७ वैशाख २०८१ शुक्रबार
विचार

धन्यवाद फतिमा सुमारलाई

एमसिसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने नेपालको भ्रमण गरेर फर्केकी छिन्। तिनी हाम्रो धन्यवादका पात्र बनेकी छिन्। तिनले नेपालमा आएर अरू कसैले गर्न नसकेको काम गरेर गएकी छिन्। फतिमा जस्तै नेपालमा अरू एकदुई जना आइदिए यो देशको ठूलो भलो हुने थियो।

पहिलो काम फतिमाले नेपालीमा राष्ट्रियताको भावना जगाइदिएकी छिन्। फतिमाले सुतिरहेको नेपाली युवा वर्गलाई नेपाल राष्ट्र जान लाग्यो भनेर उठाइदिएकी छिन्। तिनी नेपाल आउनुअगाडि र पछाडि पनि एमसिसीको विरोधमा खास गरी युवा सडकमा निस्केका हुन्। कतिले प्रहरीको लाठी खाए र कति प्रहरी हिरासतमा पनि बसे। 

तर आफ्नो आवाज घन्काउन छाडेनन्। यसपालि एउटा नयाँ कुरा देखियो। त्यो हो तराईका युवाले पनि राजधानीमा ठूलो जुलुस निकाले। यस्तो राष्ट्रियताले ओतप्रोत भएको जुलुस र भेला देखिएको थिएन। त्यस कारण पनि फतिमालाई धन्यवाद दिनुपरेको हो।

दोस्रो कुरा फतिमा सारै नराम्रो समयमा नेपाल आइन्। भर्खर अफगानिस्तानमा बीस वर्ष बसेर हैरान भएको संयुक्त राज्य अमेरिका हारको सन्देश फैलाउँदै फर्केको बेला पर्‍यो। त्यस्तो बखत नेपालमा झुटै झुटको पोका बोकेर एमसिसीको वकालत गर्न आउनु साह्रै अपरिपक्व काम थियो। इन्डो पैसेफिक स्ट्राटेजीको यो एक अभिन्न भाग हो भनेर अमेरिकी अधिकारीहरूले भनिसकेपछि फतिमाले यो होइन भनेर लेखिपठाइन्। 

एमसिसी नेपालको संविधान र कानुन माथि हो भनेर लेखिए तापनि त्यो होइन भनेर लेखिन्। नेपालको महालेखापरीक्षकले हेर्न नपाउने भनेर सम्झौतामा लेखिएको भए तापनि उसले पनि हेर्न पाउँछन् भनियो। यस्तो कति वटा झुट कुरा लेखेर नेपाल सरकारलाई चिठी पठाइयो। फतिमा नेपाल नआएको भए हामीले यी सब कुरा थाहा पाउने थिएनौँ।

तेस्रो कुरा, आफ्नो भ्रमणको अन्तमा नेपाली प्रेसलाई नेपालले एमसिसी अस्वीकार गरे पनि अरू सहयोगमा केही फरक पर्ने छैन भनी भनिन्। तर नेपालस्थित एमसिसीका अफिस अधिकारीहरूलाई भने यसमा ठूलो फरक पर्ने बताइन्। उनले भनिन्– एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्नेछ। नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ ? कुल वैदेशिक सहयोगको ६० प्रतिशत भन्दा धेरै हिस्सामा प्रत्यक्ष— अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ।

चौथो कुरा, नेपालले अपनाएको संघीयता अति महँगो भयो भनेर सबै कराएका छन्। सातवटा प्रदेश सरकार खडा भएका छन् र कतिपय हेरफेर पनि हुँदैछन्। तर त्यसबाट स्थानीय मानिसको रहनसहनमा कुनै फरक आएको छैन। सरकारमा भएका मानिसको सहनसहनमा मात्र परिवर्तन भएको देखिन्छ। 

यही प्रथा चलाउनका लागि पनि विदेशी ऋण लिन लागिएको कुरा अर्थ मन्त्रालयले खुलाएको छ। यसले नेपालीको दीर्घकालीन ऋण भार बढाउँदै लगेको छ। यसको चिन्ताले नेपालीलाई सताइरहेका बेला फातिमाले यो समस्या पनि सुल्झाइदिने भएकी छिन्। ऋणको स्रोत नै बन्द भएपछि संघीयता पनि स्वतः खारेज हुने भयो। यसका लागि पनि फतिमा धन्यवादको पात्र छिन्।

पाचौँ कुरा, नेपाली गरिबलाई अमेरिकाको साठी अरब डलर नपचेको भन्ने फतिमाको भनाइ आएको छ। खासमा नेपाल गरिब मुलुक नै होइन। नेपालको धनसम्पत्ति प्रायः भ्रष्टाचारमै सिद्धिन्छ। तर त्यसको छानबीन राम्ररी भएको छैन। भनाइको तात्पर्य अमेरिकाको ६० अर्ब डलर कुनै ठूलो रकम होइन। त्यसको तुलनामा नेपालमै ठूलो रकम फेला पार्न सकिन्छ।

छैटौँ कुरा, फतिमाले जुन किसिमले आफ्नो रिस पोखिन् त्यसबाट के खुल्छ भने यो पैसाको कुरा मात्र होइन। यसभित्र सैनिक हस्तक्षेपको जुन शंका गरिएको छ तिनको रिसमा यो कुरा झल्कन्छ। एमसिसी पैसाको मात्र सम्झौता हो भने दाताले फतिमाले जस्तै रिस देखाउनुपर्ने थिएन। त्यसैले यो ज्ञान दिएर पनि उनले गुन लगाएकी छिन्।  

प्रकाशित: ४ आश्विन २०७८ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App