१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

व्यवसाय चलाउने बेला

व्यक्तिको निजी व्यवसाय, व्यापार कतिबजेसम्म गर्न पाइन्छ भन्ने विषयमा सरकार वा सुरक्षा निकायले हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन?नेपालको कुनै पनि कानुनमा फलानो व्यापार यति समयसम्म र ढिस्कानो व्यापार यतिसम्म गर्न पाइन्छ भनेर तोकिएको छैन। कुनै पनि ठाउँमा कुन कुन दिन पसल बन्द गर्ने वा कति बजे बन्द गर्ने भन्ने विषय व्यापारीको व्यक्तिगत निर्णय हुनुपर्ने हो। किनभने ग्राहक आउन्जेल कसैलाई पनि पसल बन्द गर्न मन लाग्दैन र ग्राहक आउन छाडेपछि चाहिँ कसैलाई पनि पसल खोल्न मन लाग्दैन। पसल खुलै राख्दा पनि खर्च त लाग्छ। आफ्नो ज्याला, कामदारको ज्याला, बिजुली खर्च र घर परिवार समय दिन नसक्ता जन्मने असन्तुष्टि। व्यापारबाट हुने फाइदाभन्दा त्यसमा हुने खर्च बढी लाग्ने भयो भने कसैले पनि आफ्नो व्यापार, व्यवसाय खुला राख्न रुचाउँदैन। तर यसमा एउटा सामूहिक समझदारी भने हुने गर्छ। कुनै पनि स्थानमा व्यापारी, व्यवसायीले आपसमा मिलेर आचार संहिता बनाउन सक्छन्। त्यस्तो आचार संहितामा अन्य विषयका अतिरिक्त व्यापार, व्यवसाय कति बजे खोल्ने र कति बजे बन्द गर्ने भन्ने पनि समावेश हुन सक्छ। तर यस्तो आचार संहिता पनि कस्तो प्रकारको व्यापार व्यवसाय हो भन्नेमा निर्भर गर्छ। औषधि पसले सबै मिलेर बेलुकी ७ बज ेनै पसल बन्द गर्ने निर्णय गरेभने स्थानीय निकाय र प्रशासनले तिनलाई त्यस्तो नगर्न बाध्य बनाउन सक्छन्। (हुनत, काठमाडौंमा रक्सी पसलभन्दा औषधि पसल धेरै चाँडो बन्द हुने गर्छन्।) त्यसैगरी कसैले लामो समयसम्म आफ्नो व्यापार वा पसल चलाउन खोज्यो भने पनि सुरक्षाका कारण, छिमेकीलाई हुनसक्ने अशान्तिका कारण बन्द गर्ने निश्चित समय निर्धारण गर्न सकिन्छ।
नेपालमा भने व्यापारीले कति बजेसम्म आफ्नो व्यवसाय चलाउने भन्ने विषयमा आफैँले निर्णय गर्न पाउने गरेका छैनन्। स्थानीय प्रशासन र प्रहरीले पसल र व्यवसाय खोल्ने समय निर्धारण गर्ने गर्छन्। अधिकांश व्यापार, व्यवसाय प्रहरी र प्रशासनले बन्द गराउनै पर्दैन, अलिकति रात छिप्पिएपछि पसलेले आफँै बन्द गर्छन्। तर रेस्टुराँ, बार, क्लब, डान्सिङ सेन्टर, गेमिङ, क्यासिनोजस्ता व्यवसाय भने रात परेपछि धेरै चल्छन्। त्यसैले यिनलाई रात्रिकालीन व्यवसाय पनि भनिन्छ। जुन व्यापार र व्यवसाय जुन समयमा धेरै चल्छ त्यही समयमा बन्द गर्नुपर्ने भयो भने घाटा पर्नु स्वभाविकै हो। यस्ता रातमा चल्ने व्यवसायलाई अबेरसम्म खोल्न दिने या नदिने भन्ने विषयमा सधैँ विवाद हुँदैआएको छ। काठमाडौंको ठमेल, वानेश्वर, लाजिम्पाटवा पाटनको झम्सिखेलजस्ता धेरै रेस्टुराँ र बार भएका क्षेत्रमा पनि प्रहरीले रातको १० बजेदेखि नै बन्द गर्नका लागि दबाब दिन थाल्छन्। पोखराको लेक साइड क्षेत्र पनि होटल, रेटुराँ, बार आदिका लागि नेपालकै सबैभन्दा चल्तीको र पर्यटकले रुचाएको क्षेत्रमा पर्छ। यस्ता स्थान विशेषमा प्रहरीले सुरक्षाको विशेष प्रबन्ध गरेर भएपनि रात्रिकालीन व्यवसाय अबेरसम्म चल्न दिनुपर्छ। यही परिप्रेक्ष्यमा पुनरावेदन अदालत पोखराले रात्रिकालीन व्यवसाय रातको २ बजेसम्म चल्न दिन प्रहरी र प्रशासनलाई आदेश दिएको छ। यो आदेशले पोखरा क्षेत्रको सम्पूर्ण व्यापार र व्यवसायमा सकारात्मक प्रभाव पार्नेमा द्विविधा छैन। तर आदेश व्यवहारमा पनि लागु हुनुपर्छ। प्रहरी र प्रशासनले अपराध र होहल्ला कसरी नियन्त्रण गर्ने हा? त्यसका लागि कति नयाँ दरबन्दी थप गर्नुपर्ने हो? कस्ता प्रकारका सुरक्षा सामग्री, हतियार र बन्दोबस्तीका सामान चाहिने हो? समयमै योजना बनाएर सरकारसँग माग गर्नुपर्छ। सुरक्षा निकाय र प्रशासनले अदालतको आदेशको अक्षरशः पालना नगर्ने हो भने यस्तो आदेश निरर्थक हुन पुग्छ। शान्ति सुरक्षा कायम गर्न सम्पूर्ण क्षेत्रमा तत्कालै आवश्यक प्रहरीको संख्या पुर्यानउन नसकिने हो भने पनि कसमेकम लेक साइड क्षेत्रमा त अदालतको आदेशको पूर्ण पालना हुनैपर्छ। लोकतन्त्रमा न्यायालयको गरिमा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित गरेर हैन अदालतका आदेशको पूर्ण सम्मान गरेर बढाउनुपर्छ। यस्तै काठमाडौंमा पनि प्रहरी र प्रशासनले रातको २ बजेसम्म यस्ता व्यवसाय खोल्न दिने तयारी तुरुन्तै गर्नु उचित हुनेछ। यहाँ पनि अदालतले नै निर्णय गरोस् भनेर बस्नु व्यापार, व्यवसायप्रति नकारात्मक हुनु हो।

प्रकाशित: २७ श्रावण २०७१ २२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %