१२ मंसिर २०७८ आइतबार
विचार

नवरात्रि : भित्री ऊर्जा उजागर गर्ने पर्व

यस वर्ष विजयादशमी असोज महिनाको अन्तिममा सकिने गरी सुरु भएको छ। असोज २१ गते घटस्थापना अर्थात विधिपूर्वक राखिएको जमरा २९ गते दही, अक्षता र अविरको रातो टीकासँगै लगाइन्छ। यस वर्ष षष्ठी तिथि घटेकाले घटस्थापनाको नवौँ दिनमा नै हामी विजयादशमी मनाउँछौँ। ऋतु र मौसमका हिसाबले अत्यन्त उचित समयमा यस वर्षको दसैं परेको छ।

विशेष गरी नेपालीको महान् चाडका रूपमा मनाइने यो बडादसैँ मानव जीवनलाई प्रकृतिसँग एकाकार गर्न सिकाउने पर्व हो। दसैँ सुरु हुनुअगाडि सोह्रश्राद्ध अर्थात पितृपक्ष पर्छ। यो १६ दिने पितृपक्षमा हामी हाम्रा ज्ञात/अज्ञात पुर्खालाई सम्झन्छौं र नयाँ पुस्ताका लागि आशीर्वाद दिएर ठाउँ खाली गरिदिन प्रार्थना गछौँ। पितृपक्षको १६ दिन हामीले खाने खाना, लगाउने पोशाक र प्रयोग गर्ने रंग शान्त प्रकृतिको हुन्छ। शान्तभावले हामी हाम्रा पिता, पुर्खालाई पितृका रूपमा सम्झन्छौँ र शुक्लपक्ष अर्थात पूर्णिमाको उज्यालोमा पितृलाई सन्तुष्ट बनाएर बिदा गर्छौँ।

त्यसपछि कृष्णपक्ष अर्थात औंँसीको अँध्यारोमा ९ दिन शक्ति साधनाबाट नयाँ सृष्टि एवं उमंगको वीजारोपण गर्छौँ। दशौँ दिनमा हर्षोल्लासपूर्वक विजयोत्सव मनाउँछौँ। यो सृष्टि सञ्चालन नियमको प्रतीकका रूपमा जमरालाई लिइन्छ। जमरा अँध्यारोमै राखिन्छ। सप्तशती चण्डीपाठसँगै विधिपूर्वक पूजा गरिन्छ। नौ दिनमा पहेँलो रंगको जमरा भर्खर जन्मेको स्वस्थ बच्चा जस्तै मनमोहक देखिन्छ। त्यही जमरा लगाएर खुसी र उमंगका साथ आयु, आरोग्य एवं सुख, समृद्धिको कामना गर्दै एकअर्कामा शुभकामना आदान–प्रदान गर्छौँ। घटस्थापनापछि प्रोटिनयुक्त पोषिलो खाना, रंगीविरंगी पोशाक रातो रंगको प्रयोग आदिले हाम्रो दिनचर्या पनि फरक हुन्छ।  

सृष्टिका लागि गरिने यो शक्ति साधना छिमेकी मुलुक भारत र बंगलादेशमा दुर्गा पूजाको नामले प्रख्यात छ। हामी यसलाई नवरात्रि भन्छौँ। नवरात्रिमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, शारदादेवी, हंशबाहिनी, स्कन्धमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधातृ नामका नौवटा देवीको पूजा हुन्छ। यी नौ दिन देवीको साथमा केही समय बिताउने जोकोहीलाई पनि राम्रो हुन्छ। यी दिन ईश्वरको स्त्री प्रकृतिमा समर्पित छ। नवरात्रिको पहिलो तीन दिन दुर्गा, लक्ष्मी र सरस्वतीको स्त्री प्रकृतिको तीन आयामिक रूप मानिन्छ।  

अस्तित्वको तीन मूलभूत गुणः तमस्, रजस एवं सत्वका प्रतीक पनि मानिन्छ।  

तमस् भन्नाले निष्क्रियता– धर्ती, रजस् भन्नाले सक्रियता– सूर्य र सत्व भन्नाले एकातर्फ सिमाना तोड्नु, विलिन हुनु एवं एक हुनु हो– चन्द्रमा। यी तीन खगोलीय वस्तु जसमा हाम्रो शरीरको रचना अत्यन्त गहिरोसँग जोडिएको छ। जसले शक्ति, अमरता एवं तागतको इच्छा गर्छ, उसले स्त्री प्रकृतिस्वरूप कालीमाता एवं धर्तीमाताको पूजा गर्छ।  

जसले धन, दौलत, सुखी जीवन एवं भौतिक दुनियाँको अनेकौँ उपहारको आकांक्षा राख्छ। उसले स्त्री प्रकृतिस्वरूप लक्ष्मी एवं सूर्यको पूजा गर्छ। जसले शरीरको अमरता प्राप्तिका लागि नभई ज्ञानमार्गद्वारा नश्वर शरीरको सीमाबाट पर जाने इच्छा राख्छ, उसले स्त्री प्रकृतिस्वरूप सरस्वती एवं चन्द्रमाको पूजा गर्छ। यी तीनै देवी नवरात्रको पहिलो तीन दिन एक/एक गरी आउँछिन् भन्ने शास्त्रीय मान्यता छ। किनकि आखिर हामी धर्तीबाट नै निस्कन्छौँ र एक सक्रिय जीवन जिउने प्रयास गर्छौँ। धर्तीबाट निस्कनुलाई तमस् र जिउनु अथवा बाँच्ने प्रयास गर्नुलाई रजस् भनिन्छ। तेस्रो हाम्रो जीवनको बाटोमा आउन पनि सक्छ, नआउन पनि सक्छ। उसलाई आफ्नो हृदयमा ल्याउन प्रयास गर्नुपर्छ।  

तमस् पृथ्वी प्रकृति हुन्। नवरात्रिको पहिलो दिन तमस् अर्थात पृथ्वीले जन्म दिन्छिन्। गर्भ अवस्था हामी आमाको कोखमा बिताउँछौँ। त्यो समय तमस् हो। गर्भावस्था लगभग शीत निद्रा जस्तै हो। अर्थात विकास भइरहेको हुन्छ। तमस् पृथ्वीको र हाम्रो जन्मको प्रकृति हो। जसरी हामी आमाको कोखबाट बाहिर आउँछौं र सक्रिय हुन थाल्छौँ त्यहीँबाट रजस् सुरु हुन्छ। यदि हामी पर्याप्त मात्रामा सचेत वा भाग्यशाली छौँ भने बाल्यकालमै हामीलाई सत्व गुणले छुन्छ। नत्र रजस्को गुण यस्तो छ कि जबसम्म सबै राम्रो हुन्छ, जीवन आरामले चल्छ। जब अलिकति नराम्रो दिन सुरु हुन्छ, रजस् पूरै नराम्रो भएर जीवनभर चल्छ। त्यसैले नवरात्रको यी नौ दिनमा जीवनका हरेक पल उत्सवका रूपमा मनाउनु सबभन्दा बढी महत्वपूर्ण मानिन्छ। हामी धर्तीमा छौंँ। यसै पनि हामी प्रकृतिको एक हिस्सा हौँ। कुनै पनि विपद्मा विचलित नहुनलाई धर्तीसँग एकाकार भएर बाँच्न सिक्नुपर्छ। त्यसैले धर्तीलाई माता (आमा) भनिन्छ। जीवनका हरेक पल बुझ्ने नजिकको विश्वास पात्र आमा हुन्। आमा अन्यायविरुद्ध लड्छिन्। सन्तानका लागि मर्छिन्।  

धर्ती माताको जब इच्छा हुन्छ हामी निस्कन्छौँ। जब धर्ती माताले हामीलाई आफैँमा समाहित गर्न चाहन्छिन् तब हामी विलिन हुन्छौँ। हाम्रो जीवन पूरै निष्क्रियतामा परिणत हुन्छ। यो जीवन शायद सबै सीमाको पर जाओस् या जहाँबाट आयो त्यहीँ जाओस्। दुर्गा–लक्ष्मी, दुर्गा–लक्ष्मी, दुर्गा–लक्ष्मी। सरस्वती कहिल्यै आउँदिनन्। यसको मतलव जीवन पूरै जालमा फस्छ। जीवन–मृत्यु, जीवन–मृत्यु, जीवन–मृत्यु। जीवन निष्क्रियताको अवस्थाबाट सक्रियताको अवस्थामा आउँछ। फेरि निष्क्रियता भैरहन्छ। यो पूरै हाम्रो जीवनमा भैरहेको छ। आकाशमा भैरहेको छ। पृथ्वीको साथमा भैरहेको छ। यो पूरै ब्रह्माण्डका साथमा यही प्रक्रिया चलिरहेको छ।  

यो चक्रलाई तोडेर पर जाने क्षमता नवरात्रि साधनामा छ। हामीलाई देवीको यी तिनै स्वरूपको जरुरी छ। पहिलो दुई दुर्गा र लक्ष्मीको स्वस्प हाम्रो अस्तित्व, पोषण, सफल जीवन एवं खुसीका लागि जरुरी छ। नवरात्र यिनैबाट सुरु हुन्छ। हरेक महिना औँसीपछिको तीन दिन यस्तै हुन्छ। औंसी निष्क्रियताको अवस्था हो। जसमा जीवन निर्माणका पाँच तत्व आफैँभित्र एक तरहको एकीकरणबाट गुज्रिरहेको हुन्छ। औँसीपछिको पहिलो दिन हल्का निष्क्रिय हुन्छ र फेरि सक्रिय हुन्छ। त्यसपछि पर जान लायक अवस्था आउँछ। चन्द्रमा प्रकट हुन्छ। वर्षभरि आउने १२ वटा औंँसीमध्ये असोजको औँसी अधिक शक्तिशाली हुन्छ।  

गृहस्थीका लागि यो समयको साधना अत्यन्त महत्वपूर्ण मानिन्छ। जसमा अलिकति ज्ञान, समय र श्रद्धा छ। उहाँहरूले यो नौ दिनलाई महत्वपूर्ण दिनका रूपमा लिएर साधना गरी थोरै समय भए पनि देवीका साथ बिताउनुभयो भने साधक स्वयंलाई आयु, आरोग्य एवं सुख र शान्ति प्राप्तिको अनुभव हुन्छ। देवी साधनाले जीवन र जगत्लाई जान्ने थोरै भए पनि ज्ञान प्राप्त हुन्छ। शक्तिविनाको सक्रियता सम्भव छैन। आफूभित्र रहेको अथाह शक्तिलाई रिचार्ज गर्ने यो सुनौलो अवसरको फाइदा लिइ जीवन धन्य बनाऔँ। जीवनका हरेक मोडमा तटस्थ भएर हेर्नु नै जीवनको रहस्य हो। यही शक्ति हामी सबैलाई प्राप्त होस्।  

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

प्रकाशित: २६ आश्विन २०७८ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App