडा–पखाला हुन्छ र बान्ता आउँछ। यो भाइरस 'यु' आकारको फ्लोभिराइड परिवारमा पर्ने आरएनए भाइरस हो। इबोला भाइरसको प्रमुख स्रोत टेरोपेडिया परिवारमा पर्ने फलफूलखाने चमेरो हो।
इबोला संक्रमण कसरी हुन्छ?
यो भाइरस संक्रमित व्यक्ति वा जनावरको नजिकको सम्पर्क तथा उसबाट निक्लिएको तरल पदार्थ (बडी फ्लुड) भिजेको लुगा तथा बिच्छाउनाबाट सर्न सक्छ। इबोला संक्रमितबाट मरेका जनाबर अन्य जनाबरले खाएमा, इबोला संक्रमित जनावरको मासु राम्ररी नपकाई खाएमा यसको संक्रमण हुनसक्छ। राम्रो सावधानी नअपनाएमा स्वास्थ्यकर्मी, बंगुर वा बाँदरको रेखदेख गर्ने मानिसमा इबोला भाइरस संक्रमणको जोखिम उच्च हुन्छ। कतिपय मानिसमा त बिना लक्षण पनि रगतको परीक्षण गर्दा यो भाइरस देखिएको पाइन्छ। त्यस्तो अवस्थामा अर्को व्यक्तिलाई सजिलै सर्नसक्छ। इबोला संक्रमण निको भएको २ महिनासम्म पनि बिरामीबाट यो रोग अर्को व्यक्तिमा सर्न सक्छ।
प्रयोगशाला परीक्षण
श्ांकास्पद बिरामीमा सर्वप्रथम संक्रमण नै हो वा मलेरिया, टाइफाइड, हैजा, हेपाटाइटिसइत्यादि अन्य रोग हो भन्ने पहिले पत्ता लगाउनु जरुरी छ। किनभने यी अरू रोगका बिरामीमा पनि कतिपय लक्षण इबोला संक्रमित बिरामीसँग मिल्न सक्छन्।
प्रयोगशाला परीक्षणको लागि संक्रमितको शरीरबाट निस्केको तरल पदार्थ लिन सकिन्छ भने रगत संकलन सजिलो उपाय हो। इबोला संक्रमित व्यक्तिमा डब्लुबीसी र प्लेटलेट इत्यादिको संख्या स्वस्थ्ा अवस्थामाभन्दा घट्दै जान्छ भने कलेजो र मृगौलाजस्ता अंगले पनि राम्ररी कार्य गर्न सत्तै्कन।
इबोला भाइरसलाई एलाईजा प्रविधि, एन्टिजिन परीक्षण, सिरम परीक्षण, रिभर्स ट्रान्सकिपटेज पोलीमीरेज परीक्षण, इलेक्ट्रोन माइक्रोस्कोपी परीक्षण, सेल कल्चर परीक्षण तलका तरिका अपनाई पत्ता लगाउन सकिन्छ।
इबोला भाइरसको संक्रमण ज्यादै खतरनाक हुने भएकोले यसको नमुना संकलन तथा परीक्षणमा उच्च सर्तकता अपनाउनु जरुरी छ। स्वास्थ्य संस्थाले उचित सरसफाइमा ध्यान दिन सकेमा यो रोग फैलिनबाट रोक्न सकिन्छ।
समाधानका उपाय :
- आजसम्म बर्ड फ्लु, स्वाइन फ्लु, इबोला इत्यादि भाइरसको रोकथामका लागि विभिन्न राष्ट्रबाट परीक्षण भ्याक्सिन बनाइरहेको भए पनि आधिकारिकरूपमा कुनै पनि भ्याक्सिन विश्ववजारमा उपलब्ध छैनन्।
-विशेष परिस्थितिबाहेक विश्व स्वास्थ्य संगठन (डाब्लुएचओ)ले संक्रमित क्षेत्र घोषणा गरेका राष्ट्रका आवतजावतमा बन्देज गर्ने।
-संक्रमित जनावर वा मानिसलाई विशेष निगरानी (क्वारेन्टाइन केएर ) मा राखी उपचार गराउनुपर्ने।
-चिडिया खाना, पशुका खोर, गोठइत्यादिमा नियमित सरसफाइका साथै यस्ता ठाउँमा सोडियम हाइपोक्लोराइट र अन्य डिटरजेन्ट्सहरूले नियमित सफाइ गर्ने।
- इबोला संक्रमणबाट मारिएका जनावरलाई खाल्डो खनी राम्ररी पुर्नुपर्छ।
- कुनै पनि व्यक्तिलाई इबोला संक्रमणको शंका लागेमा तुरुतै तोकिएको स्वास्थ्य संस्था वा नजिकको स्वास्थ्य चौकीमा गई चिकित्सकको निगरानीमा रहनुपर्छ।
- यस रोगका कारण बिरामीमा पानीको मात्रा ज्यादै कमी हुने भएकोले जीवनजललगायत फलफूल तथा तरल पदार्थ प्रशस्त खान दिने।
- इबोला संक्रमण भएका जनावर वा व्यक्तिलाई छुनु परेमा हातमा पंजा, विशेष प्रकारको माक्स लगाउनुका साथै पूरै शरीर ढाक्ने गरी एप्रोन लगाउनुपर्छ।
- बिरामीको स्याहारसुुसार गर्नुभन्दा अगाडि र पछाडि राम्रोसँग साबुन पानीले हात हुनुपर्छ।
- बिरामीको शरीरबाट निस्कने सबै प्रकारको तरल पदार्थ (बड फ्लुड) लाई (सोडियम हाइपोक्लोराइट) घोलमा १ घन्टासम्म राखी राम्ररी खाल्डो खनी त्यसै खाल्डोमा मात्र राख्नुपर्छ।
- इबोला संक्रमित क्षेत्रमा विभिन्न माध्यमबाट प्रचारप्रसार गरी यो रोगको बारेमा सबैैलाई जानकारी गराउनुपर्छ।
- इबोला संक्रमित क्षेत्रबाट आएका मानिसमा २ देखि २१ दिनभित्रमा ज्वरोलगायतका शंकास्पद लक्षण देखापर्न थालेमा बिरामीलाई तुरुन्त तोकिएको स्वास्थ्य संस्थामा उपचारको निमित्त लगिहाल्नुपर्छ।
- बिरामीका लागि प्रयोग गरिएका सबै औजारको तत्काल निमर्लीकरण (स्टेरलाईजेसन) गरी उचित ठाउँमा राख्ने वा खाल्डो खनेर पुरी दिनुपर्छ। यो रोग लागेका व्यक्तिलाई पहिचान गरी तत्कालै अरूको संसर्गबाट अलग्याएर चिकित्सकको सल्लाहबमोजिम उपचार गरिएमा बिरामीको सम्पर्कमा रहेकाहरू को पनि हरेक २ घन्टामा ज्वरोको जाँच गर्ने र लक्षण भेटिएमा उपचार सुरु गर्ने।
नेपालमा हालसम्म इबोला भाइरसको संक्रमण नदेखिए पनि संक्रमित भनिएका राष्ट्रबाट नेपाली वा अन्य पर्यटकसमेत नेपाल आउनसक्ने भएकाले नेपाल सरकार तथा सम्बन्धित निकायले समयमै उच्च सर्तकतासहित समाधानका उपाय अपानाएर यस रोगलाई नेपालमा प्रवेश गर्नबाट रोक्नुपर्छ।
सह–प्राध्यापक, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौं
प्रकाशित: १ भाद्र २०७१ २०:३९ आइतबार

